६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदै छ । चालु आर्थिक वर्षको बजेट चार अर्ब ८५ करोड थियो । एक अर्बभन्दा बढी बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो । महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार बजेट अन्तिम तयारीमा रहेको छ । उनले भने, ‘हामी छ अर्ब हाराहारीको बजेट ल्याउँदैछौँ ।’ बजेट पूर्व महानगरपालिकाले सङ्घ र प्रदेशका मन्त्री, सचिव, महानिर्देशकहरूसँग छलफल र सुझावसमेत लिएको थियो । छलफलमा पूर्वप्रधानमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतका विशिष्ठ अधिकारीहरू पनि सहभागी रहेका थिए । महानगरपालिका प्रमुख रेनु दाहालले बजेटले उत्पादन, रोजगारी, कृषि, शिक्षा, स्वास्थ्यलगायतको क्षेत्रमा जोड दिइएको बताइन् । गत पाँच वर्ष भौतिक पूर्वाधारअन्तर्गत सडकमा जोड दिएको महानगरपालिकाले आउँदो बजेटमा भौतिक पूर्वाधारअन्तर्गत ढलमा बढी जोड दिन लागेको उनले जानकारी दिइन् । महानगर क्षेत्रलाई सुन्दर बनाउने योजना अघि सारिएको छ । खाल्डाखुल्डी सडकलाई मर्मतसम्भार कार्यलाई प्रथामिकता दिन लागिएको छ । बजेटमा शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी बजारको माग र आवश्यकताको समेत ख्याल गरी शैक्षिक कार्यक्रम अघि वढाउन लागिएको छ । महानगरभित्रका सबै टोल सुधार समितिहरूलाई टोल सुरक्षा, जनसङ्ख्याको अभिलेख, सडक हरियाली, सडक बत्ती, फोहर सङ्कलन र रु एक लाख बराबरको टोल सुधार तथा विविध मर्मत कार्यक्रमहरूको कार्यविधि बनाई टोल सुधार समितिहरूलाई सशक्तीकरण गर्ने योजना महानगरको रहेको छ । उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आम्दानी बढोत्तरी गर्न कर शिक्षा, कर सचेतनाजस्ता कार्यक्रममा टोल सुधार समितिहरूलाई परिचालन गरी करको दायरामा ल्याउन लागिएको बताए । सहकारीलाई उत्पादन र बजारसँग जोड्न लागिएको छ । चालु आर्थिक वर्षमा आन्तरिक राजस्वको लक्ष्य एक अर्ब २५ करोड रहेकामा आउँदो आव एक अर्ब ५० करोड पु¥याउने लक्ष्य राखिएको अधिकारीले बताए । सङ्घ र प्रदेशको सशर्त बजेटसमेत थप भएकाले बजेटको सिलिङ बढेको अधिकारीले जानकारी दिए । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले सङ्घ, प्रदेशको राजनीतिक र प्रशासनिक शीर्ष व्यक्तित्वहरूका अतिरिक्त जिल्लाका क्षेत्रगत विज्ञहरूसँग बृहत् छलफल गरेर बजेट निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । महानगरकै पहलमा सङ्घ र प्रदेशबाट विभिन्न आयोजनामा बजेट परेका छन् । नारायणी नदी तटबन्ध, सिटीहल निर्माण, पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माण, चक्रपथ निर्माणजस्ता ठूला आयोजना सञ्चालनमा रहेका छन् । महानगरपालिकाको प्रशासकीय भवन निर्माण सुरु हुन लागेको छ । सङ्घ र प्रदेश सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि बजेट विनियोजन गरिसकेको छ । महानगरपालिकाभित्र शिक्षक अस्पताल बन्दै छ । भरतपुर विमानस्थल विस्तारको गृहकार्य थालिएको छ भने मेघौली विमानस्थलमा कालोपत्र गर्ने तयारी गरिँदै छ । नारायणी नदीमा सिग्नेचार पुल तथा पश्चिम चितवन र नवलपरासी जोड्ने विभिन्न पुलहरू बनाउने योजना अघि सारिएको छ । महानगरको आन्तरिक बजेट कम भए पनि सङ्घ र प्रदेशको ठूलो रकम यहाँका आयोजनामा परेका छन् । यसका कारण महानगरपालिकाले छोटो समयमा विकासमा फड्को मारेको छ । रासस

खोटेहाङद्वारा ५५ करोड ४३ लाख बजेट प्रस्तुत

खोटाङ । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० बजेट प्रस्तुत गरेको छ । नौ वडा रहेको उक्त गाउँपालिकाले बुधबार चालुतर्फ १० करोड छ लाख ५५ हजार ५६०, पूँजीगततर्फ ११ करोड ४६ लाख ३२ हजार ५६० बजेट प्रस्तुत गरेको हो । सशर्त अनुदानमा २८ करोड १००, विशेष अनुदानमा दुई करोड ५० लाख, समपूरक अनुदानमा एक करोड ७० लाख बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएपछि उपप्रमुख रुपेश राईले बजेट प्रस्तुत गरेका हुन् । यस्तै हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आज नगर–गाउँसभा गर्ने जनाएको छ । केपिलासगढी गाउँपालिकाले शनिबार गाउँसभा गर्ने गाउँपालिका प्रमुख समिर राईले बताए । जिल्लाका अन्य सात स्थानीय तहले शुक्रबार एकैदिन गाउँ तथा नगरसभा गर्ने तयारी छ । पूर्वी पहाडी जिल्ला खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छ । अर्थ मन्त्रालयबाट आव २०७९/८० का लागि जिल्लाका १० स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट प्राप्त भएको छ । मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी तीन अर्ब ६२ करोड एक लाख बजेट उपलब्ध गराएको हो । जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६५ करोड १५ लाख र सबैभन्दा कम बराहपोखरी गाउँपालिकाले २४ करोड २४ लाख बजेट प्राप्त गरेको छ । हलेसी तुवाचुङ नगरपालिकाले ४९ करोड छ लाख, ऐसेलुखर्क गाउँपालिकाले ३२ करोड ४९ लाख, केपिलासगढी गाउँपालिकाले २५ करोड ८६ लाख, खोटेहाङ गाउँपालिकाले ४३ करोड एक लाख बजेट पाएका छन् । यस्तै जन्तेढुङ्गा गाउँपालिकाले २९ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ३७ करोड ९२ लाख, साकेला गाउँपालिकाले २५ करोड ६० लाख र रावाबँेसी गाउँपालिकाले २८ करोड ७३ लाख बजेट प्राप्त गरेको अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेकाे बजेट वक्तव्यमा उल्लेख छ । अर्थ मन्त्रालयले गत वर्ष १० स्थानीय तहका लागि तीन अर्ब ५७ करोड ६४ लाख बजेट उपलब्ध गराएको थियो । गत वर्षको तुलनामा यस वर्ष खोटाङका १० स्थानीय तहका लागि छ लाखमात्र बजेट बढेर आएको पाइएको छ । स्थानीय तहमा आएको बजेट वृद्धि नहुनुमा जिल्लाबाट निर्वाचित सङ्घीय सांसदको कमजोरी रहेको जिल्लावासीको आरोप छ । रासस

बैंकदेखि सपिङ मलका शौचालय अब पब्लिक ट्वाइलेट, यी ३३ कम्पनीसँग भयो सम्झौता

काठमाडौं । आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ वटा संघ संस्थासँग काठमाडौं महानगरपालिकाले सम्झौता गरेको छ । महानगरले बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३३ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सोमबार सम्झौता गरेको हो । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता आउँदो ५ वर्षका लागि भएको र यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउने महानगरले जनाएको छ । यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा सम्बन्धित संस्थाकै हुनेछ । महानगरको अनुसार यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्याङ्कन गर्न दुवै पक्षबाट १/१ जना प्रतिनिधि तोकिनेछ र उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन बुझाउनु पर्नेछ । महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरेको थियो । प्रकाशित सूचनाका आधारमा ७ दिनमा ३८ वटा संघसंस्था सम्पर्कमा आएका थिए । तीमध्ये केहीले सार्वजनिक शौचालयको लोगो निर्माण गरिदिने बताएकाे र केहीसँग सम्पर्क हुन नसकेको महानगरले जनाएको छ । यि हुन् सम्झौता गरिएका संघ संस्थाहरु १) टायम्स स्क्वायर, लाउन्ज एण्ड बार, बालुवाटार २) पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल ३) डेन्टल भिल्ला, वडा नं. १४, बल्खु ४) देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत क) पिजा हट, वडा नं. १ दरबारमार्ग ख) केएफसी, वडा नं. १ दरबारमार्ग ग) केएफसी, वडा नं. ६ बौद्ध ५) डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर ६) होटल रत्नज्योती, पेरिसडाँडा ७) नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल ८) खानेकुरा प्रा. लि., गौशाला ९) सांग्रिला डिभलपमेन्ट बैङ्क, बालुवाटार १०) बेबिलोन नेशनल स्कूल, शान्तिनगर ११) ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार १२) नेपालय पब्लिकेसन, डिल्लीबजार १३) बसुन्धरा एण्ड गोङ्गबु एरिया रेष्टुरेन्ट, बसुन्धरा १४) गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल १५) घराना लञ्च एण्ड बार, बानेश्वर १६) कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड, १७) सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी १८) नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक १९) आरडीएक्स बार प्रा. लि. ठमेल २०) नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट २१) कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार २२) बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल २२) नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी २३) सांग्रिला डिपलपमेन्ट बैङ्क, बालुवाटार २४) बिन्का लङ्, छाउनी २५) प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध २६) मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलंकी २७) क्रिम्पजी एडभान्चर हव, बौद्ध २८) बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार २९) अनुपम फुडल्याण्ड, बत्तीसपुतली ३०) रिट्रिप क्याफे, बौद्ध ३१) चिकेन स्टेशन ३२) स्तुपा हब, बौद्ध ३३) नबिल बैंक