बालेन भन्छन् : हामी सय दिनको दौडमा छैनौं हामीसँग ५ वर्षका योजना छन्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकाल १ सय दिन पुगेको अवसरमा सार्वजनिक प्रतिक्रिया दिएका छन् । प्रतिक्रियामा मेयर बालेन शाहले आफुहरुले १ सय दिनमा महानगरले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गरेको बताएका छन् । आफुले गरेका कामको सूची बनाएर मात्रै सफल नभइने भन्दै मेयर शाहले आफुलाई मनमा लागेको कुरा सम्झिदै १ सय दिनको अनुभव र प्रतिवद्धता सार्वजनिक गरेका छन् । यस्ताे छ मेयर शाहले सार्वजनिक गरेको अनुभव र प्रतिक्रिया : हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूचि बनाउदैमा हामी सफल हुन सक्दैनौँ । यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केहि सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ । १. फुटपाथबाट मकैको ठेला हटाएको : यो सन्दर्भले अझै पनि सहि वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफुले पाएको अभिभारा पुरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रुहरुको लागि हो । शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो, जुन पुर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुनस् फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यहि गरियो र गरिदैछ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । यो भन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहि गर्यौँ । जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरुमा सकारात्मकरुपमा देखिन थालेको छ । २. इस्पोट्र्सका लागि १ करोड : गीत गाउने, नाच्ने जस्ता कलाकारहरु प्रति केहि पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरुका लागि त सम्मान भन्दा पनि अफ्ठ्यारा बढि थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । इस्पोर्टस पनि खेलकारुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको बिषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने रु त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ । ३. यमबुद्धको सालिक : एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा इस्पोर्टसको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ बिधा हो । यमबुद्ध सो बिधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफु त्यो बिधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भुमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केहि फेरबदल गर्यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठुलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ । ४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन : मान्छे एउटै जीवनभित्र फरक फरक भुमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भुमिकाका लागि अर्को भुमिका भन्दा विपरित हुनु पर्ने पनि हुन सक्छ । माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनीक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु । ५. फोहोर व्यवस्थापनमा ढिलाइ : यसमा के स्वीकार्नु पर्दछ भने १०० दिन भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौँ । ६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा : जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहिरुपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउँने सेतुका रुपमा मात्रै हामीले ति कार्यहरु गरेका छौँ । सायद जनप्रतिनिधी हुनुको औचित्य पनि त्यहि हो । अन्त्यमा, हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ ।
वीरगञ्ज विकास प्राधिकरण गठन गरिने
वीरगञ्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको छ । वीरगञ्जको वृहत्तर विकासका लागि प्राधिकरण गठन गर्न लागिएको हो । नगरप्रमुख राजेशमान सिंहका अनुसार नगरकार्यपालिकाको पछिल्लो बैठकबाट वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्वीकृत गरिएको थियो । साविकको वीरगञ्ज उपमहानगरपालिकामा जोडिएका नयाँ ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रसमेत व्यवस्थित र योजनाबद्ध विकासका लागि वीरगञ्ज विकास प्राधिकरण गठनादेश स्वीकृत गरी काम अगाडि बढाइएको हो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार वीरगञ्ज विकास प्राधिकरणको गठन नयाँ कार्यक्रम हो । चालु आर्थिक वर्ष २०७९/८० को बजेटमा मधेस प्रदेश सरकारले वीरगञ्ज विकास प्राधिकरण र जनकपुर विकास प्राधिकरण गठन गर्ने घोषणा गरेको थियो । यसका लागि ३० करोडको व्यवस्था गरिएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्वारा विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने अभियान शुरु
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने अभियान शुरु गरेको छ । कच्ची अवस्थामा सञ्चालित विद्यालयमा पठनपाठनका गर्नुपर्ने भएकाले छात्र/छात्राको शरीरमा धुलो र फोहरमैला लाग्नबाट जोगाउँदै स्वच्छ शैक्षिक वातावरण बनाउन गाउँपालिकाले चालु वर्ष २०७८/७९ मा रु ९० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले आगामी दुई वर्षभित्र सबै (४८ वटा) सामुदायिक विद्यालयका कक्षाकोठालाई धुलोरहित बनाउने योजना नवनिर्वाचित जनप्रतिनिधिले गाउँसभाबाट पारित गरेको छ । लामो समयदेखि धुलाम्मे अवस्थामा सञ्चालित सामुदायिक विद्यालयलाई गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा धुलोरहित बनाउने अभियान शुरु भएपछि शिक्षक तथा विद्यार्थीसमेत उत्साहित भएका छन् । ढुङ्गामाटोबाट बनाइएका विद्यालयका कक्षाकोठालाई विस्थापित गर्दै भुँइमा ढलान तथा भित्तामा प्लाष्टर गर्ने योजना बनाइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणिकुमार गिरीले बताए । ‘धुलोरहित विद्यालय बनाउन गाउँपालिकाले हरेक विद्यालयमा प्राविधिक टोली खटाएको छ । प्राविधिक टोलीले विद्यालयको भौतिक अवस्थाको बारेमा अध्ययन गरेर प्रतिवेदन दिन्छ’, उनले भने, ‘प्राविधिकले दिएको प्रतिवेदनको आधारमा गाँउपालिकाले बजेट व्यवस्थापन गरेर सबै सामुदायिक विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने प्रक्रिया अगाडि बढाइएको छ ।’ सात वडा रहेको गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालयको भवन अव्यवस्थित तथा पुरानो भएर जीर्ण बनेका छन् । सुक्खाग्रस्त क्षेत्रमा पर्ने उक्त गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा धुलो र फोहरका कारण विद्यार्थी पटक–पटक समस्यामा पर्दै आएका शिक्षकले बताउने गरेका छन् । कक्षाकोठामा धुलो र फोहर हुँदा विद्यार्थीको स्वास्थ्यमा समस्या आउने र विद्यार्थीलाई पढ्ने वातावरणसमेत नहुने भएकाले गाउँपालिकाले सबै विद्यालयका कक्षाकोठा सुधार गर्न थालेको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताए। ‘धुलाम्मे विद्यालयलाई गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा धुलोरहित बनाउने अभियान सुरु भएपछि शिक्षक तथा विद्यार्थीसमेत उत्साहित भएका छन्’, उनले भने, ‘गाउँपालिकाको यो अभियानले शैक्षिक सुधारमा केही टेवा पुग्ने अपेक्षा गरेका छौँ ।’ दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालित ४८ सामुदायिक विद्यालयमा चार हजार सात सय ५२ विद्यार्थी अध्ययनरत रहेका छन् । चौधवटा मावि, पाँचवटा आधारभूत (निमावि) र २९ वटा पूर्व प्राथमिक (कक्षा–५ भन्दामुनि)का विद्यालय सञ्चालनमा रहेका छन् । जिल्लाका अन्य स्थानीय तहलेसमेत आ–आफ्नो क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयका कक्षाकोठालाई धुलोरहित बनाउने अभियान सुरु गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित सरस्वती माध्यमिक विद्यालयलाई पूर्व विद्यार्थीको सहयोगमा धुलोरहित बनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसअघि एेंसेलुखर्क गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयलाई धुलोरहित बनाएको थियो । ऐसेलुखर्कमा ४३ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । सत्ताइस प्रावि, आठवटा आधारभूतर आठ माध्यमिक विद्यालय सञ्चालनमा रहेको उक्त गाउँपालिकाका माध्यमिक तहमा इ–लाइब्रेरीसमेत जडान गरेर सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले आठवटा माविमा तीन हजार दुई सय पुस्तक भएको एक÷एक वटा इ–लाइब्रेरी स्थापना गरेर सञ्चालनमा ल्याएको हो । जिल्लाका अधिकांश सामुदायिक विद्यालयको पठनपाठन कच्ची भवनको धुलाम्मे कक्षकोठामा सञ्चालन हुँदै आएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ९६ मावि, ६७ निमावि र तीन सय ३० आधारभूत गरी चार सय ९३ सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् ।