रुपन्देहीमा रात्रिकालीन बजार सञ्चालन मापदण्डको मस्यौदा तयार

रुपन्देही । रात्रीकालीन बजार सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सञ्चालन मापदण्डको मस्यौदा तयार गरेको छ । व्यवसायीले जिल्लाको बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने विषयमा बहस सुरु गरेपछि प्रशासनले मापदण्डको खाका तयार गरेर व्यावसायिक सङ्घसंस्थासँग छलफलसमेत गरेको हो । प्रशासनले रातिको समयमा आपराधिक क्रियाकलाप पनि हुनसक्ने सम्भावित जोखिम हटाउनका लागि रात्रिकालीन बजार सञ्चालनका लागि मापदण्ड तयार गरेको हो । तयार गरिएको मापदण्डमा नसमेटिएका र सुधार गर्नुपर्ने कुरा केके हुनसक्छन् व्यावसायिक सङ्घसंस्थासँग छलफल गरेर सुझाव मागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । ‘रात्रिकालीन व्यवसायमा मनोरञ्जन पनि जोडिन्छन्, जसका कारणबाट आपराधिक गतिविधि पनि हुन सक्छन्’, उनले भने, ‘रात्रिकालीन बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ, कसरी मर्यादित बनाउन सकिन्छ, त्यसका लागि मापदण्डको खाका तयार गरिएको हो ।’ प्रशासनले तयार गरेको मापदण्डको मस्यौदामा होटललगायत मनोरञ्जनात्मक व्यवसायलाई बढी केन्द्रित गरिएको छ । जिल्ला सुरक्षा समितिबाट स्वीकृत भएपछि प्रारम्भ हुनेगरी तयार गरिएको मापदण्डमा रात्रिकालीन बजार सञ्चालन गर्ने स्थानमा सिसिटिभी र लाइटलाई अनिवार्य गरिएको छ । कम्तीमा ३० दिनको रेकर्ड रहनेगरी सिसिटिभीको व्यवस्था गर्नुपर्नेछ भने लाइन गइहालेमा पनि वैकल्पिक लाइनको प्रबन्ध मिलाएको हुनुपर्नेछ । महिला कामदारको सुरक्षालाई विशेष महत्व दिइएको छ । त्यसबाहेक व्यावसायिक आचारसंहिता, श्रम ऐनअनुसारको श्रमिकको न्यूनतम पारिश्रमिक, महिला कामदारलाई पूर्ण सुरक्षाको प्रत्याभूति गराउने प्रावधान राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख रविन्द्र रेग्मीले रात्रिकालीन बजार सञ्चालनका लागि सुरक्षालाई केन्द्रित गरिएको र निर्धारण गरिएको मापदण्ड पालना गर्न व्यवसायी तयार हुनुपर्ने बताए । त्यस्तै होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गर्ने व्यवसायीले व्यवसायको प्रकृतिअनुसार सम्बन्धित निकायमा दर्ता गरी व्यवसाय सञ्चालनका लागि लिनुपर्ने अनुमति लिइ सञ्चालन गर्नुपर्नेछ । व्यवसाय सञ्चालन गर्ने समय र राज्यले गर्ने स्वास्थ्य मापदण्डसम्बन्धी व्यवस्थाको पनि पालना गर्नुपर्नेछ । सबै व्यवसायी कर्मचारी तथा कामदारले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको हुनुपर्नेछ । व्यवसाय सञ्चालन गर्दा राज्यले जारी गरेका कानुनी प्रावधान अनिवार्यरुपमा पालना गर्नुपर्नेछ । त्यस्तै सबैले देख्नेगरी मूल्यसूची राख्नुपर्नेछ । सेवाग्राहीले पनि श्रमजीवी महिलाप्रति सम्मानजनक व्यवहार गर्नुपर्नेछ । उनीहरुको मर्यादामा आँच आउने कुनै पनि गतिविधि गर्न पाइने छैन । नृत्य गर्ने कलाकारले उत्तेजक पोशाक लगाइ नृत्य गर्न पाइने छैन । रात्रिकालीन बजारमा सञ्चालित प्रतिष्ठानले आफ्ना कामदार कर्मचारीलाई ड्रेस तथा परिचयपत्रको व्यवस्था गर्नुपर्नेछ भने कार्यस्थलमा उनीहरुले अनिवार्यरुपमा ड्रेस लागाउने र परिचयपत्र भिरेको हुनुपर्नेछ । रात्रिकालीन बजारमा मापदण्डानुसार काम भए/नभएको अनुगमन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी अनुगमन समितिको परिकल्पना गरिएको छ । अनुगमन समितिमा जिल्ला समन्वय अधिकारी जिल्ला समन्वय समितिको कार्यालय, प्रहरी नायब उपरीक्षक जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी नायब उपरीक्षक सशस्त्र प्रहरी बल, सम्बन्धित स्थानीय तहका अधिकृत र व्यावसायिक संस्था रहनेछन् । व्यावसायिक सङ्घसंस्थाको सुझाव सल्लाहअनुसार मापदण्डको मस्यौदामा सुधार गरेपछि मात्रै कार्यान्वयनमा जाने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । रासस

नयाँ बसपार्क क्षेत्र वरपर रहेका अवैध संरचना हटाउन सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो । वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको जानकारी दिए । महानगरपालिकाले भूमिगत पार्किङ मिचेर बनाइएका दोहोरी साँझसमेत हटाइको हो । आज नयाँ बसपार्कस्थित मित्रनगर प्रवेशद्वारदेखि म्हैपीसम्मका अवैध संरचना हटाइने उहाँको भनाइ छ । मित्रनगर विकास तथा टोल सुधार समितिकी उपाध्यक्ष गङ्गा पन्तले सुन्दर मित्रनगर निर्माणका लागि महानगरपाकिाले गरेको काम सराहनीय भएको बताए । ‘मित्रनगर क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि यस्तो कार्यले सहयोग पुग्छ’, उनले भने । काठमाडौं महानगरपालिकाले डोजर लगाएर अनधिकृत संरचना हटाएको दृश्य हेर्न स्थानीयको भीड लागेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीले बल प्रयोग गरेर भीड हटाएको थियो ।

काठमाडौं महानगरले ३ महिनामा सबै हार्डिङ बोर्ड हटाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रको सबै होर्डिङ बोर्ड हटाउने भएको छ । महानगरले ३ महिनाभित्र काठमाडौंका सबै होर्डिङ बोर्ड हटाउन लागेको काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख  राजु पाण्डेले जानकारी दिए । उनको अनुसार महानगरले ३ महिनाभित्र मापदण्ड विपरीत राखिएका काठमाडौंको सबै होर्डिङ बोर्ड हटाइसक्ने योजना बनाएको छ ।