काठमाडौं महानगरले एकैदिन भत्कायो ४० बढी संरचना
काठमाडौं । काठमाडौं महानगरपालिकाले साेमबार एकैदिन ४० बढी अवैध संरचना भत्काएको छ । अवैध रुपमा निर्माण भएका संरचना भत्काउन कामपाले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरेको हो । उक्त कार्यअन्तर्गत आज कामपा र तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने गुम्बा भन्ने स्थानमा रहेको खोलालाई मिचेर बनाइएका केही टहरा र २० सटर भत्काइएको छ । त्यसैगरी सडक मिचेर निर्माण गरिएका पर्खाललाई पनि डोजर लगाएर भत्काएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । त्यस्तै, माछापोखरी चोकमा फुटपाथ प्रयोग गरी निर्माण गरिएको फलामको भर्याङ र खुसिबुँमा पनि अवैध रुपमा निर्माण गरिएको छ टहरा भत्काइएको प्रमुख पाण्डेले जानकारी दिए । हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबैलाई कानुनी दायरामा ल्याउने कामपाको तयारी हो । कामपाले यही भदौ ६ गतेदेखि अवैध रुपमा निर्माण भएका र निर्माण भएअनुरुप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई अनुसरण गर्न थालेका छन् । रासस
वीर अस्पतालले भन्याे : घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँदै आएका छौं
काठमाडौं । वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ । काठमाडौं महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको हो । महानगरले यस्तो तथ्य सार्वजनिक गर्नुअघि पत्र लेखेको भए यस विषयमा जानकारी गराइने उल्लेख गर्नु हुँदै वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रले संवेदनशील संस्थाका विषयमा गलत तथ्य बाहिर ल्याएको बताए । ‘स्थानीय तह सञ्चालन ऐन आउनुअघिदेखि वीर अस्पतालले राजस्व कार्यालयमा कर दाखिला गर्दै आएकामा अहिले पनि त्यसै गरिरहेका छौँ, राजस्व कार्यालयमा बुझाउने कर महानगरपालिकामा परिवर्तन गर्न पत्र नआएका कारण पहिले जसरी नै तिरेको देखिन्छ’, उनले भने । दैनिक करिब दुई हजार पाँच सय बिरामी आउने गरेको अस्पतालले जनाएको छ । धेरै बिरामी चापका कारण त्यसको व्यवस्थापनमै कर्मचारी व्यस्त हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी मिश्रले स्थानीय केन्द्र सरकारलाई बुझाइरहेको कर स्थानीय सरकारलाई बुझाउने विषयमा अस्पष्टताका कारण यस्तो भएको हुनसक्ने सुनाए । वीर अस्पतालको भवनमा विसं २०७२ देखि फार्मेसी सञ्चालन गर्दै आएका नवराज खनाल घरबहाल कर अस्पताललाई नै बुझाउने गरेको बताउँछन् । महानगरपालिकाले घरबहाल कर नपाएको सूचना सार्वजनिक गरेपछि आफूहरूले पनि यस विषयमा अस्पताल प्रशासनलाई जानकारी गराएको उनले सुनाए । अस्पतालसँग वार्षिक सम्झौता गरी भाडा र कर बुझाउने गरेको व्यवसायी बताउँछन् । रासस
लगनखेलको मन्जुश्री पेट्रोल पम्प सिल
काठमाडौं । काठमाडौं महानगपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ । मापदण्डविपरित बनाइएको उक्त पेट्रोल पम्प महानगरले आइतबार सिल गरेको हो । उक्त पेट्रोल पम्प लामो समयदेखि महानगरकै जग्गामा संचालनमा रहेको थियो । महानगरले उक्त पेट्रोल पम्पलाई ६ महिना अगाडि नै मापदण्ड विपरीत रहेको भन्दै हटाउन सूचित गरेको थियो । तर, पटक पटक आग्रह गर्दा पनि सञ्चालकले अटेर गरेपछि पम्प सिल गरिएको महानगरले जनाएको छ ।