‘महानगरले जे गरेपनि हुने हो’

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी जग्गामा राखेका सवारीसाधन उठाएर ज्यादती गरेको छ । आईतबार महानगरपालिकाले काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखेका सवारीसाधन उठाएर ज्यादती गरेको हो । निजी जग्गा क्षेत्रभित्र राखेका दुई पाङ्ग्रे सवारीसाधन महानगर प्रहरीले उठाएपछि यतिबेला अनामनगर क्षेत्र तनावग्रस्त बनेको छ । महानगरपालिकाले गरेको ज्यादतीको बिरुद्धमा यतिबेला सवारीसाधन चालकहरु बिरोधमा उत्रिएका छन् । उनीहरुले महानगरपालिकाले एकपटक एउटै र अर्को दिन अर्को निर्णय गरेर आम सर्वसाधारणहरुमाथि ज्यादती गरेको बताए । एक सर्वसाधारण राजु श्रेष्ठले महानगरपालिकाले एक लाइन सवारी राख्न पाउने भनेर हप्ता दिनअघि गएको तर अहिले पुनः आएर सवारीसाधन उठाएको भन्दै आपत्ति जनाए । उनले अनामनगर क्षेत्रमा निजी जग्गामा सवारी राख्न नपाउने हो भन्दै प्रश्नसमेत गरे । त्यस्तै अर्की एक सवारीसाधन चालकले महानगरपालिकाको ज्यादती आम सर्वसाधारणहरुल्े कहिलेसम्म सहनुपर्ने हो भन्दै आक्रोश व्यक्त गरे । उनले महानगरले जे गरेपनि हुने हो भन्दै प्रश्नसमेत गरे । सिंहदरबार पूर्वीगेटमा यतिबेला सर्वसाधारण, महानगरप्रहरी र ट्राफिक प्रहरीबीच भनभन छ । सर्वसाधारणहरुले महानगरपालिकाले जनतामाथिको ज्यादती छोड्नपर्ने अडान लिएका छन् ।

फुटपाथ र नालामाथि राखेका निर्माण सामग्री हटाउँदै वीरगञ्ज महानगर, ५ हजार जरिवाना

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगरको विभिन्न स्थानका फुटपाथ र नाला माथी राखेको निर्माण सामग्री हटाउने कामलाई तिब्रता दिएको छ । सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो । महानगरले शनिबार बिहान वडा नम्वर ४ विर्ता क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री हटाउनुका साथै लामो समयदेखि सडक छेउमा बेवारिसे अवस्थामा पार्किङ गरेर राखिएको एउटा एम्बुलेन्स पनि हटाएको छ । एडभान्स हस्पिटलले लामो समयदेखि पार्किङ गरेर राखेको एम्बुलेन्स महानगरको डोजरले तानेर हटाइएको वीरगञ्ज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली संयोजक जयप्रकाश खेतानले जानकारी दिए । ‘हस्पिटलले वर्षौँदेखि सडक छेउमा वेवारिसे अवस्थामा एम्बुलेन्स पार्किङ गरेर राख्दा आउजाउमा पनि असहज भएको थियो,’ उनले भने, ‘महानगरले सुरु गरेको अभियान अन्तर्गत आज हामीले जथाभावी पार्किङ गर्ने, फुटपाथ र नाला मिचेर राखिएका निर्माण सामग्री र ठेला हटाउने अभियान अन्तर्गत यो क्षेत्र क्लियर गरेका छौँ, अब सहज हुने अपेक्षा छ ।’ अहिले महानगर र सरोकारवालाहरुको सकृयतामा घण्टाघरदेखी नारायणी अस्पतालसम्म, मकालु होटल हुँदै घडिअर्वासम्मको सडकमा चारपाङ्ग्रे सवारी पार्किङ गर्न निषेध गरिएकाले ती क्षेत्रमा पार्किङ गरिएका सवारीलाई कारबाही गर्न थालिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताए । तीन पाङ्ग्रे र चारपाङ्ग्रे सवारी निषेध गरिएका स्थानमा जानकारीका लागि ठाउठाउँमा बोर्ड राखिएको भन्दै उनले त्यसलाई अटेर गर्दै ती क्षेत्रमा पार्किङ गर्ने त्यस्ता सवारीलाई ५ हजारसम्म जरिवाना गरिने पनि उनले बताए । महानगरले सवारी पार्किङका लागि निश्चित स्थान तोकेकाले तोकिएको स्थानमा मात्रै पार्किङ गर्न पनि सबैलाई अनुरोध गरेको छ ।

स्थानीय तहको काम जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्छ – प्रधानमन्त्री देउवा

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखि, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने प्रष्टयाएका हुन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्लेख गरे । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंशा समेत गरे । । उनले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट सहरको रुपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए । प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले नमूना महानगरपालिकाको रुपमा आफूलाई अघि बढाएको बताए । उनले भने, ‘नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र सेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ । नागरिक नजिकको सरकार भएकाले स्थानीय तहको कामकारबाही जनमुखी, पारदर्शी र परिणाममुखी नागरिक जवाफदेही हुनु पर्दछ ।’ कार्यक्रममा प्रधानमन्त्री देउवाले नागरिकलाई खुसी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरुको संरक्षण र सम्वद्र्धनको काम भईरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढन थप क्रियाशील हुन आग्रह गरे । भौतिक पूर्वाधारहरुको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने उनको भनाई थियो ।