डोटीका भूकम्पपीडित परिवारलाई काठमाडौं महानगरको १० लाख सहयोग

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । काठमाडौँ महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई १० लाख आर्थिक सहयोग गरेको हो । गएको कात्तिक २३ गते पूर्वीचौकी गाउँपालिकामा गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पले छ जनाको ज्यान गएको थियो भने तीन हजार आठ सय घरटहरा भत्किएका थिए । काठमाडौँ महानगरपालिकामा डोटीका भूकम्पपीडितका लागि सहयोगको अनुरोध गरिएपछि महानगरबाट विपद् व्यवस्थापनअन्तर्गतको बजेटबाट गाउँपालिकालाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराइएको महानगर प्रमुख बालेन शाहले बताए । उनले भने, ‘भूकम्पपीडितका समस्याका विषयमा हामीले जानकारी पायौँ र केही रकम आर्थिक सहयोग गरेका छौँ, आशा छ हाम्रो सहयोगले पीडितका समस्या केही हदसम्म भए पनि समाधान हुने छन् ।’ उक्त आर्थिक सहयोग पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायमार्फत हस्तान्तरण गरिएको काठमाडौँ महानगर पालिकाले जनाएको छ ।

कालीकोटको सामुदायिक विद्यालयमा इन्टरनेट सेवा दिइने

कालीकोट । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका सबै सामुदायिक विद्यालय ब्रोडब्याण्ड इन्टरनेट सेवा दिइने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न लागेको हो । प्रविधिमार्फत सामुदायिक विद्यालयमा शैक्षिक सुधार ल्याउनका लागि ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने विषयमा गाउँपालिका र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ । गाउँपालिका र प्राधिकरणबीच समझदारी भएअनुसार तत्काल गाउँपालिकाका २१ वटा आधारभूत विद्यालयमा इन्टरनेट सेवा सुरुआत हुने गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले जानकारी दिए । ‘स्थानीय तहले तत्काल प्रधानाध्यापकलगायत सरोकारवालाको भेलामा माइक्रो, फोरजी र फाइबरमध्ये कुन सेवा उपयुक्त हुन्छ सोही सेवाको इन्टरनेट सेवा विस्तार गर्ने भएको छ’, उनले भने, ‘सुरुमा सामुदायिक विद्यालय त्यसपछि सबै विद्यालयमा उक्त सेवा उपलब्ध गराइनेछ ।’ विद्यालयमा उपलब्ध गराइने इन्टरनेट सेवाका लागि लाग्ने लागत प्राधिकरणले नै व्यहोर्ने सहमति भएको गाउँपालिकाका अध्यक्ष केसीले बताए । उनले भने, ‘यसका लागि प्राधिकरणले पहिलो चरणमा अध्यायन गर्ने भएको छ ।’ सूचना प्रविधिबाट शिक्षण सिकाइ सुरु गर्ने सरकारको योजनाअनुसार नै गाउँपालिकाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न थालिएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत प्रकाश बरालले जानकारी दिए । उनले भने, ‘परम्परागत शिक्षण विधिभन्दा सूचना प्रविधि विधिबाट शिक्षण गराउनु अहिलेको आवश्यकता हो ।’

फोहरलाई छ प्रकारमा छुट्याएर सङ्कलन गर्दै चन्द्रागिरि नगरपालिका

कीर्तिपुर । फोहरलाई कुहिने र नकुहिने गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहरलाई छ थरी झोलामा छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको छ । नगरवासीलाई घरबाट निस्किने फोहरको अधिकांश भाग आफैँ व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई छ वटा अगल–अलग झोला वितरण गरिनेछ । नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले सङ्कलन हुने फोहरको परिमाण उल्लेख्यरुपमा घटाउन र बाँकी फोहर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न यस्तो कार्यक्रम सुरु गरिएको हो । यस अन्तर्गत नगरवासीलाई हरियो, रातो, कालो, सेतो, नीलो र पहेँलो गरी छ प्रकारका झोला वितरण गरिनेछ । साथै उनीहरुलाई हरियो झोलामा तरकारीलगायतका खाद्यपदार्थबाट निस्किएका फोहर राख्न भनिने छ । सम्भव भएसम्म हरियो झोलामा सङ्कलन हुने फोहरबाट मल बनाउन उत्प्रेरित गर्ने नगरपालिकाको अवधारणा छ । यसैगरी रातो रङको झोलामा सिसा र सिसाजन्य फोहर राख्न र त्यसलाई आफैँले कवाडीमा बेच्न प्रेरित गरिनेछ । कालो झोलामा प्लाष्टिक र प्लाष्टिकजन्य फोहर राख्ने र त्यसलाई पनि नगरवासी आफैँले बेच्नका लागि प्रेरित गरिनेछ ।सेतो झोलामा कागज र कागजजन्य फोहर थुपार्ने र त्यसलाई समेत कागज पुनः प्रयोग गर्नेलाई बेच्नका लागि प्रेरित गरिने छ । फलाम र कवाडीजन्य अन्य सामान थुपार्न निलो रङको झोला उपलब्ध गराइनेछ । त्यसलाई पनि नगरवासी आफैँले बेच्न सक्नेछन् । यसैगरी व्यक्तिगत तवरमा व्यवस्थापन गर्न नसकिने स्यानिटरी प्याड, डाइपरआदि फोहरलाई पहेँलो झोलामा सङ्कलन गर्न प्रेरित गरिने छ । ‘कुहिने फोहरमा माटो र धानका भुस र बिरुवाका पात राखेर नगनाउने गरी मल बनाउन सकिन्छ’, नगरपालिकाबाट तयार गरिएको सन्देशमा उल्लेख छ । यसका साथै फोहरलाई सङ्कलक नआएको बेला घरभित्र राख्न र सङ्कलक आएको बेलामा मात्र बाहिर निकाल्न पनि नगरपालिकाले आह्वान गरेको छ । ‘कुहिने फोहर मलका रुपमा र नकुहिने फोहर पैसाका रुपमा नगरवासीलाई नै फिर्ता दिने उद्देश्यले यो कार्यक्रम गर्न लागेका हौँ’, प्रमुख गिरीले भने । फोहरको प्रकृतिअनुसार छुट्याउनका लागि झोला मात्र वितरण नगरी कुन दिन कुन टोलमा छ वटामध्ये कुन प्रकारको फोहर उठ्छ भन्नेसमेत तय गरिने छ र नगरवासीलाई यसैअनुसार सूचना दिइने नगरपालिकाकी विपद् व्यवस्थापन शाखाप्रमुख भद्रा अर्यालले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्र कूल छ वटा संस्थाले फोहर सङ्कलन गरिरहेका छन् । तिनलाई पनि निश्चित बार निश्चित प्रकारको फोहर मात्र उठाउने गरी प्रशिक्षित गरिने छ । घरको फोहर त्यसको प्रकृतिअनुसार अलग–अलग भाँडामा सङ्कलन गर्ने बानी लगाउन यसो गरिएको नगरप्रमुख गिरी बताउँछन् । अहिले प्लाष्टिकको झोलामा अलग–अलग फोहर सङ्कलन गर्न लगाउने र पछि विस्तारै बलियो भाडा दिने सोचाइ नगरपालिकाको छ ।