तरकारी ढुवानी गर्न गाउँपालिकाको कृषि एम्बुलेन्स

चितवन । कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर–घरबाट बजारसम्म ल्याइने उनले जानकारी दिए । उनका अनुसार वडा नं १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीन वटा कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको हो । ‘किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज होस् भन्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गर्न खोजेका हौँ’, उउनले भने ।  अहिले पनि इच्छाकामनाको पहाडी क्षेत्रका बासिन्दाले निकै कष्टका साथ कृषिजन्य उत्पादन बजार पुर्याउनुपर्ने बाध्यता छ । तत्कालका लागि तीनवटा एम्बुलेन्स खरिद गर्ने तयारीमा रहेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार सङ्घीय सरकारले ४० लाख रुपैयाँ बजेट व्यवस्थापन गरिदिएको छ भने त्यसमा पालिका र कृषि समूह तथा सहकारीको सहकार्यमा आधा–आधा रकमको व्यवस्थापन हुनेछ । ‘सङ्घीय सरकारसँगै पालिकाले २५ प्रतिशत र कृषि समूह तथा सहकारीको २५ प्रतिशत रकम व्यवस्थापन गरेर कृषि एम्बुलेन्स खरिद गर्ने योजना हो’, उनले भने । गाउँपालिकाले तीनवटा एम्बुलेन्स खरिदका लागि करिब रु ८५ लाख खर्च लाग्ने अनुमान गरेको छ । ‘विशेषगरी वडा नं १ को भाराङ, हात्तीवाङ, वडा नं २ को मायाटार, वल्र्याङ र वडा नं ७ को दाहाखानीलगायतका क्षेत्रलक्षित गरी साधन खरिद गर्न लागेको हो’, अध्यक्ष गुरूङले बताए । कृषि एम्बुलेन्सको प्रयोगबाट भौगोलिक विकटताका कारण किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने गाउँपालिकाले विश्वास लिएको छ । ‘पालिकाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत रहेर यो कार्यक्रम सञ्चालनको तयारीमा छौँ’, उनले भने, ‘बजेटेको व्यवस्थापनका लागि पटक–पटक सङ्घीय सरकार धाउनुपर्यो ।’ इच्छाकामना गाउँपालिकाभित्र सुन्तला उत्पादन राम्रो हुन्छ । यस्तै काँक्रो, गोलभेँडा, फर्सी, बन्दा, काउली, भेडे खुर्सानी, अदुवा, रायो, आलु, करेला, घिरौँला, मुला, स्कुस, लौका, धनियाँ, पालुङ्गोलगायतका तरकारी उत्पादन हुनेगरेको छ । गाउँमा उत्पादन भएका फलफूल र तरकारी राजमार्गमा रहेका चुम्लिङटार, कुरिनटार र मुग्लिनमा ल्याएर बेच्ने गरिएको छ । रासस

सीप सिकेर आत्मनिर्भर बन्दै तनहुँका महिला

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७ की अनिता विकले क्रिष्टलका गहना बनाउने सीप सिके । सीप सिकेपछि अब उनलाई आत्मनिर्भर बन्ने जोश बढेको छ । म्याग्दे गाउँपालिकाले सीपमूलक तालिम प्रदान गरेपछि विक अब आफैँ उद्यमी बन्ने तयारीमा छिन् । ‘अहिलेसम्म घरायसी काममा व्यस्त रहँदै आएको छु, गाउँपालिकाले सीप सिकायो, अब उद्यमी बन्ने सोचेको छु,’ उनले भनिन् । विकले घरमै यत्तिकै बस्नुभन्दा आयआर्जनतर्फ लाग्न सके आत्मनिर्भर बनिने उल्लेख गरे । स्थानीयस्तरमा आयोजना हुने कार्यक्रमका लागि माला बनाएर बिक्री गर्न सकिनेमा स्थानीयवासी शिवकुमारी राना विश्वस्त छिन्। ‘टोल–टोलमा कार्यक्रम हुन्छन्, त्यहाँ स्थानीयस्तरमै उत्पादित माला बिक्री वितरण गर्न सकिन्छ, यसले गर्दा आयआर्जन पनि हुने, उनले भनिन् । आफूलाई आवश्यक परेको र प्रयोग गर्दै आएका सबै सामान आफैँले बनाउन सक्ने भएपछि गङ्गा श्रेष्ठले अब सीपलाई निरन्तरता दिने बताइन्। ‘दुबोको माला, फाइवरको माला आफैँले बनाउन सक्ने भएका छौँ, स्थानीय कार्यक्रममा बाहिरबाट किनेर ल्याउने माला अब आफैँले बनाएर बिक्री गर्न सक्छौँ, उनले भनिन् । थोरै लगानीमा पनि व्यवसाय विस्तार गर्न सकिने भएकाले अब यसतर्फ लाग्ने उनले बताइन्। म्याग्दे गाउँपालिकाले यहाँका महिलालाई सीपमूलक तालिम दिन थालेपछि उनीहरू उत्साहित भएका छन् । महिलालाई सीप सिकाइ आयआर्जनतर्फ लैजान खोजिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। ‘यहाँका महिलालाई मागका आधारमा सीपमूलक तालिम दिन थालेका छौँ’, उनले भने। गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गाउँपालिकाले महिलालाई सीपमूलक तालिम प्रदान गरिरहेको फोकल पर्सन एवं अधिकृत प्रदीप न्यौपानेले बताए। उनका अनुसार घरायसी कामकाजमा व्यस्त रहने महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउन विभिन्न तालिम दिन सुरु गरिएको हो। ‘माग र आवश्यकताका आधारमा विभिन्न सीपमूलक तालिम दिइरहेका छौँ, यसले गर्दा महिलालाई आयआर्जनमा सहयोग पुग्ने विश्वास लिएका छाैँ,’ उनले भने । गाउँपालिकाले म्याग्दे–२ जामुनेका महिलालाई अचार बनाउने तालिम प्रदान गरेको छ । सो क्रममा १९ महिलालाई १५ प्रकारका अचार बनाउने सीप प्रदान गरिएको छ । म्याग्दे गाउँपालिकाका श्रीप्रसाद श्रेष्ठले महिला सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने बताए। रासस

‘पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन’

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीको ध्यानाकर्षणपत्र बुझ्दै उनले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर पछि नहट्ने प्रष्ट पारे । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ । महानगरले शनिमन्दिर–अस्पतालचोक, महावीर रोड, गुद्री रोड, शनिमन्दिर रोड, जलजलाचोक–ट्राफिकचोकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको छ । विकल्पसहितको पार्किङको व्यवस्थापन गरेकाले निर्णयबाट पछि नहट्ने प्रमुख कोइरालाको भनाइ थियो । ‘हरेक पार्किङस्थलबाट दुईदेखि तीन मिनेटमा जुनसुकै पसलमा पुग्न सकिने अवस्था छ’, प्रमुख कोइरालाले भने, ‘विराटनगरलाई जस्तो छ त्यस्तै छाडिदिऊ भन्छन् भने हाम्रो भन्नु केही छैन । तर विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउने हो भने तपाईँहरूले सहयोग गर्नुहोस् ।’ बैंक, अस्पतालसहित ठूला कर्पोरेट हाउसले निर्माण गरेका अण्डरग्राउण्ड पार्किङ सञ्चालनका लागि पत्राचार गरिसकेको अवस्थामा सडकको अव्यवस्थित पार्किङले एम्बुलेन्स, दमकल सहजरूपमा आवतजावत गर्न नपाउँदा बिरामीको ज्यानै जाने अवस्था रहेको प्रमुख कोइरालाको भनाइ थियो । उपप्रमुख शिल्पा निराला कार्कीले यात्रु र आमसर्वसाधारणबाट सडकलाई पार्किङ निषेध गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । उनले भने, ‘विराटनगर हामी सबैको हो, हामी सबै मिलेर लाग्यौँ भनेमात्रै विराटनगरलाई व्यवस्थित र सुन्दर बनाउन सक्छौँ ।’ वडा नं ९ का वडाध्यक्ष विश्वनाथ भगतले बजारलाई व्यवस्थित बनाउन सहयोग गर्न व्यापारीलाई आग्रह गरे । महानगर प्रहरीका निरीक्षक राजन पौडेल र ट्राफिक प्रहरी कार्यालय मोरङका वरिष्ठ प्रहरी नायब निरीक्षक यज्ञराज शर्माले महानगरका अन्य सडकलाई पनि पार्किङ निषेध गर्ने तयारी भइरहेको जानकारी दिए । पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङ्गेल, सामाजिक अभियन्ता वसन्त अधिकारीलगायतले महानगरले सुरु गरेको अभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिए । छलफलमा नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष नवलकिशोर काबरा, मोरङ व्यापार सङ्घका महासचिव अनिल सारडा, विराट व्यापार सङ्घका अध्यक्ष नरेश खत्रीले महानगरको अभियानमा साथ दिन तयार भएको बताउँदै सडकमा पार्किङ गर्न दिएर सवारीसाधनलाई एकतर्फी सञ्चालन (वानवे) बनाउन आग्रह गर्दै आएका थिए । रासस