‘डिजे’ बजाउन प्रतिबन्ध

काठमाडौं । अब धनगढी उपमहानगरपालिकामा डिजे बजाउन नपाइने भएको छ ।उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै माईक, डिजे जस्ता विधुतीय बाजा गाजा र पटाका पड्काउन प्रतिबन्ध लगाएको हो । उप(महानगरपालिका भित्र सामाजिक परम्परा अनुसार हुने विवाह, व्रतबन्ध, सप्ताह एवम् चाडपर्वहरुमा बजाइने विधुतीय बाजा गाजाहरुले नगरवासीहरुलाई नकारात्मक असर परेको र वृद्ध तथा बालबालिका र मुटु तथा असाध्य रोग लागेका मानिसहरुको स्वास्थ्यमा थप समस्या उत्पन्न भएको बताएको छ । ‘छर छिमेकीलाई नकारात्मक असर पुग्ने गरी पटाका, डिजे लगायत विधुतीय बाजाको प्रयोग नगर्नरनगराउनु हुन् सम्वन्धित सबैको जानकारीको लागी यो सूचना प्रशारण गरिएको छ । अटेर गरी त्यस्ता सामग्री प्रयोग गरे गराएमा नियम कानून बमोजिम कारवाही भै जाने व्यहोरा समेत यसै सूचना साथ जानकारी गराईन्छ,’ सूचनामा भनिएको छ ।

३ मतको फरक भएको पोखरा-१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिका–१८ मा पुनः मतगणनाको आदेश दिएको छ । सो वडामा तीन मतान्तरले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद तिमिल्सिना विजयी भएका थिए । नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका प्रत्याशी पुष्कल थापाले गणनामा धाँधली भएकाले पुनः मतगणनाको मागसहित उच्च अदालतमा निवेदन दिएका थिए । सो निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले गणना बदर गरी आगामी वैशाख २० गते पुनः मतगणना गर्न आदेश गरेको अदालतका उपरजिष्ट्रार एवं सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिएका हुन् । गणनाको जनशक्ति व्यवस्थापनका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा र स्थान तोक्नका लागि उच्च अदालतका रजिष्ट्रारलाई आदेश दिएको छ । यसअघि निर्वाचन आयोगले सो वडाको अन्तिम मत परिणाममा वडाध्यक्षमा विजयी तिमिल्सिनाले १ हजार ६४३ र थापाले १ हजार ६४० मत पाएकोमा तिमिल्सिनालाई विजयी घोषणा गरेको थियो । थापाले परिणाम घोषणालगत्तै पुनः गणनाको माग गरे पनि निर्वाचन आयोगले गणना अस्वीकार गरेको थियो ।

मेयर साम्पाङ र बालेनबीच भेट

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङबीच भेट भएको छ । धरान उपमहानगरका मेयर साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच मंगलबार दिउँसो राष्ट्रिय सभामा भेट भएको हो । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । भेटको क्रममा बालेनलाई साम्पाङले सिलाम साक्मा लगाइदिएका थिए ।