नुवाकोटमा लिच्छवीकालीन विहारको अध्ययन सुरु
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू-चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ । प्राप्त इतिहासअनुसार करिब चौध सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनःनिर्माणका लागि पुरातत्व विभागले अध्ययन सुरु गरेको हो । अध्ययनका लागि बेलायतको दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगबाट जमिनमुनि रहेका संरचनाको जानकारी सङ्कलन सुरु गरेको विभागमा प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए। उनका अनुसार अहिले देखिएका स्वयम्भू-चैत्यको संरचना निकै पुरानो पाइएको छ । विद्यमान अवस्थामा रहेका संरचनाको पुरातात्विक स्वरुपसमेत नमिलेको पाइएकाले जमिनमुनिको भागबाट अध्ययन सुरु भएको हो । ‘अध्ययनको प्रतिवेदन प्राप्त गर्न केही दिन लाग्नेछ’, प्रवक्ता कुँवरले भने, ‘जमिनमुनिको भागमा पाइएको तथा देखिएका तथ्यका आधारमा अर्को चरण (जमिनमाथि)को अध्ययन सुरु हुनेछ ।’ स्वयम्भू (चैत्य)को अध्ययनका लागि शनिबार यहाँ आएको बेलायतको दुराम विश्वविद्यालयका दुई सदस्य पुरातत्वविद्ले अत्याधुनिक उपकरणको सहायताले सङ्कलन गर्नुपर्ने विवरण लिएर आइतबार फर्किएका छन् । स्वयम्भू (चैत्य)को अहिलेको अहिलेको अवस्था छरिएका ढुङ्गाका स–साना चैत्यहरूको बीचमा फराकिलो पीठको बीचमा थप अर्को (पूर्णता पाउन बाँकी रहेको) मूल चैत्य अवस्थित छ । चैत्यको पूर्वी मोहडामा दायाँ–बायाँ दुईवटा सिंहको मूर्ति राखेर प्रवेशद्वार बनाइएको छ भने चैत्यको अगाडि बायाँ भागमा गणेशको मूर्ति देखिएकाले त्यसको दायाँ भागमा भैरवको मूर्ति नहुनुले जमिनमुनिको उत्खननको आवश्यकता पहिचानका लागि नगरपालिकाले अनुरोध गरेर अध्ययनको माग गरेको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले बताए । उनका अनुसार यत्रतत्र (पुरातात्विक संरचनाअनुसार नमिलेको अवस्थामा) गणेश, भीमसेन, गरुडासन विष्णु, सरस्वतीलगायतका मूर्ति पाइएका छन् । मूल स्तूप र यस आसपासमा पुरातात्विक संरचनाअनुसार भैरवलगायतका मूर्ति हुनुपर्ने स्थानको संरचना खलबलिएको पाइएकाले उत्खननका लागि गरिएको अध्ययनको प्रतिवेदनले थप तथ्य बाहिर आउने आशा छ । ‘चैत्यस्थलको चारै दिशामा टुटेफुटेका पुरातात्विक वस्तु तथा निर्माणका संरचना यत्रतत्र देख्न पाइन्छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘लामो इतिहास, ऐतिहासिक संरचना र संस्कृतिको भरिपूर्ण रहेको विहारलाई लिच्छवीकालदेखि शाहकालसम्मको विभिन्न तथ्यसँग जोडेर गरिएको प्रचार अहिलेसम्म यथार्थमा प्रश्न उठेकाले भ्रम हटाउन अध्ययन थालिएको हो ।’ विदुर नगरपालिका–२ मा अवस्थित साततले दरबार नेपाल एकीकरणको समयमा नुवाकोटमाथि विजयी भएपश्चात पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएका थिए । सोही दरबारको परिसरको उत्तरतर्फ मल्लकालीन तलेजु (तुलजा) भवानीको मन्दिर रहेको छ । उक्त मन्दिरको उत्तरतर्फमा अवस्थित यहाँको विहार–स्वयम्भू (चैत्य)सहितका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक संरचना भने लिच्छवीकालीन रहेको विभिन्न तथ्य र शिललेखमा उल्लेख गरिएको भए पनि यकिन कुन समयमा के प्रयोजनका लागि निर्माण गरिएको थियो भन्ने थाहा नभएकाले अहिले गरिएको अध्ययनलाई महत्वको रूपमा लिएको नुवाकोट दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुनप्रसाद फुँयालले बताए । रासस
महानगरले सुरु गर्यो कम्पोष्ट मल बनाउन, बञ्चरेडाँडामा पनि उत्पादनको तयारी
काठमाडौं । काठमाडौँ महानगरपालिकाले टेकुस्थित ट्रान्सफरस्टेसनमा आजदेखि कम्पोष्ट मल बनाउने काम सुरु गरेको छ । परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन गर्ने प्रक्रिया उपत्यकाको अन्य स्थान र आगामी एक महिनाभित्र अन्तिम फोहर विसर्जन स्थान बञ्चरेडाँडामा पनि उक्त प्रक्रिया सुरु गर्ने तयारी रहेको कामपा वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । आज टेकुमा १२ टन कुहिने फोहरबाट मल बनाउने काम सुरु गरिएको हो । कम्पोष्ट मल बन्नका लागि एक महिनादेखि बढीमा तीन महिनासम्म समय लाग्ने श्रेष्ठको भनाइ छ । यसअघि कामपाले काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहरलाई यहीँ नै व्यवस्थापन गर्ने र त्यसबाट मल उद्योग सञ्चालन गर्ने भन्दै स्थान खोजेको थियो । एकै स्थानमा पर्याप्त जमिन उपलब्ध गर्न नसकेपछि कामपाले थोरै ठाउँमा पनि मल बनाउनका लागि प्रक्रिया सुरु गरेको जनाएको छ । श्रेष्ठले भने, ‘सबै फोहर एकै स्थानमा जम्मा गर्ने र कामपाको केन्द्रिय कार्यलयले मात्रै यसको व्यवस्थापन गर्छु भन्दा त्यो सफल नहुन सक्छ, सबै वडाले आफ्नो वडामा उत्पादन भएको फोहरको जिम्मा लिएर कम्पोष्ट मल बनाउन थाल्नुपर्छ । यसका लागि आवश्यक सहयोग गर्न विभाग तयार छ ।’ उनका अनुसार कामपाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा पनि कम्पोष्ट मल बनाउनका लागि तयारी गरिरहेको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर स्रोतमा नै वर्गीकरण गरेर लैजानुपर्नेछ । त्यसका लागि कामपाले फोहर वर्गीकरणको प्रक्रियालाई कडाइका साथ कार्यान्वयन गर्नेछ । आगामी एक महिनाभित्र बञ्चरेडाँडामा पनि फोहरबाट मल बनाउने कामको थालनी हुने भनाइ कामपाको छ । यो सँगै कामपाका ३२ वटै वडा र नागरिकलाई पनि मल उत्पादन गर्नका लागि प्रोत्साहन गर्ने कामपाको तयारी रहेको छ । त्यसका लागि मल उत्पादन गर्ने भाँडो सहुलियत दरमा कामपाले नागरिकलाई वितरण गरिरहेको छ । कामपाले गत साउन एक गतेदेखि स्रोतमा फोहर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्न भने पनि अहिले केही वडामा मात्रै फोहर वर्गीकरण गरिन्छ भने केही वडाबाट सबै फोहर एकै ठाउँमा राखेर व्यवस्थापन भइरहेको छ । महानगरको कूल ३२ वडामध्ये भित्री नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । वर्गीकरण योजना भने सबै वडामा लागू गरिएको छ तर कार्यान्वयन हुनसकेको छैन । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानूनी व्यवस्था रहेको छ । ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । कामपाको कुहिने फोहर उपत्यकामा नै व्यवस्थापन गर्ने लक्ष्य तत्कालको भने होइन । पछिल्लो समय उत्पादन हुने फोहरको मात्रा बढिरहेको र व्यवस्थापनमा समस्या आइरहेको अवस्थामा स्रोतमा नै फोहरको वर्गीकरण गरी मल उत्पादन गर्ने कार्यले ठूलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । फोहरको वर्गीकरणबिनै सबै फोहर एकै स्थानमा व्यवस्थापन गर्नुपर्दा स्थानको अभावका कारण समय समयमा समस्या आउने गर्दा वर्षाको समयमा महिनादिनसम्म काठमाडौँ उपत्यकाको फोहर सडकमा नै थुप्रिने समस्या सामान्य बनिसकेको छ । रासस
जलवायु अनुकूलित गाउँ बन्दै इलामको पाटापुर
मंगलबारे । इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका–६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुर क्षेत्रलाई जलवायु अनुकूल गाउँ घोषणाको तयारी गरिएको हो । गाउँपालकिला र नामसालिङ सामुदायिक विकास केन्द्रले सो क्षेत्रलाई स्थानीय हावापानी सुहाउँदो बीउबाली, खेती प्रणाली प्रवद्र्धन, अन्य तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । यस्तै सोलार लिफ्टिङ प्रविधिको सिँचाइ आयोजना निर्माण गरिएको छ । चुरे क्षेत्रको पाटापुरमा सिँचाइको लागि नामसालिङ सामुदायिक विकास केन्द्रमार्फत सोलार लिफ्टिङ प्रविधिको सिँचाइ आयोजना उद्घाटन गरिएको छ । गाउँपालिका र स्थानीय सरकारको पहलमा क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको हो । आयोजनाको संयुक्तरूपमा कोषका काउन्सिलर कोलीन र गाउँपालिका अध्यक्ष सुवास स्याङ्बोले बुधबार उद्घाटन गरे । नामसालिङ सामुदायिक विकास केन्द्रका हीराकाजी घलेका अनुसार गाउँमा रहेको सुक्खा जमिनमा सिँचाइ सुविधा उपलब्ध गराई यहाँ जलवायु अनुकूल बाली विस्तार गर्न ६० घर परिवारलाई सहयोग पुगेको छ । पाटापुरमा बाँदर हात्ती र बाघजस्ता वन्यजन्तुले हानिनोक्सानी नगर्ने बाली विकासका लागि बीउ वितरण गरिएको छ । यहाँका खेतबारीमा प्रयोग गर्न मिनी पावर टिलर, कुटानीपिसानी मिल र अन्य मेसिन वितरण गरिएको छ । गाउँमा ६ वटा लघुउद्यम सञ्चालन सुरु भएको गाउँपालिका अध्यक्ष सुवास स्याङबाले बताए । प्रांगारिक खेती प्रवद्र्धनका लागि २० घरधुरीमा स्थानीय स्रोत र साधन प्रयोग गरी गोठ तथा खोर सुधारमा सहयोग गरिएको छ । बेमौसमी तरकारी खेती प्रवद्र्धनका लागि गाउँवासीलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । कार्यक्रमले हावापानी सुहाउँदो खेतीप्रणाली सुरुवातका साथै कृषिमा प्रविधिको विकास भएको छ । पाटापुरमा जलवायु अनुकूलन गाउँ योजना तर्जुमा सम्पन्न भएको संस्थाले जनाएको छ । कार्यक्रमका संयोजक शान्तिराम घिमिरेले नवीकरणीय ऊर्जामा आधारीत संस्थागत सुधारिएको चुलो निर्माण गरिएको जानकारी दिए । तीनवटा संस्थागत चुलो निर्माण गरिएको छ । कार्यक्रम गत वर्ष सञ्चालन भएकोमा यही महिनामा सम्पन्न हुने बताइएको छ । रासस