राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली

लमजुङ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ‘पिपुल हाइड्रोपावर कम्पनीले निर्माण गरेको सो आयोजनाबाट उत्पादित बिजुलीेको परीक्षण सफल भएसँगै केही दिन अघिदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो’, आयोजनाका साइट इञ्चार्ज रमेश सिग्देलले भने, ‘हामीले एक महिनाअघि निर्माण गरेर आयोजनाको डिसेन्टर टनेलमा दुई तीन पटक पानी हालेर परीक्षण ग¥यौँ त्यसमा सफल भयौँ अनि १५ दिन जति उत्पादित बिजुली प्राधिकरणका कर्मचारीले परीक्षण गर्दा पनि सफल भयौँ ।’ ‘अब करिब १५ दिन पछि व्यावसायिकरुपमा बिजुली उत्पादन थालिने छ,’ उनले भने, ‘५४ मेगावाट क्षमताको बिजुली भए पनि दोर्दी खोलामा पानीको अभाव भएकाले हाल २०/२२ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।’ प्राधिकरणका पदाधिकारी, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारीलगायत टोलीले आयोजनाको उत्पादित बिजुली अवलोकन गरेका थिए । यस आयोजनाले निर्माण थालनी गरेको करिब नौ वर्षपछि बिजुली उत्पादन गर्न थालेको हो । विसं २०७१ मा विद्युत् खरिद सम्झौता ९पिपिए० गरी विसं २०७२ असोज महिनादेखि निर्माण थालेको यस आयोजनाले सम्झौताअनुसार विसं २०७५ मा निर्माण सम्पन्न गर्नु गरिसक्नुपर्ने थियो । निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्मका लागि म्याद थप गरिएको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता गरिएको थियो । पटकपटक म्याद गर्दै गत पुस महिनाभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य रहे पनि सो समयमा पनि बिजुली उत्पादन हुन नसकेको थिएन । आयोजनाका अनुसार यसअघि भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी–पहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिएकोे थियो । आयोजनाको पाँच दशमलव एक किलोमिटरको मुख्य सुरुङ छ । त्यस्तै सबै गरेर १० दशमलव तीन सय ५० किलोमिटर सुरुङ मार्ग रहेको छ । कूल आठ अर्ब ८० करोड रुपैयाँको लगानीमा उक्त आयोजनाको निर्माण कार्य अघि बढाइएकामा निर्माण अवधि लम्बिँदा करिव १० अर्ब ३९ करोड देखि ५० करोड रुपैयाँसम्म लागत पुगेको छ । उक्त आयोजनामा सानिमा बैंकको अगुवाइमा नौ बैंकले ऋण लगानी गरेका थिए । सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा आयोजना निर्माण भएको हो । आयोजनाबाट असर पर्नसक्ने जिल्लावासीको मात्र रु २७ करोड लगानी रहेको छ । पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड छ सय ४० मिटर रहने छ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । उक्त आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् बिक्री गर्ने ९पिपिए० सम्झौता गरेको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिकाभित्र आधा दर्जन आयोजना रहेको र यस आयोजनाको राजस्वले समृद्ध पालिका निर्माणमा टेवा पुग्ने बताएका छन् । रासस

कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गरिने

काठमाडौं । काठमाडौं महानगरपालिका कार्यालय समयमा जुवा खेल्ने तीन नगर प्रहरीलाई निलम्बन गर्ने भएकाे छ । महानगरले नगर प्रहरी निरीक्षक निरकुमार बस्नेत, हवल्दार प्रयास घिमिरे र जवान रुपेश बानियाँलाई निलम्बन गर्ने भएकाे हाे । बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बल कार्यालयमा प्रहरी पोसाकमा तास खेलिरहेको तस्बिर सार्वजनिक भएपछि उनीहरूकाे निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएकाे हाे ।

दार्चुलामा हिमपहिरो अपडेट : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई जना अझै बेपत्ता

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन लागिएको हो । मङ्गलबार हिमपहिरोमा परी ज्यान गुमाएका दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी क्षिमी सोमो थापाको शव सदरमुकाम पठाउन लागिएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । कमला र प्रविण आमा छोरा हुन् । ‘पानी निरन्तर परिरहेको छ, शव आफ्नै भूमि प्रयोग गरे खलङ्गा पठाउन सकिने अवस्था छैन’, उनले भने । भारतीय सीमा सुरक्षा बल एसएसबी सित समन्वय गरी शव पठाउन लागिएको डिएसपी भट्टले बताए । ‘भारतीय सुरक्षाकर्मीले हाम्रो आग्रह मान्नुभएको छ, शव पठाउन यातायातको साधनको व्यवस्था गर्न जुटेका छौँ’, उनले भने । सो कार्यका लागि दुहुँ गाउँपालिकाका जनप्रतिनिधिसित समेत आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ । हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा डोटीको जोरायलकी ४५ वर्षीया नक्नी डोल्मा थापा र सोही ठाउँकी २८ वर्षीया ईश्वरी थापा रहेका छन् । ‘वर्षा र हिमपात भइरहेको छ, हामी मौसम सफा हुने प्रतिक्षामा छौँ’, डिएसपी भट्टले भने–’झण्डै फाँच फिट जती हिउँ परेको छ, बेपत्ताको खोजी गर्न समस्या भएको छ ।’ सशस्त्र प्रहरी बलको टोलीले मङ्गलबारदेखि बेपत्ताको खोजी गर्दैआएको छ । खोजी कार्यमा हिमपात र वर्षा बाधक बनेको छ । म¬ङ्गलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । दाउरा खोज्न गएका सङ्कलकको भने ज्यान जोगिएको थियो । उनीहरु सबैलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा लगेको थियो । हाल सो क्षेत्रमा यार्सागुम्बा सङ्कलकलाई जानबाट सशस्त्र प्रहरीले रोक लगाएको छ । सो क्षेत्रमा दार्चुला र अन्य जिल्लाबाट सयौँ सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि गएका थिए । जेठ अन्तिम सातासम्म बर्सेनी यार्सागुम्बा सङ्कलन गरिन्छ । रासस