कौसीखेतीबाट मनग्य आम्दानी गर्दै गायक प्रेमराज

दोधारा चाँदनी । कञ्चनपुर भीमदत्त नगरपालिका–३ तिलकपुरका प्रेमराज खत्रीले घरको छतभरि कौसीखेती गरी विभिन्न प्रकारका तरकारी फलाएका छन् । उनको कौसीमा बाँसले बनाएका र्‍याकमा गोलभेँडा, काउली, हरियो खुर्सानी, रायो र चाइनिज सागलगायत हिउँदे तरकारीले हराभरा छ । उनको बारीमा विभिन्न प्रजातिका फलफूलका बिरुवा र जडीबुटीले हराभरा देख्निछ । गाउँका धेरैले उनको बारीलाई अशोक बाटीका भन्ने गर्दछन् । उक्त बारीमा नभएको कुनै बिरुवा छैन । ‘२०६६ सालमा प्रहरीबाट सेवानिवृत्त भएपछि मैले खेती सुरु गरेको हुँ’ उनले भने ‘सुरुआतमा घरमा खानलाई उत्पादन गर्न खोजेको हुँ अहिले बिक्री गर्न थालेको छु मासिक चार/पाँच हजार आम्दानी हुन्छ ।’ उनले आफुसँग जग्गा नभएका कारण घरको छतमा खेती गर्नुपरेको बताए । ‘यहाँ मेरो दुई कठ्ठा एक धुर जग्गा छ त्यसमा घर बनेको छ तरकारी खेती गर्न ठाउँ छैन’ खत्रीले भने’ जग्गा नभएपछि छतमा खेती सुरु गरे यहाँ सबै प्रकारका तरकारी छन् राम्रो फल्छ ।’ तरकारी बिक्रीबाट मासिक चार/पाँच हजार र दूध बिक्रीबाट मासिक १६ हजार आम्दानी हुने गरेको उनले बताए । ‘केही गरौँ भन्ने भावना भएको मानिस कहिले बेरोजगार हुँदैन’ उनले भने ‘यहाँ धेरै मानिस आफ्नै मनिस्थितिले बेरोजगार भएका छन् ।’ उनले आफ्नो सीप प्रयोग गरे स्वदेशमै रोजगार रहेको बताए । ‘मेरो परिवारले अहिलेसम्म बजारको औषधि खानुपरेको छैन’ उनले भने ‘घरको उत्पादनले आफू पनि स्वस्थ्य भइन्छ आम्दानी पनि हुन्छ ।’ अहिले खेतीबाटै आएको आम्दानीले छोराछोरीको पठनपाठन खर्च चलेको उनले बताए । ‘छोरो विएससी सिएसआई र छोरी विएससी अध्ययन गर्दै छन्’ उनले भने’तरकारी बिक्रीबाट आएको रकमले घरखर्च सबै चलेको छ ।’ उनी कृषि सँगसँगै भाषा संस्कृति संरक्षणमासमेत सक्रिय छन् । २०३९ सालमा रेडियो नेपालबाट स्वर परीक्षण उत्तीर्ण गरेका उनी ‘हो… जिल्ला बैतडी’ बोलको देउडा गीतका रचनाकारसमेत हुन् । बैतडीको प्रसिद्ध धार्मिक जगन्नाथ र त्रिपुरासुन्दरी मन्दिर बैतडी जिल्लाको परिचय र धार्मिक देवालयको इतिहास समेटेर बजारमा ल्याएको उनको उक्त गीत अहिले पनि उत्तिकै चर्चामा छ । रासस

काठमाडौं महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णरूपमा निषेध गरिएको छ । प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न नपाइने भन्दै महानगरपालिकाले यही मङ्सिर १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । कसैले बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गरिने सूचनामा उल्लेख छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको स्वास्थ्य विभागका प्रमुख पौडेलले बताए। महानगरले गत असोज १ गतेदेखि सार्वजनिक ठाउँमा चुरोट र सुर्ती खान रोक लगाएको थियो । महानगरले सार्वजनिक ठाउँ, विमानस्थल, सार्वजनिक शौचालय, मठमन्दिर, पाटीपौवा, विद्यालय, स्वास्थ्य संस्था, बाल तथा वृद्धाश्रम, पसल, पार्कलगायत क्षेत्रमा चुरोट नखान पनि आग्रह गरेको छ । अटेर गर्नेलाई कारबाही गरिने काठमाडौं महानगरले जनाएको छ । रासस

कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै हाटबजार, बिक्री नभए गाउँपालिकाले खरिद गर्ने

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक लक्ष्मण गुरुङले गाउँमा उत्पादित साग सहजै बजारसम्म लगेर बिक्री गरिरहेका छन् । जिल्लाकै उच्च भागमा अवस्थित छिम्केश्वरीमा उत्पादन भएको रायोको सागको बजारीकरणमा कुनै समस्या नरहेको गुरुङको भनाइ छ । यहाँ उत्पादन भएको सागको बजार माग बढी हुँदा कृषकलाई मागअनुसार पुर्याउन कठिनाइ भएको उनले बताए । आँबुखैरेनी गाउँपालिका–३ मा हाटबजार सञ्चालनमा ल्याएपछि यस क्षेत्रका कृषकलाई कृषि उपजहरु बजारीकरणका लागि सजिलो भएको गुरुङले बताए । उनले भने, ‘गत वर्षको फागुनदेखि हाटबजार सञ्चालनमा आएपछि कृषि उपज सामग्री बजारीकरणको माध्यम हाटबजार बनेको छ । हाटबजारबाटै कृषि उपज सामग्री बिक्री गर्न पाउँदा उपभोक्तालाई पनि सजिलो भएको छ ।’ छिम्केश्वरीमा उत्पादित सामग्रीको माग उच्च हुन थालेपछि यहाँका कृषक हर्षित भएको उनको भनाइ छ । मह उत्पादक कृषक शेरबहादुर गुरुङले उत्पादित महले बजार नपाउने हो कि भन्ने समस्याको अन्त्य भएको बताए । उनले भने, ‘मह कहाँ लगेर बेच्ने भन्ने चिन्ता छैन, हाटबजारबाटै छोपाछोप हुन्छ । कृषकका लागि हाटबजार कृषि सामग्री बेच्ने माध्यम बनेको छ ।’ स्थानीय कृषक सङ्गीता गुरुङ, तिलबहादुर गुरुङ, आयमान गुरुङ र डिलकुमारी भुजेलले उत्पादित कृषि सामग्री बिक्री नभए गाउँपालिकाले खरिद गरिदिने निर्णय गरेपछि आफूहरु झन् उत्साहित भएको बताए । आँबुखैरेनी गाउँपालिकाले गत वर्षको फागुनदेखि सञ्चालन गरेको हाटबजार कृषकको सहयोगी बनेको त छ नै उपभोक्तालाई पनि एकैठाउँमा फरक फरक कृषि सामग्री खरिद गर्न सजिलो भएको छ । गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । वार्षिक दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको थियो । गाउँपालिकाका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने उनले बताए । किसानले उत्पादन गरेका सामग्री नुभएको छ निर्णय गरेको उनको भनाइ छ । उनले भने, ‘गाउँपालिकाले सञ्चालन गरेको हाटबजारमा छिम्केश्वरीका सामग्रीको माग उच्च भएको पाएका छौँ । किसानले ल्याएको सामग्री बिक्री नभए हामी खरिद गरिदिन्छौँ ।’ यसले गर्दा कृषकलाई कृषि पेसामा लाग्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने चुमानको भनाइ छ । हाटबजारमा प्रत्येक शुक्रबार कृषकले उत्पादन गरेका सामग्री बिक्रीका लागि राखिन्छ । स्थानीयस्तरमा उत्पादित कृषि सामग्री सहज रुपमा बिक्री वितरण गर्न सहज होस् भन्ने उद्देश्यसहित हाटबजार सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । हाटबजारमा छिम्केश्वरीमा उत्पादित उपजहरु यहाँका सर्वसाधारणको रोजाइमा पर्न थालेको छ । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित छिम्केश्वरीमा उत्पादित साग, मह, गुन्द्रुक, दाललगायत सर्वसाधारणको रोजाइमा परेको हो । छिम्केश्वरीका कृषकले हाटबजारबाट एकै दिन एक लाख ७८ हजार छ सयको कृषि सामग्री बिक्री वितरण गरेका छन् । सो वडाका अध्यक्ष सन्तोष गुरुङका अनुसार साग, मह, गुन्द्रुक, केराउ, सिमी, दाल, फर्सी, सखरखण्डाको माग उच्च रहेको छ । उनले भने, ‘यहाँ उत्पादित साग र गुन्द्रुकको माग बढी छ । मागअनुसार पुर्याउनै सकिएको छैन । यहाँको हावापानीका कारण साग र गुन्द्रुक सर्वसाधारणको रोजाइमा परेको हो ।’ रासस