चाडपर्वमा विद्यार्थीलाई अन्य पोसाक किन्न बाध्य पारे महानगरले कारबाही गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालयबाहेक अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरेको छ । केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न नगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाका शिक्षा अधिकारीले जानकारी दिइन् । अधिकारीका अनुसार कोहीकसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्डसजाय गरिने छ ।
म्याग्दीको झीं गाउँमा आयातित मदिरा निषेध !
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झीं गाउँमा आयातित मदिरालाई निषेध गरिएको छ । युवा कुलतमा फस्ने र धनराशि गाउँबाट बाहिर जाने समस्यालाई हटाउन गाउँभेलाबाट झीं गाउँमा आयातित मदिरा बिक्री वितरणमा रोक लगाइएको हो । परीक्षणका रुपमा एक वर्षअघि देखि लागू गरिएको उक्त नियमका कारण गाउँमा मदिरा भित्रिएर बाहिरिने लाखौँ रुपैयाँ जोगिएको स्थानीयवासी बताउँछन् । विसं २०७९ मङ्सिर १६ गते झीं गाउँमा जनप्रतिनिधि, आमा समूह, युवा क्लब, सङ्घसंस्था, स्थानीय व्यवसायीलगायत सरोकारवालाहरुको भेलाले सर्वसम्मत रुपमा आयातित मदिरालाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार गाउँमा रहेका सबै होटल तथा पसलले सहरबाट मदिरा गाउँमा लैजान बन्द गरेका छन् । विभिन्न कम्पनीका रक्सी र बियर गाउँमा भित्रँदा युवा कुलतमा फस्ने र धनराशिसमेत मासिने भएपछि गाउँमा उक्त नियम बनाइएको रघुगङ्गा गाउँपालिका–५ का वडाअध्यक्ष मनबहादुर शेरमञ्जाले बताए । ‘बाहिरबाट आयात गरिएका कतिपय रक्सीको गुणस्तर नहुँदा धेरै जनालाई विभिन्न रोग पनि लाग्यो, महँगा मदिरा सेवन गर्दा ठूलो धनराशि गाउँबाट बाहिरियो, गाउँमा सामाजिक सुधारअन्तर्गत यो नियम बनाएर लागू गरेको एक वर्षमै यसले धेरै सकारात्मक प्रभाव पारेको छ’, उनले भने। सबैभन्दा कमजोर आर्थिक अवस्था भएकाहरुले बजारबाट आउने करुवा लगायतका गुणस्तर नभएका मदिराजन्य पेयपदार्थको प्रयोग गर्दा धेरैको स्वास्थ्यमा समेत जटिल रोगहरु लगेपछि स्थानीयवासी मदिरा नियन्त्रणमा सक्रिय भएका थिए । मदिरा सेवन गर्नेहरुलाई गाउँमै स्तरीय घरेलु मदिरा बनाएर सेवन गर्न पाउने सुविधा दिइएको छ । युवा घरेलु मदिरा सेवन गर्न सहजै रुपमा तयार नहुने र बाहिरबाट कुनै पनि प्रकारका मदिराजन्य पदार्थ गाउँमा नभित्रने भएकाले युवालाई समेत कुलतबाट टाढै राख्न सघाउ पुगेको स्थानीय समाजसेवी गोविन्द पाइजाले बताए । विवाह, व्रतबन्ध, किरियालगायत संस्कारजन्य कार्यमा समेत मदिरामा धेरै रकम खर्च हुने गरेकामा आयातित मदिरालाई निषेध गरेपछि फजुल खर्च बचत हुने गरेको छ । गाउँमा हुने यस्ता संस्कारजन्य कार्यमा बजारबाट आयातित पेयपदार्थहरुको समेत प्रयोगलाई हटाइएको छ । गत वर्ष आफ्नो छोरी सुस्मा पाइजा पुनको विवाहबाट यो नियमलाई समेत गाउँमा कार्यान्वनयमा ल्याइएको समाजसेवी पाइजाले बताए । गाउँमा आयातिय मदिरा र संस्कारजन्य कार्यमा चिसो पेयपदार्थहरुलाई प्रयोगमा निषेध गरेपछि एउटा विवाहमा रु एकदेखि दुई लाखसम्म फजुल खर्च कटौती हुने गरेको उनले अनुभव सुनाए । मगर समुदायको बाहुल्य बसोबास रहेको झीं गाउँमा करिब तीन सय ४० घरधुरी रहेका छन् । धौलागिरि सेन्चुरी पदमार्गको पहिलो पर्यटकीय गाउँका रुपमा परिचित झीं गाउँमा घरबाससमेत सञ्चालनमा छ । यहाँ आउने पर्यटकहरुलाई स्थानीय कोदो, मकै, जौ, गहुँ लगायतको अन्नबाट परम्परागत विधिबाट बनाइएको मदिराको प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि म्याग्दीको मालिका गाउँपालिका–५ मगरदाङमा स्थानीय आमा समूहले आयातित मदिराको बिक्री तथा सेवनमा रोक लगाएका थिए । रासस
ढिके नुनबाट टाढिँदै बझाङी
चैनपुर । साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङ ढिके नुन प्रयोग गरेरै हुर्किए । उमेरले सात दशक नाघेका उनलाई बाल्यकालदेखि नै ढिके नुनका लुकाल (भेडाच्याङ्ग्रामा बोकिने भारी) बोकेको खुब सम्झना आउँछ । च्याङ्ग्रा भेडामा बोकेर गाउँगाउँमा नुनको व्यापार गर्ने तामाङ दशकयता भने आयोडिनयुक्त धुलो नुन खाइरहेका छन् । विगत सम्झँदै उनी भन्छन्, ‘साइपाल गाउँपालिका र तलकोट गाउँपालिकावासी त हाम्रा ग्राहक नै हुन्थे । ताक्लाकोट (चीन) बाट बखरका बखर (भेडाच्याङ्ग्राको समूह)मा नुन ल्याउँथ्यौँ । बखर चराउँदै बेच्थ्यौँ ।’ उहिले नुनको कारोबार पैसामा नभई चामलमा हुन्थ्यो । ‘नुनसँग चामल साटेर बखरमै ताक्लाकोट पुर्याउँथ्यौँ । ताक्लाकोटीलाई चामल चाहिन्थ्यो, बझाङीलाई नुन । नगद पैसाको कारोबार भने खासै हुँदैनथ्यो,’ उनी भन्छन् । तामाङले अहिले ढिके नुन ल्याउन छोडेको एक दशकभन्दा बढी भइसक्यो । ‘बुढ्यौलीले छोयो । ताक्लाकोट जान पनि सकिँदैन । कोरोना आएपछि नाका बन्द भयो । गाउँमा पाकेटकमा धुलो नुन (आयोडिनयुक्त) आउन थाल्यो ।’ वस्तुभाउका लागि सदरमुकाम चैनपुरबाटै ढिके नुन आउन थालेको उनले बताए । ‘आजकल ढिके नुन खाँदा विराम हुन्छ भन्छन् । त्यसैले गाउँमा सबै पाकेटकै आयोडिनयुक्त नुन खान थालेका छन् । हामी ढिके नुन खाँएर हुर्कियो , केही भएन । क्या हो, क्या हो ।’ खप्तडछान्ना गाउँपालिका–५ की देवकी जोशीलाई पनि ढिके नुनसँग चामल साटेको हिजो जस्तै लाग्छ । ‘गाउँमा भेडावालासँग नुन चामल साट्न छोडेको डेढ दशक भइसकेछ । अहिले त गाउँमा न भेडा आउँछन्, न ढिके नुन नै ।’ गाउँमा २०६४/६५ सालभन्दा अगाडि धेरै मान्छे आँखाका बिरामी भेटिन्थे । एकपटक सदरमुकामबाट आएका मान्छेले ढिके नुनका कारण आँखामा समस्या आएको भनेपछि पाकेटको नुन खान थालेको उनले सुनाए । ‘सदरमुकामको टोलीले नुनमा आयोडिन हुने हुँदा दाल उम्लने बेला, तरकारी पाक्ने बेला मात्रै नुनको प्रयोग गर्नु भन्नुभएको थियो । त्यो अहिले पनि सम्झना छ ।’ त्यसपछि पाकेटको नुन नै गाउँमा नियमित भएको उनले बताए । वर्षौंदेखि घरमा ढिके नुनकै प्रयोग गर्दै आएका गाउँलेले आयोडिनयुक्त नुन पाएपछि ढिके नुन छोडेको उनले बताए । ‘सुरुमा सरकारले सहुलियतमा दिने नुन नपाए पनि पाकेटको नुन किनेर खान्थ्यौँ । आजभोलि त घर घरै साल्ट्र ट्रेडिङको नुन पुगिसक्यो,’ उनले भने । जिल्लाभर आयोडिनयुक्त नुनको प्रयोग बढिरहेको छ । सबैभन्दा टाढा साइपालको धुली डिपोबाट पनि नियमित नुन बिक्री भइरहेको साल्ट्र ट्रेडिङ कर्पोरेसन बझाङ नरेन्द्र भाटले जानकारी दिए । उनले भने, ‘अहिले सबै ठाउँमा पर्याप्त नुन छ । साइपालको धुलीमा हिउँ पर्न सक्छ भनेर एक सय क्विन्टल थप्न लागेका छौँ । धुलीमा हिमपात भएपछि ढुवानी गर्न सकिँदैन भनेर आज साइपालमा आएका छौँ । अब एक–दुई दिनमै नुन धुलीमा पठाउने तयारी छ ।’ अन्य ठाउँमा अहिलेलाई नुन पर्याप्त भएको उनले बताए । उनका अनुसार बझाङमा वार्षिक १४ हजार क्विन्टलको हाराहारीमा नुन आवश्यक पर्छ । यस वर्ष भने झण्डै दुई हजार क्विन्टल कम आएको उनले बताए । ‘सरकारले विगतका वर्षहरुमा भन्दा कम वजेट विनियोजन गरेकाले यसपटक कम परिणाम आएको छ । थपका लागि पत्राचार भएरहेको छ । ‘ डिपोबाट हरेक दिन बिक्री भइरहेको नुन गत महिनादेखि भने आइतबार मात्रै बेच्ने गरेको भाटले बताए । ‘पहिले नियमित बिक्री गथ्र्यौं । अहिले अपुग हुने देखेपछि एकै दिनमा समेत क्विन्टलको हाराहारीमा बिक्री हुन थाल्यो । त्यसैले साप्ताहिक रूपमा बेच्न सुरु गरेका हौँ,’ उनले भने । के हो आयोडिनयुक्त नुन ? साल्ट्र ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेशकुमार झा आयोडिन एउटा पोषक तत्व भएको बताउछन् । उन भन्छन्, ‘आयोडिन हाम्रो माटोमा हुन्छ । यदि माटोमा आयोडिनको कमी भयो भने त्यहाँ उत्पादित सामग्री अन्न, तरकारी, फलफूलमा समेत आयोडिनको अभाव हुने गर्छ ।’ उनले नेपालको भूगोल भिरालो भएकाले आयोडिन माथिल्लो लेअरबाट बग्ने गरेको बताए । ‘माथिल्लो लेअरमा भएको आयोडिन वर्षा, बाढी, पहिरो, भूक्षय, हावाहुरीले सबै बगाएर लिन्छ । यसैले हाम्रो मुलुकमा पाउँदैन । अहिले आयोडिनको मुख्य स्रोत भनेको समुन्द्रको पानी, समुन्द्री जीवजन्तु हुन गएको छ ।’ उनले थाइल्यान्डमा अण्डालाई आणाइजेसन प्रविधिबाट आयोडिन मिसाएर समुदायमा वितरण गर्ने गरेको बताए । ‘विभिन्न मुलुकमा आफ्नै तरिकाले आयोडिन उत्पादन गरिरहेका छन् । चीनमा आयोडिन मिसाएको पानीबाट सिँचाइ गरिन्छ । कतिपय देशमा खानामा पाउरोटी हुने र त्यसैमा आयोडिन मिसाउने गरेका छन् । नेपालमा भने समुन्द्रको नुनकै भर पर्नुपरेको छ,’ उनले भए । आयोडिनको कमी हुँदा के हुन्छ ? गर्भावस्थामा आयोडिन पुगेन भने आमाको गर्भ तुहिन सक्ने अवस्था आउन सक्छ । जन्मिएपछि पनि बालबालिका अपाङ्गता हुने, सुस्तःमनस्थिति, गलगाडको समस्या, बच्चा जन्मने वा गर्भमै मर्नसक्ने लक्षण भएको नायब महाप्रबन्धक झाले बताए । उनका अनुसार आयोडिन नपुगेको बालबालिका चलाख र क्षमतावान् हुन सक्दैन । मानसिक विकास, बौद्धिक क्षमता, खेलकुदलगायत क्षेत्रमा निकै कमजोर हुने गर्छ । महिनावारी हुने अवस्थामा पुगेका किशोरीको महिनावारी गडबढी, अत्यधिक रक्तस्राव हुने, पेट दुख्नेलगायत समस्या पनि आयोडिनको अभावले हुने गरेको उनले बताए । ‘बालबालिका मात्रै नभई विभिन्न उमेर समूहमा मान्छेलाई पनि आयोडिनको अभावले धेरै प्रकारका रोगहरू देखिने गरेका छन् ।’ विभागीय प्रबन्धक झाले अहिले साल्ट्र ट्रेडिङले हरेक नागरिकलाई पुग्ने गरी मात्रा कायम गरेर सहुलियतमा आयोडिन नुन बिक्री वितरण गर्ने गरेको बताए । उनका अनुसार आयोडिनको अपुगले निकै समस्या देखिएपछि सन् १९६५ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन ( डब्ल्युएचओ), युनिसेफले संयुक्त रूपमा सर्वेक्षण गरेको थियो । त्यो बेलामा ५५ प्रतिशत नेपालीलाई कुनै न कुनै रोग लागेको देखिएको थियो । त्यसपछि आयोडिनयुक्त नुन वितरण गर्दै १९८०, १९९८, २००७ र २०१६ मा गरिएको सर्वेक्षणले भने नेपालीको स्वास्थ्य सुधारोन्मुख देखिएको उनले बताए । रासस