मैले स्वदेशमै काम गर्न सक्ने, युवाले किन गर्न नसक्ने ?
स्थानीय तहले गर्नुपर्ने विकासका काम धेरै छन् । जनताको मागलाई सम्बोधन गर्ने किसिमको योजना बनाई अगाडि बढ्नु स्थानीय तहको जिम्मेवारी पनि हो । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, भेटनरीदेखि जनतासँग जोडिएका पक्षलाई समेटेर अगाडि बढ्नु पर्ने हुन्छ । हामीले पनि विषयलाई मध्यनजर गर्दै अघि बढिरहेका छौं । षडानन्द नगरपालिकाले भौतिक पूर्वाधार र कृषिको क्षेत्रमा नयाँ तरिकाले काम गरिरहेको अवस्था छ । सडक र पुल निर्माणमा भने आशा लाग्दो अवस्थाको सिर्जना भएको छ । तुम्लिङ्टार लम्छुवा दिङ्ला जोड्ने पक्की पुलको काम रद्द भएता पनि कात्तिकेमा पुल निर्माणको काम धमाधम भइरहेको छ । उक्त पुलको काममा ठेकेदार कम्पनीलाई नगरको तर्फबाट गर्नुपर्ने सहजीकरण पनि भइरहेको छ । सो पुलको काम यही वर्षभित्र सम्पन्न गर्ने योजना छ । वडा नम्बर २ बाट साल्पासिलिछो गाउँपालिका जोड्ने पक्की पुल निर्माणको कार्यले तीव्रता पाएको छ । दिङ्लादेखि भोजपुर सदरमुकाम जोड्ने सडकको कालोपत्रे गर्न लागि टेन्डर भइसकेको छ । नगरपालिकाको कार्यालयदेखि वडासम्म जोड्ने सडकलाई बाह्रै महिना सञ्चालन गर्ने उद्देश्य राखेका छौं । सो विषयमा हाम्रो फोकस छ । नगरको प्रशासकीय भवन निर्माणको कार्यले तीव्रता पाएको छ । नगरको सभा हल यो वर्षभित्रै निर्माण सम्पन्न भइसक्छ । यो वर्ष १५ बेडको अस्पताल पनि सञ्चालन गर्ने लक्ष्य छ । जसको लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग लगायतका निकायलाई प्रपोजल पनि पठाएका छौं । हामीले व्यवसायिक कृषि प्रणालीको विकास गर्नमा जोड दिएका छौं । अब निर्वाहमुखी खेती गरेर जनताको जीवनस्तर उकासिँदैन भन्ने विषयलाई मनन गर्दै पालिकाको हावापानी सुहाउँदो कृषि उत्पादनलाई जोड दिएका छौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तलाको जोन बनाई आवश्यक कार्यक्रमहरू सञ्चालन गरेका छौं । षडानन्दको हावापानी अनुसार यहाँ गुणस्तरी कफी उत्पादन हुन्छ । यस विषयमा विज्ञहरूसँग आवश्यक छलफल गरेका छौं । यो वर्ष करिब एक लाख कफीका बिरुवा रोप्ने छौं । अर्को वर्षदेखि व्यावसायिक कफी खेतीलाई लगाउने योजना बनाएका छौं । उत्पादन भएको कफीको बजार व्यवस्थापन नगरपालिकाले गरेको छ । कम बजेट नै पालिकाको समस्या जनताको आवश्यकता र मागको हिसाबले हेर्न भने हामीले गरेको काम पर्याप्त होइन । तर, पर्याप्त विकास गर्नको लागि स्रोत व्यवस्थापन गर्नु चाहिँ ठूलो विषय छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल निर्माण लगायत क्षेत्रमा लगानी नगरले गर्नुपर्छ । जसका लागि हामीसँग पर्याप्त बजेट छैन । हामी नगरको आन्तरिक आम्दानी बृद्धि गर्नतर्फ लागि रहेका छौं । तर, संघ र प्रदेश सरकारबाट प्राप्त हुने बजेट निरन्तर घटिरहेको विषय यहाँहरू सबैलाई थाहै छ । यो वर्ष करिब ३ करोड रुपैयाँ बजेट सिलिङ कटेर आयो । आगामी आर्थिक वर्षमा पनि बजेटको सिलिङ घटेर आउने अनुमान गरेको छु । दुई वर्षभित्रै सबै विषयको सम्बोधन गर्न सकिँदैन । तथापि पालिकाले धेरै काम जनताको पक्षमा गरेको छ । भौगोलिक विकटकताका साथै ठूलो भूगोल भएको यस नगरपालिका काठमाडौं महानगरपालिकाभन्दा पाँच गुणा ठूलो छ । बजेटको हिसाबले पनि महानगर भन्दा हाम्रो नगरको बजेट ३० गुणाले काम छ । तथापि नगरको आन्तरिक स्रोत कम हुँदा पनि सबै विषयलाई व्यवस्थापन गरी सुधार गर्ने दिशामा लागेका छौं । हामीले समृद्ध नगरपालिका बनाउने आधार तयार पारेका छौं । हामीले प्रशासकीय खर्चलाई सेवासँग जोड्नु पर्ने हुन्छ । नगरले फजुल खर्चलाई धेरै हदसम्म कटौती गरिएको छ भने अनावश्यक कर्मचारी नियुक्त गरेका छैन । पहिला नगरमा करार कर्मचारी मात्र राख्ने चलन रहेछ । तर, हामी निर्वाचित भएर आइसकेपछि लोकसेवासँग पद पूर्तिको लागि माग राखी स्थायी कर्मचारीको व्यवस्थापन गर्यौं । स्वास्थ्यमा पनि ५० प्रतिशतभन्दा बढी स्थायी कर्मचारीको व्यवस्थापन गरी सकेका छौं । हामीले षडानन्द नगरपालिकाभित्रका स्वास्थ्य चौकीमा औषधिको अभाव हुन दिएका छैनौं । मैले प्रत्येक पटक स्टाफ मिटिङमा अस्पतालमा औषधि सकिन लागेको केही महिना अघि नै नगरलाई जानकारी दिनु भनेर स्वास्थ्य चौकी प्रमुखलाई भनेको छु । यदि अस्पतालमा औषधीको अभाव भए त्यसको जिम्मेवारी स्वास्थ्य शाखा र स्वास्थ्य चौकी प्रमुखले लिनुपर्ने हुन्छ, हामी हुँदैनौं । तर, हामी नेपाल सरकारबाट प्राप्त भएका निःशुल्क औषधी दिन सक्छौं । त्यसमा नगरले केही औषधीलाई थपेको छ । नगरभित्रका अस्पतालमा पर्याप्त जनशक्ति नभएता पनि काम गर्न सक्ने जनशक्ति व्यवस्थापन गरेका छौं । यसैगरी शिक्षा क्षेत्रमा सुधारका नगरले थुप्रै कदम चालेको छ । शिक्षा क्षेत्रमा देखिएका समस्यालाई पहिचान गर्दै सुधार गर्दै अगाडि बढ्ने पक्षमा छौं । भएका कमी कमजोरीलाई सुधार गर्ने मौका हामीले शिक्षकहरूलाई दिइरहेका छौं । निर्वाचित भएपछि शिक्षा कति सुधार भएछ भन्ने विषयको मापन आगामी ५ वर्षपछि मात्र गर्न सकिन्छ । शिक्षकहरु पनि रूपान्तरण हुन आवश्यक छ । किनभने परम्परागत पठन/पाठनको शैली अबको दिनमा काम लाग्दैन । नगरले शिक्षकको सुधारको निमित्त शैक्षिक गुणस्तरकार अभिवृद्धिको कार्यक्रम पनि सञ्चालनमा ल्याएका छौं । परम्परागत सोच, परम्परागत शैली, विद्यार्थी र शिक्षकबाट हटाउन सकिएन । यो विषयले चाहिँ समस्या बनायो । नगरपालिकाको एउटा नेतृत्वले घरमा कस्तो पढाइभएको छ, त्यो हेर्न सक्दैन । त्यो हेर्न अभिभावकको जिम्मा हो । विद्यालयलाई हेर्ने जिम्मा हाम्रो हो । ३ वर्षमा २० लाख कफी रोप्ने लक्ष्य कृषिमा हामी केही न केही परिणाम देखाउँछौं भनेर लागेका छौं । कृषिमा नमुना केन्द्र स्थापनाको लागि लगभग १०० रोपनी जग्गा लिने योजना बनाएका छौं । उक्त जग्गामा फलफूल, तरकारी, अन्य बालीहरूको सिकाइ केन्द्र बनाउने छौं । नेपाल सरकारले सञ्चालनमा ल्याएका अनुसन्धान केन्द्र पनि घाम तापेर बसिरहेका छन् । तर, हामीले सञ्चालनमा ल्याउने उक्त केन्द्रको सम्भवतः यस्तो अवस्था हुँदैन । प्राविधिक सल्लाह लिएर प्रविधिकहरुको नै निगरानीमा उक्त केन्द्रको स्थापना गर्ने छौं । मान्छेलाई केही गर्नुपर्छ भन्ने सिकाइ र उदाहरण नदिई केही हुँदैन । त्यो उदाहरण नगरपालिका केन्द्र मार्फत झल्काउन मात्र खोजेको हो । नगरभित्र आगामी तीन वर्षभित्रमा २० लाख कफीका बिरुवा रोप्ने योजना बनाएको छु । यस वर्षभित्रै कम्तीमा १५ हजार बिरुवा रोप्न सकिन्छ भनेर आँकलन गरेका छौं । कसैले १/२ वटा कफीका बिरुवा रोप्छ भने उसलाई १०० प्रतिशत रकम लिने । तर, कुनै व्यक्तिले व्यवसायिक रूपमा ५०० बिरुवा रोप्छ भने उसलाई निःशुल्क २५० वटा बिरुवा उपलब्ध गराउँछौं । व्यावसायिक कृषि खेती अबको आवश्यकता हो । त्यसैले निर्वाहमुखी भन्दा व्यावसायिक कृषि खेती प्रोत्साहनमा नगर लागेको छ । नगरपालिका बाट आजका दिनमा ट्रकका ट्रक सुन्तला, चिराइतो, अलैँची निर्यात भइरहेको छ । त्यसको लागि हामीले बजार खोज्नु परेको छैन । उत्पादन भएपछि बजार आफै आउँछ । मैले सक्ने युवाले किन नसक्ने ? म आफै पनि कृषक हुँ । मेरो आफ्नै सुन्तला बगैँचा छ । जुन नमुना बगैँचाको रूपमा स्थापित भइरहेको छ । १५० वटा आँपका फल्ने क्रममा छ । मैले उक्त बगैँचाबाट वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्छु । मेरो आफ्नो लक्ष्य भनेको कृषिबाट वार्षिक १०/१२ लाख रुपैयाँ कमाउने हो । हाल ५ रोपनी क्षेत्रका विभिन्न बिरुवाहरू लगाइएको छ । म आफैले थप १५ रोपनी जग्गामा बिरुवा लगाउने योजना बनाएको छु । भनेपछि मैले गर्न सक्ने युवाले गर्न किन नसक्ने ? पढेका मान्छे सबै जागिरे हुन्छन् भन्ने छैन । तर, काम सानो ठूलो नभनी गर्नुपर्यो । यहाँ कृषि र पर्यटनको अथाह सम्भावना छ । पालिकास्तरबाट ठूलो उद्योग खोलेर सञ्चालनमा ल्याई रोजगारी दिन सकिँदैन । स्थानीय तहबाट यहाँ भएको कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योग सञ्चालनमा ल्याउने हो । कृषि उद्योगहरू सञ्चालनमा ल्याउन सकिन्छ । तर, त्यसका लागि बेस चाहिन्छ । कफी उद्योग सञ्चालन गर्नुपर्यो भने पहिला कफी उत्पादन हुनुपर्यो । नगरपालिकाभित्र हजार दुई हजार टन कफी उत्पादन गर्न सक्यौं भने भोलिका दिनमा युवाहरुले यहीँ उद्योग खोल्छन् । स्थानीय युवाले सकेनन् भने बाहिरबाट उद्योग खोल्ने अन्य मान्छेहरू आउँछन् । हामी त्यो खालको अनुकूल वातावरणको सिर्जना गर्छौं । हामीले दुईवटा कफी उत्पादनको तालिम सञ्चालन समापन गरिसकेका छौं । अहिले युवाहरू १०/२० लाख खर्च गरेर विदेश जान तयार हुन्छन् । पहिलो वर्ष त्यसको ब्याज तिर्दै ठिक्क हुन्छ । २/३ वर्षमा उहाँहरूले ल्याउँने देश अनुसारको फाल हो । तर, उहाँहरूलाई म भन्छु त्यो खर्च नगर्नुहोस् ५० हजार रुपैयाँ खर्च गरेर १० रोपनी जग्गामा कफी लगाउनुहोस् । ३ वर्षमा फल्न थाल्छ । त्यो १०० वर्ष फल्छ । १० रोपनी क्षेत्रफलमा कफी लगाउँदा आन्दले वार्षिक ५ लाख रुपैयाँ आउँछ । बजारको ग्यारेन्टी नगरपालिकाले गएको छ । कफी विकास बोर्डले निर्धारण गरेको दर रेटमा नगरपालिकाले उत्पादन भएको कफी खरिद गर्छ । नगरपालिकाले बिरुवा अनुदान साथै प्रशोधनका सामग्री छुटमा उपलब्ध गराउँछ । तर, त्यसमा जाँगर युवाको हुनुपर्यो । युवा विदेश जान जरुरी छैन । हाम्रो माटोमा पैसा नै पैसा छ । टिप्ने कि नटिप्ने त्यो आफैमा भर पर्छ । म युवाहरूलाई चोकमा क्यारेमबोर्ड, लुडो खोलेर दिन बिताएको देख्छु । उहाँहरूलाई केही काम गर्न थाल्नु होस् भन्ने भन्दा उहाँहरूबाट पासवर्ड पेसेको छ, ३ महिनाभित्र भिसा आउँछ भन्ने उत्तर अधिकांश युवाको पाइन्छ । त्यसैले पनि अब युवामा देशमा नै केही गर्न सकिन्छ भन्ने मानसिकताको विकास गर्न आवश्यक छ । आजका दिनमा लस्कर लागेर जनताको छोरा छोरी विदेश गइरहेका छन् । त्यो रोक्नको लागि स्वतन्त्रका साथीहरूले के गरिरहेका छन् भन्ने बारे अनुसन्धान गरिरहेको छु । त्यो मैले पनि सिक्नको लागि हो । तर, भेटेको चाहिँ छैन । बरु हामीले यस विषयमा ध्यान पुर्याइ रहेका छौं । हामीले गाउँमै युवाहरूलाई रोक्ने वातावरणको सिर्जना गरिरहेका छौं । राजनैतिक दलको बारेमा जुन किसिमको आक्रोश छ । राजनैतिक दल सुधारको अपेक्षा आम नागरिकले लिएका छन् । त्यो सुधार्ने भनेकै दलभित्रका प्रतिनिधिहरूले हो । पार्टीभित्र भएको विकृति विसङ्गतिलाई न्यूनीकरण गर्नुपर्छ । जसले गर्दा त्यसमा सुशासन, कानुन हुन्छ, भ्रष्टचार मुक्त समाजको निर्माण गर्न सकिन्छ । अनि मात्र सहज रूपमा जनताको काम अगाडि बढ्न सक्छ । स्वतन्त्रले सँस्कार र सँस्कृति बिगार्ने हो कि भन्ने मलाई लागेको छ । मेयरले कर्मचारी कुट्ने, मनमुटाब गर्ने, हप्काउने तरीकाबाट जाने हो अब ? नीति बनाएर सहि नीतिको कार्यान्वयन गरी सिस्टमा हिँडाउने कि तुरुन्तका तुरुन्तै एक्सन लिएर मान्छेलाई ठिक लगाउने हो ? स्वतन्त्रले राज्य गरेको देश कुन छ ? उहाँहरूले गरेको कामलाई प्रशंसा गर्छु । त्योबाट हामीले शिक्षा लिनु पनि पर्छ । तर, राम्रो काम जनताको जीविको पार्जको लागि हुनुपर्यो । अन्याय, अत्याचार, शोषण मुक्त समाज निर्माणको लागि हुनु पर्यो । त्यसको लागि सहि सिस्टम सहि नीति हुनुपर्छ । म नै राज्य हो भन्ने सिद्धान्त ठिक हो जस्तो मलाई लाग्दैन । आधारभूत वर्गको उत्थानको लागि गरिने काम के हो र कसरी भइरहेको छ भन्ने विषय चाहिँ महत्वपूर्ण हो । बालेनले ठेलावालादेखि लिएर सडक पेटीमा भएका मान्छेलाई उठाउनु भयो । त्यो राम्रो गर्नु भयो । तर, त्यहाँबाट विस्थापित भएका मान्छेको रोजगारीको लागि उहाँले के गर्नु भएको छ ? त्यो विषय चाहिँ प्रमुख हो । न्युरोडको पार्किङ हटाउनु भएको छ । त्यहाँ मान्छे जानै बन्द गर्ने त हैन । जति मान्छे हिजोका दिनमा पार्किङ गर्न जान्थे । पार्किङ हटाएपछि त्यो भन्दा बढी मान्छे त्यहाँ पुग्ने वातावरण बनाउँनु पर्यो । त्यसको लागि एउटा व्यवस्थित पार्किङ व्यवस्थापन उहाँले गर्नु भएको छ ? जनताको क्रेज केमा छ भन्ने मापन कसरी गर्ने ? तपाईंहरुले अहिले सामाजिक सञ्जालको आधारमा मापन गरिराख्नु भएको होला । काठमाडौंको अब गरिबी कति घट्छ । काठमाडौंका जनता विदेश जानबाट कति रोकिन्छन् र यहाँ कतिले रोजगारी पाउँछन् । काठमाडौंमा नयाँ रोजगारीको अवसर कसरी हुन्छ, धरानमा कसरी हुन्छ ? पार्टीलाई गाली गरेर वहावहा कमाएर हुँदैन । पार्टीलाई पनि हामीले नै हो सुधार गर्ने हो । नेपालको पार्टीलाई नेपाली जनताले नै हो सुधार गर्ने हो । हैनभने हाम्रो शासन नै बहुदलीय प्रणाली हुनु भएन । एक तन्त्री हुनुपर्यो । प्रधानमन्त्री, राष्ट्रपति पनि स्वतन्त्र चाहियो । राजा जस्तो हुनुपर्यो । त्यो खालको सिस्टम छ ? देश बनाउने राजनैतिक पार्टीले नै हो । सम्भवतः स्वतन्त्र भनिएता पनि उहाँहरूले पनि कुनै दिन पार्टी खोल्नु हुन्छ । हामीले नगरभित्र गर्नुपर्ने काम धेरै छन् । आगामी तीन वर्षमा उल्लेखनीय काम गर्न सक्ने आँकलन गरेका छौं । अरुण नदिमा निर्माणाधीन पुल सम्पन्न गर्नतर्फ लागेका छौं । सतिघाटामा पुल निर्माणको लागि ठेक्का लागको छ । दिङ्ला सतिघाट सडकको कालोपत्रे गर्ने काम सम्पन्न गर्नेछौं । दिङ्ला भोजपुर सडकको काम तीव्र गतिमा अगाडि बढ्छ । दिङ्लाबाट हरेक केन्द्र जोड्ने बाटो बाह्रै महिना चल्न सक्ने बनाउने छौं । १५ बेडको अस्पताल सञ्चालन हुनेछ । जनताले आधारभूत तहका सेवा सुविधाहरू सहज रूपमा पाउँने वातावरण बन्छ । कृषिमा राम्रै आयामको सिर्जना गर्छौं । मलाई लाग्छ धेरै युवाहरूलाई स्वदेश फर्काउने वातावरण बनाउन सक्ने छु । नभएता पनि फर्केका युवाहरूलाई यहाँ अवसरको सिर्जना गर्ने छु । शिक्षाका भौतिक पूर्वाधारका योजनाहरूको समस्या समाधान हुन्छन् भने हाम्रो मुख्य जोड शैक्षिक गुणस्तरमा हुनेछ । मैले प्रत्येक घरमा खानेपानी पुर्याउने उद्घोषण गरेको छु त्यो पुरा गर्ने छु । प्रत्येक घरमा बिजुली पुर्याउने छौं । नागरिकले अब प्रशासकीय झन्झट बेहोर्नु पर्दैन । नगरपालिकाबाट जो टाढा रहेका १, २, ३, ९, १०, ११, १२, १३, १४ वडामै वृद्ध भत्ता लगेर बाढ्ने योजना बनाएका छौं । दिङ्ला बजारलाई आधुनिक बजार बनाउने योजना बनाएको छु । जसको लागि प्रारम्भिक छलफल सुरु भइसकेको छ । (षडानन्द नगरपालिकाका मेयर सुरेन्द्रकुमार उदाससँग गरिएको कुराकानीमा आधारित)
काठमाडौं महानगरविरुद्ध व्यवसायीको प्रदर्शन
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले महानगरविरुद्ध प्रदर्शन गरेका छन् । आईतबार राष्ट्रिय स्वोरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा महानगरको विरोध प्रदर्शन तथा काठमाडौ महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीमा खड्काले महानगरपालिकाले वार्ताको नाटक गर्दै वार्ता एकलौटी भंग गरेको आरोप लगाए । उनले आफूहरुले फुटपाथ व्यवसायीहरलाई बाच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामानहरु लुटरेर लिएर गएको बताए । महानगरपालिकाले फुटपाथ व्यवसायीहरुका माग सम्बोधन गर्नुपर्ने बताए । त्यस्तै अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरुले गरिखान पाउनुपर्ने र वैकल्पिक ठाउँ दिनुपर्ने बताए । काठमाडौं महानगरपालिका व्यापारीको व्यवस्थापन भन्दा पनि बेरोजगार बनाउन उद्धत भएको आरोप लगाए । प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर, हाम्रो आन्दोलन जारी छ, व्यवसायी एकता जिन्दवाद, राजु पाण्डे मुर्दावाद, पुँजीवादी मेयर चाहिँदैन लगायतका नारा लगाएका थिए ।
गोँगबुस्थित नयाँबसपार्कभित्र होटल सञ्चालन
काठमाडौं । रातका समयमा काठमाडौं आउने चालक, सहचालक र यात्रुको सुविधाका लागि गोँगबुस्थित नयाँबसपार्कभित्र लोत्से बहुउद्देश्यीय प्रालिले होटल सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष इन्जिनियर दीपक कुँवरले यातायात व्यवसायीसँगको सल्लाहमा लामो दूरीबाट आएका चालक, सहचालक र यात्रुको खान तथा बस्नका लागि बिचल्ली नहोस् भन्ने उद्देश्यले होटल सञ्चालनमा ल्याएको जानकारी दिए । उनले बसपार्कभित्र क्रमशः अन्य सेवासमेत विस्तार गर्दै लैजाने बताए । काठमाडौं महानगरपालिका-२६ गोँगबुमा एक सय ६१ रोपनी क्षेत्रफलमा सञ्चालित उक्त बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा यात्रु सार्वजनिक यातायातमार्फत आवतजावत गर्दै आएका छन् । पश्चिमको हुम्लाबाहेक सबै जिल्लामा बस आवतजावत गर्दै आएका छन्भने पूर्वमा सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत जिल्लामा सवारीसाधन जाँदैनन् । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा २०५६ मा महानगरपालिकाले ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत लोत्से बहुउदेश्यीय प्रालिसँग सम्झौता गरेर सञ्चालनको जिम्मेवारी दिएको हो । प्रविधिमैत्री टिकट बुकिङ काउन्टर स्थापना गरेर यात्रुलाई सेवा प्रदान गर्दै आएको लोत्सेले टिकटलाई अनलाइनमार्फत काट्न मिल्ने व्यवस्थासमेत मिलाउन लागेको छ । नयाँबसपार्कमा हाल एक हजारभन्दा बढी सार्वजनिक सवारी साधन ‘पार्किङ’ गर्न मिल्छ । तर हाल जम्मा तीन सयदेखि तीन सय ५० सार्वजनिक सवारीसाधन मात्र पार्किङ भई सञ्चालन हुँदै आएका छन् अन्य सार्वजनिक सवारीसाधन भने नयाँ बसपार्कभन्दा बाहिर विभिन्न ठाउँमा पार्किङ गरेर सञ्चालन हुँदै आएका छन् । रासस