भरतपुरमा उद्यमशिलताको विकास गरी रोजगारी सिर्जना गर्ने छौं : रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशिलताको विकास रहेको बताएकी छिन् । भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास प्रयाप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरिन्। महानगरपालिकामा विगत ७ वर्षमा पूर्वाधार विकासमा उल्लेखिय काम भइसकेकाले अब भने भरतपुरवासीलाई उद्यमशिलतामा लाग्ने उनको भनाई छ । ‘भरतपुरमा एकै वडामा ५० किमीभन्दा बढी कालोपत्रे सडक निर्माण भइसेका छन्, उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य, पर्यटयन र कृषिमा पनि धेरै काम भएका छन् । अब भरतपुरमा रोजगारी सिर्जना गर्ने प्रमुख एजेण्डा हाम्रो छ ।’ वडा नम्बर २२ को वडा कार्यालय निर्माण भएपछि व्यवस्थित ढङ्गबाट सेवा प्रवाह हुने अपेक्षा लिएको प्रमुख दाहालले बताइन् । वडा कार्यालयसँगै निर्माण भएको १६ शैयाको अस्पताललाई विषेशज्ञ सेवासहित नगरस्तरीय वा वडास्तरीय अस्पतालको रुपमा विकास गर्न सकिने प्रमुख दाहालको भनाइ थियो । २ तल वडा कार्यालय निर्माण गर्न रु १ करोड ३२ लाख खर्च भएको वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए। यस्तै वागमती प्रदेश सरकारको रु १ करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । केन्द्र सञ्चालनमा आएसँगै स्थानीय उत्पादनको प्रदर्शनी गर्न सहज हुने अपेक्षा लिइएको छ । एशियाली विकास बैंक÷जेएएफपिआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत रु १ करोड ६६ लाखको लागतमा १६ शैयाको अस्पताल निर्माण भएको हो । यसको स्वमित्व सोमबार नै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले पटिहानी क्षेत्रमा विगत ७ वर्षको अवधिमा धेरै विकास निर्माणको काम भइसकेको उल्लेख गरिन् । भरतपुर वडा नम्बर २२ ले पर्यटन, खेलकुद, कृषिलगायतका क्षेत्रमा प्राथामिकताका साथ काम गरिरहेको बताइन् । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पटिहानी क्षेत्रले विषेश कामहरु अगाडि बढाइरहेको उनको भनाई थियो । कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले मन्तव्य व्यक्त गरेकी थिइन् ।
वायुको गुणस्तर सुधार गर्न ‘हावाको कुरा गरौँ’ अभियान सुरु
काठमाडौं । सहरी क्षेत्रमा बढ्दै गएको वायुको गुणस्तर सुधारका लागि समुदायको सहभागिता र सचेतना बढाउन आज हाँडीगाउँबाट ‘हावाको कुरा गरौँ’ अभियान सुरु भएको छ । काठमाडौं महानगरपालिकाले युएसएड, स्वच्छ हावा परियोजनासँगको सहकार्यमा अभियान थालनी गरेको हो । यस अभियानमा सवारी साधनको प्रयोगलाई कम गराउने, सवारी प्रयोग नगर्दा हुने ठाउँमा नचलाउने, यसको सट्टा हिँड्ने संस्कृति बढाउँदै लैजाने लगायत क्रियाकलाप हुनेछन् । यो सांस्कृतिक विकासका लागि आवश्यक पर्ने सहरी पूर्वाधार निर्माण गर्ने, सामाजिक र सांस्कृतिक क्रियाकलापलाई पर्यटन व्यवस्थापनसँग जोडेर स्थानीयबासीको आयमा टेवा पुर्याउने, परम्परागत उद्यम तथा उद्यमशीलताको विकासलाई प्रवद्र्धन गरिनेछ । यस प्रकारका क्रियाकलापबाट काठमाडौंका सम्पदाहरुको संरक्षण र प्रवर्धन तथा वातावरणीय सुधारमा टेवा पुग्नेछ । मौलिकपन र जीवन्तता पुनःस्थापना हुनेछ । यस अघि हाँडीगाउँमा यस प्रकारका क्रियाकलाप सञ्चालन गरिएका छन् । सवारी प्रवेश निषेध गरिएका ठाउँमा हाँडीगाउँको मौलिक जीवन पद्धतिसँग सम्बन्धित कला तथा सिप (सुकुल बुन्ने, काष्ठकला, माटोका भाँडा बनाउने), रञ्जना लिपी लेखन सिप, मौलिक खाना, परम्परागत वाद्यबादन, गायन तथा नृत्य र मौलिक सामाजिक खेलसहितको सडक महोत्सव गर्ने गरिएको छ । कला, साहित्य, सिर्जना र सहरी वातावरण सुधारका लागि काम गर्ने विभिन्न संघ संस्थाहरुले सूचना तथा जानकारीमूलक प्रदर्शनी गर्ने गरिएको छ । यी क्रियाकलापबाट सामाजिक सद्भाव वृद्धि, मौलिकताको जगेर्ना र वायुको गुणस्तर सुधारमा सहयोग पुगेको छ । यस कार्यक्रममा स्थानीयहरुको अपनत्व वृद्धि भएको छ । काठमाडौंको मौलिकता पुनःस्थापनामा हाँडीगाउँबाट थालिएको अभियान महानगरका अन्य स्थान तथा क्षेत्रसँगै उपत्यकाभित्र विस्तार हुनेछ । यो प्राचीन सहरको मौलिकपन फिर्ता गराउने प्रयासको प्रारम्भ हो । यसका सवल पक्ष अन्य स्थानका लागि सिकाइ बन्न सक्छन् ।
भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते, ५० हजार बढी स्थानीय सहभागि हुँदै
काठमाडौं । भरतपुर भ्रमण वर्षको यही फागुन १८ गते उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीयको सहभागिता हुने महानगरले अनुमान गरेको छ । भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । नारायणगढ–गोन्द्राङ छ लेन सडकलगायत केही पूर्वाधार निर्माणमा ढिलाइ हुँदा उद्घाटन पछि सारेर मार्च १ अर्थात् फागुन १८ गते गर्न लागिएको हो । नारायणी नदी किनारमा भव्य समारोहकाबीच भ्रमण वर्षको उद्घाटन गरिँदैछ । महानगर प्रमुख रेनु दाहालका अनुसार उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्रीहरु, दलका प्रमुखहरु, सङ्घीयमन्त्री, प्रदेशका प्रमुख एवं मुख्यमन्त्री, प्रदेशका मन्त्री, जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय एवं प्रदेशका सांसदलगायतलाई निमन्त्रणा गरिएको छ । उनका अनुसार उद्घाटन समारोहपूर्व सबै वडाबाट झाँकीसहितको र्याली नारायणगढ नजिक नारायणी नदी किनार आइपुग्नेछ । विभिन्न जातजाति एवं सङ्घसंस्थाले झाँकी प्रदर्शन गर्ने दाहालले बताए । उनले भने, ‘भ्रमण वर्ष उद्घाटनमा ५० हजारभन्दा बढीको सहभागिता हुने अनुमान गरेका छौँ । महानगरका सबै वडासहित जिल्लाका अन्य पालिका र छिमेकी जिल्लाबाट समेत उद्घाटन समारोहमा सहभागिता हुनेछ ।’ कार्यक्रमको घोषणापूर्व र उद्घाटनसत्र पछि राष्ट्रिय तथा स्थानीय कलाकारले नदी किनारमा साँझसम्म साङ्गितक प्रस्तुति प्रस्तुत गर्नेछन् । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यकोसमेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको हो । भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूल समारोह समिति बनाइएको छ । समितिको शनिबार बैठक बसेको थियो । प्रमुख दाहालकै संयोजकत्वमा सात सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, एक सय एक सदस्यीय सल्लाहकार समिति र २९ उपसमिति गठन गरिएका छन् । उपसमितिमा सात सय सदस्य रहेका छन् । भ्रमण वर्षमा गरिने विभिन्न कार्यक्रम स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा गरिँदैछ । महानगरका उपप्रमुख अधिकारीका अनुसार रु छ करोडभन्दा बढी सरकारी तवरबाट भ्रमण वर्षमा खर्च हुँदैछ । यसका लागि महानगरले रु तीन करोड विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले बताए । यसैगरी पर्यटन बोर्डबाट रु ६५ लाख निकासा भइसकेको उपप्रमुख अधिकारीले जानकारी दिए । यससँगै भ्रमण वर्ष तयारीका क्रममा भौतिक निर्माणमा समेत महानगरले खर्च गरेको छ । पर्यटकीय पूर्वाधार निर्माण महानगरको योजनाबद्ध खर्च भएको उहाँले बताउनुभयो । भ्रमण वर्षसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्र चलायमान हुने अधिकारीको अपेक्षा छ । महानगर प्रमुख दाहालले भ्रमण वर्षमा दुई लाख बाह्य र पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए। भ्रमण वर्षका अवसरमा महानगरभित्र रहेका होटल, रिसोर्ट र रेष्टुरेन्टले विशेष छुटमा प्याकेज दिँदैछन् । प्रमुख दाहालका अनुसार महानगरभित्र २० शय्याभन्दा माथिका ६५ पर्यटकीय होटल छन् । मध्यमस्तरका सहित सात हजार जना अट्ने क्षमता महानगरभित्रका होटलमा रहेको छ । भ्रमण वर्षलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गर्नेगरी विभिन्न कार्यक्रम गरिँदै छ । प्रमुख दाहालका अनुसार ५० भन्दाबढी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गरिँदै छन् । ऐतिहासिक दरबार दियालो बङ्गला सर्वसाधारणका लागि खुला गरिँदैछ । भ्रमण वर्षको उद्घाटनपछि लगत्तै दियालो बङ्गला सञ्चालनमा ल्याइनेछ । त्यहाँ पुनःनिर्माणको काम भइरहेको उनले बताए । यसैगरी दुर्लभ पाटेबाघ पर्यटकले हेर्न मिल्ने गरी खुला खोरमा राख्न लागिएको छ । भ्रमण वर्षको उद्घाटनअघि नै बाघ राखिनेछ । महानगरको देवनगरमा बाघसँगै सोही क्षेत्रमा गैँडा राख्नका लागि खोर बन्दैछ । दाहालले भनिन् ‘अब यहाँ आउने पर्यटकले निकुञ्जमा बाघ, गैँडा नहेरी फर्कनु पर्दैन ।’ महानगरपालिकाले गैँडाको खोर, मचान र त्यहाँ पुग्ने ठाउँसम्मका लागि बाटो निर्माण गर्न रु एक करोड खर्च गरेको छ । बाघको खोर निकुञ्ज आफैँले बनाएको हो । भ्रमण वर्षका अवसरमा विश्वका विभिन्न देशमा बस्ने भरतपुरवासी, समग्र नेपाली र सोही मुलुकका नागरिक घुम्न आउनका लागि निम्तो दिइएको छ । प्रमुख दाहालले भनिन्, ‘अर्थतन्त्रलाई चलायमान बनाउन भ्रमण वर्ष उपयोगी हुने अपेक्षा छ ।’ भ्रमण वर्षका सन्दर्भमा गरिने गतिविधिका लागि महानगरपालिकाले एक वर्षदेखि गृहकार्य गर्दै आएको थियो । उनले भने, ‘भ्रमण वर्ष सफल पार्न सरकारी प्रयासले मात्रै हुँदैन, निजी क्षेत्र पनि सक्रियरुपमा लाग्नुपर्छ ।’ सबैको साथ र सहयोगले भ्रमण वर्ष सफल हुने उनको अपेक्षा छ । देशमै स्थानीयस्तरमा भौतिक पूर्वाधारमा अग्रणी मानिएको भरतपुर महानगरपालिकामा यहाँको भौतिक निर्माण हेर्न अन्य स्थानीय तहबाट जनप्रतिनिधि आउने अपेक्षा गरिएको छ । भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले भ्रमण वर्षले सिथिल भएको समग्र अर्थतन्त्र चलायमान हुने बताए। चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुर हुँदै पर्यटक निकुञ्ज प्रवेश गर्ने गर्दछन् । राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगर पर्या–पर्यटन, धार्मिक र संस्कृतिक हिसाबले महत्वपूर्ण छ । सुवेदीले भने, ‘सरकारी तवरबाट यो ढङ्गले पर्यटन प्रवर्द्धनका लागि गरिएको यो प्रयास निजी क्षेत्रका लागि कोसेढुङ्गा हुनेछ ।’ उनका अनुसार भरतपुर महानगरभित्र अन्तर्राष्ट्रियस्तरको रङ्गशाला र सिटिहल बन्दैछ । प्रदर्शनी केन्द्र सञ्चालनमा आएको छ । राजधानी नजिक रहेको यो महानगर आर्थिक नगरीका रुपमा विकास हुँदै गएको छ । यस्ता कार्यक्रमले यहाँको पर्या–पर्यटनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस