धुलो दूधको माग घटेपछि ‘डेरी’ सञ्चालनमा समस्या

दमक । झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय किसानले उत्पादन गर्दै आएको गाईभैँसीको दूध संकलन गरी बजारीकरण गर्दै आएका साना तथा मझौला डेरी व्यवसायीले किसानलाई भुक्तानी दिननसक्ने अवस्थामा आफूहरू पुगेको दुखेसो पनि गरेका छन् । विगत चार वर्षअघिदेखि झापाको दमक–१० सेतुमारीमा डेरी सञ्चालन गर्दै आएका व्यवसायी विदुर भण्डारीले पछिल्ला केही दिनयता डेरी व्यवसायीले स्थानीयस्तरमा संकलन गरेको दूधको भुक्तानी किसानलाई दिन कठिन भएको बताए । उनको डेरीले आबद्ध दुई सय साना किसानबाट गाईभैँसीको पाँच सय लिटर दूध दैनिक संकलन गर्दै आएको छ तर बजारबाट भुक्तानी नहुँदा समस्या भएको व्यवसायी भण्डारीले बताए । उनका अनुसार डेरीमा संकलन भएको दूध दमक बजारका साथै पोखराको सुजल डेरीले खरिद गर्दै आएको छ । तर केही दिनयता उक्त डेरीले बजारमा धुलो दूध बिक्री गर्न नसकेको भन्दै भुक्तानी नदिएपछि किसानलाई पशुआहाराको रूपमा प्रयोग गर्दै आएको दाना, चोकरसमेत दिन नसक्ने अवस्थामा डेरी सञ्चालक पुगेका छन् । केही समय अघिमात्र दूधको मूल्यमा केही वृद्धि हुँदा निकै उत्साहित देखिएका किसान अहिले समयमा नै दूधको भुक्तानी पाउन नसक्दा निराश हुनुपरेको दमक–१० का गाईपालक किसान नवराज न्यौपानेले बताए । दुग्ध डेरी अहिले दूधका साथै दही, घिउ, पनिरलगायत दुग्धजन्य वस्तु उत्पादन तथा बिक्री गर्दै आएको छ । नेपाली बजारमा भारतीय उत्पादनले निकै प्रभाव जमाउँदै आइरहेको समयमा दूधको बजारमा पनि समस्या आएको व्यवसायीहरू बताउँछन् । भारतीय उत्पादनको लागत मूल्य कम हुनु र नेपाली उत्पादनको लागत मूल्य बढी भएकाले दूधको बजारमा समस्या भएको उनीहरूको बुझाइ छ ।

विष्णुमति करिडोरका अवैध संरचना हटाउन सुरु

काठमाडौं । टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएर्को  जानकारी दिए । टोखाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रुपमा निर्माण गरिएका संरचना हटाएको हो । उक्त समितिले आज टोखा नगरपालिका-८ स्थित फ्लोरोसेन्ट स्कुल अगाडि निर्माण गरिएका संरचना हटाएको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए । उनले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताए । नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाउने बताएको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमति करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताए । टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिका लागेको बताए । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए । फ्लोरोसेन्ट स्कुल आसपासमा नदीको किनारा आसपासमा घर बनाएर बस्दै आएका स्थानीयले नगरपालिका र प्रहरीलाई ढुङ्गामुढासमेत गरेका थिए । नगरपालिकाले केहीदिन अघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरवासीलाई आग्रह गरेको थियो । रासस

काभ्रेपलाञ्चोकमा बृहत् कृषि महोत्सव सम्पन्न, ७० हजारले गरे अवलोकन

धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको मुख्य आयोजना तथा जिल्लास्थित सबै पालिकाको आयोजनामा यही फागुन ४ गतेदेखि सञ्चालन भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव, २०८०’ सोमबार सम्पन्न भएको छ । बनेपाको तीनदोबाटोस्थित करुणमार्गमा चार दिनसम्म चलेको महोत्सव करिब ७० हजार दर्शकले अवलोकन गरेको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बताए । प्रदर्शनीमा जिल्लास्थित सबै गाउँपालिका तथा सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल गाउँपालिकाले कृषिजन्य वस्तुको प्रदर्शनी गरेका थिए । महोत्वस अवलोकन गर्नका लागि विभिन्न ३५ जिल्लाका जनप्रतिनिधि सहभागी भएको उनले बताए । किसानका समस्यादेखि उनीहरूले उत्पादन गरेका वस्तुको बिक्री र प्रदर्शनीले राम्रो प्रचार पाएको भन्दै उनले अब जिल्लाले नै कृषिमा फड्को मार्ने आशा व्यक्त गरे । ‘अब जिल्लाका किसानले पनि मल नपाउने समस्याबाट मुक्त हुनेछन्,’ उनले भने, ‘महोत्सवले प्रत्येक पालिकामा हाटबजार चलाउन पालिकालाई महोत्सवले दबाब दिनेछ ।’ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले जिल्लाका सबै पालिका र सरकारी कार्यालयसँगको समन्वयमा महोत्सव भव्यरूपमा सम्पन्न भएको बताउनुभयो । त्यस क्रममा उनले महोत्सवले किसानको समस्या र उनीहरूको उत्पादनको बजारीकरणका लागि बहस गर्ने र पैरवी गर्ने थलोका रूपमा विकास गरेको बताए । महोत्सवमा दुई सयवटा कृषिसँग सम्बन्धित प्रदर्शनी कक्ष राखिएको थियो ।