प्राचीन ढिकी जाँतो संरक्षणमा जुट्दै आमाहरू

पोखरा, ९ भदौ । आधुनिकतासँगै लोप हुन लागेको प्राचीन कुटानी तथा पिसानीको महत्वपूर्ण साधनका रुपमा परिचित ढिकी र जाँतो संरक्षणमा आमाहरु जुटेका छन् । पोखरा उपमहानगरपालिका वडा नंं १७ स्थित शुभकामना आमा समूहले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रमुख प्रवेशद्वार रातोपैह्रास्थित सार्वजनिक जग्गामा ट्रष्ट भवन निर्माण गरेर लोपोन्मुख ढिकी र जाँतो स्थापना गरेको हो । ढिकीमा रातभरि धान कुट्ने र जाँतोमा मकै, कोदो पिस्ने गरे पनि पछिल्लो समय आधुनिक मेसिनका कारण लोप हुन लागेको ढिकी र जाँतोको बारेमा भावि पुस्तालाई जानकारी गराउने उद्देश्यका साथ ढिकी जाँतो स्थापना गरिएको आमा समूुहकी अध्यक्ष माया गुरुङले बताए । उनका अनुसार सार्वजनिक जग्गामा निर्माण गरिएको ट्रष्ट घरभित्र काठको मुढो, ओखल, दुईवटा खम्बा, औलो, दाँते मुसल, लुडी भएको ढिकी एवम् ढुङ्गाको दुईवटा पलेटा, काठको मानी, फलामको मानी, हातोसहितको जाँतो निर्माण गरिएको छ । टोल छिमेकमा हुने शुभकार्यमा नाचगानजस्ता सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर आम्दानी भएको रु दुई लाख खर्चेर सो भवन र ढिकी जाँतो स्थापना गरिएको अध्यक्ष गुरुङ बताउछन् । समूहद्वारा यसअघि पार्क एवम् डिलबार निर्माण समितिद्वारा गाडिएका फलामका पोलमा रेलिङबार निर्माण गरी सेतीनदीको भिरमा सुरक्षित बारको समेत व्यवस्था गरिएको छ । आधुनिक मेसिनको तुलनामा ढिकीमा कुटेको चामल र जाँतोमा पिसेको पिठो स्वादिलो र पोसिलो हुने आमा समूहका सल्लाहकार ८२ वर्षीय लीलावती बास्तोला बताउछन् । “ढिकी र जाँतो स्थापनासँगै चाडपर्व र विवाहका अवसरमा सेलरोटी पकाउन र कसार बटार्नका लागि चालमको पिठो कुट्नका यस क्षेत्रका बासिन्दालाई निकै सुविधा पुग्नेछ” – उनले भने । नवनिर्मित ढिकी जाँतोको बुधबार एक समारोहका बीच आमा समूहका पूर्व अध्यक्ष मञ्जु खड्काले शुभारम्भ गरे । नेपाली महिलाको महान् पर्व हरितालिका तिजको अवसरमा सामूहिक दरखाने र २०७२ सालको एसएलसी परीक्षामा उत्तीर्ण आमा समूहमा आबद्ध २२ जना छोराछोरीलाई सम्मान गरिएको थियो । विसं २०५३ मा स्थापित सो समूहद्वारा यसअघि आफ्नै निजी खर्चमा समाजमा आवश्यक विभिन्न विकास निर्माणका कार्य सम्पन्न गरिसकेको छ । सो समूहले उक्त स्थानमा लगभग रु १० लाखको लागतमा दुईतले बहुउद्देश्यीय पक्की भवन निर्माण गरी सञ्चालनमा आएको समूहका उपाध्यक्ष हीरा अधिकारीले जानकारी दिए । उनका अनुसार भवनको माथिल्लो तल्लामा सभाहल र एउटा समूहको बन्दोबस्तीका सामग्री राख्ने कोठा रहेको छ भने तल्लो तलामा रहेको एउटा सटर भाडामा दिएको सो आम्दानीबाट विद्युत् महसुल र सरसफाइमा खर्च गर्ने गरेको छ । छिमेकको कुनै पनि घरमा शुभकार्य होस् वा लाहुरे आउनेबित्तिकै आमाहरु मादल, मुजुरा, खैजडीलगायतका विभिन्न वाद्यवादनका सामग्री बोकेर निस्कने गरेको समूहकी सचिव मीना पौडेल बताउछन् । समूहले उपल्लो रोतोपैह्रामा रु दुई लाखको लागतमा शक्तिदेवी मन्दिर र सोही स्थानदेखि देवीघाटसम्मको बाटोमा पक्की सिढी एवम् एकतर्फी रेलिङबारसमेत निर्माण गरेको छ । सिढी एवम् रेलिङबारसँगै ओमकारेश्वर महादेव मन्दिरमा दर्शन तथा सेतीनदीमा स्नान गर्ने भक्तजन एवम् दाहसंस्कारका लागि जाने शवयात्रीलाई प्रत्यक्ष सुविधा पुगेको छ । रासस

कहिले अन्त्य होला बाढीपीडितको पालको बास ?

जाजरकोट, ८ भदौ । न औषधि खाने पैसा छ, न त राम्रोसँग बस्ने बास र गाँस नै छ । २०७१ भदौ २९ गतेदेखि सुर्खेतको गिरीखोला र भेरीमा आएको बाढीले सुर्खेतको हरिहरपुर–५ का १३९ घरधुरीको उठिवास नै लगाएपछि उनीहरु पालमा बसिरहेका छन् । बिरामी भएमा औषधि खानको लागि र बिहान बेलुका छाक टार्नका लागि समेत भगवान् नै पुकार्नु पर्ने अवस्था छ । जिन्दगी जीउन र परिवार पाल्नका लागि पालमा बस्दै आएका वृद्धदेखि युवासम्म गिट्टी कुट्ने तथा अन्य सामान्य काम गर्दै आएका छन् । त्यसबर्ष भदौ २९ गते राति आएको बाढी र त्यसैमा बगेको परिवार झलझली सम्झिरहन्छु अहिलेसम्म पनि, सुतिरहेका बेला घरबाट बगेर उर्लेको भेरीमा पौडी खेल्दै आफू पनि बाँचे परिवार पनि बचाएँ, यति दुःखद् जीवन बिताउन लेखेको रैछ, त्यसैले बाँचियो, नत्र उही कालो दिनमा मेरो जीवनको अन्त्य भइसकेको हुन्थ्यो, त्यही अस्थायी शिविरमा बस्दै आएकी सुमित्रा सुनारले विगत कोट्याउँदै भने । सुमित्राको सरकारसँग आश पनि मरेको छैन र सरकारसँग गुनासो भने छँदैछ । सरकारले दिने भनेको रु ५० हजार पनि दर्तावाला जग्गा खरिद पछि मात्र दिने भन्ने कुराले समस्या पारेको छ । रु ५० हजारले कहाँ दर्तावाला जग्गा किन्न आउँछ, सरकार आफैँले किनेर हामीलाई दिए भैगो सुमित्राको सरकारलाई प्रश्न छ ? शिविरमा बसेर पढ्ने बालबालिकालाई आवश्यक कापी, कलम र पोसाक किन्ने समस्याले गर्दा निकै सताउने गरेको कक्षा ५ मा पढ्दै गरेकी सविना नेपालीले पीडा सुनाउनुभयो । सविनाले भने – ”जेठो दाजु भारत जानुभएको छ, भाउजुले दाजुलाई र हामीलाई छोडेर अन्तै गइसक्नुभयो, आमाले गिट्टी कुटेर परिवारको खाना खर्च र हामी भाइबहिनीको पढाइ खर्च जेनतेन चलाउनुभएको छ ।” कोही चिटिक्क परेको मानिसको समूह र गाडी बस्ती वा स्कुलमा आए भने केही राहत ल्याएकाछन् र दिन्छन् की भन्ने आश लाग्छ, उनले थपे । उनले स्कुलमा भोग्नुपरेको समस्याका विषयमा पनि बताए । स्कुल पनि पालले ढाकिएको छ, घाम लाग्यो भने पसिनाले लुथ्रुक्क पार्छ, पानी प¥यो भने चुहिएर पानीले लुथ्रुक्क पार्छ, सबै विद्यार्थीको साझा समस्या हो, उनले भने, “शिविरको पालमा अँध्यारो छ, बत्ती छैन, खाना पकाउने बेलामा धुँवा हुन्छ, पढ्ने वातावरण केही गरी मिल्दैन ।” कक्षा ५ मै अध्ययनरत राधिका नेपालीले भने– “पाल पनि च्यात्तिएको छ, न सिलाउन मिल्छ, पानी चुहिन्छ । कहिले बाघले सताउँछ, कहिले सर्पले दुःख दिन्छ । यत्रो दुःख भोग्न थालेको दुई वर्ष पुगिसक्यो सरकारले हामीलाई नजिकबाट किन हेर्दैन ? ” राधिकाको पनि बाबाआमा दुवै भारत गएका छन् उनी अहिले शिविरमा हजुरआमासँग बस्दै आएकी छन् । पढ्ने लेख्ने उमेरमा शिविरमा बस्दै आएका सबै बालबालिका पढाइको चिन्ताभन्दा पनि दाउरा र गिट्टी कुट्ने काममा लाग्नु परेको छ । दुईवर्षसम्म कसैले केही हेरेनन् तर अझै पनि उनीहरुको आश भने मरेको छैन । रासस

नवविवाहित दम्पत्तीलाई स्वागत गर्न पोखरामा हनिमुन लेक बनाईदै

पोखरा, २७ साउन । सात तालको बगैंचा शहरका रुपमा परिचित लेखनाथ नगरपालिका वडा नं ६ स्थित दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गरिने भएको छ । विश्व रामसार सूचीमा सूचीकृत यो ताल प्राकृतिक सौन्दर्य र दृश्यावलोकनका दृष्टिले उत्कृष्ट गन्तव्य मानिन्छ । घुमफिरका लागि नव विवाहित जोडीको छनोटमा पार्ने किसिमले अब यस तालको प्रवद्र्धन गर्न लागिएको छ । दिपाङ ताल संरक्षण समितिका अध्यक्ष रामजी लामिछानेका अनुसार यो तालले कुल ६६८ रोपनी ७ आना ३ पैसा ३ दाम क्षेत्रफल ओगटेको छ र त्यसमा लगभग ३३८ रोपनी ८ आना क्षेत्रफल पानीको भाग रहेको छ ।  लेखनाथ नगपालिकाको चौंथौ ठूलो तालको रुपमा रहेको यसको पूर्वमा रुपा, बेगनास, मैदी ताल र उत्तर पश्चिममा गुँदे, न्युरेनी र खाष्टे ताल रहेका छन् ।   यहाँ २२ प्रजातिका चरा, १६ प्रजातिका माछा, ८ प्रजातिका अन्य घस्रने प्राणी, ६ प्रजातिका कमल लगायतका फूलका साथै नाभो, गुँद जस्ता वनस्पति पाइन्छ । पोखराका अन्य तालमा भन्दा यहाँ मानवीय एवम् प्राकृतिक अतिक्रमण कम भएका कारण यसलाई ‘भर्जिन’ तालका रुपमा समेत लिने गरिएको अध्यक्ष लामिछानेको भनाइ छ । तालको सौन्दर्य बचाइराख्न समिति एवम् स्थानीयवासी क्रियाशील रहेको बताउँदै उनी भन्छन्– “पोखराका अन्य ताल भन्दा यो सुरक्षित छ । वरिपरि वस्ती छैन । चारैतिर सामुदायिक वनबाट घेरिएका कारण पनि यो ताललाई ‘भर्जिन’ मानिएको हो ।”  तालमा पछिल्लो समयमा बढिरहेको पर्यटकको आकर्षणलाई लक्ष्य गरी वरिपरि पदमार्ग निर्माण गरिएको छ । दिपाङ ताल संरक्षण समितिको विशेष सक्रियता र राष्ट्रिय ताल संरक्षण विकास समितिको सहयोगमा २९ लाख रुपैयाँको लागतमा आव २०६६÷६७ मा बाँध निर्माण गरिएको थियो ।  पछिल्लो समयमा पर्यटन मन्त्रालयअन्तर्गत राष्ट्रिय ताल विकास तथा संरक्षण बोर्डले विनियोजन गरेको ३० लाख रुपैयाँको लागतमा पदमार्ग निर्माण गरिएको र सोही बजेटबाट ताल सरसफाइ, वृक्षरोपण, उद्यान तथा वनभोज स्थल निर्माण गरिएको अध्यक्ष लामिछानेले जानकारी दिए । “दृश्यावलोकनका लागि प्रमी प्रेमिकाको आकर्षण बन्दै गएको योे ताललाई नवविवाहित जोडीलाई आकर्षण गर्ने ‘हनिमुन लेक’ का रुपमा विकास गर्ने लक्ष्य राखेको छौं,” उनले भने – “यहाँ आउने पर्यटकको सुविधालाई लक्ष्य गरी विस्तारै होटल तथा रेष्टुराँ, विश्राम स्थल जस्ता पूर्वाधारको निर्माणलाई अघि बढाउने सोच राखिएको छ ।” ताल वरपर बाँधसहित पाँच किलोमिटर लामो पदमार्गले ताल अतिक्रमणको समस्या दीर्घकालीन रुपमा समाधान हुनुका साथै तालको अवलोकनमा आउने पर्यटक विशेष लाभान्वित हुने विश्वास लिइएको छ ।  साइकल कुदाउन मिल्ने गरी निर्माण गरिएको पदमार्गको दायाँबायाँ विभिन्न जातका एक हजार २०० विरुवा रोपिएका छन् भने समितिले नजिकैको सार्वजनिक जग्गामा वनभोज स्थल समेत बनाएको छ । पछिल्लो समयमा तालमा बढिरहेको जालो गम्भीर चुनौतीका रुपमा देखिएको भन्दै दिपाङ ताल संरक्षण समितिले राष्ट्रिय ताल संरक्षण विकास समिति र रामसारको सचिवालयमा त्यसलाई हटाउन र समग्र तालको सुन्दरतालाई कायम गर्न बजेट समेत माग गरेको छ । दिपाङ तालको वरिपरि पन्थको डाँडा सामुदायिक वन, सहेलो पाखा सामुदायिक वन, पाखरे वन सामुदायिक वन, भालटारी भित्तेरी सामुदायिक वन र केही खेत रहेका छन् । वरिपरिका सामुदायिक वनका कारण पनि दिपाङ ताल संरक्षित रहेको स्थानीय समाजसेवी एवम् पन्थको डाँडा सामुदायिक वन उपभोक्ता समितिका पूर्व सचिव गोमानाथ लामिछाने बताए । उनका अनुसार तालको अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी तालसँगै जोडिएको पन्थको डाँडा सामुदायिक वन क्षेत्रमा वनभोज स्थल निर्माण गरिएको छ ।  लेखनाथ नगरपालिका कार्यालयको सिफारिसमा भवन तथा सहरी विकास कार्यालयबाट करिब नौ लाख रुपैयाँ र उपभोक्ता समितिको करिब एक लाख रुपैयाँ गरी लगभग १० लाख रुपैयाँको लागतमा दुई वटा ट्रस, खानेपानी, शौचालय लगायतका वनभोजस्थलका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको लामिछानेले जानकारी दिए । लगभग ४०० जना क्षमताको वनभोजस्थलमा रमाउँदै ताल र वरपरको दृश्यावलोकन गर्न पाउनु यहाँको विशिष्टता भएको उनको भनाइ छ । दिपाङसहित लेखनाथका सातवटै तालको संरक्षण र विकासलाई लेखनाथ नगरपालिकाको कार्यालयले आफ्नो प्राथमिकतामा राखेको छ । दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गर्ने स्थानीयवासी तथा संरक्षण समितिको सोचलाई मूर्तरुप दिन नगरपालिका कार्यालयबाट निरन्तर सहयोग गर्ने वचनबद्धता लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले प्रकट गरे । दिपाङ सहितका पोखराका नौ वटा ताल रामसार सूचीमा सूचीकृत भएसँगै यिनको संरक्षणको विषयले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय चासो पाउन थालेको छ ।  हरियो वन कार्यक्रमअन्तर्गत संरक्षण विकास फाउन्डेसनलाई रामसारमा सूचीकृत पोखराका तालहरूको व्यवस्थापन गर्ने योजना तयार पार्ने जिम्मा दिइएकामा फाउन्डेसन सरोकारवालाबीच छलफल गराउँदै उक्त कार्यलाई निष्कर्षमा पु¥याउन क्रियाशील बनेको अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिए । उहाँका अनुसार सरोकारवालासँगको छलफलपछि त्यहाँको आवश्यकता समेतलाई दृष्टिगत गरी व्यवस्थापन योजना तयार पारिने छ । आगामी सेप्टेम्बरभित्रमा योजनाको प्रारम्भिक मस्यौदा तयार गर्ने लक्ष्य राखिएको छ भने त्यस अघि विभिन्न विज्ञसहितको सहभागितामा तालसँग सम्बन्धित व्यक्ति र समुदायबीच अन्तरक्रिया गरिने भएको छ । कार्यक्रम अनुरुप आगामी सेप्टेम्बर १३ मा रुपा र बेगनास ताल, सेप्टेम्बर १४ मा खास्टे, न्युरेनी, गुँदे, मैदी र दिपाङ तालका साथै १५ र १६ मा फेवातालका सरोकारवालाबीच छलफल राखिने पोखरेलले बताइ । प्राकृतिक सुन्दरता बोकेका लेखनाथका दिपाङ सहितका तालको व्यवस्थापन योजना तयार भएसँगै यिनीहरुको दीर्घकालीन संरक्षण र विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । रासस