नेता तथा सांसदहरु दशैं मान्न विदेशतिर, आफन्त भेटघाटको नाममा नेपाली पैसा विदेशमा

काठमाडौं १७, असोज । सर्वसाधारण दशैं मान्न गाउँ गइरहँदा मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन् । केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विदेशमै छन् भने सत्तारुढ राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सोमबार सिंगापुर जाँदै छन् । फोरम अध्यक्ष यादव दशैंको टीकाको एक दिनअघि मात्र २४ असोजमा स्वदेश फर्कने कार्यक्रम तय भएको छ । तर त्यो मिति लम्बिनसक्ने उनी निकट नेताहरुले बताएका छन् । यसैगरी नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का पनि बुधबार नयाँ दिल्ली जाँदै छन् । यही क्रममा उनले स्वास्थ्य परीक्षण पनि गर्ने बताइएको छ । दशैपछि मात्र उनी काठमाडौं फर्कने कार्यक्रम रहेको छ । उनकी छोरी भारतको पुनामा अध्ययन गर्दै छिन् । यसैगरी तमलोपा अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली जाने तयारीमा छन् । त्यसो त केही मन्त्री पनि यतिखेर विदेशमा छन् । पर्यटनमन्त्री रमी गौचन, भूमिसुधारमन्त्री विक्रम पाण्डे अहिले विदेशमा रहेका छन् ।

दसैँको उपहार लिएमा लिनेदिने दुबैलाई कारबाही, चाडवाडका नाममा उपहार लिनेदिने बन्द

काठमाडौं १६, असोज । दसैँ र तिहारको शुभकामना स्वरूप नजिकको प्रहरी कार्यालयलाई खसी, बोका तथा नगद उपहार दिँदै हुनुहुन्छ भने होशियार, खोरमा थुनिनु पर्ला। विशेष गरी उपत्यकामा तैनाथ ट्राफिक प्रहरी र अन्य प्रहरी कार्यालय प्रमुखलाई दसैँ र तिहारको शुभकामना तथा उपहारका नाममा खसी, बोका, कुखुरा र नगद नलिन निर्देशन दिइएको समाचार आइतबारको गोरखापत्रमा छापिएको छ। यसरी आएको कुनै चिज–बस्तु लिएमा सम्बन्धित कार्यालय प्रमुख र दिन आउने व्यक्तिलाई कारबाही हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस विषयमा पत्राचार नै गरेको छ । महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले चाडबाडका नाममा नगद तथा मासु र मदिरालगायतका बस्तु उपहार लिनुरदिनु लज्जाजनक कार्य र कानुनी रूपमा अपराध भएको बताए। प्रहरीले यस्तो कुरा लिनै मिल्दैन । उनले भने, “यदि कसैले लिएको पाइएमा तत्काल कारबाही हुनेछ र दिनेलाई समेत कारबाही हुन्छ । ” उनले उपहार लिने र दिने नाममा चाडबाडमा प्रहरी बदनामी हुने गरेकाले कोही दिन आएमा फिर्ता गर्न निर्देशन दिएका छन्। महाशाखा अन्तर्गत उपत्यकामा रहेका प्रत्येक प्रभाग र वृत्तलाई दसैँको उपहार नलिन निर्देशन दिएको छ । महाशाखाले दसैँ र तिहारमा मापसे चेकिङलाई कडा र प्रभावकारी बनाउने तयारी गरेको छ । चाडबाडको रमाइलोका नाममा मदिरा सेवन अधिक हुने भएकाले सवारी दुर्घटना नियन्त्रण गर्न मापसे चेकजाँच कडा पारिएको हो । यता महानगरीय प्रहरी परिसर काठमाडौँले पनि मातहतका प्रहरी कार्यालय वृत्त, प्रभाग र बिट प्रमुखलाई क्षमताले भ्याए खसी नभ्याए फर्सी खाएर दसैँ र तिहार मनाउन निर्देशन दिएको छ । परिसरका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले दसैँका नाममा खसी, बोका, मदिरा र नगद मागे कारबाही हुने सबैलाई मौखिक रूपमा निर्देशन भइसकेको जानकारी दिए। यसैबीच, गोङ्गबु नयाँबसपार्कबाट सुदूरपश्चिम क्षेत्रमा चल्ने बसको टिकट सकिएको हल्ला फैलिएपछि त्यसको समाधान गर्न प्रहरी निरीक्षक पूर्णिमा चन्द आफै खटिएका छन्। महानगरीय प्रहरी प्रभाग बसपार्क प्रमुख चन्दले टिकट सकिएको हल्ला निराधार भएको बताए। अन्य क्षेत्रको भन्दा सुदूरपश्चिम जानेको चाप बाक्लो छ, उनले भने, ‘सीमित यातायातका साधन, यात्रुको बाक्लो चापका कारण टिकटमा सामान्य समस्या देखिए पनि बस थप्नेबित्तिकै सबै समस्या समाधान हुन्छ, बसपार्क क्षेत्र आजसम्म अपराधमुक्त क्षेत्र भएको छ ।’

मेलम्चीको पानीको पाइप घरघररमा लैजानै अझै एक वर्ष, पानी आउने टुंगो छैन

काठमाडौं १५, असोज । मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीको घरघरमा वितरण गर्ने पाइप लाइन बनाउने काम अबका एक वर्षमा मात्रै पूरा हुने भएको छ । पाइप लाइन निर्माणको काम २०७४ असोज महिनाभित्रै सक्ने योजना रहेको र मेलम्चीको पानी काठमाडौं आउनुअगावै पाइपलाइनको काम सकिने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उपआयोजना–२ अन्तर्गतको पाइपलाइन विस्तारको काम हालसम्म पहिलो चरणको वितरण सञ्जाल सुधारमा पाँच सय किमि। पाइपलाइन बिछ्याएको छ भने तीन सय किमि बिछ्याउन बाँकी छ । मेलम्चीको पानी वितरणका लागि आठ सय किमि। पाइपलाइन विस्तार गरिने छ । आयोजना निर्देशनालयका प्रवक्ता लीला ढकालले भने– ‘७० प्रतिशत काम सम्पन्न भइसकेको छ, २०७४ असोजभित्रै काम सम्पन्न गर्छौ, लक्ष्य अनुसार काम भएको छ ।’ निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिने छ । सुन्दरीजलबाट प्रमुख वितरण लाइन हुँदै चक्रपथका विभिन्न स्थानमा पानी ट्याङ्की निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ । प्रवक्ता ढकालका अनुसार महाङ्कालचौर, बाँसबारी, महाराजगञ्ज, बालाजु र खुमलटारको पानीट्याङ्की निर्माणको काम करिब सकिएको छ । यी पाँचवटा ट्याङ्कीमा चार करोड लिटर पानी सङ्कलन हुनेछ । अन्य तीनवटा आरुबारी, कीर्तिपुर, टिग्नीको पानीट्याङ्की निर्माण भइरहेको छ । भक्तपुरको कटुञ्जेमा जग्गाको मुआब्जाको विवादले गर्दा ढिला भएको प्रवक्ता ढकालले जानकारी दिए । दसैँलगत्तै २४र२५ समूह बनाएर पाइपलाइनको काम आगामी वर्ष सक्ने गरी तीव्र बनाइने प्रवक्ता ढकालले बताए। थोक वितरण प्रणालीतर्फ सुन्दरीजलदेखि महाङ्काल चौरसम्म एक हजार चार सय मिलिमिटर ब्यासको ९.५ किमि। बिछ्याइएको छ । आयोजनाले ८३ हजार ५४९ वटा धारा जडान गर्नुपर्नेछ । हालसम्म झण्डै २५ हजार धारा जडान गरिसकिएको निर्देशनालयले जनाएको छ । गोरखापत्र दैनिकबाट।