नेवार बस्तीमा एकीकृत बस्तीको पुनःनिर्माण अभियान सुरु

काठमाडौं, ३१ असार । काठमाडौंको भित्री नेवार बस्तीमा एकीकृत बस्ती पुनःनिर्माण अभियान सुरु भएको छ । गत वर्ष वैशाख १२ को विनाशकारी भूकम्पबाट प्रभावित काठमाडौँ महानगरपालिकाको वडा नं १८ भित्र पर्ने दुम्बोचुक तथा ल्होँह गल्लीमा रहेका ५४ घर परिवारको संयुक्त आवास निर्माण गरिन लागिएको हो । निर्माण कार्यलाई प्रक्रियामा लगेपछि त्यसको परिणाम के हुने तथा त्यसबाट स्थानीय नेवार बासिन्दालाई के लाभ हुने भन्ने विषयमा काठमाडौं उपत्यका विकास प्राधिकरण तथा स्थानीयवासीबीच आज छलफल भयो । झन्डै तीन रोपनी जग्गामा ५४ परिवारका लागि संयुक्त आवास निर्माण हुने भए पनि सयौँ वर्षदेखि आफ्नो घरमा बस्दै आएका कतिपय जग्गाधनीले अझै जग्गाधनी पुर्जा तथा निस्सा नलिएको तथा कतिपयको जग्गाधनी प्रमाणपुर्जा भूकम्पबाट क्षति भएको घरमा नै पुरिएर हराएको वा बिग्रेको अवस्थामा भएकाले बस्ती निर्माण गर्न केही समस्या देखिएको स्थानीयवासीले बताएका छन् । कार्यक्रममा पूर्व भौतिक योजनामन्त्री हिसिला यमीले काठमाडौंको भित्री नेवार वस्तीमा २१औँ शताब्दीमा संयुक्त आवासको अवधारणा लागू हुन लागेकामा खुसी प्रकट गरेका छन् । प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले संयुक्त आवास निर्माण भए पनि जग्गाको स्वामित्व घरधनी नै हुने र कथम्कदाचित जग्गाधनी प्रमाणपुर्जा लिन नपाएको वा हराएको अवस्थामा पनि उनीहरुको जग्गाधनी पुर्जा लिन प्राधिकरणले सहयोग र सल्लाह दिने तर उनीहरुको हक नखोसिने स्पष्ट पारे । उक्त आवास ७६० वर्ग फुटमा फैलिने छ र संरचना पाँच तलाको हुने छ । यही साउन १० भित्र प्राधिकरणले एकीकृत बस्ती वा संयुक्त आवास बनाउन एउटा कमिटी बनाइने भएको छ । दुम्बो चुकका स्थानीय बासिन्दा विजयानन्द वैद्यले संयुक्त आवास निर्माण कार्य राम्रो कदम भए पनि आफ्नो १२ परिवार रहेको एउटै घरको १४ आना जग्गाको हालसम्म जग्गाधनी प्रमाण पुर्जा र निस्सासमेत लिइनसकेकाले समस्या भइरहेकोतर्फ ध्यानाकर्षण गरेका छन् । एकीकृत बस्ती पुनःनिर्माण अभियानका संयोजक मचाराजा महर्जनले एकीकृत बस्तीभित्रका स्थानीय बासिन्दालाई घर निर्माणमा सघाउ पु¥याउने उद्देश्यले अभियानले लामो समयदेखि पहल गर्दैआएको बताउँदै पहिलो पटक निर्माण हुन लागेको यो अभियान अन्य ठाउँमा पनि विस्तार गर्न उपयुक्त हुने सुझाव दिएका थिए। रासस

क्यानाडामा नेपाली नृत्य र लोक धून आकर्षित

क्यानाडा, २४ असार । क्यानाडाको टोरोन्टोको नर्थ योर्कमा प्रत्येक बर्ष “ग्लोबल भिलेज फेस्टिवल“ आयोजना हुने गरेको छ । जसले गर्दा नेपाली नृत्य र लोक धून आकर्षणको केन्द्र बनेको छ । मेलामा नेवाः गुठीका युवा सदश्यहरुले “सय थरि बाजा एउटै ताल’ बोलको गीतमा विभिन्न भौगोलिक क्षेत्रको भेष भुषामा सामुहिक नृत्य प्रस्तुत गर्दा विदेशी दर्शकहरु झुम्मिंदा आयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको थियो । नेपालका प्रसिद्ध मादल बादक सानुराजा महर्जन, उत्तम माकजु, प्रदीप बाँस्कोटा र बिजु सिंहको टोलीले धिमे, मादल, बाँसुरी, भुस्या, चाँपको तालमा नेपाली लोक धूनहरु प्रस्तुत गरिंदा दर्शकहरु रमाएर नाचेको दृष्य हेर्न लायकको थियो । दुइ दिनसम्म संचालन भएको सो मेलामा नेपालको प्रचार प्रसार गर्ने उद्देश्यले नेपाल बुथ स्थापना गरि नेपाल सम्बन्धि सूचनाहरु प्रवाह गरिएको थियो । नेपाली लोक धुनको प्रस्तुति पछि गुठीका महिला सदश्यहरु मौसम ताम्राकार र श्रीजा माथेमालाई नेपालबारे जानकारी दिन हम्मे हम्मे परेको थियो । क्यानडाका सांसद सलमा जहिदले समेत नेपाल बुथको अबलोकन गरी नेपाल बारे जानकारी लिए पछि नेपालको थप प्रचार हुन पुुगेको थियो । अर्का सांसद ग्यांग तानले नेपाल क्यानडा मैत्री संघ स्थापना गर्नु पर्नेमा जोड दिएका छन् । नेपाली तथा नेवा संस्कृति सम्बद्र्धन र प्रचार गर्ने उद्देश्यले बृहत्तर टोरोन्टो क्षेत्रमा गत १० बर्ष अगाडी स्थापित गैर नाफा मुखी संस्था क्यानेडियन नेवा गुठीको सक्रियतामा सो नेपाली कार्यक्रमहरु प्रस्तुत गरिएका थिए भने विभिन्न मुलुकका कलाकारहरुले पनि आ आफ्नो मुलुकको संस्कृति प्रस्तुत गरेका विज्ञप्तिमा उल्लेख छ ।

देशभर बाढीपहिरो: ४६ जनाको मृत्यु, १७ बेपत्ता

काठमाडौँ, २३ असार । निरन्तर वर्षात्सँगै आएको बाढी र पहिरोका कारण मुलुकभर ४६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट एक साताको अवधिमा ४६ जनाको मृत्यु हुनकासाथै १७ जना हराइरहेको मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए । अहिलेसम्म १५० घर बगाएको दुई करोडको प्रारम्भिक क्षति भएको उनले उल्लेख गरे । प्राकृतिक विपत्तिका घटनाको उद्धार र राहतका लागि सुरक्षा निकायलाई तैनाथ र आवश्यक संयन्त्र परिचालन गरिएको मन्त्रालयले जनाएको छ । ललितपुर, धादिङ, सिन्धुपाल्चोक, प्यूठान, दार्चुलालगायतका स्थानमा बाढी र पहिरोले जनधनको क्षति पु¥याएको छ । घटनाका पीडित ९घर भत्केकालाई० राहतका लागि तत्काल पाँचदेखि २५ हजार उपलब्ध गराइने प्रवक्ता कोइराराले बताए । सिन्धुपाल्चोकसहितका जिल्लामा बाढी र पहिरोले धेरै क्षति पुगेको भए पनि यकिन विवरण आइनसकेको गृहले जनाएको छ ।