लण्डनमा पाईलटले मदिरा पिएर विमान उडान भर्न खोजेपछि तनाव

लन्डन, ५ साउन । मदिरा सेवन गरेर उडान गर्न लागेको आरोपमा दुई जना विमान चालकलाई स्कटल्यान्डमा सोमबार पक्राउ गरिएको छ । विमान चालकले स्कटल्यान्डबाट टोरोन्टोका लागि सोमबार एयर ट्रान्साटको ए ३१० विमानमा २५० यात्रु लिएर उडान भर्ने तयारीमा रहेका बेला मदिरा सेवन गरेका बताइएपछि तत्कालै उनीहरुलाई पक्राउ गरिएको थियो । मङ्गलबार स्कटल्यान्डका ३९ वर्ष र ३७ वर्षका दुवै जनालाई पेस्ली सेरिफ कोर्टमा उपस्थित गराइने बताइएको छ । चालकहरुलाई मदिरा सेवन गरेको आरोपमा पक्राउ गरिएपछि उक्त विमानको उडान स्थगित गरी यात्रुहरुलाई होटलमा राखिएको थियो । एयर ट्रान्साटका प्रवक्ताले विमानका दुई कर्मचारी पक्राउ परेको पुष्टि गरेपनि उनीहरुको मुद्दा अदालतमा पुगिसकेकाले अनुसन्धानपूर्व केही नबताउने बताए । हामी चालक दलका सदस्य र यात्रुको सुरक्षाप्रति सजक छौँ र रहने छौँ एयर ट्रान्साटका प्रवक्ताले बताए । स्थगित विमानको मङ्गलबार टोरोन्टोका लागि उडान हुने बताइएको छ । रासस÷एएफपी

त्रिभुवन विमानस्थल सुधार गर्न कर्मचारीको सरुवा गर्नुपर्छ – मन्त्री पोखरेल

काठमाडौँ, २ साउन । देशको एउटामात्र अन्तराष्ट्रिय विमानस्थल रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुधार नभएकोमा पर्यटनमान्त्री अानन्दप्रसाद पोखरेलले असन्तुष्टि व्यक्त गरेका छन्। विमानस्थल सुधारका लागि पटकपटक प्रयास गर्दा पनि सोचेअनुरुप सुधार हुन नसकेको उनले बताए। विमानस्थल सुधारका लागि नियमित रुपमा फलोेअप निरीक्षण गर्न आइतबार विमानस्थल पुगेका मन्त्री पोखरेलले सुधार केही मात्रामा भए पनि सोचेअनुरुप कामहरु  नभएको बताए ।   सामाजिक सञ्जालमार्फत र हेल्लो सरकारद्वारा दैनिक रुपमा उजुरी अाउन थालेपछि प्रधानमन्त्री नै विमानस्थलको अाकास्मिक निरक्षणमा पुगेका थिए। विकृतिका बारेमा गुनासो आएपछि गत जेठ ३२ गते प्रधानमन्त्री ओलीले पनि विमानस्थलको आकस्मिक निरीक्षण गरेका थिए । ‘विमानस्थल भन्ने बितिकै मूल ढोकादेखि प्रस्थान, आगमन लगायत सबै ठाउँमा सफा, व्यवस्थित र राम्रो व्यवहार हुनु आवश्यक छ,’उनले भने । कर्मचारीहरु काम नगर्ने गफ लगाएर मात्र बस्ने भएकाले यहाँका सवैलाई सरुवा नगरी विमानस्थलमा सुधार नअाउने उनले बताए। मन्त्री पोखरेलले विमानस्थलमा सुुधार भनेको कुनै एक स्थानको मात्र नभएर स्थानदेखि कर्मचारीको व्यवहारसम्म राम्रो हुनुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले भने– ‘शौचालय मात्र होइन सबै ठाउँ सफा हुनुपर्यौ, कर्मचारीको रुखोपनमा मिठान आउनुपर्यो, चोरी नियन्त्रण हुनुपर्यो।’

नेवार बस्तीमा एकीकृत बस्तीको पुनःनिर्माण अभियान सुरु

काठमाडौं, ३१ असार । काठमाडौंको भित्री नेवार बस्तीमा एकीकृत बस्ती पुनःनिर्माण अभियान सुरु भएको छ । गत वर्ष वैशाख १२ को विनाशकारी भूकम्पबाट प्रभावित काठमाडौँ महानगरपालिकाको वडा नं १८ भित्र पर्ने दुम्बोचुक तथा ल्होँह गल्लीमा रहेका ५४ घर परिवारको संयुक्त आवास निर्माण गरिन लागिएको हो । निर्माण कार्यलाई प्रक्रियामा लगेपछि त्यसको परिणाम के हुने तथा त्यसबाट स्थानीय नेवार बासिन्दालाई के लाभ हुने भन्ने विषयमा काठमाडौं उपत्यका विकास प्राधिकरण तथा स्थानीयवासीबीच आज छलफल भयो । झन्डै तीन रोपनी जग्गामा ५४ परिवारका लागि संयुक्त आवास निर्माण हुने भए पनि सयौँ वर्षदेखि आफ्नो घरमा बस्दै आएका कतिपय जग्गाधनीले अझै जग्गाधनी पुर्जा तथा निस्सा नलिएको तथा कतिपयको जग्गाधनी प्रमाणपुर्जा भूकम्पबाट क्षति भएको घरमा नै पुरिएर हराएको वा बिग्रेको अवस्थामा भएकाले बस्ती निर्माण गर्न केही समस्या देखिएको स्थानीयवासीले बताएका छन् । कार्यक्रममा पूर्व भौतिक योजनामन्त्री हिसिला यमीले काठमाडौंको भित्री नेवार वस्तीमा २१औँ शताब्दीमा संयुक्त आवासको अवधारणा लागू हुन लागेकामा खुसी प्रकट गरेका छन् । प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले संयुक्त आवास निर्माण भए पनि जग्गाको स्वामित्व घरधनी नै हुने र कथम्कदाचित जग्गाधनी प्रमाणपुर्जा लिन नपाएको वा हराएको अवस्थामा पनि उनीहरुको जग्गाधनी पुर्जा लिन प्राधिकरणले सहयोग र सल्लाह दिने तर उनीहरुको हक नखोसिने स्पष्ट पारे । उक्त आवास ७६० वर्ग फुटमा फैलिने छ र संरचना पाँच तलाको हुने छ । यही साउन १० भित्र प्राधिकरणले एकीकृत बस्ती वा संयुक्त आवास बनाउन एउटा कमिटी बनाइने भएको छ । दुम्बो चुकका स्थानीय बासिन्दा विजयानन्द वैद्यले संयुक्त आवास निर्माण कार्य राम्रो कदम भए पनि आफ्नो १२ परिवार रहेको एउटै घरको १४ आना जग्गाको हालसम्म जग्गाधनी प्रमाण पुर्जा र निस्सासमेत लिइनसकेकाले समस्या भइरहेकोतर्फ ध्यानाकर्षण गरेका छन् । एकीकृत बस्ती पुनःनिर्माण अभियानका संयोजक मचाराजा महर्जनले एकीकृत बस्तीभित्रका स्थानीय बासिन्दालाई घर निर्माणमा सघाउ पु¥याउने उद्देश्यले अभियानले लामो समयदेखि पहल गर्दैआएको बताउँदै पहिलो पटक निर्माण हुन लागेको यो अभियान अन्य ठाउँमा पनि विस्तार गर्न उपयुक्त हुने सुझाव दिएका थिए। रासस