तलब नपाउँदा शिक्षक ऋण काढेर घरखर्च चलाउँदै
कञ्चनपुर, २८ मंसिर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिकाको बेलडाँडीमा रहेको सिद्धनाथ आधारभूत विद्यालयका निजी स्रोतका तीनजना शिक्षकले छ महिनादेखि तलब पाउन सकेका छैनन् । सामुदायिक वनले तलबका लागि रकम दिन छाडेपछि निजी स्रोतका शिक्षकले तलब पाउन नसकेका हुन् । सामुदायिक वनको आम्दानी घटेपछि विद्यालयलाई प्रतिवर्ष दिँदै आएको रकम दिन सकेन, विद्यालयका शिक्षक हर्कबहादुर ऐरले भने, “विद्यालयसँग वैकल्पिक आर्थिक स्रोत नहुँदा शिक्षकले तलब नपाउँदा ऋण काढेर घर खर्च चलाउँदै आएका छन् ।” निजी स्रोतका शिक्षकले तलब नपाउँदा गाउँमा गठन भएका बचत समूहबाट पैसा ऋणका रुपमा सापटी लिई घर खर्च चलाउँदै आएका हुन् । “निजी स्रोतका शिक्षकलाई तलब दिनका लागि विद्यालयसँग स्रोत नभएको र अभिभावकको समेत आर्थिक अवस्था निकै कमजोर भएकाले चन्दा सहयोग उठाउन नसकिने अवस्था हुँदा शिक्षकलाई तलब दिन सकेका छैनौँ”, विद्यालयका प्रधानाध्यापक शङ्करदत्त जोशीले भने । विद्यालय नजिकैका सामुदायिक वनसँग तलबको जोहो गर्नका लागि रकमको व्यवस्था गर्न आग्रह गरेपनि हालसम्म रकम पाउन नसकिएको उनले बताए । आर्थिक अभावकै कारण विद्यालयले एउटा राहत कोटाको रकम दुईजना शिक्षिकालाई बाँडेर दिँदै आएको छ । विद्यालयमा तीनसयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालय विसं २०४८ मा स्थापना भएको हो । रासस
पाँच दशकदेखि एउटा तुइनको भरमा चार गाविस, तुइन हटाउने सरकारको घोषणा भाषणमै सिमित
जाजरकोट २८, मंसिर । जाजरकोटको पश्चिमी क्षेत्रका चार गाविसका बासिन्दाको सम्बन्ध खोलामा हालिएको तुइनले जोडेको छ। गर्खाकोट र पजारु गाविसबाट बग्ने कुशेखोलामा पुल नहुँदा ती गाविसको सम्बन्ध नै तुइनको भरमा जोडिएको हो। पजारु, गर्खाकोट, कोर्ताङ र टालेगाउँका बासिन्दाले पाँच दशकदेखि कुशेखोलामा हालिएको तुइनबाटै आवतजावत गर्दै आएका छन्। खोलामा पुल नबन्दा स्थानीयवासी ज्यान जोखिममै राखेर तुइनबाटै खोला वारपार गर्ने गरेको पाजरु–७ रुव निवासी धनबहादुर गिरीले बताए। राजनीतिक दलका नेता र कर्मचारीलाई पुल बनाउन बारम्बार आग्रह गरे पनि सुनुवाइ नभएको गिरीले गुनासो गरे। ती चार गाविस मात्र नभएर यस बाटो भएर पश्चिमी क्षेत्रमा आवतजावत गर्ने सबैले तुइनको सहारा लिनुपर्ने बाध्यता छ। खोला तर्ने क्रममा तुइनबाट खसेर अहिलेसम्म तीनजनाको ज्यान गएको स्थानीय जयलाल सार्कीले बताए। ‘तीनजनाको ज्यान गइसक्यो, पुल नबन्दा अझै के हुने हो,’ उनले प्रश्न गरे। विशेष गरी पजारुको रुव र गर्खाकोटको खोलीका स्थानीयले भने मेलापात, जन्ती, मलामी र घाटघट्टसमेत आउन जान तुइन तर्नुपर्छ। ती गाउँमा लाग्ने मेला र जात्राका बेला स्थानीयलाई निकै आपत् पर्ने गरेको छ। धेरै मान्छेले खोला तर्ने बेलामा हैरानी बेहोर्नुपर्ने स्थानीयवासीको भनाइ छ। त्यस्तै, खोलाका दुई किनारामा पर्ने गर्खाकोटका खोली र पजारुको रुव निवासीले हरेक दिन तुइनबाटै आवतजावत गर्ने गरेको खोली निवासी प्रसाद शाहीले जानकारी दिए। ‘वारिपारि गाउँ छन्। मध्यभागमा खोला। सबै काम गर्दा तुइनकै भरोसा छ। पाँच दशकदेखि यही तुइनले नै जीवन धानेको छ,’ शाहीले भने। गर्खाकोटको शिवपुरी उच्च माध्यमिक विद्यालयमा पजारुबाट पढ्न जाने विद्यार्थीसमेत तुइनबाट नै कुशेखोला तर्ने गरेका छन्। विद्यालय जाँदा डराएर जानुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ। ‘अरूबेला सजिलो भए पनि वर्षाद्मा भने निकै कठिन हुने डर लाग्ने गरेको कक्षा ११ का छात्र ज्ञानबहादुर खत्रीले बताए। ‘ठूलो बाढी र भेल आएका बेला तुइन नै पानीले छोएको हुन्छ। त्यस्तो बेला स्कुल नै नगएर फर्कनुपर्छ,’ खत्रीले राजधानीसँग भने। यस्तो अवस्थाले विद्यार्थीलाई निकै चिन्तित बनाउने गरेको उनको भनाइ छ। सरकारले अघिल्लो आर्थिक वर्षमै देशभरिबाट तुइन विस्थापित गर्ने भने पनि जाजरकोटको दुर्गम गाउँका बासिन्दाको तुइन तर्नुपर्ने बाध्यता अझै हटेको छैन। जिल्लाको अति दुर्गम मानिने यो गाउँमा दलका नेताहरू चुनावका बेला पुगे पनि सरकारी कर्मचारी भने पुग्दै नपुग्ने स्थानीयवासीको भनाइ छ। ‘नेताले चुनावमा पुल हालिदिने सबैले भन्छन्, तर चुनावपछि कसैले फर्केर हेरेका छैनन्,’ स्थानीय ददे कामी भन्छन्, ‘तुइनको पीडा हटाउन पुल बनाउने नाममा कतिले हाम्रा भोट बटुले, तर कसैले वाचा पूरा गरेनन्।’ राजधानी दैनिकबाट ।
लघुवित्तले बनायो महिलालाई करोडपति
बनेपा, २६ मंसिर । चरम आर्थिक सङ्कटबाट जीवनयापन गरेका महिलाको जीवनमा एकाएक परिवर्तन भएको छ । ५०० रुपैयाँका लागि कसैले नपत्याएकी बनेपा–६ की अनुष्का श्रेष्ठ अहिले करोडपति बनेकी छिन् । छिमेक लघुवित्त विकास बैंकको शनिबार बनेपामा भएको १२औँ एकाइ भेलामा आफ्नो सफलताको कारण सुनाउँदै उनले भनिन् – “आज मसँग एक करोड रुपैयाँभन्दा बढीको सम्पत्ति छ ।” परिवारमा समेत कुनै सहयोग नपाएर माइती पक्षका भाइ र बुबाको हस्ताक्षरमा ऋण लिएर व्यवसाय सुरु गरेकी श्रेष्ठले भनिन् – “पहिले मेरो श्रीमानले पनि वास्ता गर्नुभएन तर अहिले सबै कुरामा सहयोग गर्नुभएको छ ।” अहिले पसल पनि चलाएको छु र १८ आना जग्गा पनि किनेको छु – श्रेष्ठले भनिन् । उनले सो विकास बैंकबाट सुरुमा १५ हजार रुपैयाँ, त्यसपछि २० हजार रुपैयाँ र क्रमशः लाखौँ कर्जा लिएर व्यवसाय सुरु गरेपछि उनको जीवनमा सो परिवर्तन आएको हो । उनीजस्तै एक किलो गहुँको पिढोले छाक टारेकी धुलिखेल नगरपालिका–६ की सुमित्रा बानियाँ अहिले लखपति भएकी छन् । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने चरम दुःख पाएकी उनले भने – “कैयौँ रात त भोकै पनि बसियो ।” बानियाँले ऋण लिएको रकम सदुपयोग गर्न सुझाव दिँदै जीवनमा ठूलो आर्थिक परिवर्तन भएको सुनाइन्। पनौतीकी लक्ष्मी सापकोटाले यो लघुवित्तले दुःख पीडा भुलाउने काम गरेको उल्लेख गर्दै अहिले मसँग गाडी पनि छ जग्गा पनि किनेको बताइन् । छिमेक लघुवित्त विकास बैकले स्थापनाकालदेखि नै महिलाको आर्थिक जीवनसँग जोडेर कार्यक्रम सञ्चालन गरिरहेको छिमेक लघुवित्त विकास बैंकका अध्यक्ष भुवनेश्वरी पन्तले बताइन् । बैंकका कार्यकारी निर्देशक रामचन्द्र जोशीले लघुवित्त विकास बैंकले २० प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने जानकारी दिँदै ब्याज घटाउने विषयमा छलफल भइरहेको बताए । बैंकका नायब महाप्रन्बधक शोभा मिश्रले बैंकका कारण महिलाको आर्थिक सशक्तीकरणसँगै नेतृत्व विकास पनि भएको बताइन् । छिमेक लघुवित्त विकास बैंक बनेपाका प्रबन्धक रामकृष्ण पाण्डेले महिलालाई लक्षित गरेर कृषि, पशुपालनलगायतका क्षेत्रमा लगानी भएको बताए । सो अवसरमा उत्कृष्ट काम गरेबापत पहिलोलाई चार हजार रुपैयाँ, दोस्रोलाई तीन हजार रुपैयाँ, तेस्रोलाई दुई हजार रुपैयाँ, चौथोदेखि छैठौँलाई एक हजार रुपैयाँ, सातौँदेखि दशौँलाई ५०० रुपैयाँका दरले पुरष्कृत गरिएको थियो भने १० समूहका विपन्न सदस्यका छोराछोरीलाई पढाउनका लागि दुई हजार ४०० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो । रासस