चक्रपथभित्र जग्गा सकियो, चक्रपथ वरपरका जग्गाको मूल्यपनि दोब्बर बढ्यो
काठमाडौं । पछिल्लो केही वर्षयता राजधानीको चक्रपथभित्र जग्गा पाउन मुस्किल हुन थालेको छ । ०७२ वैशाखमा गएको भूकम्पपछि राजधानीमा जग्गाको माग बढेसँगै चक्रपथ वरपरका क्षेत्रमा समेत जग्गाको मूल्य एकैपटक बढेको घरजग्गा व्यवसायीहरू बताउँछन् । भूकम्पपछि आफैं जग्गा खरिद गरेर घर बनाउने क्रम सुरु भएसँगै जग्गाको मागसँगै मूल्य पनि बढेको हो । चक्रपथभित्रका क्षेत्रमा भएका जग्गा प्रायः होेल्ड भइसकेकोले यी क्षेत्रमा जग्गा पाउन मुस्किल रहेको द रियलटर्स नेपालका उपाध्यक्ष दिलिप न्यौपाने बताउँछन् । उनका अनुसार चक्रपथभित्र खाली रहेका जग्गा पनि यतिबेला लगानीकर्ता र अन्तिम प्रयोगकर्ताको हातमा रहेका कारण चक्रपथभित्र जग्गा अभाव हुन थालेको हो । चक्रपथभित्र अहिले औसतमा न्यूनतम प्रतिआना २० लाख रुपैयाँदेखि अधिकतम ३ करोड रुपैयाँसम्म जग्गाको कारोबार भइरहेको पनि उनको भनाइ छ । दुई दशकदेखि घरजग्गा कारोबारमा संलग्न न्यौपानेका अनुसार यतिबेला चक्रपथ वरपरका क्षेत्रमा गत वर्षको तुलनामा भन्दा २ सय प्रतिशतसम्म जग्गाको मूल्यवृद्धि भएको छ । अहिले राजधानीलगायत मुख्य सहरी क्षेत्रका जग्गालाई व्यावसायिक रुपमा लिँदा जग्गाको मूल्यमा अस्भाविक वृद्धि भएको पनि उनको बुझाइ छ । “तर अहिलेको जग्गाको मूल्यवृद्धि रियल इस्टटेको पानीको फोका जस्तै हो,” उनले भने “अव केही वर्ष फेरि विस्तारै यो मूल्यमा कमी आउँछ ।” नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले पछिल्लो समय अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै नियन्त्रण गर्न निर्देशन दिएपछि जग्गाको कारोबारमा कमी आउने अनुमान गरिएको छ । नेपाल जग्गा तथा आवास विकास संघका उपाध्यक्ष ओमराज राजभण्डारीका अनुसार भूकम्पपछि राजधानीमा जग्गाको मागसँगै मूल्य पनि बढेको बताउँछन् । उनका अनुसार अहिले चक्रपथभित्र जग्गा पाउन नसकिने अवस्था छ भने भएका जग्गा पनि आम नेपालीको क्रयशक्ति भन्दा निकै बढको छ । यसलाई नियन्त्रण गर्नका लागि सरकारले अपार्टमेन्टजस्ता हाइराइज भवनलाई प्रवद्र्धन गर्नुको विकल्प नभएको बताउँछन् । “राज्यले बाँकी रहेको जमिन बचाउनका लागि अपार्टमेन्ट कल्चरलाई प्रवद्र्धन गर्दै जानुपर्छ,” उनले भने । राजधानीमा जग्गाको माग बढ्नुको मुख्य कारण आवश्यकताभन्दा पनि प्रतिष्ठाको रुपमा समेत हेरिएकाले भएको न्यौपानेले बताए । “भू–उपयोग नीति कार्यान्वयनमा आउन नसकेको फाइदा यतिबेला घरजग्गा व्यवसायीले लिएका छन्,” उनले भने । यसकारण अहिले चक्रपथभित्र जग्गाको अभाव र वरपर मूल्य दोब्बरले बढ्नुको मुख्य कारण पनि यही हो । चक्रपथभित्र जग्गाको संख्या कम र मूल्य सामान्य नागरिकको पहुँचभन्दा बाहिर भएकोले पछिल्लो समय चक्रपथसँग जोडिएका गाविसहरू हरिसिद्धी, इन्द्रायणी, स्वयम्भू, भैंसेपाटी, गोंगबु थानकोटलगायतका क्षेत्रमा घरजग्गा कारोबार बढेको छ । कारोबार दैनिकबाट ।
मन्दिरभित्र पसेका दलितलाई ५ हजार जरिवाना, दलितको नाममा अव्यवाहारिक काम
रामेछाप । जिल्लाको बेताली गाविस–३ मा रहेको शेराकाली मन्दिरमा पूजा गरेको विषयमा एक दलित युवालाई जरिवाना गरिएको छ। स्थानीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा पूजा गरेको भन्दै पुजारीद्वय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले गाउँलेको सहयोगमा पाँच हजार रुपैयाँ असुल गरेका छन्। शेराकाली मन्दिरमा साताको शनिबार र मंगलबार दुई दिन मात्र पूजाआजा हुने गरेको छ। मन्दिरबाट पुजारी बाहिरिएसँगै नियमित पूजाआजा सबै रोकियो। कृष्णकुमारले पाठी बलि दिन पाएनन्। त्यसपछि पुजारी र कृष्णबहादुरबीच लामो भनाभन भयो। दुवैको भनाभनपछि गाउँले, पूजाका लागि पुगेका भक्तजन र विश्वकर्माका परिवारसहित छलफल भयो। छलफलमा कृष्णबहादुरको गल्ती ठहर्याइयो। मन्दिरमा रुद्री लगाएर चोखो नगरी पूजा गर्न नमिल्ने भन्दै पुजारीले कृष्णकुमारसँग पाँच हजार रुपैयाँ माग गरे। उनले पुजारी भीमबहादुर बुढाथोकीलाई पाँच हजार दिए। पुजारीले रकम लिएसँगै आफूले लगेको पाठी बलि दिएको कृष्णकुमारले टेलिफोनमार्फत जानकारी दिए। शनिबार बिहानै उठेर नुहाइधुवाई गरी कृष्णबहादुर र उनकी श्रीमती एकजोर पाठी लिएर मन्दिर पुगेका थिए। मन्दिर पुगेपछि उनी आफूले लगाएको छालाको पेटी र चप्पल बाहिर फुकालेर पूजा गर्न मन्दिरभित्र पसे। अकस्मात् मन्दिरभित्र कृष्णबहादुरलाई देखेपछि ‘तँ अछुत जात ९दलित० मन्दिरभित्र पस्नै नहुने, पसिस्’ भनेर मन्दिरका पुजारी चिच्याउँदै बाहिर निस्किए। सरकारले छुवाछूतको अन्त्य गरेको धेरै समय भइसकेको छ। तर, आफूजस्ता दलितले अहिले पनि मन्दिरभित्रै पसेर पूजा गर्न नपाउँदा दुःख लागेको कृष्णबहादुरले बताए। मन्दिरमा पूजा गर्न नदिने र क्षतिपूर्ति भराउन लगाउने मन्दिरका पुजारीद्वयविरुद्ध बेताली प्रहरी चौकीमा आइतबार लिखित उजुरी दिएको उनले बताए। मन्दिरका दुवै पुजारी छत्रबहादुर र भीमबहादुर मोबाइल स्विच अफ गरेर बसेका छन्। पटक–पटक प्रयास गर्दा पनि उनीहरूसँग सम्पर्क हुन सकेन। स्थानीय विनोद फुँयालका अनुसार बेतालीमा रहेको शेराकाली मन्दिरमा परम्परादेखि नै महिनावारी भएका महिला र दलित मन्दिरभित्र पस्न पाउँदैनन्। मन्दिरका पुजारीलाई कृष्णकुमारले पाँच हजार बुझाएसँगै रुद्री लगाएर पुनः नियमित रूपमा पूजा सञ्चालन गरेको बेताली गाविसका प्राविधिक सहायक बाबुराम घिमिरेले जानकारी दिए। सो मन्दिरमा पूजा गर्न दोलखा, सिन्धुलीदेखि भक्तजन आउने गरेका छन्। मन्दिरमा दलितलाई पूजा गर्न नदिएको र उल्टै पुजारीले पाँच हजार असुलेको विषयमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमुद ढुंगेलले जानकारी दिए। उनका अनुसार अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको छ। ‘मन्दिर कसैको पेवा होइन,’ उनले भने। डिएसपी ढुंगेलले प्रहरी चौकीबाट मेलमिलाप नभए छुवाछूत मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही गरिने बताए। मन्दिरभित्र दलित पस्यो भनेर जरिवाना गराउने पुजारीलाई कानुनअनुसार कारबाही गर्न आफूले प्रहरी प्रमुखलाई निर्देशन दिइसकेको रामेछापका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए। नयाँ पत्रिका दैनिकबाट ।
२ लाख ६३ हजार जोडीसँग स्मार्ट जीवन, कसरी गर्ने परिवार नियोजन ?
दाङ । नेपालको स्मार्ट जीवन (स्मार्ट लाइफ) परिवार नियोजन अभियानले तुलसीपुर चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रिसँगको सहकार्यमा शुक्रबार दाङ जिल्लामा आयोजित कृषि तथा पर्यटन प्रबद्र्धन तथा सांगीतिक महोत्सवमा स्वस्थ्य परिवारको प्रबद्र्धन सम्पन्न गरेको छ । स्थानीय स्वास्थ्य अधिकारीहरु तथा निजी क्षेत्रका संस्थाहरुसँको सहकार्यमा नेपालभरका लक्षित जिल्लाहरुमा स्मार्ट जीवनले युवा बिवाहित जोडीहरुका बीचमा परिवार नियोजनको प्रयोगको माध्यमबाट स्वस्थ्य परिवारको प्रबद्र्धन गरेको थियो । यो अभियान, स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र, परिवार स्वास्थ्य विभागद्धारा यूएसएडको हेल्थ कम्यूनिकेसन क्यापासिटी कोल्याबोरेटिभ नेपाल प्रोजेक्टको सहयोगमा लागू गरिएको हो । दुई वर्षको अवधिमा यो अभियान २ लाख ६३ हजार योग्य जोडीहरुसम्म पुगिसकेको छ र १३ जिल्लाका ५१ हजार भन्दा बढि जोडिहरुलाई परिवार नियोजन सेवाका लागि निर्देशित गरिसकेको छ । कार्यक्रममा सहभागीहरुले खाना, विभिन्न किसिमका सामाग्रीहरुको स्टल, कार्निभल गेम, प्रहशन, र सांगीतिक प्रस्तुतीको आनन्द लिएका थिए, जसले तिनीहरुको परिवारले सहि समयमा परिवार नियोजनको प्रयोगका लागि जोडिहरुलाई कसरी योजना बनाउने भनेर देखाएका थिए । विभिन्न जोडीहरु तथा परिवारहरुले कार्यक्रममा सहभागी भएर निशुल्क रुपमा पारिवारिक फोटो प्राप्त गरेका थिए, तथा जीवनको विभिन्न चरणहरुमा प्रयोग गरिने अनेकौं परिवार नियोजनका विधिहरुको बिस्तृत सामाग्रीहरु प्राप्त गरेका थिए ।