पर्यटन मन्त्रीले मनाए म्ह: पुजा, तस्विर सहित
काठमाडौं । राजधानीको अन्नपूर्ण होटलमा प्याभिलियन समूहले म्ह पुजा आयोजना गरेको छ । परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । प्याभिलियन समूहले आयोजना गरेको म्ह पुजा कार्यक्रममा विभिन्न मुलुकबाट राजदुत तथा प्रतिनिधीहरुको सहभागिता थियो । कार्यक्रममा पर्यटन मन्त्री जितेन्द्र नारायण देव र काठमाडौंका प्रमुख विद्या सुन्दर शाक्यको सहभागीता थियो । नेवारी भाषामा म्हः भनेको शरीर हो। आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ । किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ । उपत्यकालगायत अन्य क्षेत्रमा बसोवास गर्ने नेवार समुदायले म्ह पुगा गर्छन् । साँझ घरमा परिवारका सबै व्यक्ति बसी म्ह पूजा अर्थात् आत्मपूजा गर्ने प्रचलन छ । म्ह पूजामा भाइटीकामा जस्तै विभिन्न रङ्गबाट मण्डप लेख्नुपर्ने र भाइटीकामा जस्तै विभिन्न प्रकारको फलफूल राखिनुपर्नेछ । घरको मूलीले सबै सदस्यलाई सगुन दिई टीका लगाई दिने गरिन्छ र पूजा सम्पन्न भइसकेपछि भोज खानुपर्ने प्रचलन रहेको छ । आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।
बैतडीमा अनौठो चलन, जेठो सन्तान छोरा जन्मिए गाउँलेलाई खसी काटी खुवाउनुपर्ने
बैतडी । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नं ९ असुर गाउँमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीका दिन गाउँलेलाई खसी काटेर खुवाउनै पर्छ । यदि त्यसो नगरे छोरालाई अशुभ हुने जनविश्वास रहेको छ । यस्तो परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले बन्द गर्न मागसमेत गरेका छन् । परम्परा रोक्न गाउँले नै पुगे प्रशासन अहिले आएर स्थानीयस्तरमै यसको विरोधमा आवाज उठ्न थालेको छ । विगत पाँच पुस्तादेखि चल्दै आएको उक्त परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले बन्द वा परिमार्जन गर्न माग गरेका छन् । स्थानीयले यो परम्परा बन्द गर्न माग गर्दै मंगलबार विभिन्न सरोकार भएकालाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, पत्रकार महासंघ, मेलौली नगरपालिका र अन्तरपार्टी महिला सञ्जाललाई ज्ञापनपत्र बुझाइएको हो । यो परम्पराले समाजमा गरिब र दलित समुदायमाथि आर्थिक भार परेको, लैङ्गिक विभेदलाई बढावा दिएको भन्दै केही स्थानीयले यसलाई रोक्न माग गरेका हुन् । छोरा हुँदा हरेक वर्ष तडकभडकका साथ खसी काट्दा छोरीमाथि विभेद हुने भएकाले यो परम्पराले लैङ्गिक विभेद निम्त्याएको स्थानीय जनकराज भट्टले बताए । “छोरी भए दुःख्मनाउ गर्ने तर छोरा भए पर्वकैरुपमा हरेक वर्ष तिहारमा गाउँमा दर्जनभन्दा बढी खसी काटिन्छन्”– उनले भने, “यसले छोरीमाथि विभेद भएकाले हामीले रोक्ने प्रयास गरेका हौँ ।” अचम्मको कुरा के भने, दलित परिवारमा पनि पहिलो सन्तान भए हरेक वर्ष तिहारको औँसीमा खसी काट्नुपर्छ । तर, त्यो खसी दलित समुदायलाई होइन, गैरदलितले मात्रै बाँडेर खाने चलन छ । यसले जातीय विभेद पनि बढाएको ज्ञापनपत्रमा उल्लेख छ । “यो परम्पराले समाजमा द्वन्द्व हुने र जातीय विभेदलाई बढावा दिएको छ”– स्थानीय भीम भट्टले भने । प्रशासनलाई ज्ञापनपत्र मेलौली नगरपालिका वडा नं ९ असुर गाउँका ७१ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै स्थानीयले यो रुढीवादी परम्परा रोक्न आवश्यक पहल गरिदिन प्रशासनलाई अनुरोध गरेका छन् । त्यहाँका युवाले प्रमुख जिल्ला अधिकारीलाई यस्तो प्रथाले समाजमा विकृति फैलाएको भन्दै बन्द गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका हुन् । अहिलेको २१औँ शताब्दीमा पनि लैङ्गिक विभेद, छुवाछुतले सामाजिक द्वन्द्व बढ्दै जाने तथा नेपालको संविधानमा महिला तथा बालबालिका अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून, नीति तथा घोषणाकाविरुद्घ रहेकाले यसको अन्त्य गर्नुपर्ने स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय, बैतडीमा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । यस्तै, छोरा र छोरीमा विभेद हुनेगरी पहिलो छोरा जन्मने घरले मात्र खसी काटी खुवाउने हुनाले यो परम्पराले लैङ्गिक विभेद बढेको कुरा बेलाबेलामा उठ्दै आएको र सो सार्वजनिकस्थलमा दलितलाई छुवाछुतको दृष्टिले हेरिने यस्ता कूरीतिले दलित र गैरदलितबीच द्वन्द्व सिर्जना हुनेसमेत ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले यस्ता प्रथाले समाजमा विकृति फैलाउने हुँदा यस्ता संस्कारलाई हटाउनुपर्ने बताए । “सामाजिक विभेदलाई बढावा दिने परम्पराविरुद्ध नागरिक सचेत भएको देख्दा खुसी लाग्यो”– प्रजिअ जोशीले भने, “यस्ता कुसंस्कार हटाउन प्रशासन तयार छ ।” समाजमा रहेका यस्ता कुसंस्कारले विकृति ल्याउने भन्दै सरोकार भएका सबैले चिन्तासमेत व्यक्त गरेका छन् । रासस
सात वटा स्थानीय तहमा बैंक नहुँदा समस्या, आर्थिक कारोबार गर्न कठिनाइ
इलाम । इलामका सात वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था नहुँदा गाउँपालिका तथा नगरपालिकालाई आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । जिल्लाका १० वटा स्थानीय तहमध्ये फाकफोकथुम, रोङ, माङ्सेबुङ, माईजोगमाई, सन्दकपुर, चुलाचुली गाउँपालिका र माई नगरपालिकामा अझै पनि बैंक स्थापना भएका छैनन् । यसबाट सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समस्या भएको छ । “कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता छ,” फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले भने । बैंककै काम लिएर स्थानीयवासी चार घण्टासम्मको बाटो हिँडेर सदरमुकाम धाउनु परिरहेको उनले बताए । चालू आवको बजेट वक्तव्यमार्फत सरकारले बृद्धभत्ता, शिक्षक भत्तालगायत स्थानीय तहमा जाने सबै प्रकारका रकम पठाए पनि बैंक नहुँदा भुक्तानी पाउन सकेका छैनन् । सदरमुकाममा नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सनराइज, एक्सल, माछापुच्छ्रे, एनआइसी एसिया बैंकलगायतका निजी तथा सरकारी बैंकले सेवा दिइरहेका छन् । सरकारले गत चैत २९ गते सबै स्थानीय तहमा शाखा खोल्न बैंकलाई निर्देशन दिएको थियो । रासस