वागमती नदीका अव्यवस्थित बस्ती एक महिना भित्रमा विकल्प सहित खाली गरिने

काठमाडौं । सहरी विकास मन्त्रालयले गरिविनिवारण मन्त्रालयसँग सहकार्य गरीएक महिना भित्रमा वागमती नदी किनारमा बसोबास गर्दै आएका भूमिहिनह (सुकुम्बासी)हरुलाई आवासको व्यवस्थापन गर्ने भएको छ । सहरी विकास मन्त्री प्रभु साहको संयोजकत्वमा शुक्रबार मन्त्रालयमा बसेको सरोकारवाहरुको बैठकले राजधानीको इँचाइगु नारायणमा निर्माण भएको संयुक्त आवासमा बसोवासको व्यवस्था मिलाउने भएको हो । नार्गजुन नगरपालिका वडा नम्बर २ इँचाइगु नारायणमा निर्माण भएको संयुक्त आवास भवनलाई एक महिनाभित्रमा सञ्चालनमा ल्याउने निर्णय भएसँगै एक महिना भित्रमा वागमती नदीकिनार खाली हुने भएको हो । बैठकमा मन्त्री साहले नदी किनारामा अव्यवस्थित रुपमा बसोबास गरेका लक्षित समुदायलाई आवासको व्यवस्थापन गर्न लागिएको बताए । मन्त्री साहले जबसम्म नदीकिनाराका अव्यवस्थित बस्तीको पुर्नवास गर्न सकिदैन तबसम्म राजधानी सहर व्वस्थापन हुन नसक्ने भएकाले आवासको विकल्प सहित खाली गराउनु पर्ने बताए । वागमती आसपासमा बसोवास गर्ने अव्यवस्थित वस्तीहरुको पहिचान गरि पुर्नवासको व्यवस्थापन गर्न लागिएको मन्त्री साहले बताएका छन् । वागमतिबाट स्थानान्तरण गर्न लागिएको भूमिहिनहरुका लागि इँचाइगु नारायणमा संयुक्त आवास निर्माण भएपनि सरकारले बसोवासको व्यवस्थापन गर्न सकेको छैन । बैठकमा नार्गजुन नगरपालिकाकी उपप्रमुख शुसीला अधिकारीले आफुहरु संयुक्त आवास सञ्चालनमा सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरिन् । अहिले भूमिहिनहरुका लागि तयार पारीएको आवास क्षेत्रमा अन्य सरकारी कार्यालयहरु सञ्चालन भएका छन । २ नम्बर वडा कार्यालय र स्वास्थ्य चौकी रहेको अधिकारीले स्वीकार गर्दै आवास सञ्चालनमा आउने समयमा हटाउन तयार भएको बताइन । स्थानीयतहको निर्वाचन पछि भौतिक संरचनाको अभावले नगरपालिकाले संयुक्त आवास सञ्चालन गरेको भन्दै सरकारको योजनामा सहयोग गर्ने अधिकारीको भनाई छ । बागमतिको धोविखोलादेखि बल्खु चक्रपथसम्म नदीकिनारामा बसेको बस्तीको उचित पहिचान गरि इँचाइगु नारायणमा सरकारले आवास निर्माण गरेको छ । तत्कालिन माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा न्यूनआयवर्गहरुको लागि संयुक्त आवास निर्माण कार्य अन्तर्गत पहिलो चरणमा २०६९ भदौं १ गते आवास निर्माण गर्ने सहमति भएको थियो । सोही क्षेत्रमा मंसिर १० गते दोस्रो चरणको सम्झौता भई आवास निर्माणको काम सुरु भएको हो । २ सय ३० भवन र २ सममुदायिक भवन निर्माण गर्ने सम्झौता भए बमोजिम अहिलेसम्म २ सय २४ परिवारका लागी आवास निर्माण भैसकेका छन् । जसमा २ वटा सामुदायिक भवन समेत निर्माण सम्पन्न भएका छन् । झन्डै १५ करोडको लागतमा संयुक्त आवास निर्माण भएको काठमाडौं डिभिजन कार्यालय प्रमुख बसन्त कुरार राईले जनाएका छन् । सात रोपनी ७ आना एक पैसा एक दाम क्षेत्रफलमा आवास निर्माण भएका हुन् । आवास ५ तलासम्मका छन् ।

आशा लघुवित्तद्धारा बाढी पीडितलाई खाद्यान्न सहयोग

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय सानो श्री, बर्दियाले बाढीका कारण प्रभावित भएका आफ्ना सदस्यहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । खाद्यान्न प्राप्त गरेपछि दुःखको बेला वित्तीय संस्थाको राहतले आफुहरुलाई खुसी बनाएको सदस्य अमृता थापाले बताए । सदस्यहरुको दुःखको बेला संस्थाको तर्फबाट राहतवितरण गर्न पाउँदा सन्तुष्टि प्राप्त भएको शाखा प्रबन्धक सुमन पाण्डले जानकारी दिए ।

प्रवासको कमाइले स्वदेशमा समाजसेवा, एक दशकमा डेढ करोडभन्दा बढी सहयोग

तेह्रथुम । तेह्रथुमको सोल्मामा जन्मिएर हाल अष्ट्रेलियामा कार्यरत राधिका पोखरेलले जन्मभूमिको सेवाका लागि डेढ करोड रुपैयाँ भन्दा बढी खर्च गरेकी छन्। सानै उमेरदेखि गीत-संगीत र समाजसेवामा रुचि राख्ने पोखरेलले अष्ट्रेलियामा कमाएको पैसा जन्मभूमिको सेवामा खर्च गरिरहेकी छन् । सामाजिक क्षेत्रमा सहयोगकै लागि करिब एक दशकको अवधिमा रु डेढ करोडभन्दा बढी खर्च भइसकेको पोखरेलले बताइन् । आर्थिक अवस्था कमजोर भएकालाई उपचार, विपन्न र अनाथ बालबालिकाको पढाइ, छात्रवृत्ति पुरस्कारका लागि अक्षय कोषदेखि खेलकुद, मेला महोत्सवलाई समेत पोखरेलले आर्थिक सहयोग गरेकी छन् । जिल्ला अस्पतालमा मृत्यु भएका, मृत्यु भएर पोष्टमार्टमका लागि ल्याइएका अतिविपन्न, अनाथहरुलाई दाहसंस्कार र परीक्षणका लागि खर्च रु पाँच हजार सहयोग गर्दै आएकी छन् । उनले गाउँबस्तीका गरिब दुःखीलाई मात्र सहयोग गरेका छैन, नेकपा (एमाले)का नेता स्व जीवराज आश्रितकी पत्नी माया ज्ञवालीलाई छहारीसमेत लगाइदिएकी छन् । आश्रितको मृत्युपछि एक्लिएकी मायालाई सुरक्षित बासका लागि घर निर्माण गर्न पोखरेलले व्यक्तिगतरुपमा २७ लाख रुपैयाँ सहयोग गरेकी छन् । आफूले कमाएको सम्पत्तिको केही अंश समाजसेवामा खर्च गरे शान्तिको श्वास फेर्न सजिलो हुने पोखरेलको भनाइ छ । उनले रेडियो मेन्छ्यायेम भवन निर्माणका लागि दुई लाख रुपैयाँ, पतालेश्वर महादेव मन्दिर निर्माणका लागि १० लाख रुपैयाँ, पिंगुवा खोला नजिकै मलामी पाटी तथा खाजाघर निर्माणका लागि पाँच लाख रुपैयाँभन्दा बढी सहयोग गरेकी छन् । पोखरेलले जिल्लाको पत्रकारिताको विकासदेखि नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखामा एकलाख एकहजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेकी छन् । उनले आफूले पढेको रत्न मावि, सोल्मामा रु दुई लाख एकहजार १११ र कालिका मावि जिरीखिम्तीमा दुईलाख एक हजार १११ रुपैयाँको छात्रवृत्ति अक्षयकोष पनि खडा गरेकी छन् । यस्तै, झापा माईधारको वृद्धाश्रमलाई रु एक लाख ५० हजार, म्याङ्लुङका अग्निपीडितलाई एकलाख रुपैयाँ र रेडक्रस जिरीखिम्तीको भवन निर्माणका लागि एक लाख रुपैयाँ नगदै सहयोग गरेकी छन् । पोखरेलले जिल्लामा हुने करिब एक दर्जन खेलकुद कार्यक्रममा वर्षेनी पुरस्कार प्रायोजन गरेर सहयोग पुर्याएकी छन् । सोल्माकी पदमकुमारी गुरुङलाई आँखा उपचारका लागि पोखरेलले ७५ हजार रुपैयाँ सहयोग गरेकी छन् । अहिले गुरुङ आँखा देख्नसक्ने भएकी छन् । मोराहाङको सिद्धेश्वर माविमा पढ्ने विद्यार्थी सुरेश खत्रीको ढाडमा पलाएको मासुको पोकोको शल्यक्रियाका लागि पोखरेलले ५० हजार रुपैयाँ सहयोग गरेकी थिइन् । करेन्ट लागेर घाइते सोल्माका नरसिंह लिम्बूलाई उपचारका लागि २० हजार रुपैयाँ, सुदापका मिर्गौला पीडित नगेन्द्र घोर्सानेलाई २० हजार रुपैयाँ, सुङ्नामकी सावित्रा संग्रौलालाई २० हजार रुपैयाँ, हमरजुङका पेटका रोगी धनबहादुर बुढाथोकीलाई २० हजार रुपैयाँ सहयोग गरेको पोखरेलले बताइन् । पोखरेलले हमरजुङका झुप्पबहादुर रोकाको साहुकहाँ बन्धक रहेको खेत उकास्न २१ हजार रुपैयाँ सहयोग गरेकी छन् । यस्तै, म्याङ्लुङ र जिरीखिम्ती क्याम्पसलाई एक–एक लाख रुपैयाँ, सिन्धुपाल्चोकमा मन्दिर निर्माणका लागि रु तीन लाख, पेण्टागन कलेज, काठमाडौँलाई रु ५० हजार सहयोग गरेका छन् । अब छिट्टै सदरमुकाम म्याङ्लुङमा एउटा बाल तथा वृद्ध आश्रम खोल्ने आफ्नो लक्ष्य रहेको पोखरेलले बताए । आश्रमका लागि ६५ लाख रुपैयाँमा पाँच रोपनी जमिनसमेत खरिद गरिएको छ । “समाजसेवा मेरो रुचि हो, म रहुन्जेल गरिरहन्छु”, उनी भन्छन्, “सबैले आफूले कमाएको केही प्रतिशतमात्रै समाजसेवामा खर्च गर्ने हो भने धेरैको उद्धार गर्न सकिन्छ ।” अष्ट्रेलियामा कार्यरत पोखरेलले सञ्चार माध्यमबाट आउने विभिन्न समाचारका आधारमा पीडितलाई सहयोग गर्ने गरेको बताइन्। जिल्लामा उनको सम्पर्क व्यक्तिका रुपमा पत्रकार भगिश्वर लिम्बू क्रियाशील छिन् । पोखरेलले सामाजिक क्षेत्रको सेवाकै लागि करोडौं रुपैयाँ खर्च गरेर धन हुने अरु हरुलाई पनि प्रेरित गरेको पत्रकार लिम्बूले बताए ।