पञ्चकन्या ग्रुपको उत्कृष्ट मेनेजरमा तामाङ र सर्वोत्कृष्ट कर्मचारीमा वाग्ले सम्मानित
काठमाडौं । पञ्चकन्या ग्रुपको उत्कृष्ट मेनेजरमा नामगेल तामाङ सम्मानित भएका छन् । साथै, कम्पनीले आफ्नो सर्वोत्कृष्ट कर्मचारीमा गोपालप्रसाद वाग्ले र उत्कृष्ट कर्मचारीमा सुजन श्रेष्ठलाई सम्मान गरेको छ । ग्रुपले आफ्नो ४६औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८८औं जन्मोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरी वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र एसएस वाटर ट्याङ्का डिलरहरुलाई प्रशंसा-पत्र तथा उपहारबाट सम्मानित गरेको थियो । त्यसैगरी, सर्ह्रानीय कार्य गर्ने तथा लामो समय सेवा अवधी पूरा गरेका कर्मचारीहरुलाई सम्मान गरियो । उक्त कार्यक्रममा पञ्चकन्या समूहका संचालकहरु, कर्मचारीहरु, डिलरहरुको उपस्थिति थियो ।
१०० मा पढाइ रहेका उत्तम सञ्जेलले ३०० मा विवाह गरे
काठमाडौँ । १०० रुपैँयामा हजारौँ विद्यार्थी पढाइरहेका उत्तम सञ्जेलले ३०० रुपैँयामा विवाह गरेका छन् । सञ्जेलले ३ सय रुपैयाँमा सुन्दरीजलकी कला अधिकारीसँग विवाह गरेका छन् । उनले २५ रुपैँयाको सिन्दुर, ७५ रुपैँयाको पाते र २ सय रुपैँयाका मालाले विवाह सम्पन्न गरेका छन् । गुहेश्वरी मन्दिर परिसरमा १० जनामात्रै जन्ती लगेर विवाह गरेका हुन् । विवाहमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, प्रतीक प्रधान, मनोज गजुरेल र सिताराम कट्टेल थिए । विवाह ५ मिनेटमा नै सकिएको थियो । विवाह बन्धनमा बाधिएका सञ्जेलले भने-”नेपालमा गरिबीको कारणले धेरै बिरामी अस्पताल र बालबालिकाहरु शिक्षाको पँहुचमा आउन सकेका छैनन् । त्यस्ता बालबच्चाहरुलाई विद्यालय र बिरामीलाई अस्पताल पुर्याउनु पर्ने भएकाले पनि मैले ३ सय मात्रै खर्च गरेर विवाह गरेको हुँ । परिवारका मान्छेहरु बोलाउँदा लेनदेनको कुरोपनि आउने भएकाले आपसी सहमतीमा वैवाहिक समारोहमा सहभागी नगराईएको बताए । दुलही पक्षले विवाहमा गर्न चाहेको खर्चलाई समता अस्पतालमा उपचार गरि औषधी किन्न नसक्नेहरुलाई सहयोग गर्न सकिने पनि बताए । सञ्जेलले ६५ हजारभन्दा धेरै विद्याथीहरुलाई शिक्षा प्रधान गरिरहेका छन् । उनको समता अस्पतालले १०० रुपैयाँमा प्रतिदिन ३०० जना बिरामीलाई उपचार गरिरहेको छ । नर्सरीदेखि नर्ससम्म पढाउने समता शिक्षा अभियन्ता सञ्जेलले नेपालका ७७ जिल्ला लगायत भारत, श्रीलंका, बंगालदेश गरेर करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षाको अभियान चलाई रहेका छन् ।
के हो रक्षाबन्धन ?
काठमाडौं । भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह ,सामिप्य र प्रेम ल्याउँछ । रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रङ्गीविरङ्गी राखीले पसल सजेको छ । पौराणिक कथा अनुसार देवराज ईन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज ईन्द्र बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन ईन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमूहूर्तमा ईन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए । जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ । यता श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहि आएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ । शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ। रासस