‘दशैंमा पिङ खेलेर धर्ती छाडे मृत्युपछि स्वर्ग पुगिने’

काठमाडौं। नेपालीमा पिङ र अङ्ग्रेजीमा स्विङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्।  नेपाली गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ। दसैंमा पिङमा बसेर धर्ती  छाड्नाले मृत्युपछि स्वर्ग पुगिने जनविश्वास छ। विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ। लोप हुँदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँ र सहरहरुमा युवाहरुको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन्। सरररऽऽऽ चचहुइ गर्दै पिङ खेल्नुको मज्जै बेग्लै हुन्छ। काठमाडौंका गल्लीगल्लीमा रहेका थोरै खाली स्थानमा पनि पिङ हालिएको छ। कतै बाँसको लिंगो गाडेर त कतै रुखको हाँगामा डोरी बाँधेर पिङ हालिएको छ। यसको सामाजिक महत्व भनेको घर गाउँलेहरु सबै एकै ठाउँमा जम्मा भएर पालैपालो पिङ खेलेर खुसी मनाँउदै एकआपासमा सौहार्दताको आदानप्रदान गर्ने गर्छन् ।

दशैंमा सिन्धुली जाने यात्रुसँग लुट्दै यातायात व्यवसायी, ६ सय भाडा तोकिएकोमा १ हजार असुल्दै

काठमाडौं । दशैंमा घर फर्कने यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा उठाएर ब्रम्हलुट मच्चाएका छन् । काठमाडौंबाट सिन्धुली हुँदै घर फर्कने यात्रुसँग व्यवसायीले मनपरी भाडा असुलेका हुन् । सिन्डिकेट हटाएको भन्दै आत्मरतीमा रमाएको झण्डै दुई तिहाइ बहुमतको सरकार व्यवसायीले मनपरी भाडा उठाउँदा मुक दर्शक बनेको छ । सिन्धुली जाने यात्रुसँग व्यवसायीले १ हजार रुपैयाँ भाडा लिँदै आएका छन् । अरु बेला यस रुटमा चल्ने सवारी साधनले ६ सय रुपैयाँ लिने गरेका थिए । ब्यवसायीले अग्रिम टिकट बुकिङसमेत गरेका छैनन् । उनीहरुले सवारी साधन आएपछि भेडाबाख्रा खाँदेजस्तै खाँदेर गाडीमै पैसा असुल्ने गरेका छन् । यात्रुलाई टिकट पनि उपलब्ध गराउँदैनन् । काठमाडौं बस्दै आएकी सिन्धुलीकी दुर्गा थापा कोटेश्वरस्थित कमलामाई यातायात काउन्टरमा टिकट काट्न जाँदा यसै गरी ठगिइन् । उनी ३० गते घर फर्कन चाहन्थिन् । ब्यवसायीले १ हजार रुपैयाँ जम्मा गरेर जान भने । उनले टिकट मागिन् । तर ब्यवसायीले टिकट दिन नसक्ने बताए । ‘यो त ब्रम्हलुटै भयो,’ उनले भनिन्, ‘अहिलेसम्म मैले यस्तो मन परी देखेको थिइन । स्थिर सरकार आएका बेला ब्यवसायीले ब्रम्हलुट मच्चाएको टुलुटुलु हेरेर बस्नु परेको छ ।’ उनले सिन्धुलीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादव र यातायात ब्यवसायी संघका अध्यक्ष गणेश पाण्डेलाई समेत गुनासो गरेको तर सुनुवाइ नभएको बताइन् । तीनकुनेस्थित हिलटप जुनार सहकारीका प्रबन्ध संचालक सुमनबिक्रम थापाले पनि घर फर्कन टिकट पाएनन् । उनलाई पनि चाबहिलस्थित काबेली डिलक्सको काउन्टरका कर्मचारीले १ हजार रुपैयाँ तिरे सिन्धुलीसम्म लगिदिने बताए । ‘यो त सरासर लुट हो,’ उनले भने, ‘सरकारले सिन्डिकेट हटाएको सुन्दा खुशी लागेको थियो । अहिले आफैंले महासिन्डिकेट भोग्नु पर्यो । पहिलो पटक सरकार नभएको अनुभूति भयो ।’ यातायात ब्यवसायीले गरेको मनोमानी सुनेर यो सम्बाददाता चावहिलस्थित काबेली डिलक्सको काउन्टरमा टिकट लिन पुगेको थियो । त्यहाँका कर्मचारीले सोमबारको गाडीमा सिन्धुली जान १ हजार रुपैयाँ जम्मा गर्न भने । टिकट माग्दा उनले दिन नसक्ने बतए । ‘हामीले १ हजार रुपैयाँको टिकट दिए प्रहरीले थुनि हाल्छ नि,’ उनले भने, ‘टिकट नकाटी लैजान्छौं । सबै काउन्टरले त्यसै गरेका छन् ।’ उनले सबै सवारी साधनका धनीले टिकट नकाट्न भनेको बताए । व्यवसायीको मनपरी बारे सिन्धुलीका एसपी रामेश्वर यादवलाई जानकारी गराउँदा उनले काठमाडौबाट फर्कने सवारी साधनले मनपरी गरेकाले काठमाडौंकै प्रहरीलाई गुनासो गर्न भने । ‘सिन्धुलीबाट जाने सवारी साधनले बढी भाडा लिएको भए म काराबाही गर्ने थिएँ,’ उनले भने, काठमाडौंमा त्यहीँको प्रहरीले कारबाही गर्छ ।’ दशैंका मुखमा यात्रु ठग्ने ब्यवसायीलाई दुई तिहाइ बहुमत प्राप्त सरकारले कारबाही गर्न नसकेकोमा यात्रु धेरै आक्रोशित देखिन्थे । सिन्धुलीका लागि टिकट लिन चाबहिल पुगेका एक यात्रुले काउन्टरमा १ हजार रुपैयाँ भाडा मागिएपछि आक्रोशित हुँदै भने, ‘दशैं यात्रु लुट्ने सिजन हो ? अरु बेला ६ सय रुपैयाँ भाडा लाग्ने ठाउँमा १ हजार रुपैयाँ किन तिर्ने ?’ उनले मुलुकमा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरे, ‘सरकारले सिन्डीकेट हटाएको हो कि थपेको हो रु यात्रुले सबै काउन्टरमा छापा मारेर व्यवसायीको मनोमानीविरुद्ध ठूलै एक्सन लिनु पर्ने बताएका छन् । ‘सिन्धुली जाने हरेक सवारी साधनमा छापा मारेर यात्रुसँग टिकट माग्नु पर्छ,’ एक यात्रुले आक्रोसित हुँदै भने, ‘टिकट नभेटे तिनीहरुको रुट परमिट खारेज गरेर काराबाही गर्नु पर्छ ।’

२१ हजार अश्लील वेबसाइट बन्द, यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्य

काठमाडौं । सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट बन्द गरेको छ । सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने उद्देश्यले अश्लील वेबसाइट बन्द गर्ने निणर्य गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही असोज ७ गते दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र सामाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तत्काल बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि प्राधिकरणले ८ गतेदेखि काम शुरु गरेको हो । नेपालमा अहिले करीब सयभन्दा बढी इन्टरनेट सेवा प्रदायक कम्पनीहरु छन् । प्राधिकरणका अनुसार अहिलेसम्म २१ हजारभन्दा बढी वेबसाइट बन्द भइसकेका छन् भने त्यस्ता प्रकृतिका अन्य वेबसाइट पनि बन्द गर्न निर्देशन दिइसकिएको छ । नेपाल टेलिकम र एनसेलबाट सञ्चालन हुने नेटवर्कबाट त्यस्ता खालका साइट पनि बन्द गरिसकिएको नेपाल दूरसञ्चार प्राधिकरण, अनुगमन विभागका निर्देशक विजयकुमार रायले जानकारी दिए । अश्लील यौनजन्य सामग्री प्रकाशन प्रसारण गर्ने एक लाखभन्दा बढी वेबसाइट छन् । अश्लील वेबसाइटलाई पूर्ण रुपमा बन्द गर्नका लागि कुनै पनि व्यक्तिले अश्लील साइट हेरेको खण्डमा त्यसलाई एप्समा हालेर तत्कालै बन्द गर्न सकिने प्रविधि निर्माण गर्ने तयारीमा प्राधिकरण रहेको छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १२१ मा शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, चलचित्र, तस्वीर, रेकर्ड वा अरू कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चारमाध्यमबाट प्रचार प्रसार गर्न नपाइने भनिएको छ । रासस