वैदेशिक रोजगारीले थप्दैछ परिवारमा बिचल्ली
काठमाडौं । धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी छ । परिवारको सुखद भविष्यको आशामा पाल्पाको रामपुर नगरपालिका–६ तिलकपुरका ३७ वर्षीय डोलराज कुमाल तीन वर्ष अघि मलेशिया पुगेका थिए । उनी दुई छोरी र श्रीमतीको लालनपालन तथा साहुको ऋण तिर्न विदेशिएका थिए । उनले सोचेजस्तो भैदिएन वैदेशिक रोजगारी । कुमालको गएको असार १३ गते मलेशियामा निधन भयो । श्रीमानले धन कमाएर ल्याउँला र सुखसँग जीवन बिताउँला भन्ने श्रीमती जमुनाको सपना थियो, त्यो भताभुङ्ग भयो । एक्कासी काठको बाकसमा शव आएपछि श्रीमान् घर आउने प्रतीक्षामा दिन गनेर बसेकी जमुनाको जीवनकै भरोसा टुट्यो, सहारा गुम्यो । लाउँला खाउँला भन्ने उमेरमा भएको श्रीमानको अकल्पनीय मृत्युको बज्रपातले ३५ वर्षीया जमुनालाई ‘न दिनमा भोक न रातमा निद्रा’ को स्थितिमा पुर्याइदियो । जमुनाकी दुई छोरी छन् । पन्ध्र वर्षकी जेठी छोरी कक्षा १० मा र चौध वर्षकी कान्छी छोरी कक्षा ८ मा पढ्छन् । दुई छोरी अहिले काकासँग बस्छन् । जमुना दिनभर मजदूरी गर्छिन् । सानो झुप्रोमा उनले अहिले एक्लो र निरस जीवन व्यतित गर्दै आएकी छन् । दाजुको वैदेशिक रोजगारीमा अचानक निधन भएपछि दुई छोरीको लालनपालन र पठनपाठनका लागि आफूसँगै राखेर सहारा दिइरहेको डोलराजका साहिँला भाइ कृष्णले बताए । जमुना आजभन्दा १८ वर्ष अघि डोलराजसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् । दिनहुँ साहुको नमिठो वचन र चर्को ब्याजको पीडा सहन नसके पछि बाध्य भएर डोलराज विदेश पुगे । उनी विदेश पुगेपछि घरपरिवारमा खुशियाली छाएको थियो तर, त्यो खुशी चिरकालसम्म टिक्न सकेन । तीन वर्षसम्म विदेश बसेर कमाएको रकमले घरायसी खर्च र विदेश जाँदा लिएको ऋण चुक्ता गर्न नसकेपछि उनले ऋण तिर्न पुग्दो कमाएर मात्रै घर फिर्छु भनेर परिवारसँग वाचा गरेका थिए । श्रीमानको मृत्यु हुनु दुई महिना अघि फोनमा अन्तिम पटक कुरा भएको जमुना सम्झिन्छिन् । जमुनाले भनिन् – “म सधैं घरायसी काममा अल्मलिएको हुन्थे । श्रीमान् वैदेशिक रोजगारीमा व्यस्त थिए । श्रीमानसँग नि धेरै कुरा फोनमा हुन्नथ्यो । हामी दुबैलाई साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता मात्र भइरहन्थ्यो ।” मिलनसार स्वभावका छोरा डोलराजले आफूप्रति दर्शाउने गरेको मायालाई सम्झँदै बिलौना गर्छिन् ७० वर्षीय आमा गनि कुमाल । उनले भनिन् – “छोरासँग फोनमा कुरा गर्दा घर आउ भन्थें । उनी साहुको ऋण तिर्न सकेको छैन आमा, सबै ऋण तिर्न सक्ने भएपछि मात्र घर आउँछु भन्थे । राम्रो सँग बस्नू, बिरामी परे औषधिमूलो गर्नू भनेर सम्झाउँथे ।” डोलराजका बुबा काला कुमाल ८२ वर्षको भए । उनी आफ्नो घरमा आउने जो कोहीसँग पनि छोरो गुमेकामा खिन्नता प्रकट गर्छन् । डोलराजको आकस्मिक मृत्युले कुमाल परिवार र आफन्तजनलाई नपुर्ने घाउ बनाइदियो । त्यस्तै, चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएपछि उनको परिवार बिचल्लीमा छ । आठ महिना अघि वैदेशिक रोजगारीका लागि उनी कतारमा पुगेका थिए । गएको कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा गैरे भेटिएका थिए । कम्पनीले शव नेपाल ल्याउने प्रक्रियामा आलटाल गरेका कारण दुई महिनापछि मात्र उनको शव नेपाल भित्रियो । गत पुस २ गते मात्रै उनको साँखरस्थित कालीगण्डकीको किनारमा दाहसंस्कार हुनसक्यो । साउदी अरबमा तीन तला माथिबाट खसेर घाइते भएका रामपुर नगरपालिका–५ सुन्दरटोलका चन्द्रबहादुर परियार अब सदाका लागि अर्काको सहारामा जीवन बिताउन बाध्य भएका छन् । ऋण खोजेर साउदी पुगेको सात दिनमै उनी तीन तला माथिबाट खस्न पुगे । परिवारलाई सहारा दिन भनी विदेश हिँडेका उनी जीवनभर अर्काकै सहारामा बाँच्नु पर्ने बाध्यता आइलाग्यो । आश बोकी विदेशी भूमि जानेहरुमा कतिपय लास बनी आउँछन् । केहीको सुदिन फिर्छन् भने केहीले पाउनु दुःख पाउँछन् । चन्द्रबहादुरलाई पनि दुःखको पहाड आइलाग्यो । उनलाई अब जीवनभर अर्काको साहानमा बाँच्नुको विकल्प छैन । एक छोरा, एक छोरी र श्रीमतीको पालनपोषण गर्न र घरव्यवहार सहज रुपमा चलाउन अनेकौँ सपना बोकेर विदेश पुगेका चन्द्रबहादुर गएको सात दिनमै राति सुत्ने क्रममा तीन तलामाथिबाट खसेपछि अपाङ्ग भए । आफू अपाङ्ग भएर बाँच्नुको पीडा जति छ मनमा त्यो भन्दा दोब्बर पीडा उनलाई अब उपचार कसरी गर्ने भन्ने छ । ‘जिन्दगी खरानी भयो हे बरै बग्यो नि तिरैतिर, जानेलाई हाइसुक्खै भयो हे बरै बाँच्नेलाई पिरैपिर’ भनै झै हालतमा छन् वैदेशिक रोजगारीमा जाने धेरैको । थुप्रैको परिवार उजाडिएको छ । विदेशी भूमिमै पनि लाखौँ नेपाली तड्पिएर बाँचिरहेका छन् । तैपनि राहदानी बनाउने र विमानस्थलमा वैदेशिक रोजगारीका निम्ति लामबद्ध भएर बस्ने युवाको सङ्ख्या दिनहुँ बढिरहेको छ । रासस
कामना सेवा विकास बैंकद्वारा कुष्ठ रोगका बिरामीलाई ह्विल चियर प्रदान
काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले पोखरा हरियोखर्क स्थित कुष्ठरोग अस्पतालमा रहेका कुष्ठ रोगका बिरामीहरुलाई ह्विल चियर प्रदान गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ६६ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनसँगको सहकार्यमा सो सहयोग गरेको हो । पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सार्वजनिक समाराेहमा अस्पतालका संचालक दिपक महर्जन, सुपेरिटेन्डेन्ट डा ब्रुस हयेज, प्रशासकअधिकृत युवराज आचार्य साथै बैंकका संचालकद्वय चतुराखर अधिकारी र देवकृष्ण काफ्ले र सहायक महाप्रबन्धक टुबराज बास्तोलाले संयुक्त रूपमा ह्विल चियर हस्तान्तरण गरेका छन् । हाल अस्पतालमा थोरै भएपनि राहत मिल्ने र आगामी दिनमा समेत यस्ता सामाजिक कामहरु गर्दै जाने बैंकको नीति रहेको संचालक देवकृष्ण काफ्लेले बताए । बैंक नाफामुखी मात्र नभएर सामाजिक रूपमा पनि उत्तरदायी रहेको र हाल देशभरी आफ्ना ६४ वटा शाखा तथा १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
मिसेज व्यूटिफूल २०१९ को उपाधि सम्पदा अमगाई र स्मृती पोख्रेललाई
काठमाडौं । सम्पदा अमगाई र स्मृती पोख्रेलले मिस एण्ड मिसेज व्यूटिफूलको उपाधि चुमेका छन् । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेज व्यूटिफूल २०१९ को ताज मिसतर्फ चितवनकी सम्पदा अमगाई र मिसेजतर्फ काठमाडौंकी स्मृती पोख्रेलले पहिरेका हुन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट १५ जना प्रतियोगीलाई पछि पार्दै सम्पदाले मिस तर्फको ताजसँगै ‘मस्ट टैलेन्ट र बेष्ट फोटोजेनीकको टाईटल’समेत प्राप्त गरिन । प्रतियोगितामा मिसतर्फ मनिषा पाण्डे फष्ट रनरअप, रुची पाण्डे सेकेन्ड रनरअप र कुशुम श्रेष्ठ थर्ड रनरअप हुन सफल भए भने मस्ट पपुलर, फेसबुक च्वाईस, भियुर्स च्वाईस तथा बेष्ट एक्टिङको उपाधि गीता शर्माले हात पारिन । त्यसै गरी मिसेस तर्फको फस्ट रनरअपमा ज्योती पोख्रेल सेकेण्ड रनरअपमा ओविका बेल्वासे भईन भने बसुन्धारा बस्नेतले थर्ड रनरअप, मस्ट पपुलर तथा बेष्ट स्किनको टाईटल हात पार्न सफल भईन । प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ नायक सरोज खनाल, वरिष्ठ गायक आनन्द कार्की, नायक रमेश उफ्रेती, म्युजिक कम्पोजर एवम् नेपालकी पहिलो महिला सङ्गीतकार रेखा पौडेल, डा.सुशिला मल्ल, कलाकार सरिता गिरी तथा हेमाङ्गराज गिरी रहेका थिए । आश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगिताको कार्यक्रम सञ्चालन समेत गरेका थिए । कार्यक्रममा आफ्नो क्षेत्रमा विशेष योगदान दिने वरिष्ठ व्यक्तित्वहरु चर्चित कलाकार शिवहरि पौडेल, सञ्चारकर्मी किरण अधिकारी, कलाकार एलिना बास्कोटा, व्यवसायी रुपक शर्मा पोख्रेललाई दक्ष ईन्टरनेशनल अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी काठमाडौ महानगरपालिकाका उप मेयर हरिप्रभा खड्गी र विशेष अतिथी बरिष्ठ कलाकार किरण केसी ‘रातामकै’ तथा दक्ष ईन्टरनेशनलका अध्यक्ष टेक राज पाण्डेले सम्मानित व्यक्तित्वहरुलाई सम्मान अर्पण गरेका थिए ।