बृद्धभत्ता होइन, व्यापार गर्ने ठाउँ खोजिरहेका ७९ वर्षीय चेतनाथ ढकाल

काठमाडौं । गायक जीबन शर्माको ‘सिमली छायामा बसी…’ भन्ने गीत सुन्नु भएकै छ । यो गीतका केही अंश यहाँ फेरि सम्झौं– ‘…कैले काँही साथ दिने बुढी थिई घर छोराछोरी सम्झी सम्झी रुन्थी धरधर । मलाईभन्दा छिट्टै आयो, उसलाई पापी काल हातखुट्टा सुन्न्याँएर घुमाई उसले चोला । …सिमली छायामा बसी, भरिया लामो सास फेरेको जीबन भैसक्यो असी, झन् ठूला दुःखले घेरेको…।’ हो, ठ्याक्कै यही गीतसँग मिल्ने जीबन बाँचिरहेका छन्, ७९ वर्षीय चेतनाथ ढकाल । काठमाडौंको नेपाल वायुसेवा निगमको भवन नजिकै ‘काठमाडौं मल’ अगाडि छ, उनको ‘पसल’ । जुत्ता पालिस गर्ने ब्रस, कपाल कोर्ने काइयो, कपडा च्याप्ने क्लिप, कान कोट्याउने बड, टिस्यू पेपर जस्ता सामानका सडक व्यापारी हुन् ढकाल । हातमा केही सामान बोकेर पैदलयात्रीलाई ‘काइयो, काइयो, ब्रस, ब्रस’ भन्दै कराउनु उनको दैनिकी हो । विहान १० बजेतिर त्यहाँ आउने ढकाल घाम डुबेसँगै डेरा फर्किन्छन् । उनले बेच्न राखेको काइयोको मूल्य २० रुपैयाँ छ । ब्रसको ७० रुपैयाँ । यस्तै, उनीसँग भएका एयर बड, नेल–कट, टुथपिन, क्लिप, टिस्यू पेपर जस्ता सामानको मूल्य पनि धेरै छैन । अर्थात, उनीसँग भएका सबै सामान विक्री भयो भने पनि त्यसबाट उनले प्राप्त गर्ने भनेको बढीमा ७/८ सय मात्रै हो । पसलमा विक्रीमा राखिएको सामान उनले पनि किनेरै ल्याएका हुन् । नाफा शतप्रतिशत हुने हो भने पनि उनी दैनिक साढे ३ सयदेखि ४ सय कमाउँछन् । तर, पसलमा रहेका सबै सामान विक्री हुन्छन् होला र ? ‘कहाँ सबै बिक्छन् ? कुनै दिन त बोहोनी नै हुदैन नि !’ ढकालले भने । त्यसो भए कसरी चल्छ त उनको जिन्दगी ? ‘चल्छ बाबु ! खान लाउन पुगेको छ, कसैसँग हात पसार्नु परेको छैन, गरी खान पाएको छु, यसमा म खुसी छु’ ढकाल अलि खुलेर जवाफ दिन लागे । अनि सुनाए– जीबन शर्माको ‘सिमली छायामा बसी…’ भन्ने गीतसँग संयोग मिल्ने यथार्थ । ढकालकी श्रीमतीले यो संसार छोडेको ३४ वर्ष भएछ । श्रीमतीको देहान्त अघि नै उनका १ छोरा र ४ छोरी जन्मिसकेका थिए । ‘श्रीमतीलाई चाँढै भगवानले लगे, छोरालाई बुहारीले लगी, छोरीहरु ज्वाइँले लानुभयो, मसँग अहिले यही एउटा पसल छ, त्यो पनि कहिले काँही नगरपालिका आएर लान्छ,’ ढकालले पीडा पोखे । उनले यसो भन्दै गर्दा ‘सिमली छायामा बसी…’ को अर्काे यो अंश स्मरणमा आयो– ‘…छोरीहरु हुर्के बढे बढे, घर घर गए छोराहरु पाँचै भाइ मुग्लानीया भए…।’ जीबन यात्रा लामो समय उनले खेती किसानीमै जीवन विताए । शरीरमा तागत छउन्जेल उनको रुची पनि खेती किसानीतिरै गयो । तर, बुढेसकालले छोएपछि खेती किसानी गर्ने उनका हातपाखुरा बस्न थाले । मेलापात गर्न नसक्ने भए । र, काठमाडौं झरेर लागे सडक व्यापारमा । यसरी व्यापार गर्न लागेको १३ महिना भएको ढकालले सुनाए । उनले २ हजार रुपैयाँको लगानीबाट यो व्यवसाय सुरु गरेका हुन् । ‘यो व्यापारको कुनै भर छैन, कहिले काहीँ अलि धेरै विक्री हुन्छ, कहिले रित्तै,’ ढकालले सुनाए । गरिखान देऊ जेष्ठ नागरिकका लागि राज्यले मासिक भत्ता दिने गरेको छ । बृद्ध उमेरमा कमाई गर्न नसक्नेहरुका लागि सरकारले यस्तो व्यवस्था गरेको हो । तर, सरकारले दिने भत्ताप्रति भने उनको खासै आशक्ति छैन । ‘सरकारले महिनाको ३ हजार रुपैयाँ भत्ता दिन्छ, यो पैसा आउँछ भनेर सुतेर खाने कुरा पनि भएन, अझै काम गर्न सक्छु, व्यापार गर्न पनि जानेको छु, नगरपालिकाले मेरो पसल उठाउन रोक्ने हो भने व्यापार गरेर पेट पाल्न सहज हुने थियो,’ ढकालले मनका कुरा खोले । उनी काठमाडौको जमलमा डेरामा बस्दै आएका छन् । डेराभाडा मासिक ३ हजार रुपैयाँ छ । र, दैनिक १ सय २० रुपैयाँ तिरेर होटलमा खाना खान्छन् । सरकारले सडकमा व्यापार गरेर खान नदेलाका कि भन्ने चिन्ता ठूलो रहेछ उनमा । त्यसैले थपे–‘बाटोको जग्गा मेरो हो भनेको छैन, रहरले बाटोमा बेच्न बसेको होइन, सरकारले यो कुरा बुझिदिए हुन्थ्यो ।’

सडकका मगन्तेः पैसाकाे बिटाे देखाउनेदेखि अङ्ग्रेजी बाेल्नेसम्म

काठमाडौँ । उपत्यकालाई बेसहारा र पेशेवर मगन्तेरहित महानगर बनाउने कार्यक्रमअन्तर्गत सोमबार राति गौशाला र चाबहिल क्षेत्रमा उद्धार अभियान चल्यो । गौशाला प्रहरी वृत्तको आड र त्यसआसपासमा धेरै मगन्ते सडकमा सुतिरहेका पाइए । उनीहरुलाई उठाउन मानवसेवा आश्रम, काठमाडौँ महानगरपालिका, पत्रकार, नागरिक समाज र विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए । साथमा नेपाली प्रहरीको ठूलै समूह थियो । कोही सडकका पेटी, कोही सटरलगायतको घरको सिँढी त कोही मन्दिरलाई आड लिएर सुतिरहेका भेटिए । मित्रपार्क नजिकै सडक पेटीमा सुतिरहेकी एक महिलालाई उठाउन खोज्दा उनले मानिनन् । जसरी पनि लैजाने भनेपछि उनी जङ्गिइन् । “के मलाई सडकमा सुतेको छ भनेर हेप्न पाइन्छ, तिमीहरुभन्दा म के कम, मेरो घर छ, परिवार छ, म धनी परिवारकै मान्छे हुँ”, शरीरबाट पैसाको बिटो निकाल्दै उनी चर्किन् । प्रहरी देखेपछि उनलाई डर लागेर होला त्यसपछि रुन थालिन् । “भोलिदेखि सडकमा बस्दिन, आज आफन्तकोमा जान्छु”, भनेर ढिपी गरे पनि उनलाई उद्धार गरेर लगियो । गौशाला चोकमा ४९ वर्षीय जोन क्षेत्री पनि पेटीमा सुतिरहेका थिए । मजदूरी गरेर कमाइ गर्ने उनी पनि आश्रम जान मानेन् । आफन्त र साथीभाइ भएकाले आज यहाँ सुते पनि भोलिदेखि नसुत्ने अडान उनले लिए । आश्रमका अभियानकर्मी र प्रहरी मिलेर उठाउन खोजेपछि उनले ‘मानवीयता नभएको मान्छे’ भन्दै अङ्ग्रेजीमा गाली गरे । उद्धारका क्रममा कोही मजदूरी गरेर सडकमा सुतेका भेटिए भने कोही मदिरामा लठ्ठ भएर सुतिरहेको पाइए । चाबहिल नजिकिएको पुलमुनि धेरै मान्छे सुत्ने गरेको ओढ्ने र ओछ्यान भेटियो । राति १० बजे त्यहाँ पुग्दा अन्य व्यक्ति आइनसके पनि कुनामा एक जना सुतिरहेका थिए । पर्खालको भित्तो मुश्किलले चढेर जानुपर्ने पुलमुनि सुतिरहेको मानिस निकाल्न प्रहरीलाई हम्मेहम्मे नै पर्याे । सोमबार राति ८ देखि १०ः३० बजेसम्म चलाइएको उक्त उद्धार अभियानमा वास्तविक बेसहारा नभेटिए पनि दिनभर माग्ने पेशा अपनाएका, मजदूरी गर्ने गरेका र मदिरा पिएर लठ्ठ भई सडकमा बसेका धेरै भेटिए । सोही रात ३१ जनालाई उद्धार गरेर बालाजुस्थित अस्थायी आवास केन्द्रमा लगिएको छ । यसअघि यसरी नै ६१ जनालाई उद्धार गरिएको मानवसेवा आश्रम प्रदेश संयोजक सुमन बर्तौलाले जानकारी दिए । केही दिनअघि मात्रै थापाथली पुलमुनि वाग्मती नदी किनारबाट एक बेवारिसे महिलाको उद्धार गरिएको थियो । काठमाडौंमा बेवारिसे मान्छे न्यून र पेशेवर मगन्ते तथा मजदूरी गरेर मदिरा खाई सडकमा सुत्ने धेरै भेटिएका छन् । गत मङ्सिर २९ गते काठमाडौँ महानगर, मानवसेवा आश्रम, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयबीच सम्झौता भएर बेसहाराको उद्धार गरी संरक्षण र मगन्तेहरुको व्यवस्थापन अभियान थालिएको छ । अस्थायी आवास केन्द्रमा पुर्याउने छनोट गरी बेसहारालाई आश्रममा लगिने र अन्यलाई घरपरिवार पत्ता लगाएर सडकमा नआउने शर्तमा छाड्ने गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद-५ को दफा १२६ मा सडक, गल्ली, उद्यान, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर र सार्वजनिक सवारी साधनमा भिक्षा माग्न वा माग्न लगाउन नहुने उल्लेख छ । भिक्षा माग्नेलाई अधिकतम दुई महिना कैद र दुई हजारसम्म जरिवाना तथा माग्न लगाउनेलाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था छ । त्यसलाई कार्यान्वयनको चरणमा अहिले उद्धार अभियान चलाइएको हो । तीन महिना उक्त अभियान सञ्चालन हुनेछ । पहिलो चरणमा राति सडकमा सुत्नेहरुको उद्धार शुरु भएको तथा त्यसपछि दिउँसो र बिहान मागेर बस्नेको व्यवस्थापन हुने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । काठमाडौँ महानगरले उद्धार गरेर राखिएकामध्ये वास्तविक बेसहारा, पेशेवर मगन्ते र मदिरा खाएर सडकमा पुग्ने व्यक्तिको पहिचानका लागि बालाजुको भवनलाई छनोट केन्द्र (स्क्रिनिङ सेन्टर) बनाएको हो । यसअघि आश्रमकै पहलमा पहिलो पटक २०७४ साल चैत ५ गते पृथ्वीनारायण नगरपालिका र चैत २० गते पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरिएको थियो । विसं २०७४ फागुन ४ गते मकवानपुर जिल्ला र २०७५ कात्तिक ९ गते भरतपुर असहायमुक्त महानगर बनाइएको छ । विसं २०६९ मा स्थापना भई सडकमा रहेका असहाय र बेवारिसे मनोरोगीको उद्धार गरी पालनपोषण तथा स्वास्थ्योपचार गराउँदै आएको आश्रमले परिवार फेला परेकालाई पुनःमिलन गराउँदै आएको छ । रासस

सिन्दुर हाल्ने बेला बेहुलाको हात नउठेपछि चार लाख जरिवाना

झापा । विवाह मण्डपमा रहेकी बेहुलीलाई सिन्दुर हाल्न खोज्दा बेहुलाको हात नउठेपछि बेहुलाले बेहुलीको परिवारलाई चार लाख रुपैयाँ जरिवाना तिरेका छन् ।  मंसिर २९ गते दिउँसोको लगनमा झापाको बुद्धशान्ति गाउँपालिका–२ का न्यौपाने थरकी एक युवतीसँग भद्रपुर नगरपालिका–७ का सुवेदी थरका एक युवकको वैवाहिक कार्यक्रम हुँदै थियो । वैवाहिक कार्यक्रम अनुसार बेहुलाले बेहुलीलाई सिन्दुर हाल्ने बेलामा बेहुलाको हात नचलेपछि बेहुली पक्षले विवाह अस्वीकार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार विवाह मण्डपमै खैलाबैला मच्चिएर बेहुला पक्षले जन्ती लगेको गाडी नै तोडफोड गर्न खोजेपछि विवाह घरमै पुगेर प्रहरीले सुरक्षा दिएको थियो । बेहुला पक्षले बेहुली पक्षलाई झुक्याएर विवाह गरेको भन्दै विवाद उत्पन्न भएको थियो । बेहुलाको हात नचलेपछि उनी शारीरिक अपाङ्गता भएको व्यक्ति रहेको भन्दै बेहुली पक्षले बेहुला पक्षलाई चार लाख जरिवाना तिराएका छन् । जसका लागि बुद्धशान्ति गाउँपालिकाकी उपप्रमुख मीरा भुर्तेलसहितको टोलीले विवाद समाधानका लागि पहल गरेको प्रहरीले जनाएको छ । बेहुलाले आफू डाक्टर भएको भन्दै बेहुली पक्षलाई विवाहका लागि प्रस्ताव राखेको र उनी डाक्टर नभइ निजी अस्पतालमा कार्यरत कर्मचारी रहेको बेहुली पक्षको आरोप छ । बेहुली पक्षले विवाहका लागि गरिएको खर्चको माग दाबी गर्दै बेहुला पक्षसँग चार लाख रकम लिएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताइन्। उनले भनिन्, ‘समाज बसेर विवाहको लागि भएको खर्चको हिसाब गरेको हो, यसमा गाउँपालिकाको कुनै हात छैन । विवाहको कुरा छिनेपछि बेहुला र बेहुली दुवैपक्षले सहमतिमै टीकाटाला नगरी एकै पटक विवाहका लागि राजी भएको बताइएको छ ।’ यसअघि पनि बुद्धशान्ति गाउँपालिकामा एक व्यक्तिको विवाह हुँदा यस्तै घटना घटेको थियो । विवाहलगत्तै बेहुलीलाई छाडेर बेहुला भाग्दा बेहुलीको परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति समाजले दिलाएको थियो । जसका लागि गाउँपालिकामा सहमतिका लागि छलफल भएको थियो । रासस