सातौंपटक म्याद थप, अब ०.०५ प्रतिशत दैनिक हर्जाना
कोरलानाका जोड्ने कोवाङ-जोमसोम सडक फेरि अलपत्र काठमाडौं । मुस्ताङस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङदेखि घरपझोङ-४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्र सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ । कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत सुरु गरिएको (बेनी-जोमसोम) ७४ किलोमिटर सडकको चौथो खण्ड निर्माण कम्पनीको पटकपटकको ढिलासुस्ती र बेवास्ताका कारण सडक स्तरोन्नतिको काम अलपत्र पर्दै आइरहेको हो । बेनी-जोमसोम सडकअन्तर्गत दोस्रो र तेस्रो खण्ड निर्माण सम्पन्न भइसकेर आयोजनालाई हस्तान्तरण भइसकेको छ । तर यहाँको कोरला नाका जोड्ने कोवाङ-जोमसोम सडकको ८५ प्रतिशत भौतिक प्रगति भइसक्दा निर्माण कम्पनीले सडक स्तरोन्नति काम अलपत्र पारेको आयोजनाले जनाएको छ । त्रिदेशीय व्यापारिक मार्गका रूपमा विस्तार गर्ने उद्देश्यले तत्कालीन सरकारले नेपाल-चीन कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडक आव २०७३÷७४ देखि सुरु गरेको थियो । सोहीअनुसार कोवाङ-जोमसोम १७ किमी चौथो खण्ड ७० करोड रुपैयाँ लागतमा आयोजनासँग ठेक्का सम्झौता भई काम अघि बढाइएको थियो । यहाँस्थित निर्माणाधीन कोवाङ-जोमसोम अस्फाल्ट कालोपत्र सडक स्तरोन्नतिका लागि पप्पु गौरी पार्वती, कोशी एन्ड न्यौपाने जेभीले ठेक्का सम्झौता गरेको थियो । नालीसहित ११ मिटर चौडा सडकमा कालोपत्र गर्ने भनिए पनि ठेक्का सम्झौता भएको आठ वर्ष बितिसक्दासमेत निर्माण कम्पनीले स्तरोन्नति काम सम्पन्न गर्न सकेको छैन । ठेक्का सम्झौता हुँदाको सुरुआती अवस्थामा जोइन पार्टनर कोशी एन्ड न्यौपानेले कोवाङ-जोमसोम सडक निर्माणको जिम्मा लिएको भए पनि उसले कामलाई गति दिन नसकेपछि जेभीको जोइन मुख्य पार्टनर पप्पु गौरी पार्वती सडक निर्माण सम्पन्न गर्न काममा फर्किएको थियो । कोवाङ-जोमसोम सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएदेखि हालसम्म खन्ती-टुकुचेस्थित थापाखोलासम्म, टुकुचे सिरान टोलीदेखि मार्फासम्म सडक स्तरोन्नति तथा कालोपत्र कार्य सकिएको आयोजनाले जनाएको छ । त्यसैगरी, मुस्ताङको स्याङगाउँ पुछारदेखि पुथाङ एयरपोर्टसम्म कालोपत्र तथा पिसीसी ढलानसहितको काम सकिएको छ । जोमसोम प्रादेशिक अस्पतालदेखि जोमसोम पक्की पुलसम्मको करिब १५ किलोमिटर सडक कालोपत्र विस्तारकार्य सम्पन्न भइसकेको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । उनका अनुसार थासाङको टुकुचे गाउँभित्रको सडक, मार्फा पुलदेखि स्याङ पुछारसम्म र जोमसोम बजारको नेपाली सेनाको ब्यारेक अगाडिको सडक गरी करिब २ किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको भए पनि काम अघि बढ्न सकेको छैन । निर्माणाधीन सडकअन्तर्गत जोमसोमस्थित नेपाली सेनाको ब्यारेक अगाडि कालोपत्रका लागि फिलिङ गर्न माटो थुपारिएकाले सवारी आवागमनमा समस्या परेको छ । त्यसैगरी कालोपत्र ढिलाइ हुँदा त्यहाँस्थित सेनालाई धुवाँ धुलोले पनि असर पुर्याएको देखिन्छ । यसअघि कोर लानाका जोड्ने (कोवाङ-जोमसोम) सडक निर्माण वैशाखभित्र सम्पन्न गर्न स्थानीय प्रशासनले निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । तर, प्रशासनको उक्त निर्देशनलाई बेवास्ता गर्दै निर्माण कम्पनीले सडक निर्माणको काम अलपत्र पारेको हो । कोवाङ-जोमसोम सडकको निर्माण कम्पनीले गत कात्तिकदेखि कुल ठेक्का सम्झौताको ०.०५ प्रतिशत हुने गरी दैनिक हर्जाना लाग्ने गरी जरिवाना रकम तोकिएको आयोजना प्रमुख शर्माले जानकारी दिए । यहाँको (कोवाङ-जोमसोम) खण्डको सातौंपटक म्याद थप भइसकेको र जरिवाना रकमको अवधि २०० दिने रहने उनको भनाइ छ । ‘चैत महिनासम्म अन्तिम ‘डेटलाइन’ छ, त्यो अवधिसम्म जरिवाना रकम बुझाएर सडकको अधुरो काम सुरु गर्नुपर्ने हुन्छ,’ आयोजना प्रमुख शर्माले भने, ‘यदि त्यसो हुन नसकेमा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता भङ्ग हुन्छ र नयाँ ठेक्का प्रक्रियामा जानेछ ।’ निर्माण कम्पनीको चरम ढिलासुस्तीले अलपत्र परेको (कोवाङ-जोमसोम) सडकलाई छिटोभन्दा छिटो सम्पन्न गर्न आयोजनाले ठेक्का सहमति तोडेर नयाँ ठेक्का खुलाउन विभागसँग सहमति माग भए पनि सहमति प्राप्त नभएको आयोजना प्रमुख शर्माको भनाइ छ । दैनिक हर्जाना तोकिएको कोवाङ-जोमसोम अलपत्र सडकको सरकारले सार्वजनिक खरिद ऐन संशोधन नल्याएमा निर्माण कम्पनीले ठेक्का सम्झौता लागत १० प्रतिशत जरिवाना आयोजनालाई बुझाउनुपर्ने आयोजना प्रमुख शर्माले बताए । निर्माणाधीन अलपत्र कोवाङ-जोमसोम सडक निर्माणमा प्रयोग भएका उपकरण थन्क्याएको अवस्थामा छ । सडक निर्माणकार्यका लागि खटिएका जनशक्ति काममा फर्किएका छैनन् ।
१५ करोडमा ढोरपाटन पुग्यो केन्द्रीय लाइन, बाह्रै महिना हिटर चलाउन मिल्ने
काठमाडौं । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघु जलविद्युतको भरमा थिए । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर लामो पश्चिममा रहेको ढोरपाटनमा केन्द्रीय लाइन पुर्याएको हो । प्राधिकरणका बागलुङ प्रमुख दिलीप मरासिनीले ११ केभी विद्युत् लाइन ढोरपाटन पुर्याएको जानकारी दिए । अघिल्लो वर्षदेखि नै विद्युत् पोल गाड्ने र लाइन तान्ने काम गरेको भन्दै बिहीबारदेखि नियमित विद्युत् प्रसारण भएको उनको भनाइ छ । १५ करोड रुपैयाँ लागतमा ढोरपाटनमा विद्युत् पुर्याएको प्रमुख मरासिनीले बताए । ढोरपाटनसम्म लाइन पुगेपछि अब स्थानीयका घर घरमा पुर्याउने उनको भनाइ छ । ढोरपाटन जोड्ने ११ केभी प्रसारण लाइन बिहीबारदेखि चार्ज गरिएको उनी बताउँछन् । प्रमुख मरासिनीले भने, ‘पश्चिम बागलुङको बुर्तिबाङमा केन्द्रीय लाइन पुगेको केही वर्ष मात्रै भयो, त्यसभन्दा माथि अधिकारी चौरसम्म दुई वर्ष अगाडि पुगेको थियो, यसपालि ढोरपाटनसम्मै पुर्याएका छौँ, अब सानो हाइड्रोपावरबाट विद्युत् सेवा पाएका नागरिकले केन्द्रीय लाइन बाल्न पाउनेछन् ।’ ढोरपाटन क्षेत्रमा एक बजार बढी घर दूरी छन् । स्थानीयले ४० किलोवाटको गर्पाखोला लघु जलविद्युत् आयोजना र ६० किलोवाटको ढोरपाटन भुजीखोला लघु जलविद्युत् आयोजनामार्फत विद्युतीय सेवा लिँदै आएका थिए । वि.सं २०६८ मा सञ्चालनमा आएको गर्पाखोला लघु जलविद्युत् आयोजना र पाँच वर्ष अगाडि आएको ढोरपाटन भुजीखोला लघु जलविद्युत आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन नहुँदा स्थानीयले सास्ती भोग्दै आएको ढोरपाटन नगरपालिका-९ का अध्यक्ष खिमबहादुर घर्तीमगरले बताए । केन्द्रीय लाइन आएपछि अब सहज हुने उनको भनाइ छ । अध्यक्ष घर्तीमगरका अनुसार ढोरपाटन उपत्यकाको सलथान, बिजौलीखोला, छन्तुङ, खाल्डेखुल्डेलगायत करिब २५० बढी घरमा अहिलेसम्म विद्युत् नै नपुगेको बताए । स्थानीयले माग गरेपछि हामीले सहजीकरण गरेर लाइन जडान गर्ने उनको भनाइ छ । ‘ढोरपाटनका धेरै घरमा अझै पनि विद्युत् नपुगेको अवस्था छ, स्थानीयले टुकी र दियालो बालेर रात कटाउँदै आएका छन्, केन्द्रीय लाइन आयो, अब सहज हुनेछ,’ अध्यक्ष घर्तीमगरले भने, ‘अब कोही पनि नागरिकले विद्युत सुविधा लिनबाट वञ्चित हुनुपर्ने छैन ।’ ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले जलविद्युतबाट पर्याप्त विद्युत् उत्पादन नहुँदा विद्युतीय मेसिन चलाउन नपाएको भन्दै अब कपडा धुने मेसिन, हिटरलगायत उपकरण चलाउन सकिने बताए । ढोरपाटनमा अत्यधिक चिसो हुने हुँदा बाह्रै महिना हिटर चलाउनुपर्ने अवस्था रहे पनि अहिलेसम्म स्थानीय हाइड्रोपावरबाट कम क्षमताको विद्युत् उत्पादन हुँदा चलाउन नपाएको पुनको भनाइ छ । उनले भने, ‘पछिल्लो समय ढोरपाटनमा पर्यटकको आकर्षण बढेको छ, होटल व्यवसाय सञ्चालन गर्नेहरूका लागि केन्द्रीय विद्युत् नहुँदा निकै समस्या थियो, चिसो पानीमा कपडा धुनुपर्ने बाध्यता थियो, ठूलो मेसिन चलाउन पाएका थिएनौँ, अब सजिलो हुने भयो, पर्यटकले पनि लाभ लिन सक्ने भए ।’ विद्युत् प्राधिकरणले छेन्तुङसम्म लाइन विस्तार गरिसकेको छ । ढोरपाटन सिकार आरक्ष कार्यालय, आर्मी ब्यारेक र विद्यालयहरूमा पनि लाइन जोडिने भएको छ । ढोरपाटनमा पहिलोपटक केन्द्रीय लाइन पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय कुलबहादुर विकले स्थानीय हाइड्रोपावरबाट कम क्षमताको विद्युत् उत्पादन हुँदा ढोरपाटन भरका बस्तीमा विद्युत् नपुगेको बताए । अब हरेक स्थानीयको घरका विद्युत् पुग्ने आस पलाएको उनको भनाइ छ । यहाँका अधिकांश स्थानीय बर्खायाममा ढोरपाटन र हिउँदमा बेँसी क्षेत्रमा बस्ने गर्छन् । बर्खाभरि अँध्यारोमा बस्न बाध्यता रहेको भन्दै अब उक्त समस्या समाधान हुने अपेक्षा लिएको विकले सुनाए ।
भूगोल इन्फ्रास्ट्रक्चरको आम्दानी ३.६३ अर्ब रुपैयाँ, १५.८० अर्बको काम हातमा
काठमाडौं । भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीले सन् २०२५ मा ३ अर्ब ६३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ९.८४ प्रतिशत अर्थात् ३२ करोड ६० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ रहेको थियो । कम्पनीको आम्दानी पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दै गएको देखिन्छ । कम्पनीले सन् २०२३ मा ९७ करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा ४० करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा ३३ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा ५१ करोड ५० लाख रुपैयाँ, सन् २०१९ मा ४१ करोड २० लाख रुपैयाँ र सन् २०१८ मा २९ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । कम्पनीसँग हाल करिब १५ अर्ब ८० करोड रुपैयाँ बराबरको अर्डरबुक रहेको छ, जुन सन् २०२५ को कुल आम्दानीको करिब ४.३ गुणा हो । सन् २०२५ मा मात्रै करिब १४ अर्ब रुपैयाँ बराबरका नयाँ परियोजना थपिएको कम्पनीले जनाएको छ । नेपालमा जलविद्युत् विकासको गति बढ्दै गएको अवस्थामा यसले कम्पनीको व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । भूगोल इन्फ्रास्ट्रक्चरले हालसम्म ८०.२१ मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको जनाएको छ । त्यस्तै ४७.४३ मेगावाट क्षमताका आयोजना अन्तिम चरणमा रहेका छन् भने १६३.९२ मेगावाट क्षमताका आयोजना प्रारम्भिक कार्यान्वयन चरणमा छन् । कम्पनीको सञ्चालन नाफा मार्जिन पछिल्ला वर्षहरूमा घट्दै गएको देखिएको छ । सन् २०२५ मा कम्पनीको सञ्चालन नाफा मार्जिन ७ प्रतिशतमा सीमित भएको छ, जुन सन् २०२२ मा करिब १२ प्रतिशत थियो । साथै कम्पनीले सन् २०२५ मा अघिल्लो वर्षको नाफाको करिब ८३ प्रतिशत लाभांश वितरण गरेको जनाएको छ । सन् २०१४ मा स्थापना भएको भूगोल इन्फ्रास्ट्रक्चर निर्माण क्षेत्रसँग सम्बन्धित कम्पनी हो । सार्वजनिक खरिद नियमावलीअनुसार कम्पनीलाई क्लास–डी निर्माण कम्पनीका रूपमा वर्गीकृत गरिएको छ । कम्पनीले मुख्यतः निजी क्षेत्रका जलविद्युत् आयोजनासम्बन्धी निर्माण ठेक्का कार्य गर्दै आएको छ । सन् २०२६ फेब्रुअरी मध्यसम्म कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ । उक्त चुक्ता पुँजीमध्ये करिब ९३ प्रतिशत सेयर कम्पनीका निर्देशक तथा अध्यक्ष भीमसेन भण्डारीसँग रहेको छ । बाँकी सेयर भने अन्य तीन जना व्यक्तिहरूको स्वामित्वमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९८ करोड ५७ लाख रुपैयाँ दीर्घकालीन र ५ अर्ब २० करोड रुपैयाँ अल्पकालीन गरी कुल ६ अर्ब १८ करोड ५७ लाख रुपैयाँ ऋण लिएको छ । अघिल्लो वर्ष भने कम्पनीको कुल ऋण ४ अर्ब २४ करोड ५३ लाख रुपैयाँ थियो, जसमा २९ करोड ४० लाख रुपैयाँ दीर्घकालीन र ३ अर्ब ९५ करोड १३ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको थियो ।