काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो र चुनौतीपूर्ण रहेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले यो मूल्यवृद्धिको संकटले निर्माण क्षेत्र र राज्यको समग्र अर्थतन्त्रमा गम्भीर असर पारेको बताए ।
मन्त्री लम्सालका अनुसार निर्माण सामग्री र इन्धन (विशेषगरी डिजेल) मा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण पूर्वाधार मन्त्रालयको बजेट ठूलो दबाबमा परेको छ ।
तथ्यांक हेर्दा मन्त्रालयको बजेट सीमाभन्दा करिब ३७ अर्ब रुपैयाँले घाटामा गइसकेको उनले जानकारी दिए । डिजेलको मूल्य वृद्धिले निर्माण क्षेत्रलाई नराम्ररी थला पारेको र यसबाट राज्य र निर्माण व्यवसायी दुवै मारमा परेको उनको भनाइ छ ।
बैठकमा मन्त्री लम्सालले नेपाल राष्ट्र बैंकको वर्तमान मूल्य सूचकांक (इन्डेक्स) ले मात्रै अहिलेको चरम मूल्यवृद्धिलाई सम्बोधन गर्न नसक्ने स्वीकार गरे ।
पुराना आयोजनाहरूमा भएको मूल्य समायोजन रोक्का (इन्डेक्स फ्रिज) र एक वर्षे आयोजनाहरूको कानुनी जटिलताबारे सरकार सचेत रहेको भन्दै उनले सबै प्रकारका आयोजना र व्यवसायीलाई न्याय हुने गरी सरकारले तयारी गरिरहेको बताए ।
‘अहिले हाम्रो अगाडि रहेको मूल्यवृद्धि सामान्य होइन, यो नेपालकै इतिहासको सबैभन्दा ठूलो मूल्यवृद्धि र संकट हो,’ मन्त्री लम्सालले भने, ‘बहुवर्षीय कार्यक्रमहरूमा मूल्यवृद्धि दिन सहज भए पनि म्याद थप भएर ‘इन्डेक्स फ्रिज’ भएका पुराना आयोजना र एक वर्षे आयोजनाहरूको हकमा जटिलता थियो । राज्यले निर्णय गर्दा कसैलाई दिने र कसैलाई नदिने गरी विभेद गर्न मिल्दैन । त्यसैले हामी सबै खालका कन्ट्याक्ट डकुमेण्ट र तथ्यांकहरूको अध्ययन गरिरहेका छौं ।’
कतिपय समस्या समाधानका लागि सार्वजनिक खरिद ऐन नै संशोधन गर्नुपर्ने देखिएकाले निर्णय प्रक्रियामा केही ढिलाइ भएको उनले स्पष्ट पारे । मन्त्री लम्सालले निर्माण व्यवसायीहरूलाई सरकारले मूल्यवृद्धि दिनेमा आश्वस्त पार्दै काम नरोक्न र निर्माण कार्यलाई गति दिन आग्रह गरे ।
सरकार विकासका सवालमा कठोर नरहेको भन्दै उनले व्यवसायीहरूलाई ढुक्क भएर काममा फर्कन आह्वान गरे । विशेषगरी सडकको ‘बेस’ (आधार) तयार भएका ठाउँमा तत्काल कालोपत्रे नगरे वर्षायाममा राज्य र व्यवसायी दुवैलाई ठूलो क्षति हुनेतर्फ उनले ध्यानाकर्षण गराए ।
मन्त्री लम्सालले सार्वजनिक खरिद ऐन र नियममा रहेका छिद्रहरूलाई व्यावहारिक रूपमा सम्बोधन गर्दै विकास निर्माणलाई गुणस्तरीय र समयसापेक्ष बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।