माइतीघर–त्रिपुरेश्वर फ्लाइओभर बन्ने, एक किलोमिटरको फ्लाईओर बनाउँन जाइकासँग सम्झौता

काठमाडौं २२, मंसिर । राजधानीको व्यस्त माइतीघर मण्डलादेखि त्रिपुरेश्वर चोक जोड्न ‘फ्लाइओभर’ निर्माण हुने भएको छ । एक किलोमिटर ‘फ्लाइओभर’ निर्माणका लागि सडक विभाग र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बीच सहमति भएको छ। सडक विभाग वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले ‘फ्लाइओभर’को निर्माण सन् २०१७ बाटै सुरु हुने जानकारी दिए । जापान सरकारको अनुदानमा ‘फ्लाइओभर’ बन्न लागेको हो । ‘जापान सरकार माइतीघर मण्डलादेखि त्रिपुरेश्वर चोकसम्मको ‘फ्लाइओभर’ निर्माण गर्न सहमत भएको छ, यसका लागि जाइकासँग सहमति भएको छ,’ उपमहानिर्देशक श्रेष्ठले भने, ‘उनीहरूले ‘फ्लाइओभर’को प्रि–फिजिबिलिटी अध्ययन सकेर रिपोर्ट बुझाइसकेका छन् । सबै काम योजनाअनुसार अघि बढे ‘फ्लाइओभर’ निर्माण २०१७ बाटै सुरु हुनेछ ।’ अहिलेकै अनुपातमा सवारीसाधन बढ्ने, तर राजधानीको सडक आधुनिकीकरण नगर्ने हो भने सन् २०३० सम्ममा उपत्यकाका सडकमा सवारीसाधन गुड्ने ठाउँ अभाव हुनेछ । उपमहानिर्देशक श्रेष्ठका अनुसार थापाथली, माइतीघर मण्डला र त्रिपुरेश्वरका सडकले अबको १० वर्षपछि प्रतिघन्टा पाँच हजार यात्रुलाई सेवा दिनुपर्ने हुन्छ । अहिले सडक विस्तार नहुने हो भने १० वर्षपछि थापाथली, माइतीघर मण्डला र त्रिपुरेश्वरका सडक ‘मृत्यु’को अवस्थामा पुग्ने उनको दाबी छ । सोही कारण फ्लाइओभरको आवश्यकता देखिएको उनले बताए । ‘अबको १०–१२ वर्षमा पनि थापाथली, माइतीघर मण्डला र त्रिपुरेश्वरको सडक विस्तार नहुने हो भने राजधानीवासीले भयावह ट्राफिक समस्या भोग्नुपर्ने अवस्था आउँछ । सोही विषयलाई मध्यनजर गर्दै फ्लाइओभरको धारणा ल्याइएको हो,’ महाशाखाका उपमहानिर्देशक श्रेष्ठले भने । नयाँ पत्रिका दैनिकबाट ।

पुनर्निर्माणमा खटिएकालाई ७५ प्रतिशत भत्ता उपलब्ध गराउने कार्य अघि बढ्दै

काठमाडौं, २१ मंसिर । भूकम्प अति प्रभावित विभिन्न जिल्लामा खटिएका प्राविधिकहरुले फिल्ड भत्ता, बिमा, सञ्चार, यातायात सुविधा लगायतका माग राखी कामकाज रोक्ने गतिविधि सम्बन्धी समाचारप्रति राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण भएको छ । पुननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकबाट पुनर्निर्माणमा खटिएका जनशक्तिहरुलाई मापदण्ड र सूचकका आधारमा बढीमा ७५ प्रतिशतसम्म प्रोत्साहन भत्ता उपलब्ध गराउन निर्णय भई सो को कार्यान्वयनका लागि गृहकार्य अघि बढिसकेको छ । सीमित स्रोत र साधनका बीचपनि पुनर्निर्माणमा खटिएका जनशक्तिहरुलाई कामप्रति जिम्मेवार, जागरुक र प्रोत्साहित गर्न अतिरिक्त सुविधा दिने निर्णय कार्यान्वयन हुने क्रममा रहेको अवस्थामा सेवा सुविधाको विषयलाई लिएर पुनर्निर्माणको काममा बाधा व्यवधान नगर्न, नगराउन र भूकम्प प्रभावित जनसमुदायको उत्थानका लागि पूर्ण रुपमा समर्पित भई पेशागत मर्यादाको समेत ख्याल राखी आ–आफ्नो जिम्मेवारी वहन गर्न प्राधिकरण सम्बन्धित सबै कर्मचारीहरुलाई अनुरोध गर्दछ ।

भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि २८ अर्ब रुपैयाँ निकासा

काठमाडौं, २१ मंसिर । भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई थप रकम निकासा गरेको छ ।  मंसिर २० गतेको उपप्रधान तथा अर्थमन्त्री स्तरको निर्णय अनुसार अर्थमन्त्रालयले पुनर्निर्माण कोषको रकम परिचालन गर्ने गरी निजी आवास अनुदान वितरण गर्न थप २८ अर्ब रुपैयाँ निकासा गरेको छ । यस्तै भूकम्प प्रभावित जिल्लाहरुमा विद्यालय भवन पुनर्निर्माणका लागि ४ अर्ब रुपैयाँको सिमामा रही विद्यालय पुनर्निर्माण कार्य अघि बढाउन स्रोतको सुनिश्चितता प्रदान गरिएको छ । कार्य प्रगतिका आधारमा थप रकम निकासा गर्दै जाने अर्थ मन्त्रालयले जनाएको छ । सरकारी भवनहरु निर्माण गर्न गप ७५ करोड रुपैयाँ र जग्गा जग्गा मुआब्जा वितरण गन २५ करोड रुपैयाँ गरी नेपाल सरकार स्रोत तर्फको थप १ अर्ब रुपैयाँको पुनर्निर्माण कार्यक्रमहरु सञ्चालन गर्न गराउन सहमति दिएको छ । यसबाट सरकारी विद्यालयहरु, सरकारी भवन तथा ग्रामीण सडकको पुनर्निर्माणमा स्रोत साधनको परिचालन गराउन सहज भएको छ ।