कागजमा कालोपत्रे देखाएर करोडौँ भ्रष्टाचार, ५ किमी कालोपत्रे गर्न ३ वटा ठेकेदार प्रगति भने शून्य

काठमाडौं २६, मंसिर । सिरहाको लहान बजारलाई भारतसँग जोड्ने लहान–ठाडी सडकमा कागजमा कालोपत्रे देखाएर करोडौँ भ्रष्टाचार गरिएको छ। लहान अस्पताल चोकदेखि १८ किलोमिटर लम्बाइको सो सडकको पाँच किलोमिटर खण्ड तीन वर्षअघि कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय लहानको रेकर्डमा छ। वास्तविकता भने अर्कै छ। सो खण्डको एक किलोमिटर सडक हालसालै कालोपत्रे गरिएको छ भने अन्य भाग जीर्ण नै छ। तर, सडक कालोपत्रे गरिसकेको भनेर तीन करोड रुपैयाँ निकासा भएको छ। १८ किलोमिटरमध्ये पूर्व–पश्चिम लोकमार्गको लहानखण्डतर्फको पाँच किलोमिटर सडक पटक–पटक गरी तीनपटकको ठेक्का प्रक्रियाबाट कालोपत्रे गरिएको सडक डिभिजन कार्यालयका सूचना अधिकृत इन्जिनियर चितरञ्जन रानाले बताए। आर्थिक वर्ष ०७१(७२ र ०७२(७३ मा तीनवटा निर्माण कन्स्ट्रक्सनले सो सडक कालोपत्रे गरेको र त्यसबापत करिब तीन करोड रुपैयाँ निकासा लिएको रेकर्डमा देखिन्छ। तर, स्थानीय भन्छन्, ‘कालोपत्रे नभएको सडकमा कागजमा मिलाएर करोडौँ भ्रष्टाचार गरिएको छ।’ सडक विभागले मिथिला सडक क्षेत्रमा विनियोजन गरेअनुसार सो सडक निर्माणका लागि सडक डिभिजन कार्यालय लहानमा बजेट पठाउने गरेको छ। सोही बजेटअन्तर्गत आर्थिक वर्ष ०७१(७२ मा सडक डिभिजन कार्यालय लहानले रामविकास जेबी काठमाडौं नामको निर्माण कम्पनीलाई ठेक्का दिएको थियो। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत लहानको अस्पताल चोकदेखि १ किलोमिटर सडक पिच गर्न ५० लाख ८९ हजार ४ सय ६६ रुपैयाँ सो कम्पनीले कबोल गरेको थियो। सडक डिभिजनका सूचना अधिकृत इन्जिनियर रानले सम्झौताअनुसार ठेक्काको भुक्तानी भइसकेको छ। तर, काम भने भएकै छैन। नयाँ पत्रिका दैनिकबाट ।

भवन भट्टद्धारा पूर्वाधार विकास कम्पनीबाट राजीनामा, लालकृष्ण केसीको हातमा सुरङमार्ग

काठमाडौं, २४ मंसिर । काठमाडौं —हेटौंडा सुरुङमार्गको निर्माण गर्ने जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबाट भवन भट्टले राजीनामा दिएका छन् ।  विहीबार बसेको सञ्चालक समितिको बैठकले भट्टको राजीनामा स्वीकृत गरेको सञ्चालक सुवासचन्द्र ठकुरीले जानकारी दिए । भट्टले १० महिनादेखि पूर्वाधार विकास कम्पनीको अध्यक्ष सम्हाल्दै आएका थिए । ठकुरीका अनुसार भट्टको राजीनामा स्वीकृतपछि बोर्डले अध्यक्षमा लालकृष्ण केसीलाई नियुक्त गरेको छ । भट्टले एनआरएनमा सक्रिय रहनुपर्ने र विदेशमा रहेको व्यवसायमा व्यस्त रहनुपर्ने बाध्यता देखाएर राजीनामा दिएको ठकुरीले जानकारी दिए । उनका अनुसार भट्ट कम्पनीको सञ्चालक भने बस्नेछन् र उनले विदेशी लगानी ल्याउन सघाउने छन् । यसअघि माघ २९ गते बसेको बोर्ड बैठकले केसीलाई सहअध्यक्ष नियुक्त गरेको थियो । तर विभिन्न विवादहरु आएपछि उनलाई सहअध्यक्षबाट हटाइएको थियो । तर, तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई पुनर्बहाली गरेको थियो ।

एक महिना भित्रै यसरी सुरु हुँदैछ बाहिरी चक्रपथको निर्माण(फोटो फिचरसहित)

काठमाडौं, २४ मंसिर । बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको काम आगामी एक महिना भित्रै सुरु हुने भएको छ । कुल ७१ दशमलब ९३ किलोमिटर लामो बाहिरी चक्रपथ सडक आयोजनाले पाइलट प्रोजेक्टका रुपमा चोभार–सतुंगल खण्डको ६ दशमलब ६१८ किलोमिटर सडकको काम थाल्न लागेको हो । ‘एक महिना भित्र चोभार–सुंगल खण्डको जग्गा अधिग्रहण प्रक्रिया सुरु हुन्छ, त्यसका लागि सो खण्डको डिपिआर स्विकृत गराउन मन्त्रालयमा पठाईसकेका छौं, १५ दिनभित्रै स्विकृत हुने जवाफ आएको छ’, नव नियुक्त बाहिरी चक्रपथ आयोजनाका प्रमुख दिपक श्रेष्ठले विकासन्युजसँग भने । श्रेष्ठले मंसिर १० गते आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका थिए भने १२ गते जग्गा अधिकग्रहण गर्ने निर्णय गराएका थिए । उनले दुई बर्ष भित्रै सो खण्डको काम सक्ने र अन्य क्षेत्रका लागि खण्ड खण्डमा बिभाजन गरेर एकै पटक थाल्ने जानकारी दिए । काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत रहेको आयोजनाले जग्गा एकिकरणको काम गर्नेछ भने सडक बिभागले सडक निर्माणको काम गर्नेछ । आयोजनाले चालु आर्थिक बर्षका लागि एक करोड बजेट पाएको छ । ‘एक करोड बजेट बिनियोजन भएको छ, त्यसले काम सुरु गछौं, अर्थमन्त्रालयले २५ करोडसम्म दिन सक्छौं भनेको छ’, आयोजना प्रमुख श्रेष्ठले भने । उता, सडक विभागले पनि सोही आयोजनाका लागि ४ करोड बजेट पाएको छ । विभागका उप महानिर्देशक दयाकान्त झाले जग्गा अधिग्रहणको काम सुरु हुने वित्तिकै आफुहरुले सडक निर्माण थाल्ने बताए । बाहिरी चक्रपथ आयोजनाको ५८ किलोमिटर क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) सन २००६ सालमै तयार भएको थियो । टोखादेखि गोकर्णेश्वरसम्मको १२ किलोमिटर क्षेत्रको डिपिआर भने अझै बन्न सकेको छैन् । आयोजनाले एक महिना भित्रै चोभारदेखि सतुंगल क्षेत्रमा जग्गाको कित्ताकाट तथा नयाँ भवन निर्माणमा रोक लगाउन लागेको हो । सो खण्डको ८ हजार ९ सय ५६ रोपनी जमिन अधिग्रहण गर्नेछ । सो क्षेत्रफलमा ४ मिटरको सडक १३ दशमलब ९९ किलोमटिर, ६ मिटरको सडक शुन्य दशमलब ४५ किलोमिटर, ८ मिटरको सडक ७९ दशमलब ०५ किलोमिटर र ११ मिटरको सडक १७ दशमलब १३ किलोमिटर निर्माण हुनेछ । ‘पाइलट प्रोजेक्टका रुपमा अघि सारिएको चोभार सतुंगल क्षेत्रले कुल आयोजनाको २६ दशमलब ४९ प्रतिशत हिस्सा ओगट्छ, भूकम्पले कम क्षति गरेको भुभागका रुपमा यो क्षेत्रबाट काम थाल्न लागिएको हो’, आयोजनाका शाखा अधिकृत ध्रुव प्रसाद सापकोटाले विकासन्युजसँग भने । बाहिरी चक्रपथ आयोजनाको निर्माण आरम्भ भएको १० बर्षभित्र सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । त्यसका लागि एक लाख रोपनी जमिन अधिग्रहण गर्नुपर्नेछ । बाहिरी चक्रपथ आयोजनाको मुल सडक ५० मिटर चौडा हुनेछ । मुल सडकको दायाँ र बायाँ क्रमशः २५०/२५० मिटर जमिन अधिग्रहण गरिनेछ । सो २५० मिटर दायाँ बायाँको जमिनमा बनेका भौतिक पुर्वाधार भत्काइनेछ भने त्यसको क्षतिपुर्ति सम्बन्धित नागरिकले पाउनेछन् । यसरी तयार पारिएको खाली जमिनमा जग्गा एकिकरणको काम गरिनेछ । जस अनुसार जमिन अधिग्रहणमा परेका सबै नागरिकले केहि हिस्सा बाटोका लागि योगदान गर्नुपर्नेछ भने बाँकी जमिन फिर्ता प्राप्त गर्नेछन् । ‘एक परिवारले ७ दशमलब ८ प्रतिशत जमिन सडकका लागि योगदान गर्नुपर्छ, बाँकी जमिन जग्गा एकिकरणको रोडम्याप अनुसार फिर्ता हुन्छ, कुनै पनि नागरिकको उठिबास लाग्दैन’, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले भने । चार लेनको सडकमा फुटपाथ, साइकल लेन र ठुला सवारीका लागि छुट्टै लेनको समेत व्यवस्था गरिएको हुनेछ । यसरी निर्माण हुने बाहिरी चक्रपथ आयोजनाले उपत्यकाको कुल जमिनको १० प्रतिशतलाई व्यवस्थित शहरीकरणमा रुपान्तरण गर्ने आयोजनाका शाखा अधिकृत सापकोटाले जानकारी दिए । यो सडकमा चार वटा फ्लाईओभर समेत निर्माण गरिनेछ । जसमा अरनिको राजमार्ग, त्रिभुवन राजपथ, फास्ट ट्रयाक, पासाङल्यामु सडकमा फ्लाईओभर निर्माण हुनेछ ।