३ लाख भूकम्प पीडितलाई चैत भित्रै ५० हजार

काठमाडौं, ५ चैत । सरकारले ११ जिल्लाका तीन लाख भूकम्प पीडितलाई चैत भित्रै ५० हजार उपलब्ध गराउने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले डिजिटल तथ्यांक संकलन सम्पन्न भएका तीन लाख भूकम्प पीडित परिवारलाई घर बनाउन पहिलो किस्ता वापतको ५० हजार वितरण गर्ने तयारी अन्तिम चरणमा पुर्याएको हो । ‘तथ्यांक संकलन सम्पन्न गरिएका ११ जिल्लाका भूकम्प पीडितलाई चैत भित्रै पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ वितरण सुरु गर्ने योजना बनेको छ ।’, प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले विकासन्युजसँग भने । भूकम्प पीडितको डिजिटल तथ्यांक संकलन गरिरहेको केन्द्रिय तथ्यांक विभागले हालसम्म तीन लाख पीडितको तथ्यांक संकलन गरिसकेको छ । विभागका उप महानिर्देशक रुद्र सुवालले हालसम्म तीन लाख पीडितको तथ्यांक संकलन सम्पन्न भएको र चैत भित्रै सबैको तथ्यांक संकलन गरिसक्ने जानकारी दिए । विभागले भूकम्प पीडितको डिजिटल तथ्यांक संकलनका लागि १५ सय जना इञ्जिनियरको टोली ११ जिल्लामा परिचालन गरिरहेको छ । सो कामका लागि विश्व बैंकले आर्थिक सहयोग उपलब्ध गराएको छ । पुननिर्माण प्राधिकरणले फागुन ३० गते दोलखाको सिंगटीबाट भूकम्प पीडितलाई घर बनाउन ५० हजार वितरण आरम्भ गरेको थियो । हालसम्म ७८ जना भूकम्प पीडितले पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ पाईसकेका छन् । भूकम्प पीडितलाई ५० हजार, ८० हजार र ७० हजार गरि तीन किस्तामा दुई लाख उपलब्ध गराउने व्यवस्था छ । त्यसका लागि पीडितले बैंक एकाउण्ट अनिवार्य गरिएको छ ।

३० गतेदेखि भूकम्प पीडितलाई घर बनाउन ५० हजार, बैंक खाता अनिवार्य

काठमाडौं, २८ फागुन । सरकारले फागुन ३० गतेदेखि भूकम्प पीडितलाई घर बनाउन पहिलो किस्ताको ५० हजार रुपैंयाँ वितरण गर्न लागेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले दोलखाको सिंगटीबाट पाईलट प्रोजेक्टका रुपमा भूकम्प पीडितलाई पहिलो किस्ता वापत ५० हजार रुपैंयाँ वितरण गर्न लागेको हो । ३० गते सिंगटी स्रोत केन्द्रका लामीडाडा र लादुक गाबिसका २८ सय घरधुरीले पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ प्राप्त गर्नेछन् । लामीडाडा र लादुमका २८ सय घर धुरीलाई १४ करोड रुपैंयाँ वितरण गरिनेछ । प्राधिकरणले दुबैं गाबिसका भूकम्प पीडितहरुलाई बैंक खाता खोल्न लगाईसकिएको छ । घर निर्माणका लागि उपलब्ध गराईने रकम सिधै पीडितको बैंक खातामा जम्मा हुने व्यवस्था गरिएको छ । ‘सिंगटी स्रोत केन्द्रका सबै पीडितलाई बैंक खाता खोल्न भनिसकेका छौं, सबैले खाता खोलिसकेका छन, फागुन ३० गते सिंगटीका भूकम्प पीडितको बैंक खातामा ५० हजार जम्मा हुन्छ ।’ प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीले भने । यस अघि फागुन २० गते नै सिंगटीका भूकम्प पीडितलाई घर बनाउन ५० हजार रुपैंयाँ उपलब्ध गराउने भनिएको थियो । तर प्राबिधिक तयारी नपुगेकाले १० दिन ढिलो भएको हो । प्राधिकरणका कामु सचिव अधिकारीका अनुसार डिजिटल तथ्यांक संकलन सम्पन्न भएका सबै स्रोत केन्द्रहरुमा पहिलो किस्ताको रकम तत्कालै बाढ्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ । ‘हितग्राहीको तथ्यांक संकलन भएका सबै स्रोत केन्द्रहरुमा द्रुतगतिमा पहिलो किस्ताको रकम वितरण आरम्भ हुन्छ ।’ कामु सचिव अधिकारीले भने । हाल सरकारले भूकम्प पीडितको डिजिटल तथ्यांक संकलनको काम केन्द्रिय तथ्यांक बिभाग मार्फत गरिरहेको छ । सरकारले भूकम्प पीडितलाई घर बनाउने तीन किस्तामा दुई लाख रुपैंयाँ उपलब्ध गराउँदैछ । त्यसको पहिलो किस्ता ५० हजार, दोश्रो किस्ता ८० हजार र तेश्रो तथा अन्तिम किस्ता वापत ७० हजार रुपैंयाँ प्रदान गरिनेछ । सरकारले भूकम्प पीडितलाई दिने राहत तथा पुननिर्माण रकम सम्बन्धी कार्यबिधी फागुन १९ गते पारित गरेको थियो । अब भूकम्प पीडितले घर बनाउन सरकारले तयार पारेका २५ वटा नक्साकै भर पर्नु पर्दैन् । भूकम्प प्रतिरोधी भवनको नक्सा तयार गरेर स्थानिय निकायबाट स्विकृत गराएर आफु अनुकुलको भवन निर्माण गर्न सकिनेछ ।

सुरुङ मार्ग निर्माण गर्न सरकारले १० अर्ब लगानी गर्ने तयारी, नयाँ वर्षसँगै निर्माण थालिने

काठमाडौं, २० फागुन । नेपाल पूर्वाधार विकास कम्पनीले निर्माण गर्ने सुरुङ मार्गमा सरकारले १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । सुरुङ मार्ग निर्माण गर्न निजी क्षेत्रबाट मात्र लगानी नजुटेपछि कम्पनीका प्रवद्र्धकहरुले सरकारी लगानी जुटाउने प्रयास थालेका छन् । भवन भट्ट निजी क्षेत्रको मेगा प्रोजेक्टका रुपमा हेरिएको सो मार्ग निर्माणका लागि विश्वनियता जगाउन सरकारसँगको साझेदारीको प्रयास थालिएको पूर्वाधार विकास कम्पनीका सञ्चालक सुभाषचन्द्र ठकुरीले बताए । उनका अनुसार सरकारले १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी भईरहेको छ । ‘प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलसँग पटक पटक छलफल गरिसकेका छौं, उहाँहरुले सकारात्मक हुनुहुन्छ ।’ ठकुरीले भने । ठकुरी मकवानपुरबाट प्रत्यक्ष निर्वाचित नेकपा एमाले सांसद समेत हुन् । उनैले सो मार्गमा सरकारी लगानी भित्र्याउन पहल गरिरहेका छन् । अर्थमन्त्रालयसहित सरकारको नेतृत्व एमालेले गरेको अवस्थामा एमाले सांसदले उक्त मार्गमा सरकारी लगानी गराउन पहल गरेका छन् । सो मार्ग निर्माणका लागि आवश्यक पर्ने ३५ अर्ब लगानी जुट्ने आधार तयार गरिदिन पनि सरकार आफैं लगानी कर्ता बन्न लागेको हो । ‘सरकार आफैं लगानी कर्ताका रुपमा आएपछि त्यसको विश्वसनियता बढ्छ र बाँकी रकम हामी आफैं जुटाउँछौं’ ठकुरीले विकासन्युजसँग भने । कम्पनीमा संस्थापक अध्यक्ष कुशकुमार जोशीले राजीनामा दिएपछि गैर आवासिय नेपाली संघ(एनआरएन)का उपाध्यक्ष भवन भट्ट अध्यक्ष बनेका छन् । माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले जोशीको राजीनामा स्विकृत गर्दै भट्टलाई अध्यक्ष बनाएको थियो । माघ २९ गते नव नियुक्त अध्यक्ष भट्टले पहिलो बैठक मार्फत लगानी थप्ने निर्णय गराएका छन् । सो बैठकमा अध्यक्ष भवन भट्टले थप पाँच करोड रुपैंयाँ तत्काल थप्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै, कुश कुमार जोशी र लालकृष्ण केसीले समेत एक एक करोड लगानी थप्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सुभाषचन्द्र ठकुरी भवन भट्टले एक अर्बको लगानी प्रतिवद्धता व्यक्त गर्दै यस अघि नै ९ करोड ६० लाख लगानी गरिसकेका छन् । पूर्वाधार विकास कम्पनीमा अब भट्टको लगानी १४ करोड ६० लाख पुग्नेछ । नयाँ बर्षदेखि निर्माण आरम्भ कम्पनीले सरकारी लगानी जुटाएर नयाँ वर्ष अर्थात २०७४ सालको सुभारम्भसँगै निर्माण थाल्ने तयारी गरिरहेको छ । ‘२०७३ सालले संबिधान दियो, ७४ सालबाट विकास र समृद्धिको यात्रा सुरु हुन्छ र त्यसको सुरुवात सुरुङ मार्गको निर्माणसँगै हुन्छ’ ठकुरीले भने । उनले राजधानी र हेटौडालाई जोड्ने सुरुङ मार्गले मुलुकको समृद्धिको ढोका खोल्ने दावी समेत गरे । काठमाडौं र हेटौडालाई जोड्ने सबैभन्दा छोटो हुने यो मार्ग निर्माणले ढुवानी लागतमा उल्लेख्य कटौति हुने र तराईको उत्पादन तथा तराई क्षेत्र हुदै आयात गरिने बस्तुको मूल्यमा सकारात्मक प्रभाव पार्ने आँकलन गरिएको छ ।