मर्मतपछि अरनिको राजमार्ग नेपाललाई हस्तान्तरण, ७६ करोड रुपैयाँमा निर्माण सम्पन्न
काठमाडौं । भूकम्पले बिग्रिएको अरनिको राजमार्ग चीन सरकारले मर्मतसम्भार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । काठमाडौंदेखि सिन्धुपाल्चोकको तातोपानीसम्म ११४ किमी सडकको पाँच स्थानमा भूकम्पले क्षति भई यातायात अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि चीनको ७६ करोड रुपैयाँ बराबरको अनुदान सहयोगमा मर्मत गरी शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव धनबहादुर तामाङलाई नेपालका लागि चिनियाँ राजदूत यु हङले मर्मतसम्बन्धी कागजात हस्तान्तरण गरेका छन् । चीनको सरकारी निर्माण कम्पनी चाइना रेल्वे सिसिजु ग्रुप कर्पोरेसनले सडक मर्मत गरेको थियो । राजमार्गको ८३, १००, १०३, ११२ र ११४ किमीमा मर्मत गरिएको हो । मन्त्री रमेश लेखक र राज्यमन्त्री सीताराम महतोको उपस्थितिमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सचिव तामाङले नेपाल र चीन जोड्ने हिमालय राजमार्ग मर्मतमा निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । राजदूत हङले भूकम्पपछि नेपाललाई चीनले गरेको सहयोगमध्ये राजमार्ग मर्मत पनि एक भएको बताए। मन्त्रालयका सहसचिव विष्णुओम वादेका अनुसार मर्मत गरिएका सडकबाहेक अन्यत्र पनि थप मर्मत गर्नुपर्ने आवश्यकता छ । बाँकी मर्मतका लागि चीनसँग सहयोग माग गर्ने वा सरकार आफैँले गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिएका छन् । अरनिको राजमार्ग सन् १९६० मा चीन सरकारकै अनुदान सहयोगमा निर्माण भएको थियो । भूकम्पपछि विभिन्न स्थानमा क्षति पुगेको राजमार्ग मर्मत भए पनि नेपाल र चीनबीच व्यापार हुँदै आएको खासा नाका भूकम्पपछि बन्द छ । राजमार्ग मर्मत भई पूर्ण रुपमा सञ्चालन भएपछि नाका पनि खुल्ने आशा गरिएको छ । रासस
नारायणगढ- मुग्लिन सडकखण्ड निर्माणमा ढिलाइ, हालसम्म ३८ प्रतिशत काम सम्पन्न
चितवन । लक्ष्यअनुरुप काम हुन नसक्दा नारायणगढ-मुग्लिन सडकखण्ड विस्तारमा थप एक वर्ष लाग्ने भएको छ । सम्झौताअनुसार निर्माण कम्पनीले आगामी अप्रिल महिनासम्ममा काम सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म ३८ प्रतिशतमात्रै काम भएको छ । यसअघि उक्त सडक विस्तारका लागि भूकम्प र नाकाबन्दीका कारण देखाएर दुईपटकसम्म समय थप गरिसकिएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले सम्झौताअनुसार आउँदो अप्रिल महिनामा काम सम्पन्न गर्नुपर्ने हुन्छ । यद्यपि तीनवटा खण्ड बनाएर विस्तार थालिएको सो सडकखण्डका ठेकेदार कम्पनीले विभिन्न कारण देखाउँदै मिति थप माग गरेपछि पहिलो दुई खण्डमा सात महिना र तेस्रो खण्डमा आठ महिना समय थप गरिसकिएको छ । दुईपटक गरेर मिति थप गरिएको छ, प्रमुख यादवले भने – आँपटारीदेखि दासढुङ्गासम्मको सडक खण्ड विस्तारमा सात महिना थप गरी सन् २०१७ अगस्ट २५ मा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ । दासढुङ्गादेखि सिमलतालसम्मको दोस्रोखण्डमा सन् २०१७ नोभेम्बर २८ मा र सिमलतालदेखि मुग्लिनसम्मको तेस्रो खण्डको सन् २०१७ डिसेम्बर २१ मा काम सम्पन्न गर्ने गरी म्याद थपिएको प्रमुख यादवले बताए । सो सडक विस्तारका लागि सन् २०१५ अप्रिल १९ तारिखबाट काम थालिएको हो । उक्त ३३ किलोमिटर सडक फराकिलो बनाउने कामका लागि आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका छन् । आयोजनाका इञ्जिनियर शिव खनालले दिउँसोमा बाटो रोकेर काम गरेको भए पनि अत्यावश्यक सवारी साधन र कामको प्रकृति जटिल भएकाले पनि सोचेअनुरुप काम हुन नसकेको बताए । सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ । यो सडक एसियन हाइवेअन्तर्गत पर्छ । चीन हुँदै नेपालको कोदारी, काठमाडौं, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुज्जफरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । काठमाडौंबाट तराईका विभिन्न जिल्ला बाहिरिने र भित्रिने मुख्य मार्ग भएकाले यो सडक व्यस्त रहने गर्दछ । दैनिक आठ हजारको हाराहारीमा उक्त सडक हुँदै सवारी साधन आवतजावत गर्ने गर्दछन् । विश्व बैंकको रु दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । निर्माणमा ढिलाइ हुँदा धुलो, सडक जामलगायतका कारण यात्रुले सास्ती व्यहोर्दै आएका छन् । रासस
मलेसियाबाट नेपालसम्म रेलमार्गको प्रस्ताव, दुईदेशलाई रेलमार्गबाट जोड्न मलेसिया सकारात्मक
काठमाडौं । राजधानीमा बिहीबारबाट सुरु भएको नेपाल लगानी सम्मेलनमा मलेसियाबाट नेपालसम्म रेल सञ्जाल विस्तार गर्ने प्रस्ताव आएको छ। मलेसियाका पूर्वयातायातमन्त्री डा.एम केभासले क्वालालम्पुरबाट काठमाडौंसम्म रेल सञ्जाल विस्तार गर्न प्रस्ताव गरेका हुन्। पूर्वाधारमा ठूलो रकम खर्चिनुपर्ने बेला आएको बताउँदै उनले दुई देशलाई रेल सञ्जालले जोड्न मलेसिया सकारात्मक रहेको बताए। उनका अनुसार मलेसियाबाट चीनको सिगात्से हुँदै काठमाडौंसम्म रेल ल्याउन सकिन्छ। पच्चीस वर्षपछि नेपालमा भएको लगानी सम्मेलनका मुख्य वक्ता भारतीय वित्तमन्त्री अरुण जेट्लीले नेपालको प्राकृतिक स्रोतसाधनमा लगानीको ठूलो अवसर रहेको उल्लेख गर्दै ऊर्जा, कृषि, पर्यटन र पूर्वाधारका क्षेत्रमा विदेशी लगानी भित्र्याउन सुझाव दिएका छन्। जेट्लीले नेपालको आर्थिक विकासका लागि ठूलो लगानी आवश्यक रहेकोसमेत औंल्याए। ‘भारतले खुला अर्थनीति अवलम्बन गर्यो । निजी क्षेत्रलाई लगानीको बाटो खुला गर्यो । विदेशी लगानीलाई सहज बनायो। स्वदेशी(विदेशी लगानी बढेपछि भारत आर्थिक विकासमा अगाडि बढ्न सकेको होु, जेट्लीले भने, ‘नेपालको समृद्धिका लागि पनि बढीभन्दा बढी लगानीको आवश्यकता छ।ु लगानी सम्मेलनले नेपालमा लगानीको वातावरण बनाउने उनको विश्वास छ। साढे दुई सय विदेशी लगानीकर्तासहित हजारजनाभन्दा बढी सहभागी सम्मेलनको उद्घाटन राजधानीमा एक भव्य समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए। प्रधानमन्त्री दाहालले संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै सरकारले मुलुकको समृद्धिका लागि विदेशी लगानी भित्र्याउन उपयुक्त वातावरण बनाएको बताए। लामो समयको द्वन्द्वपछि मुलुक विकासको चरणमा प्रवेश गरेको उल्लेख गर्दै उनले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वानसमेत गरे। ‘मुलुकमा लगानीमैत्री वातावरण बनाउन सरकार हरसम्भव प्रयासरत छु, उनले भने, ‘नेपाललाई लगानीको उत्कृष्ट गन्तव्य बनाउन लगानी सम्मेलन गरिएको हो। उनले विदेशी लगानीका लागि सरकारले सबै प्रक्रिया सहज बनाइदिने प्रतिबद्धता जनाए। आर्थिक मुद्दामा सबै राजनीतिक दलको एकमत रहेको हुँदा लगानी सुरक्षाका विषयमा निश्चिन्त रहन उनको आग्रह छ। अन्नपूर्ण पोस्टबाट ।