आठ महिनामा ऊर्जा क्षेत्रमा ६४ अर्ब लगानी प्रतिवद्धता, कुल लगानी एक खर्ब १८ अर्ब
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी भएको छ । उक्त अवधिमा ऊर्जा क्षेत्रमा ६४ अर्ब ११ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको उद्योग विभागको तथ्यांक छ । उक्त अवधिमा ऊर्जा क्षेत्रमा १४ वटा उद्योग दर्ता भएका छन् भने गएको वर्षको सोही अवधिमा १३ वटा उद्योग दर्ता भएका थिए । गएको वर्ष २०७२/७३ को दोस्रो चौमाससम्म ऊर्जा क्षेत्रमा १८ अर्ब ३४ करोड लगानी प्रतिवद्धता भएको थियो । चालु आवको सो अवधिमा भएको लगानी गएको आवको सोही अवधिको तुलनामा ४५ अर्ब ७७ करोडले बढी हो । ऊर्जा क्षेत्रमा लगानी गरेर प्रशस्त प्रतिफल प्राप्त गर्ने र सरकारबाट समेत सुविधा पाउने भएकाले यस क्षेत्रमा लगानी बृद्धि भएको हो । उक्त क्षेत्रमा भएको लगानी कुल लगानी प्रतिवद्धताको ५४.३१ प्रतिशत हो । चालु आवको दोस्रो चौमाससम्म उद्योग क्षेत्रमा एक खर्ब १८ अर्ब ३ करोड लगानी प्रतिवद्धता भएको छ । गएको वर्ष यस्तो प्रतिवद्धता ८४ अर्ब ७३ करोडमात्र थियो । चालु आवको यस समीक्षा अवधिसम्ममा लगानीकर्ताको लागि दोस्रो लगानीको क्षेत्र उत्पादनमूलक क्षेत्र बनेको छ । उद्योग दर्ता र लगानीको आधारमा विश्लेषण गर्दा चालु आवमा यस क्षेत्रको लगानी खस्किएको छ । उत्पादनमूलक क्षेत्रका यो अवधिमा २२ अर्ब ८ करोड लगानी भएको छ । गएको वर्षको सो अवधिमा यस क्षेत्रमा ५३ अर्ब ४८ करोड लगानी भएको थियो । गएको वर्षको तथ्यांकअनुसार चालु आवमा उत्पादनमूलक क्षेत्रमा खासै लगानी हुन सकेको देखिदैन । लगानी खस्कदो अवस्था रहेको विभागले जानकारी दिएको छ । यस वर्ष सेवा र पर्यटनमूलक दुबै उद्योगमा लगानी गएको आवको समीक्षा अवधिको तुलनामा लगानी बढेको छ । चालु आवमा सेवामूलक उद्योगमा १७ अर्ब १९ करोड लगानी भएको छ भने गएको वर्षको सो अवधिमा ६ अर्ब १० करोडमात्र लगानी भएको थियो । पर्यटनमूलक उद्योगमा क्रमशः १० अर्ब ५२ करोड र ६ अर्ब ३० करोड लगानी भएको उद्योग विभागको तथ्याङ्क छ । निर्माण क्षेत्रमा एउटैमात्र एक अर्ब लगानीको उद्योग दर्ता भएको छ । गएको आवमा पनि यस क्षेत्रमा खासै लगानी जुट्न सकिरहेको छैन । यस क्षेत्रमा कार्य सम्पादन गर्न अन्य उद्योगमाभन्दा झझण्ट बढी भएकाले पनि लगानी कर्ताको यस प्रति आकर्षण बढ्न नसकेको हो । गएको वर्ष यो क्षेत्रमा १४ करोडमात्र लगानी भएको छ । कृषि तथा वनजन्य क्षेत्रमा पनि यस वर्ष ३ अर्ब लगानी भएको छ । गएको वर्ष यस्तो लगानी ३४ करोडको मात्र थियो ।
घारखोला जलविद्युत् आयोजना निर्माण शुरु, दुई अर्ब ४१ करोड रुपैयाँ लागत
म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको घारमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । म्याग्दी हाइड्रोपावर कम्पनीले दुई अर्ब ४१ करोड ५८ लाख रुपैयाँ लागतको सो आयोजना निर्माण शुरु गरेको हो । आयोजना २०७६ साल मङ्सिरमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको उक्त कम्पनीका प्रबन्ध निर्देशक अर्जुन पौडेल जानकारी दिए । शिखको कुरिला बगरमा बाँध रहने सो आयोजनाको विद्युत्गृह घारको पोखरेबगरको गोजेमा निर्माण गरिने छ । तीन किमी ४८ मिटर लामो सुरुङ रहने उक्त आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाको ७० प्रतिशत तथा संस्थापक र प्रभावित क्षेत्रका बासिन्दाको ३० प्रतिशत सेयर लगानी रहने छ । पहिलो चरणमा बाँध र सुरुङ रहने स्थलसम्म जाने पहुँचमार्गको ट्र्याक खोल्ने र पुरानो सडकलाई स्तरवृद्धि गर्ने काम भइरहेको छ । रासस
मुग्लिन नारायणगढ सडक अब दैनिक ६ घण्टा अबरुद्ध, विहान १० बजेदेखि ४ बजेसम्म सवारी आवागमन ठप्प
काठमाडौं । विश्व वैंकको ऋण सहयोगमा बाटो विस्तारको काम भइरहेको मुग्लिन नारायणगढ सडक खण्ड अब दैनिक ६ घण्टा बन्द हुने भएको छ । यो सडक दैनिक विहान १० बजेदेखि ४ बजेसम्म बन्द गरेर बाटो विस्तरको काम गर्ने यो सडक आयोजनाले जानकारी दिएको छ । यस अघि विहान साढे १० देखि ३ बजेसम्म अर्थात साढे चार घण्टा नियमित मर्मतको लागि सडक बन्द गर्ने गरिएकोमा अब यही चैत्र १५ गतेबाट दैनिक ६ घण्टा बाटो बन्द गरेर मर्मत गरिने भएको छ । यो आयोजनाले यसको विकल्प अन्य सडक प्रयोग गर्न र धैर्य गर्न पनि आम सर्वसाधार तथा बाटो प्रयोगकर्तासँ अनुरोध गरेको छ । यो बाटो दुई लेनबाट चारलेनको बनाउने काम भइरहेको छ ।