करोडौंको लगानीमा कुसुन्तीमा लिफ्टसहितको ओभरहेड ब्रिज बन्दै, देशकै नमुना

फाइल तस्वीर काठमाडौं । ललितपुर महानगरपालिकाले सुविधा सम्पन्न आधुनिक प्रविधिको आभरहेड ब्रिज (आकाशे पुल) को निर्माण गर्ने भएको छ । महानगरपालिकाले चक्रपथ कुसुन्तीमा उक्त ब्रिज निर्माण गर्ने योजना बनाएको हो । महानगरपालिकाले कुसुन्तीमा पहिलो चरणमा एउटा ओभरहेड ब्रिज निर्माण गर्न लागेको महानगरपालिको पूर्वाधार विकास महाशाखाका प्रमुख तथा बरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले बताए । महानगरले ब्रिजको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार पारिसकेको छ । डीपीआर तयार पारेसँगै महानगरले निर्माण स्वीकृति लिन सडक विभाग अन्तर्गतको पुल महाशाखालाई प्रतिवेदन पठाएको पनि महर्जनले जानकारी दिए । ‘ब्रिज निर्माण गर्ने भनिएको ठाउँ सडक विभागको क्षेत्रभित्र पर्छ, त्यसैले अहिले हामीले पुल महाशाखामा ब्रिज निर्माण गर्न पाउँ भनेर स्वीकृति मागेका छौं,’ उनले भने । महानगरपालिकाले सडकमा सवारीसाधनको चाप पढ्दै गएको पैदल यात्रीलाई सडक पार गर्ने समस्यालाई मध्यनजर गर्दै सो योजना अघि सारेको उनले बताए । महानगरपालिकाले सुविधा सम्पन देशकै नमुना ब्रिज बनाउने लक्ष्य लिएको छ । यो आयोजनामा पुल महाशाखाले पनि बजेटको विनियोजन गर्ने सक्ने महर्जनले बताए । उनका अनुसार सडक विभाग र महानगरबिच सहकार्य गरेर नै उक्त ब्रिजको निर्माण कार्य सुरु हुनेछ । ललितपुर महानगरपालिकाले पनि चालू आर्थिक वर्ष २०७९/८० मा चक्रपथ कुसुन्ती लगायतका सडकमा आभरहेड ब्रिज गर्ने कार्यक्रम राखेको छ । त्यसको लागि महानगरपालिकाले ५ करोड ५ हजार रुपैयाँ बजेट पनि छुट्याएको छ । महानगर र पुल महाशाखा बिच सहकार्य भई बजेट सुनिश्चित हुन सक्यो भने चालू आर्थिक वर्षभित्रै ब्रिज निर्माण हुन सक्ने महर्जनको भनाइ छ । महर्जनका अनुसार ब्रिज लिफ्ट सहितको हुनेछ । डिपीआरमा ब्रिज ६ वटा सटरलाई पनि समावेश गरेर तयार गरिएको छ । ब्रिजमा शौचालय, कफीसफ लगायतका सेवा सुविधाहरु हुनेछन् । तर, डीपीआरमा समावेश गरिएका पूर्वाधारहरु केही फेरबदल हुन सक्ने पनि महर्जनले बताए । केही समय अघि ब्रिज निर्माणको विषयलाई लिएर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र प्रधानमन्त्री पुष्पकमल दाहालबिच पनि छलफल भएको थियो । ब्रिज अपाङ्गमैत्री हुनेछ ।

नवलपरासीमा १५ शय्याको अस्पताल बनाईँदै

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित सुनवल नगरपालिकाले आफ्ना दुई वडामा १५ शय्या क्षमताको अस्पताल स्थापना गर्ने भएको छ । १२ औँ नगरसभाले सुनवलको वडा नं ८ र वडा नं ५ मा अस्पताल निर्माण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । नगरप्रमुख विमला अर्यालले दुवै स्थानमा अस्पताल आवश्यक रहेको बताइन् । सुनवलमा अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि परासी, बुटवल, भैरहवा जानुपर्ने बाध्यता रहेको थियो । उनले पाँच वर्षभित्रमा सामान्य उपचारका लागि नगर बाहिर जानुपर्ने अवस्थाको अन्त्य गरिने बताइन् । नगरसभाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रको एकीकृत विकास गर्न योजना तर्जुमा गरेको छ । सेफहाउस सञ्चालन, हिंसापीडित कोषको स्थापना, महिला विद्यालय सञ्चालन, बाल संरक्षणको आवश्यकता भएका बालबालिकाका लागि विद्यालय सञ्चालन गर्ने, प्रत्येक आर्थिक वर्षमा एक नमूना विद्यालय बनाउने लगायतका योजना नगरसभाले अगाडि सारेको छ । कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण गरी तरकारी, माछा मासु, फलफूल, अन्डा, दूध र तेलहनमा आत्मनिर्भर हुने गरी रणनीति तय गरिएको पनि नगरपालिकाले जनाएको छ । यसैगरी सुनवल रिङरोड निर्माण गर्ने, एक हजार किलोमिटर सडक कालोपत्र, चार नयाँ झोलुङ्गे पुल निर्माण, चार सडक पुल र ५० किलोमिटर नयाँ सडक निर्माण गर्ने पनि सुनवलले पाँच वर्षे योजनामा सार्वजनिक गरेको छ । एक नगर एक नमूना बस्ती, फोहरमैला उद्योग, अटोभिलेज निर्माण, एक वडा एक खेलमैदानलगायतका महत्वकांक्षी योजना पनि समेटिएको छ । रासस

मुरारका ग्रुप नेपालमा टाइल उत्पादन केन्द्र सञ्चालन गर्दै

काठमाडाैं । नेपालको व्यावसायिक समूह मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ । याेसँगै मुरारका ग्रुप र सोमानीले संयुक्त लगानीमा नेपालमा करिब ३.० मिलियन स्क्वाएर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने छन् । काठमाडौंको आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिँदै ग्रुपका म्यानेजिङ डिरेक्टर पशुपति मुरारकाले मुरारका ग्रुप आफ्ना ग्राहकहरूलाई सधै गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध ुरहेकाे बताए । ‘यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपुर्ति गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ, साथसाथै नेपाली बजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ,’ उनले भने । त्यस्तै, गरी सोमानी सेरामिक्सका प्रबन्ध निर्देशक एवम् सिइओ अभिषेक सोमानीले नेपालको प्रतिष्ठित व्यवसायिक घराना मुरारका ग्रुपसँग सहकार्य गर्न पाउँदा गौरवान्वित भएका बताए । सोमानी सेरामिक्सले विश्वभर आवासीय तथा औद्योगिक प्रयोजनका लागि उपयुक्त उच्च गुणस्तरको टाइल्स उत्पादन तथा आपूर्ति गर्दै आएको छ ।