हुलाकी राजमार्ग अन्तर्गत बाँकेमा तीन वटा सडक बन्दै

खजुरा । हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । बाँकेको राप्ती पूल पूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ । नेपालगञ्ज–गुलरिया सडकखण्डमा बाँके खण्ड ११ दशमलव ६ किलोमिटर छ । बाँकेमा चालु आर्थिक वर्षमा हुलाकी लोकमार्गका तीन योजना अन्तर्गत ४१ किलोमिटर सडक निमार्ण भइरहेको छ । राप्तीपुल पूर्व नारायणपुरदेखि कुण्डासम्म २१ किलोमिटर सडक ६८ करोड सात लाखको लागतमा अस्फाल्ट कालोपत्र सुरु गरिएको हो । राप्तीसोनारी गाउँपालिकामा पर्ने राजमार्गको २१ किलोमिटर खण्डमा अक्सफाल्ट प्रविधिद्वारा कालोपत्र गर्न सुरु गरिएको हो । खड्का कृष्ण कन्स्ट्रक्सनले हुलाकी लोकमार्गको अस्फाल्ट प्रविधिवाट सडक कालोपत्र गर्ने बोलपत्र प्रक्रियाद्वारा सम्झौता गरेको थियो । आव २०७५/७६ मा सुरु भएको योजना २०८० साल कात्तिकमा सक्ने सम्झौता रहेको छ । नेपालगञ्ज–गुलरिया सडकखण्ड दुई अर्ब ७८ करोड २९ लाख ४१ हजार आठ सय ३६ मा निर्माणका लागि यसै वर्ष मङ्सिर २८ गते शर्मा एण्ड कम्पनीसँग सम्झौता भएको थियो । अस्फाल्ट क्रङ्क्रिट सडक निर्माणको काम अगाडि बढिसकेको छ । सडकको बाँके खण्डमा ५ दशमलव ४ किलोमिटर चार लेन र ६ दशमलव ३६ किलोमिटर दुई लेन बनाइने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनीयर कृष्णप्रसाद पाण्डेले बताए । उनका अनुसार बर्दियातर्फ भने ६ दलशमलव २ किलोमिटर चार लेन र नौ दशमलव ६६ किलोमिटर दुई लेन बन्नेछ । उक्त सडक खण्ड चौडा पर्ने र अस्फाल्ट कालोपत्र गर्ने योजनाको काम सुरु भएको हो । उक्त योजना २०८२ मङ्सिर २७ गते सम्पन्न गर्ने सम्झौता निर्माण कम्पनीसँग भएको छ । इञ्जिनीयर पाण्डेले बसपार्कदेखि राप्तीपुतसम्म सडक चौडा पार्ने योजना कार्यान्वयनमा रहेको भन्दै उनले राप्तीपुलसम्मको नौ किलोमिटर सडक चौडा पार्ने सम्झौता भई निर्माण सुरु भएको बताए । यसैवर्ष कात्तिक ६ गते सरु भएको योजना २०८० कात्तिकमा सक्ने सम्झौता छ । रासस

कालीगण्डकी करिडोर : मालढुङ्गा–कोरला सडक अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको मालढुङ्गा–कोरला खण्डको काम जारी रहेको छ । हालसम्म लक्षित कार्यक्रममध्ये कतिपय सकिएको र निर्माणाधीन ठेक्कामा पनि प्रगति अपेक्षाअनुसार पाइएको हो । मालढुङ्गाबाट बेनी हुँदै कोरला खण्डमा मालढुङ्गाबाट २०२ किलोमिटरममध्ये एक सय किमीमा कालोपत्रको ठेक्का भएको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरोला सडक योजनाले जनाएको छ । आव २०७३/७४ जेठमा ७० किमी सडक कालोपत्रका लागि ठेक्का भएकामा ३० किमी कालोपत्र भइसकेको छ । गत आवमा २६ किमी सडक कालोपत्र गर्ने गरी ठेक्का भएको योजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्ष ठेक्का लगाएको दुई ठेक्कामा पनि काम भइरहेको छ ।’ मालढुङ्गा–कोरला सडकमा जोमसोम –कोरलासम्मको सडकमा कालोपत्र नगरेर ग्राभेल गर्ने सडक विभागको योजना रहेको छ । यसमा थोरै बाहेक अधिकांस काम सकिएको प्रमुख उनले बताए । स्थामनीयवासी बाहेक बाहिरबाट आउने अधिकांश पर्यटकको गन्तव्य मुक्तिनाथ रहेकामा त्यहाँको सडकमा ३० किमी कालोपत्र भइसकेको योजनाले जनाएको छ । मुक्तिनाथभन्दा माथिल्लो खण्डमा ५० प्रतिशत खण्ड जोमसोम–कोरला खण्ड रहेको छ । उनले भने, ‘जोमसोम कोरलामा अहिलेसम्मको लक्ष्यका आधारमा ९५ प्रतिशत प्रगति रहेको छ ।’ मुक्तिनाथसम्मको खण्डमा हेर्दा म्याग्दी खण्डमा अहिलेसम्म झण्डै छ किमी मात्रै कालोपत्र सकिएको छ । मुस्ताङ खण्डमा कालोपत्र गर्ने लक्ष्य लिइएको खण्डमा काम भइसकेको उनले जानकारी दिए । जोमसोम–कोरला खण्डमा अहिलेको लक्ष्य ग्राभेल मात्रै भएकाले सम्पन्न भइसकेको र आगामी दिनमा कालोपत्रको योजना बनाएमा नयाँ ठेक्काबाट गरिने प्रमुख प्रजापतिले बताए । माथिल्लो खण्डमा पानी नपर्ने हुँदा ग्राभेलले नै काम गरिरहेको उनको भनाइ छ । म्याग्दी खण्डमा यो असारसम्ममा प्रगति हुने देखिएको प्रमुख प्रजापतिले बताए । यसअघि संरचनाका काम भइरहेकाले प्रगति कम देखिएको भए पनि अब कालोपत्रको काम गर्दा प्रगित देखिने उनले बताए । योजनाले ठाउँठाउँमा पानी पर्ने र माथिबाट खोलाजस्तै बग्ने ठाउँमा ढलानको काम सुरु गरेको छ । सडक कालोपत्र गर्ने भनिएको खण्डमा कालोपत्रका लागि सबै खण्ड ठेक्कामा गइसकेको योजनाले जनाएको छ । एक सय किमी कालोपत्र र एक सय दुई किमीको ग्राभेल गर्ने योजनाअनुसार अहिलेसम्म लक्ष्यअनुसार काम गर्न ठेक्का सम्झौता भइसकेको उनले बताए । उनले भने, ‘ग्राभेल गर्ने खण्डमा एउटा खण्डमा थोरै काम मात्रै बाँकी छ ।’ पहिलेभन्दा थप भएका काम भने ठेक्कामार्फत अघि बढाउँदै जाने प्रमुख प्रजापतिले जानकारी दिए । भीरकाटेमा सुरुङ निर्माणका लागि अध्ययन भइरहेकामा त्यो सकिएपछि ठेक्का लगाइने योजना रहेको छ । म्याग्दी खण्डमा पहिलेको अध्ययनमा नदेखिएका ठूलाठूला पहिरो विकास भएकाले त्यहाँ पनि थप काम गर्नुपर्ने आवश्यक देखिएको छ । विसं २०७७ असोजमा काभ्रेमा ठूलो बाढी आएको थियो भने रुप्से र त्यसभन्दा माथिल्लो भागमा सडक नै नहरने गरी पहिरोसहितको बाढी आएको थियो । उनले भने, ‘ठाउँठाउँमा पहिरो भएकाले त्यसको अध्ययन भइरहेको छ ।’ हाल सडकको पाँच ठेक्का र पुलका आठ ठेक्का सञ्चालनमा रहेको योजनाले जनाएको छ । आव २०७३/७४ को तीन वटा ठेक्का सञ्चालनमा रहेका छन् । नयाँ दुई ठेक्कामा पनि काम अघि बढिरहेको छ । आठ पुलको ठेक्का सञ्चालनमा रहेकामा सबैको प्रगति ६० प्रतिशत माथि रहेको योजनाले जनाएको छ । रासस

तामाकोसी–काठमाडौं प्रसारण लाइन असारभित्रमा सक्न समयसीमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०र४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरुलाई समयसीमा दिएको छ । आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै, लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ । तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरुका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानसहितको उच्चस्तरीय टोलीले आयोजना अन्तर्गत बाह्रबिसे सबस्टेसनको बुधबार अनुगमन भ्रमण गरी महत्वपूर्ण प्रसारण लाइन र सबस्टेसनको निर्माण असारभित्रमा सम्पन्न गर्न निर्देशन दिएको छ । निर्माणमा देखिएको अवरोध हटाउन आफ्नोतर्फबाट पनि सहजीकरण तथा समन्वय गर्ने प्रतिबद्धता जनाउँदै टोलीले नयाँ खिम्ती–बाह्रबिसे, बाह्रबिसे–काठमाडौं र बाह्रबिसे सबस्टेसनको निर्माण असारभित्र सम्पन्न गर्न निर्देशन दिएको हो । टोलीले प्रसारण लाइन र सबस्टेसन निर्माण जिम्मा पाएका ठेकेदारहरु, आयोजना व्यवस्थापनसँग निर्माणमा हालसम्म भइरहेको प्रगति, सम्पन्न हुने तालिका, व्यहोरिरहेका समस्या तथा समाधानका उपायहरुलगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो । रुख कटान आदेश, जग्गा प्राप्ति, प्रसारण लाइनको मार्गधिकारमा स्थानीय बासिन्दाको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ । बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको उपक्रमको काम सन्तोषजक नदेखिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिने छ । मध्यभोटेकोसीको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । कार्यकारी निर्देशक घिसिङले असारभित्रमा सबस्टेसनको निर्माण नभएर मध्यभोटेकासीको विद्युत् जोड्न नसकिने अवस्था आएमा त्यसको क्षतिपूर्ति भराइने ठेकेदारलाई चेतावनी दिए । ‘मध्यभोटेकोसीले सबस्टेसनसम्मको प्रसारण लाइनका टावर निर्माण गरिसकेको छ, सबस्टेसन निर्माण सम्पन्न भएन भने विद्युत् कसरी प्रवाह गर्ने ? यस्तो महत्वपूर्ण सबस्टेसन निर्माणमा ढिलाइ गर्ने रु’, घिसिङले ठेकेदारलाई निर्देशन दिँदै भने । ‘यदी सबस्टेसन निर्माण सम्पन्न नभएर मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा १०२ मेगावाट विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी असुलउपर गरिने छ ।’ प्राधिकरणले मध्यभोटेसीको विद्युत प्राहका लागि अस्थायी वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि बाह्रबिसे सबस्टेसन निर्माण अनिवार्य छ । मध्यभोटेकोसीको विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिने छ । २२० केभी प्रसारण लाइनबाट आएको विद्युत्लाई बाह्रबिसे सबस्टेसनमार्फत १३२ केभीमा झारिने छ । त्यसपछि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले निर्माण गरेको १३२ केभि प्रसारण लाइनमार्फत लामोसाँघु सबस्टेसनमा जोड्ने गरी वैकल्पिक व्यवस्था गरिएको छ । माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले अहिले बाह्रबिसे बजारबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर प्रसारण लाइन निर्माण गर्न सर्वेक्षण सम्पन्न गरेको छ । आयोजनाले यो लाइन निर्माण गर्न बढीमा ४ महिना लाग्ने बताएको छ । यो लाइन बनेपछि अहिले लामासाँघु सबस्टेसनमा जोडिएको आयोजना बाह्रबिसे सबस्टेसनका जोडिने छ । कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन र नयाँ खिम्ती–बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि मध्यभोटेकासीको विद्युत् खिम्तीतर्फ प्रवाह गर्न सकिने बताउनुभयो । बाह्रबिसे सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी,५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहने छन् । घिसिङले बाह्रबिसे बजारबाट सबस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडकको मर्मत तत्काल गरी वर्षा सुरु हुनुभन्दा अघिनै निर्माणस्थलमा उपकरणहरु तथा निर्माण सामाग्री ढुवानीको व्यवस्था गर्न निर्देशन दिए । प्रसारण लाइन अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११८ वटा टावरमध्ये ९० वटा टावरको जग हालिएको छ । ७१ वटा टावर खडा गरिएको छ । १७.५ किलोमिटर तार तानिएको छ । यो लाइन बनाउन पनि बाह्रबिस सबस्टेसनको ठेकेदारले नै पाएको थियो । तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो । प्राधिकरणले चिनियाँ कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो । यसैगरी, ठेकेदार कम्पनीले अग्रिम भुक्तानीका लागि राखेको १४ लाख ५४ हजार डलर र ६ करोड १६ लाख ७४ हजार रुपैयाँ बैक जमानत पनि जफत गरिएको थियो । त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डर गरी ठेकेदार छनोट गरेको थियो । बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने १२२ टावरमध्ये १११ वटाको जग हालिएको छ भने ४ वटा टावरको जग हाल्ने काम जारी रहेको छ । १०३ वटा खडा गरिएको छ । स्थानीयको अवरोधका कारण लप्सीफेदीमा ४ वटा टावर निर्माण सुरु हुन सकेको छैन । १२.५ किलोमिटर तार तानिएको छ । वन क्षेत्रको जग्गा प्रयोग, रुख कटानी, स्थानीयको अवरोधलगायतका कारणले प्रसारण लाइन निर्माण प्रभावित हुँदै आएको छ ।