चीन र भारत जोड्ने सडक निर्माण छिट्टै पूरा गर्न राष्ट्रपतिको निर्देशन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीन र भारत जोड्ने सडकको निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी छिन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधसम्म करिब एक हजार एक सय मिटर सडक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर सडक निर्माण छिट्टै पूरा गर्न निर्देशन दिएकी हुन् । ग्रामीण विकास टुकी सङ्घको टुकी अवधारण र अभियानको ४५औँ वर्ष सम्पन्नको सुखद् अवसरमा आयोजित टुकी प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपतिले भारत र चीन जोड्ने सडक निर्माण गर्न ढिलाइ गर्न नहुने बताएकी हुन् । दोलखा जिल्लाको विकासका लागि डाँङडुगे डाँडामा अन्तर्राष्टियस्तरको फिल्म सिटी बन्ने घोषणा भएको तर काम तदारुपताका साथ अघि नबढेकाले ढिलासुस्ती नगर्न राष्ट्रपति भण्डारी आग्रह गरिन् । पवित्र धार्मिकस्थल भीमेश्वर महादेवकोे दर्शनपछि दोलखा सदरमुकाम चरिकोटमा टुकी प्रदर्शनी कार्यक्रमलाई उनले सम्बोधन गरेकी हुन् । जिल्लामा ४५ वर्षअघि ग्रामीण भेगका किसानको जीवनस्तर उकास्न टुकी अवधारणा सुरु गरिएको थियो । गरिबीको रेखामुनी रहेका कृषकलाई व्यावसायिक कृषिको तालिम प्रदान गरी टुकी नामाकरण गरिएको दिनलाई स्मरण गरिएको छ । स्थापनाकालदेखि हालसम्म प्रतिबद्ध टुकीको अथक प्रयासले विकासको यो अवधारणा सफल भएको टुकी सङ्घका कार्यकारी निर्देशक पुरुषार्थ श्रेष्ठले राष्ट्रपतिलाई जानकारी गराए । जिल्लाभर करिब छ सय टुकीहरु सक्रिय भएको १४ वर्षपछि विसं २०४८ मा जिल्लामा सङ्घको विधिवत गठन गरिएको थियो । टुकी सङ्घमार्फत जिल्लाका हरेक कुना काप्चामा पुगेर विकासे काम गरिएको र काममा निष्पक्षता साथै पारदर्शिता अपनाउँदै आइएको टुकी सङ्घका कार्यकारी निर्देशक श्रेष्ठले बताए । जिल्लाका सबै स्थानीय तहसम्म संरचना निर्माण गर्ने र टुकी अभियान विस्तार गर्दै विशुद्ध सामाजिक अभियान फैलाउने कनम गरेको उनले जानकारी दिए । टुकीको मूल मन्त्र जल, थल, मल, बल, फलसम्बन्धी विषयवस्तुमा आधारित सैद्धान्तिक र व्यावहारिक ज्ञान र सीप हस्तान्तरण हुने १५ देखि २१ दिनसम्मको सघन अगुवा कृषक र ग्रामीण विकास स्वयंसेवक (टुकी) तालिम टुकी सिर्जना गर्ने मूल आधार भएको अध्यक्ष मकरध्वाज पाखरिनले बताए । टुकीको साझा संस्था दुवै टुकी सङ्घले महिला र बालबालिकाको स्वास्थ्य र पोषण सुधारको क्षेत्रमा पनि काम गर्दै आएको छ । यसबाट विशेषत सुनौला एक हजार दिनको आमा तथा दुई वर्ष मुनिका बच्चाको स्वास्थ्य तथा पोषण सुधारमा योगदान पुगेको उनले दाबी गरे । टुकी सङ्घ सुनकोशीले विसं २०५६ मा आफ्नै स्रोतमा भवन निर्माण गरी कार्य सञ्चालन गरिरहेको छ । विसं २०७२ को भूकम्पबाट आङ्शिक क्षति भएको भवन मर्मत सम्भार तथा पुनःनिर्माण हुनुका साथै अर्को एक वटा तालिम कक्षसहितको भवन निर्माण भएको कुरा राष्ट्रपतिप्रति समक्ष जानकारी गराइएको थियो ।

भारतीय राजदुतसहितको टोली लिएर कमलविनायक-नगरकोट सडक अनुगमन गर्दै मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहिवार कमलविनायक–नगरकोट सडकको अनुगमन गर्ने भएका छन् । अनुगमनमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तव, मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधि सहितको टोली हुनेछ । बिहान ९ बजे सल्लाघारी, भक्तपुरमा भेट भई कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर अनुगमन सम्पन्न हुने जानकारी दिईएको छ । सैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेको रुग्ण आयोजनामा उक्त सडक पर्छ । निर्माणको ढिलासुस्तीबाट जनताले बर्षौंदेखि सास्ती खेपिरहेका छन् । जनताले सरकार र निर्माण कम्पनीबिरुद्ध आक्रोश पोखेपछि उपप्रधानमन्त्री श्रेष्ठले प्रष्टीकरण मागेपछि चैत मसान्तसम्म सम्पुर्ण निर्माण कार्य सम्पन्न गर्ने वाचा कम्पनीले गरेको थियो । सोही वाचा पुरा र प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन हुन लागेको बताइएको छ । आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेको छ ।

जलविद्युत आयोजना निर्माणको लागि व्यवसायीले मागे सुरक्षा

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संस्था नेपाल(ईप्पान) ले जलविद्युत आयोजना निर्माणको लागि सुरक्षाको माग गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संस्थाले यस्तो माग गरेको हो । उत्पादक संस्थाले फागुन १५ गते सिन्धुपाल्चोक जिल्लाको जुगल पालिकामा निर्माण हुन लागेको सीता हाइड्रोपावर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीय एक समूहले गरेको तोडफोड तथा आगजनी र कर्मचारीमाथिको सांघातिक आक्रमणको भत्र्सना गरेको छ । इप्पानले जलविद्युत आयोजनामा स्थानीयको समूहले नै उश्रृंखल,अराजक तथा अपराधिक घटना भएको बताएको छ । पत्रकार सम्मेलनमा इप्पानका उपाध्यक्ष आशिष गर्गले क्षती भएको ३५ मेगावटको सीता हाइड्रोपावरलाई उचित क्षतिपूर्ति र घाइते भएका आयोजनाका कर्मचारीहरुको सम्पूर्ण खर्च पीडक पक्षले व्यहोर्ने व्यवस्था गराउन सरकारसँग माग गरे । उनले पछिल्लो समय जलविद्युत आयोजनाहरुमा धेरै अप्रिय घटना भइरहेको भन्दै सरकारले उचित शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने बताए । ‘जलविद्युत जस्ता आयोजनामा स्थानीय अध्यक्ष सहितको संग्लनतामा यस्ता अपराधिक गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उर्जा क्षेत्रमा नकारात्मक सन्देश गएकाे छ,’ उनले भने । उनले यस्ता घटनाले सिन्धुपाल्चोक लगायत जलविद्युत उत्पादन क्षेत्रमा निजी क्षेत्र निरुत्साहित हुने भन्दै त्यसतर्फ सरकारको गम्भिररुपमा ध्यान जान आवश्यक रहेको बताए । उनले सरकारले परियोजनाहरुको कार्यस्थलमा हुने यस्ता घटनाहरुलाई निरुत्साहित गर्न तत्काल छुट्टै सुरक्षा संयन्त्र निर्माण गरी सुरक्षाको प्रत्याभुति गराउन सीता जलविद्युत आयोजनामा भएको घटनाको छानबिन गरी दोषी उपर कानून अनुसार कारबाही गर्न माग गरे । त्यस्तै सीता जलविद्युत आयोजनाका अध्यक्ष सीताराम तिमल्सिनाले आयोजनामा भएको क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार पीडक पक्षबाट भराउन सरकारसँग माग गरे । उनले फागुन १५ गते गुम्बाको मानेभञ्याङमा विद्युत प्राधिकरणको वितरण लाइनमा करेन्ट सर्ट भई स्थानी एक बालिकाको निधन भए पश्चात ६० जनाको एक समूहले योजनावद्ध रुपमा आयोजना स्थलमा तोडफोड,आगजनी र कर्मचारीमाथि आक्रमण गरेको बताए । ‘विद्युत प्राधिकरणको लाइनसँग आयोजनाको कुनै सम्बन्ध छैन, एक समूहको आक्रमणबाट आयोजनाको आवासीय भवन,विद्युत गृह,सुरुङ लगायतका क्षेत्रमा ठूलो क्षति र ७ जना इन्जिनियरहरु घाइते भएका छन्, आक्रमणबाट करिब १२ करोड बराबरको क्षेती भएको छ,’ उनले भने । उनले नेकपा एमालेका कार्यकर्ताहरुले केही समय अघि काम दिन माग गर्दै पत्र पठाएको बताए । ‘अब राज्यले सुरक्षा दिन नसक्ने भएर निजी क्षेत्रले कुनै पनि क्षेत्रमा लगानी गर्न नसक्ने अवस्था आएको छ,’ उनले भने ।