माछापुच्छ्रे र हिमालयन बैंकको लगानीमा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना बन्दै
काठमाडौं । नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब ७ किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले जानकारी दिए । उनले साढे ३ वर्षअघि निर्माण सुरु गरिएको परियोजना कोभिड–१९ का कारण सञ्चालनमा आउन ढिलो भएको बताए । इनर्जीको नाममा खरिद गरेको २२ बिघा जमिनमा हाल परियोजनाको प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको उनको भनाइ छ । उनले परियोजना निर्माणमा ४० करोड रुपैयाँ लगानी भइसकेको बताए । ‘यो नेपालकै ठूलो परियोजना हो, असार मसान्तभित्रमा काम सक्ने तयारी छ, धेरै काम भइसक्यो, सामान आयात प्रक्रियामा ढिलाइ भएकाले निर्धारित समयभन्दा एक महिनापछि धकेलिन पनि सक्छ,’ उनले भने । झापा इनर्जी १० मेगावाट क्षमताको परियोजना हो । सदस्य भट्टराईले सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले ३५ करोड रुपैयाँ र हिमालयन बैंक (साविकको सिभिल बैंक)ले २५ करोड रुपैयाँ गरी ६० करोड रुपैयाँ बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा २० करोड रुपैयाँ सेयरदाताहरूबाट लगानी गरिएको बताए । सो परियोजनाको कूल लागत ७९ करोड रुपैयाँ रहने उनको भनाइ छ । उनले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताए । परियोजनाका मुख्य इञ्जिनियर केशव चापागाईंले २१ हजार ८४० थान प्यानल स्टेन जडान भइसकेको बताए । हाल स्थापना गरिएका प्यानल स्टेनमा ८१९ वटा सोलर प्यानल टेबल जडान गरिने उनको भनाइ छ । ‘कुनै ठूला टेबल हुन्छन् कुनै साना, कुनै २८ प्यानलको एउटा टेबल बनाइन्छ भने कुनै आधा टेबलमा १४ वटा सोलार प्यानल जडान गरिन्छ,’ उनले भने । बिर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईंले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताए । उनले परियोजनालाई सोलार टुरिजमका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए । ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उनले बताए । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उनको भनाइ छ । पर्यटकलाई घुमफिर गर्न मिल्ने गरी परियोजनाको परिकल्पना गरिएको उनले बताए । सो क्षेत्रमा पर्यटकलाई लक्षित गरी २ वटा सेल्फी टावर, पुष्प गार्डेन, मत्स्यपालन, रिसोर्ट, फनपार्कसमेत निर्माण गरिनेछ । परियोजनामा हाल ४० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको उनको भनाइ छ । आगामी असोज १ गतेदेखि व्यावसायिकरूपमा सौर्य विद्युत् उत्पादन सुरु गरिने सञ्चालक सदस्य नारायण कोइरालाले बताए । उनले नेपाल विद्युत् प्राधिकरणलाई उत्पादित विद्युत् प्रतियुनिट ७ रुपैया ३० पैसाका दरले बिक्री गर्नेगरी सम्झौता भइसकेको जानकारी दिए । झापा क्षेत्र नं ४ का सङ्घीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उनको भनाइ छ । रासस
सूचीकृत भएकै दिनदेखि किन घटिरहेको छ माई खोलाको सेयर ?
काठमाडौं । माई खोला हाइड्रोपावरको सेयर मूल्य २ दिनमा करिब ६० रुपैयाँ घटेको छ । कम्पनीको सेयर दोस्रो बजारमा कारोबार आएको २ दिनको अवधिमा ५८ रुपैयाँ घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ । कम्पनीको सेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो । कारोबारमा आएको पहिलो दिनदेखि नै सेयर मूल्य निरन्तर ओरालो यात्रामा छ । कम्पनीको सेयर मूल्य पहिलो दिन १० प्रतिशतले घटेको थियो । कम्पनीको सेयर जेठ १ गते सोमबारका दिन नेप्सेमा सूचीकृत भएको थियो भने मंगलबारबाट प्रतिकित्ता ३३५ रुपैयाँमा पहिलो कारोबार भएको थियो । अन्य कम्पनीको आईपीओ निष्काशन पश्चात् दोस्रो बजारमा कारोबार हुँदा केही दिनसम्म सकारात्मक सर्किट वा सेयर मूल्य निरन्तर बढ्ने गरेको भएपनि माई खोला हाइड्रोको सेयर भने निरन्तर ओरालो लाग्न थालेको हो । कम्पनीको सेयर म्युचुअल फण्डहरुले बिक्री गरेको हुन सक्ने एक लगानीकर्ताले बताए । उनका अनुसार आईपीओमा म्युचुअल फण्डलाई छुट्टै कोटा दिइएको हुन्छ । सोही सेयर बिक्री गरेर मासिक वित्तीय विवरण राम्रो देखाउन कम्पनीको सेयर बिक्री गरेको हुन सक्ने उनले बताए । ‘आईपीओ हो, जलविद्युत कम्पनीको सेयर मूल्य औषत २/३ सय मात्रै छ, एकैचोटी २ सय रुपैयाँ नाफा आएपछि बिक्री गरिहाल्छन्,’ उनले भने, ‘म्युचुअल फण्डलाई आरक्षण दिइएको छ, सेयर मूल्य बढेपछि बिक्री गरेर खेल खेल्छन्, सबै म्युचुअल फण्डले सल्लाह गरेर नै बिक्री गरेको हुन सक्छन् ।’ उनले आईपीओमा पनि जोखिम रहेको बताए । नेपालमा आईपीओमा जोखिम छैन भनिएपनि अब जोखिम बढ्दै गएको उनको भनाइ छ । उनले घोराही सिमेन्टको सेयर बिक्री नभएर अण्डरराइटरले साकार गर्नु पर्ने अवस्था आएको बताए । साथै, नागरिक दैनिकको सेयर पनि अन्यौल रहेको उनको भनाइ छ । ‘विदेशमा आईपीओमा पनि जोखिम बढ्छ, अब लगानीकर्ताहरुले आईपीओमा जोखिम देख्छन्, प्रिमियम मूल्यमा आईपीओ जारी भएपछि त झनै जोखिम बढ्छ, विदेशमा आईपीओ भन्दैमा खरिद गर्दैनन्, उनीहरुले विश्लेषण गरेर मात्रै आईपीओ भर्ने की नभर्ने भनेर निर्णय गर्छन्,’ उनले भने । नेप्सेका अनुसार कम्पनीको सेयर मूल्य पहिलो दिन १० प्रतिशत अर्थात् ३३ रुपैयाँ घटेको थियो । यस्तै, दोस्रो दिन पनि कम्पनीको सेयर प्रतिकित्ता ७.९३ प्रतिशत अर्थात् २३.९० रुपैयाँ घटेको छ । बुधबार कम्पनीको सेयर प्रतिकित्ता २७७.६० रुपैयाँमा अन्तिम कारोबार भएको नेप्सेले जनाएको छ । गत जेठ १ गते आयोजना प्रभावित स्थानिय बासिन्दालाई बिक्री गरिएको १० प्रतिशत अर्थात् ३ लाख ९२ हजार १५७ कित्ता, सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको ३९ प्रतिशत १५ लाख २९ हजार ४११ कित्ता र संस्थापक समूहको ५१ प्रतिशत अर्थात् २० लाख कित्ता गरी कूल ३९ लाख २१ हजार ५६८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता १११.६७ रुपैयाँदेखि ३३५.०१ रुपैयाँ प्रदान गरेको थियो । कम्पनीको पहिलो सेयर कारोबार अधिकतम मूल्यबाट भएको थियो । कम्पनीले इलाममा ३ मेगावाटको सुपरमाइ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी ३१ असार २०७७ देखि व्यावसायिक उत्पादन गरिरहेको छ । आयोजना सम्पन्न हुँदाको कूल लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ र प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ । हाल कम्पनीको अधिकृत पूँजी ४० करोड रुपैयाँ, जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ र चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । हाल यस कम्पनीमा ८ जना संस्थापक शेयरधनीहरु रहेका छन् । कम्पनीको अध्यक्षमा शैलेन्द्र गुरागाईं रहेका छन् भने प्रबन्ध निर्देशक भुषण गुरागाईं रहेका छन् । यस्तै, सञ्चालकमा दिनेश गुरुङ्ग र श्रीजेश गुरागाईं रहेका छन् । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं महानगरपालिका २९ अनामनगरमा रहेको छ भने जलविद्युत उत्पादन केन्द्र ईलाम नगरपालिका–८, सिमफिरिङ मा रहेको छ ।
सडक पूर्वाधारको विकासले नजिकिँदै गाउँ, यात्रुलाई सहजता
बलेवा । दुई वर्षपहिले बागलुङ–कुश्मिशेरा सडकको १० किलोमिटर खण्ड कालोपत्र भएपछि बलेवा क्षेत्रका कैयौँ गाउँमा सडक यात्रा सहज भएको छ । एक्काइस किलोमिटर बागलुङ–कुश्मिशेरा सडकको एक किलोमिटर खण्ड मात्रै कालोपत्र हुन बाँकी छ । सो सडकको एक्लेसालमा तीन वर्षपहिले खसेको पहिराले बेलाबेलामा दुःख दिने गरेको छ । अन्य ठाउँमा सडक सुविधाजनक छ । यही सडकलाई आधार बनाएर बागलुङको बेला क्षेत्रमा खोलिएका पहुँच मार्गमा समेत कालोपत्र र ढलान हुने क्रम चलिरहेको छ । कुश्मिशेरादेखि बरेङ गाउँपालिकाको मुकाम हुग्दिशिर जोड्ने सडक दुई खण्डमा कालोपत्रको काम चलिरहेको छ । पहिलो खण्डक कुश्मिशेरा–देवलधारा १० किलोमिटरमा निर्माण व्यवसायीका कारण काम समयमा सकिएन । सडक कालोपत्र नभए पनि यहाँको यात्रा अन्य कच्ची सडकको जस्तो अप्ठेरो छैन । दोस्रो खण्ड जैमिनी नगरपालिका–१० देवलधारादेखि बरेङ–१ धुल्लुबास्कोटसम्मको १० किलोमिटर खण्डमा धमाधम कालोपत्रको काम चलिरहेको छ । ‘काम निकै राम्रोसँग अघि बढ्दै थियो, आर्थिक मन्दीको मारमा यो सडक परेको छ’, बरेङका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘भएका कामको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीले काम रोक्ने अवस्था छ ।’ कुश्मिशेरा–देवलधारा–धुल्लुबास्कोट खण्डको २० किलोमिटर सडक कालोपत्र हुँदा जैमिनी र बरेङका कैयौँ गाउँलाई सहज हुनेछ । सडक पूर्वाधार सहज नहुँदा सदरमुकामबाट नजिक भएर पनि दुर्गम मानिने गाउँ बिस्तारै सहरसँग नजिकिँदै गएका शर्मा बताउँछन् । पूर्वाधार विकासले ग्रामीण क्षेत्रहरु सदरमुकाम र बजार क्षेत्रबाट नजिक बन्दै गएको उहाँकोे भनाइ छ । जिल्लाको पश्चिम क्षेत्रलाई मध्यपहाडी लोकमार्गले सहज बनाउँदा यहाँका गाउँ सुगम बन्दै गएका छन् । दक्षिण क्षेत्रमा पनि सडकले आकार लिन थालेकाले बिस्तारै विकासको महसुस हुन थालेको शर्मा बताउँछन् । ‘सदरमुकामबाट बरेङ आउन गलकोटको बाटो ५० किलोमिटर छ, जैमिनी हुँदै आउँदा ४० किलोमिटरमा पुगिन्छ’, शर्मा भन्छन्, ‘स्तरोन्नति नहुँदा अप्ठेरो सडकका कारण बरेङवासी लामो बाटो हिँड्न बाध्य थियौँ, अब समस्या हट्नेछ ।’ सडक निर्माणमा ढिलाइ भएको, सडक बनाउने क्रममा विद्यालय तथा निजी घरजग्गामा पुगेको असरका विषयमा भने बेलाबेलामा सर्वसाधारणले प्रश्न उठाउने गरेका छन् । ‘केही गुनासा र समस्या होलान् तर सडक पूर्वाधार बन्दै गर्दा बिस्तारै सर्वसाधारण उत्पादनसँग जोडिन थालेका छन्, किसानका उत्पादनले मूल्य पाउन थालेका छन्’, जैमिनीका उपप्रमुख हरिहर शर्माले भने, ‘गाउँका सडकलाई अवसरका रुपमा प्रयोग गर्नुपर्छ भन्ने चेतनाको विकास हुने चरणमा छ ।’ सडक पूर्वाधारको विकास हुँदा दुर्गम मानिने जैमिनी र बरेङका गाउँ अब सुगम बन्न थालेको शर्माले बताए । उनले चलिरहेका काममा हुने अवरोध र ढिलासुस्तीले अझै गाउँ सहरसँग जोडिनबाट रोक्ने गतिमा अवरोध भइरहेको बताए । अहिलेभन्दा १० वर्ष पहिलेसम्म जिल्लाको दक्षिण क्षेत्र व्यापार–व्यवसायका हिसाबले छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा बजारसँग जोडिने गरेको थियो । सडक संरचना बनेपछि बागलुङ बजार र दक्षिणका गाउँको सिधा सम्पर्कसमेत सुरु भएको छ । मूल सडक कालोपत्र गर्ने र गाउँ बस्तीमा पुग्ने सहायक मार्गलाई बाह्रै महिना चल्ने बनाउन स्थानीय तहहरुले पहल गरिरहेका छन् । कृषि सडकका रुपमा २०५६ सालमा बागलुङ बजारदेखि दक्षिणमा कुश्मिशेरा, बरेङ हुँदै छिमेकी जिल्ला गुल्मीको शान्तिपुर र पश्चिममा बागलुङ बजारदेखि गलकोट हुँदै बुर्तिबाङसम्म सडक निर्माणको काम सुरु भएको थियो । पश्चिममा मध्यपहाडी लोकमार्गले सोही सडकलाई आधार बनाएर पश्चिमका गाउँ पुगेको छ । दक्षिणमा खुलेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको वैकल्पिक मार्गका रुपमा यो सडक विकास भइरहेको हो । रासस