काठमाडौं । चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारी साधन आउने क्रम बढ्दो रुपमा रहेको । गत असार १४ गतेदेखि चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि नयाँ सवारी साधन आउन शुरु गरेको हो ।
डेढ महिनाको अबधिमा ४९ वटा सवारी साधन बन्दरगाहामा आइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका अनुसार नयाँ सवारी साधन आउने क्रम निरन्तर जारी रहेको छ ।
हालसम्म सांग्रिला मोटर्स प्रा.लि. को पेट्रोलबाट चल्ने ४४ वटा सिट्रोन कारहरु र जि. ओ. अटोमोवाइल्स प्रा.लि. को ५ वटा म्यगदभि गाडी चोभार भन्सार कार्यालयबाट भन्सार जाँचपास गर्नेगरी आएको हो । उक्त गाडीहरु वीरगञ्ज एकीकृत जाँच चौकीबाट चोभार सुक्खा बन्दरगाहमा ल्याएको हो ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हाल सवारी साधन आउन सहजीकरण गरिएको बताए ।
उनले नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) सँग समेत धेरै छलफल गरी चोभार भन्सार कार्यालयबाट भन्सार प्रकृया गराउन सबै प्रकृया व्यवस्थित भएपछि सवारी साधन चोभार आएका बताए ।
आगामी दिनमा अझै सवारी चोभार आउने जानकारी व्यवसायी तथा नाडाले गराएका छन । यसका साथै अन्य व्यवसायीहरुसँग पनि चोभारमा सामान ल्याउने विषयमा छलफल भइरहेको व्यहोरा जानकारी दिए ।
चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि आउने मालवाहक सवारी साधन एवं नयाँ सवारी साधनहरुको लागि प्रबेश शुल्क निःशुल्क गर्नुका साथै पार्किड्ग एवं गोदाम शुल्क समेत न्यूनतम गरी समितिले स्तरीय सेवा प्रदान गरिरहेको छ । जसको कारण हाल सम्म चोभार सुक्खा बन्दरगाहमा १७६ वटा कन्टेनर र ४९ नयाँ गाडीहरु भन्सार जाँचपासको लागि आइसकेको र उक्त आउने क्रम निरन्तर रुपमा बढी रहेको छ ।
आन्तरिक टर्मिनलमा पनि पार्किड्ग एवं गोदाम प्रयोगको लागि आउने व्यवसायीहरुको सख्या बढ्दो क्रममा रहेको जनाईएको छ । चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चल्न समय केही समय लागे पनि भविश्यमा राम्रोसंग चल्ने विश्वास लिइएको गजुरेल बताउँछन् ।