माथिल्लो त्रिशूली–१ तीन वर्षभित्र निर्माण सम्पन्न गरिने

काठमाडौं । रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय शक्ति बहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास गरेका हुन् । मंगलबार आयोजित विशेष समारोहकाबीच आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स) निर्माण कार्यको शिलान्यास गरिएको हो । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका १ मा भूमिगत विद्युतगृहलगायतका संरचनाहरु निर्माणाधीन छन् । शिलान्यासमा मन्त्रीले नेपालको जलविद्युत विकासमार्फत आर्थिक रुपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको उल्लेख गरे । मुख्य रुपमा हिउँदको विद्युत् माग पूरा गर्न आकर्षक रहेकाले नमुना आयोजनाको रुपमा तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने उनले बताए । समारोहमा आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एमम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रुपमा खपत बढाइ  अतिरिक्त भएको ऊर्जा छिमेकी देशहरुमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनिकरणमा ठूलो योगदान गर्न सकिने बताए । आयोजनाको मुख्य निर्माण गत २०७८ पौषबाट सुरु गरिएको थियो । भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरुको निर्माण सबैतिरबाट तिब्र गतिमा भइरहेको छ । आयोजनाको समग्र  भौतिक प्रगति २२ प्रतिशत रहेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण सुरु गरिने छ । आयोजना निर्माणमा हाल करिब १ हजार श्रमिक परिचालित छन् । त्यसमध्ये करिब ५ सय रसुवा जिल्लाका स्थानीय बासिन्दा छन् । आयोजना निर्माण अवधि (५ वर्ष)मा ७००–१००० जना नेपाली श्रमिकले दैनिक रुपमा रोजगारी पाउने छन् । आयोजना सञ्चालन अवधि (३० वर्ष)मा ७०–८० जनाले रोजगारी पाउने छन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले कार्य गरिरहेको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ । आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ । काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

टोखा-छहरे सुरुङमार्ग बनाउन ५० अर्ब खर्च लाग्ने, चीनले सहयोग गर्ने अपेक्षामा सरकार

नुवाकोट । सरकारले टोखा-छहरे सुरुङमार्ग राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाका रूपमा अगाडि बढाइने तयारी गरेको छ । मंगलबार उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को स्थलगत अवलोकन एवं निरीक्षणमा गएका तीन जना मन्त्रीले सरकारले प्राथमिकतामा राखेर निर्माण अगाडी बढाउने बताएका हुन् । सुरुङ निर्माण गर्न काठमाडौँतर्फ टोखा नगरपालिका वडा नं १ झोरमा दुईवटा बिन्दुको पहिचान गरिएको छ भने नुवाकोटतर्फ शिवपुरी गाउँपालिका वडा नं ७ र ८ मा तीनवटा बिन्दु सम्भावित देखिएका छन् । प्रारम्भिक अध्ययनको क्रममा सुरुङमार्ग निर्माणका लागि विभिन्न तीनवटा बिन्दुलाई केन्द्रित गरेर थप अध्ययन गर्न लागिएको छ । तीन दशमलव तीन, तीन दशमलव छ र चार दशमलव दुई किलोमिटर लम्बाइको हुनसक्ने अध्ययनमा देखिएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोलले स्थलगत अवलोकनका क्रममा सो कुरा बताएका हुन् । अर्थमन्त्री डा महतले सरकारले छिट्टै इआइए सकेर निर्माण सुरु गर्ने बताए । अहिले हामीले इआइएको स्थलगत अवलोकन गरेका छौँ, यसको प्रतिवेदन सार्वजनिक भएसँगै सुरुङमार्ग निर्माणको काम सुरु गछौँ, सम्भवत चालू आर्थिक वर्षभित्र आयोजना निर्माणको सुरुवात गरिसक्छौँ’, उनले भने । उनले सरकारले चालू आर्थिक वर्षका लागि एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेकोे भन्दै निर्माणको काम सुरु हुने दाबी गरे । सरकारले यो आयोजनालाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीको चीन भ्रमणको मुख्य एजेण्डा नै सुरुङमार्ग भएको उनको भनाई छ । चीन सरकारको सहयोगमा यसअघि गरिएको सुरुङमार्गको प्रारम्भिक अध्ययनमा उपयुक्त हुने देखिएकाले काम सुरु गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । सुरुङमार्ग निर्माणका लागि शिवपुरी राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा इआइएसहितको काम अघि बढाउन आवश्यक कानुनी बाटो मन्त्रालयबाट खुला गरिने वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले बताए । स्थलगत अवलोकनपश्चात उनले आयोजना निर्माणबाट वनजङ्गल तथा निकुञ्जलाई दीर्घकालीन जोखिम नपर्ने देखिएकाले काम अघि बढाउन कानुनी समस्या नहुने प्रतिवद्धता व्यक्त गरे । सुरुङमार्ग निर्माणले नुवाकोटबाट काठमाडौँ जानका लागि अहिले सञ्चालनमा आइरहेको छहरेबाट टोखा पुग्न शिवपुरी निकुञ्ज पार गर्दै जानुपर्ने करिब १२ किमी सडक छोटो हुनेछ । चीन भ्रमणको मुख्य प्राथमिकता टोखा छहरे सुरुङमार्ग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ असोजदेखि गर्ने चीन भ्रमणमा नेपालले टोखा-छहरे सुरुङमार्ग निर्माण अघि बढाउन प्रस्ताव गर्ने तयारी गरेका छन् । निर्माण क्षेत्रका अन्य योजनामध्ये उक्त सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौंको टोखा र नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माणका लागि अनुदान सहयोग माग्ने तयारी सरकारको छ । असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको सयमा उक्त सुरुङमार्ग निर्माणको सम्झौता भएकको थियो । चिनियाँ राष्ट्रपतिले नै टोखा-छहरे-गुर्जुभञ्ज्याङ र बेत्रावती-रसुवागढी (घट्टेखोला) सुरुङमार्गको अध्ययन गर्ने जिम्मा चीनले लिने सहमति गरेका थिए । उक्त सहमति अनुसार चीन सरकारले नै डीपीआर बनाउन लाग्ने खर्च व्यर्हाेर्दै आएको छ । यस्तै, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) भने नेपाल सरकारले गर्ने सहमति भएको थियो । १५ वैशाखमा अर्थमन्त्री डा. महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भएको भेटवार्ता पनि टोखा-छहरे सुरुङमार्ग निर्माणबारे छलफल भएको थियो । चिनियाँ राजदूतले नेपालको पूर्वाधार निर्माणमा चीन सरकारले ८० अर्ब रुपैयाँ सहयोग उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्ति गरेका थिए । ५० अर्ब खर्च अनुमान, एक अर्ब विनियोजन सरकारले उक्त सुरुङमार्ग निर्माणका लागि ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । उक्त रकम खर्च हुने अनुमान गरेपनि सरकारले चालू आवका लागि सवा १ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको छ । अर्थमन्त्री डा महतले स्रोत अभावका कारण कम रकम विनियोजन गरिएको भन्दै आवश्यकता अनुसार रकम थप गर्दै जाने बताए । उनले नेपालले मात्र निर्माण गर्न नसक्ने भन्दै चीन सरकारसँग निर्माणका लागि सहयोग माग गर्ने बताए । ‘अहिलेको प्रयासले पुग्दैन, प्रधानमन्त्रीज्यूको टोली चीन भ्रमणमा जाँदैहुनुहुन्छ, हामीले यो सुरुङमार्ग निर्माणमा चीन सरकारको सहयोग मागेका छौं। त्यो भयो भने यसले पूर्णता पाउँछ’, उनले भने- ‘यो निर्माणमा समय लाग्छ, त्यसैले धैर्यताको आवश्यकता छ ।’ भौतिक पूर्वाधारमन्त्री ज्वालाले आर्थिक स्रोतका लागि चीन सरकारसँग सहयोगको आश गरिएको बताए । ‘यो सुरुङमार्ग निर्माणका लागि अहिलेको मुख्य चुनौती लगानीको हो, आर्थिक स्रोतका लागि नेपाली टोलीको आसन्न चीन भ्रमणमा ‘टोखा-छहरे’ सुरुङमार्गसहित सडकतर्फ सातवटा आयोजनामा सहयोग माग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव तयार गरेको छ’, उनले भने ।

सूर्यविनायक-रत्नपार्क द्रुत बस सेवा असोज ३ देखि सञ्चालन हुने, बिहान र साँझ मात्रै चल्ने

 फाइल फोटो काठमाडौं । सूर्यविनायक-रत्नपार्क द्रूत बस सेवा आगामी ३ असोजदेखि सञ्चालनमा आउने भएको छ । संविधान दिवसका दिनदेखि ‘सो बस सेवा सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागका महानिर्देशक, यातायात व्यवस्था विभागका महानिर्देशकसहितको टोलीसँग सो बस सेवाका विषयमा छलफल गरेका थिए । सो बस सेवा १ असोजदेखि सञ्चालन गर्ने यसअघि निर्णय भएको थियो । तर संविधान दिवसका दिनदेखि सुरु गर्न मन्त्री ज्वालाले निर्देशन दिएका छन् । बस सेवा सञ्चालनको आवश्यक तयारी लगभग अन्तिम चरणमा पुगेको विभागका महानिर्देशक ढकालले मन्त्री ज्वालालाई जानकारी दिएका छन् । ‘अन्य काम सबै सकिएको छ, सडकको डेडिकेटेड लाइनमा रेड मार्क गर्न मात्र बाँकि छ, त्यो भोलि २६ भदौदेखि सुरु गर्छौ,’ उनले भने । विभागले दुई खण्ड बनाएर सडकको रेड मार्ग गर्ने भएको छ । रत्नपार्कदेखि जडिबुटी, र जडिबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाएर एकैदिन सुरु हुने भएको छ । त्यसैगरी यातायात व्यवस्था विभागले आफ्नो काम सकेको जानकारी मन्त्री ज्वालालाई दिएको छ । सो बस सेवाका लागि आवश्यक पर्ने २५ वटा बस तयारी अवस्थामा राखिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए । व्यवसायीसँग सहकार्य गरी उनीहरुकै बस सञ्चालन गर्न लागिएको हो । करिब ३८ सिट क्षमता रहेको २५ बस सञ्चालनमा आउने भएका छन् । बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौं उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएपछि मन्त्री ज्वालाले द्रूत बस सेवाको अवधारणा ल्याएका हुन् । यातायात व्यवस्था विभागका महानिर्देशकको सरुवा भएपछि बस सेवाका विषयमा केहि आशंका उब्जिएका थिए । अहिले बिहान र साँझ कार्यालयमा बस सेवा सञ्चालन हुने भएको छ । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ । रासस