क्यानले आफ्नै लगानीमा बनायो सुविधासम्पन्न १२ तले भवन, प्रधानमन्त्री दहालले गरे उद्घाटन

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) को सिनामंगलमा निर्माणधिन नयाँ भवन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् । १ अर्व ८० करोड रुपैयाँमा निर्माण गरिएको प्राधिकरणको केन्द्रीय कार्यालयको नयाँ भवन शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । प्राधिकरणले २०७१ साल माघ २७ गते सिनागंलनमा प्रधान कार्यालयका लागि भवन निर्माण गर्न निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । तीन वर्षमा निर्माण सक्ने सम्झौता भएता पनि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाई गरिएको थियो । नयाँ भवनमा परिसरमा ६५ वटा गाडी र १२० वटा मोटरसाइकल र स्कुटर पार्किङ क्षमता रहेको छ। चारवटा लिफ्ट राखिएको भवनमा पहिलो चरणमा ६४ करोड र दोस्रो चरणमा ४७ करोड गरी कुल १ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ। उक्त भवन प्राधिकरणको आफ्नै लगानीमा स्वदेशी कामदारबाट निर्माण सम्पन्न भएको प्राधिकरणका महानिर्देशन प्रदिप अधिकारीले जानकारी दिए । उनका अनुसार स्वदेशी इन्जिनियरको डिजाइन र स्वदेशी निर्माण कम्पनीले सो भवन निर्माण गरेको हो । तुण्डी रसुवा जेभीले डेढ अर्ब रुपैयाँमा ठेक्का लिएको यो भवन चार रोपनी दुई आना क्षेत्रफलमा निर्माण गरिएको हो । संरचनाको डिजाइन गरेको एनोट आर्किटेक्चर एण्ड आर्किटेक्टले १२ तले नयाँ भवनमा पाँच सयभन्दा बढी कर्मचारीले काम गर्न सक्ने क्षमता रहने प्राधिकरणले जनाएको छ। स्थानिय तह सञ्चालन ऐन २०७४ अनुसार सबै सरकारी कार्यालयले अनिवार्य रूपमा नक्सा पास गर्नुपर्ने व्यवस्था छ । सोहि व्यवस्था अनुसार प्राधिकरणले सो भवनको नक्शापासका लागि महानगरमा निवेदन दिइसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले नक्शा पास प्रक्रिया अन्तिम चरणमा रहेको बताए । काठमाडौं महानगरपालिकाले भूमि र सम्पत्ति कर भुक्तानी गर्न निर्देशन गरेको क्यानले जनाएको छ, तर सरकारी कार्यालयले उक्त कर भुक्तानी गर्ने गरेको छैन । प्राधिकरणले आफ्नै स्रोतमा मूल्य अभिवृद्धि कर बाहेक १ अर्ब ८० करोड रुपैयाँ खर्च गरि नेपालकै एक आधुनिक सुविधायुक्त कार्यालय भवन निर्माण गरेको छ । यस भवनमा कर्मचारी तथा सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्ने तथा सेवा लिने अन्तराष्ट्रिय स्तरको वातावरण उपलब्ध गराईएको छ । उड्डयन प्राधिकरण एक अन्तराष्ट्रिय प्रकृतिको संस्था भएकोले स्वदेशी विदेशी सेवाग्राही अन्य देशका नियामक तथा हवाई सेवा प्रदायक संघ संस्थाहरुलाई दिनुपर्ने सेवा समेतलाई मध्यनजर गरि स्वदेशी जनशक्तीद्वारा निर्मित यस भवनले सकारात्मक प्रभाव पार्ने बताइएको छ ।

दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

  गोरखा । गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा नौ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा. डम्बरबहादुर नेपालीले जानकारी दिए । आयोजना निर्माण गर्दा कुल लगानीको ७० प्रतिशत ऋणबाट लगानी गर्ने र बाँकी स्वपुँजीअन्तर्गतको लगानी रहने उनले बताए। ‘सिमलगैरामा विद्युत्गहृ रहने गरी दरौँदी नदीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो’, उनले भने, ‘दरौँदी नदीमा बाँध बाँधेर कर्मसिं फाँटको रातडाँडामा बाँध रहने गरी आयोजना निर्माण हुनेछ ।’ गोरखा–१२, १३ र १४, सहिद लखन गाउँपालिकाका–१, २ र ३ तथा पालुङटार नगरपालिका–३ वडाका गरी आयोजनाले कुल चार सय ४० रोपनी क्षेत्रफल ओगट्ने छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनअनुसार आयोजनाले खेतीयोग्य जमिन एक सय २३ रोपनी, दुई सय ९२ रोपनी बगर क्षेत्र, ३८ रोपनी स्थायी तथा अस्थायी जमिन र १७ रोपनी सामुदायिक वन क्षेत्रफल ओगट्ने छ । ‘आयोजनाको मुख्य संरचना गोरखा–आँबुखैरेनी सडकखण्डको पहुँच क्षेत्रमा रहनेछ’, आयोजनाका इन्जिनियर अनिल नेपालले भने, ‘अर्धजलासययुक्त आयोजनाको जलाधार क्षेत्र पाँच सय ३६ दशमलव ५४ वर्गकिलोमिटर रहने छ ।’ कम्पनीले आयोजना निर्माणस्थल र प्रभावित क्षेत्रका बासिन्दाको धारणा बुझेर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलाई अन्तिम रूप दिन सार्वजनिक सुनुवाइ कार्यक्रम गरी राय सुझावसमेत सङ्कलन गरिसकेको छ । स्थानीयवासीले आफूहरूलाई आयोजनामा सहभागी गराउनुपर्ने, जग्गा अधिग्रहण गर्दा उचित मुआब्जा दिनुपर्ने, स्थानीयलाई रोजगारी सुनिश्चित गर्नुपर्ने, डुबान तथा प्रभावित क्षेत्रका बासिन्दालाई आयोजनाको सेयर उपलब्ध गराउनुपर्नेलगायतका माग सार्वजनिक सुनवाइका क्रममा गरेका थिए । प्रभावित क्षेत्रका बासिन्दाको राय सुझाव थप गरेर अब वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवदेन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिने र मन्त्रालयबाट स्वीकृति प्रदान भएलगत्तै विद्युत् उत्पादन अनुमतिका लागि विद्युत् विभागमा निवदेन दिएर तत्काल काम अघि बढाउने कम्पनीका सञ्चालक बलराम केसीले जानकारी दिए । विभागबाट अनुमति पाएपछि आगामी माघ पहिलो सातादेखि आयोजनाको संरचना निर्माणका काम थाल्ने योजना रहेको कम्पनीले जनाएको छ । आयोजना निर्माण सुरु भएको साढे दुई वर्षभित्रमा विद्युत् उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । रासस

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार करिडोर निर्माणको काम सम्पन्न भइनसकेकाले दुर्घटनाको जोखिम रहेका कारण रातिको समयमा यातायातकान साधन सञ्चालनमा रोक लगाइएको हो । नवलपुरमा कालीगण्डकी करिडोर करिब ८७ किलोमिटर लामो छ । यसमध्ये आधाजस्तो खण्डमा फोन सम्पर्कसमेत हुन नसक्ने भएकाले राति दुर्घटना भए उद्धारमा समेत समस्या हुने र यसले क्षति बढाउन सक्ने भएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । ‘करिडोर निर्माणका चरणमा छ, पूरा भएको छैन । यसले दुर्घटनाको जोखिम बढाएको छ, राति उद्धारमा पनि कठिनाइ हुने गरेको छ’, उनले भने । सञ्चारको पहुँच कम भएका क्षेत्रमा आवश्यक मात्रामा टावर जडान गर्ने विषयमा नेपाल टेलिकमसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। सञ्चारको पहुँच र करिडोर निर्माण सम्पन्न भएपछि मात्रै राति सवारीसाधन सञ्चालन गरिने उनले बताए । निर्माणधीन कालीगण्डकी करिडोरको नवलपुर खण्डमा करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । नवलपुरस्थित कालीगण्डकी करिडोरबाट जिल्लाका पहाडी क्षेत्रका लागि साना सवारीसाधन सञ्चालन हुने गर्छन् । यसबाहेक तनहुँका विभिन्न क्षेत्र, पाल्पा, स्याङ्जा र पोखराका लागि समेत सवारीसाधन सञ्चालन हुने गरेका छन् । नारायणगढ–गैँडाकोट हुँदै यस खण्डबाट विभिन्न क्षेत्रका लागि यातायातका साधन सञ्चालन हुने गरेका छन् । रासस