अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र प्रवेशमार्ग ६ दिनदेखि बन्द
सङ्खुवासभा । मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ भएको बताइएको छ । अरुण प्रवेशमार्ग सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले अरुण तेस्रो प्रवेशमार्गको २४ किलोमिटर क्षेत्रको मुआब्जा वितरण गर्न सरकारले आलटाल गरेको आरोप लगाए । जग्गाधनीलाई मुआब्जावापतको रकम दिने भनेर निर्धारण भइसकेको मुआब्जा रोकिएपछि बाध्य भएर अनिश्चितकालीन आन्दोलनमा उत्रिएको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छ्याङ्कुटी–दिदिड सडकखण्डको प्रतिरोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । तर हालसम्म पनि मुआब्जा नपाएपछि स्थानीय आन्दोलित बनेका हुन् । अरुण तेस्रो विद्युत् आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ । मुआब्जापीडित सङ्घर्ष समितिका संयोजक राईले माग सम्बोधन गर्न सरकारसंग आग्रह गरे । उनका अनुसार सङ्घर्ष समितिले खाँदबारी नगरपालिका–४ को छ्याङ्कुटी डाँडाबाट अरुण तेस्रोको यातायातका साधन आयोजनास्थल जान दिएका छैनन् । प्रवेशमार्गको चार सय ५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरेको थियो । अरुण तेस्रो विद्युत् आयोजनाको काम भारतीय कम्पनी सतलज एसजेभिएनले गरिरहेको छ । अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीयसहित तीन हजार बढी मजदुर कार्यरत छन् । आयोजनाबाट नेपालले २१ दशमलव नौ प्रतिशत अर्थात् एक सय ९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौँ रुपैयाँ पाउनेछ । आयोजना बनाउन एक खर्ब १५ अर्ब लाग्ने अनुमान गरिएको छ । रासस
नवलपुरमा ६ करोड खर्चेर सवारीसाधन स्क्यानर राखिने
नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेसिन जडान गरिने भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले नारायणगढ–बुटवल सडकखण्डमा हुने दुर्घटना न्यूनीकरण गराउन तथा जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्ने उद्देश्यले जिल्लाका तीन ठाउँमा गाडी स्क्यान मेसिन जडान गर्ने सहमति भएको जानकारी दिए। गण्डकी प्रदेशकै भारतसँग सीमानाका जोडिएको एकमात्रै जिल्लाका रुपमा रहेको नवलपुरमा पश्चिमबाट जिल्ला भित्रिने नाका दाउन्ने, पूर्वबाट जिल्ला भित्रिने नाका गैँडाकोटको पुलचोक तथा जिल्ला प्रहरी कार्यालयमा सवारीसाधन स्क्यान गर्ने अत्याधुनिक मेसिन, चेकपोष्ट र सिसी क्यामेरा जडान गर्ने तयारी भएको तिवारीले बताए । देशकै सबैभन्दा लामो राजमार्ग पूर्वपश्चिम राजमार्गअन्तर्गत मध्यभागमा पर्ने जिल्लाका तीनवटै स्थानमा राखिने सवारीसाधन स्क्यान मेसिनले सवारीसाधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि स्वचालितरुपमा स्क्यानिङ गरी अभिलेख राख्ने उनले बताए। जिल्लामा जडान हुने स्क्यान मेसिनले जिल्लाको समग्र सुरक्षा व्यवस्था तथा ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ। राजमार्गमा सवारीसाधन स्क्यान मेसिन राख्नका लागि जिल्ला प्रहरी कार्यालय नवलपुरले यसअघि नै नेपाल सरकारलाई आग्रह गरेको भन्दै जिल्लाका प्रहरी प्रमुख तिवारीले सरकार र सडक आयोजनासँगको परामर्शमा आयोजनाले नै यी उपकरण राखिदिन सहमति जनाएको बताए। सवारीसाधन स्क्यान गर्ने मेसिन, चेकपोष्ट र सिसी क्यामेरा जडानका लागि झण्डै ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको उनको भनाइ छ । राजमार्गमा जडान गर्न लागिएको स्क्यान मेसिनसहित चेकपोष्ट र सिसी क्यामेरा जडानको सबै खर्च एशियाली विकास बैंकले व्यहोर्ने सहमति भएको तिवारीले जानकारी दिए । नारायणगढ-बुटवल सडकखण्ड विस्तारको कामले पूर्णता पाएसँगै तीनवटै स्थानमा सवारीसाधन स्क्यान मेसिन तथा सिसी क्यामेरा जडानको काम हुनेछ । रासस
पशुपति क्षेत्र विकास कोषले गर्यो बनकाली पार्किङको ठेक्का रद्द
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बनकाली पार्किङको ठेक्का रद्ध गरेको छ । बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको विकास कोषको बैठकले पार्किङको ठेक्का रद्ध गरेको हो । पशुपति क्षेत्र अन्तर्गत वनकाली ओरालो क्षेत्रमा रहेको पार्किङ तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिसले सम्झौता पालान नगरेको भन्दै ठेक्का रद्ध गरेको हो । सम्झौता अनुसार माशिक चार लाख ८३ हजार ३३ क्षेत्र विकास कोषलाई भुक्तानी गर्नुपर्नेमा लामो समय सम्म बक्यौता बाँकी राख्नका साथै अन्य थुप्रै नियम उलंगन गरेको भन्दै कोषले एक महिना भित्र बक्यौता उठाउने संगै ठेक्का रद्ध गर्ने निर्णय गरेको हो । कोषको बैठकले ठेकेदार कम्पनी तत्व इन्भेष्टमेन्ट एण्ड सर्भिस प्रा।लि।को बैंक ग्यारेन्टी समेत जफत गर्ने निर्णय गरेको छ । ठेक्काको सम्झौताको शर्त नं. ६ मा ‘बढीमा ३ महिना सम्मको भाडा तिर्न बाँकी राखेमा स्वतः कोषले सम्झौता रद्द गर्न सक्नेछ । तोकिएको समयमा भाडा नवुझाएमा सम्झौता रद्द गरी धरौट रकम समेत जफत गरी अन्य व्यवस्थाबाट पार्किङ सञ्चालन गरिनेछ’, भन्ने उल्लेख भएको । कोषको आर्थिक प्रशासन शाखामा रहेको विवरण हेर्दा हालको मिति सम्म उक्त कम्पनीले कोषलाई बुझाउन बाँकी भाडा ३४ लाख ७४ हजार एक सय ११९ देखिएको ।