बन्दीपुरमा केबुलकार र पाँचतारे होटल सञ्चालनमा आउँदै, केबुलकारभित्रै सुत्न र खान पाइने
तनहुँ । बन्दीपुर केबुलकार एन्ड टुरिजमले निर्माण गरेको केबुलकार माघ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ‘क्विन टावर’ नाम दिइएको १७ तल्लाको पाँचतारे होटल र केबुलकार एकैसाथ सञ्चालनमा ल्याउने तयारीका साथ अन्तिम चरणको कार्य भइरहेको छ । पहाडकी रानी उपनाउँले परिचित बन्दीपुरमा सञ्चालनको अन्तिम चरणमा रहेको केबुलकार र पाँचतारे होटलले यहाँको अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । टावरभित्र व्यवस्थापन तथा कोठाहरु मिलाउने र सभा हल निर्माण कार्य भइरहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका डाइरेक्टर इन्जिनियर हरिदत्त पौडेलले जानकारी दिए । त्यसैगरी केबुलकारतर्फ एकपटक परीक्षण गरिसकिएको र कुनै कुनै टावरमा सामान्य सुधार गर्नुपर्ने भएकाले अन्तिम तयारीको कार्य भइरहेको उनले बताए । उनका अनुसार आउँदो माघ १ गतेदेखि सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा काम भइरहेको छ । केबुलकार सञ्चालनका लागि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय अनुमतिपत्र लिनका लागि प्रक्रियामा रहेको छ । ५० देखि २५ हजारसम्म टिकट शुल्क जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेसन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर दूरीमा केबुलकार निर्माण गरिएको छ । बन्दीपुर केबुलकारमा रु ५० देखि २५ हजारसम्म टिकट शुल्क कायम गरिएको कम्पनीले जनाएको छ । पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट माथि बन्दीपुर बजारमा कलेज पढ्न जाने र आउने विद्यार्थी तथा ६५ वर्षमाथिका नागरिकलाई टिकट दरमा सहुलियत गरिएको छ । एसियाकै ठूलो दाबी गरिएको बन्दीपुरको सिद्धगुफा र हरियाली डाँडाको मनोरम दृश्य अवलोकन गर्दै उक्त केबुलकारको यात्रामा मज्जा लिन सकिनेछ । केबुलकारको २१ डिब्बा यात्रु बोक्ने, छवटा रेष्ट्रो क्याबिन र दुई एड्भेन्चर गरी २९ वटा डिब्बा हुनेछन् । एक डिब्बामा आठजनासम्म यात्रुको क्षमता हुनेछ । एड्भेन्चर डिब्बा अन्य डिब्बाको तुलनामा फरक किसिमको हुनेछ । त्यो सिसैसिसाको र आधुनिक किसिमबाट निर्माण गरिएको हुने इन्जिनियर पौडेलले बताए । केबुलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित रेष्ट्रो क्याबिनसमेत सञ्चालन गर्ने योजना रहेको छ । केबुलकार र पाँचतारे होटल गरी कूल तीन अरब ५८ करोडको लागतमा निर्माणसम्पन्न हुन लागेको हो । बन्दीपुर आउने पर्यटकले केबुलकारमा सुतेरै रमणीय प्राकृतिकस्थलको अवलोकन र भरपुर मनोरञ्जन लिन सक्नेछन् । करिब डेढ महिना सुरक्षाको हिसाबले पटकपटक केबुलकारको परीक्षण कार्य सम्पन्न गरिसकेको छ । असोज महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरे पनि प्राविधिक कारणले ढिलाइ हुन गएको हो । बन्दीपुरमा घुम्न आउने पर्यटकहरुले नयाँपन र भरपुर मनोरञ्जन पाउनेछन् । पाँचतारे होटलबाट बन्दीपुर उपत्यकासहित विभिन्न जिल्लाका रमणीय डाँडाकाँडा र फाँटहरु सजिलै देख्न सकिनेछ । उक्त होटलको करिब ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । रङ्गरोगन र अन्य तयारीको व्यवस्थालगायत केही काम बाँकी रहेकोे छ । केबुलकारमा यात्रुको आवतजावतको समयपश्चात् साँझपख केबुलकारभित्र रेष्टुरन्ट सञ्चालन गरी खाना र सुत्न मिल्ने सुविधा प्रदान गरिने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । तल्लो र माथिल्लो स्टेसनमा रेष्टुरेन्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा पर्यटकलाई सेवा दिइनेछ । उनले भने, ‘कम्पनीले शाकाहारी, मांसाहारी लगायतका खानेकुरासँगै पेयपदार्थसमेत उपलब्ध गराइने छ ।’ प्रत्येक साँझ ५ बजेपछि केबुलकारमा सो सुविधा प्रदान गरिने योजना रहेको छ । केबुलकारभित्र रेष्ट्रोको सुविधामा प्रत्येक दिन आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको खाली समय साँझ ५ देखि ९ बजेसम्म उक्त सेवा दिइनेछ । त्यसैगरी केबुलकारको प्रवेशद्वारमा रु २६ करोडको लागतमा अर्को सुविधासम्पन्न आधुनिक होटल पनि निर्माण भइरहेको छ । उक्त होटल पनि छिट्टै सञ्चालनमा ल्याउने गरी निर्माण कार्य भइरहेको सो कम्पनीले जनाएको छ । बन्दीपुरमा ठूलो सङ्ख्यामा आउने पर्यटकलाई लक्षित गर्दै केबुलकार, रेस्ट्रो कार र तारेस्तरसम्मको होटल निर्माण गरिएको अध्यक्ष शर्माले बताए । पृथ्वी राजमार्गमा रहेको तल्लो स्टेसनबाट बन्दीपुरमा निर्माण गरिएको सत्र तल्ले होटलभित्रै केबुलकार पुगेर टुङ्गिनेछ । सत्र तल्लाको पाँचतारे होटल बन्दीपुरमा १७ तल्लाको ‘क्विन टावर’ नाउँ दिइएको पाँचतारे होटल निर्माण कार्य अन्तिम चरणमा रहेको छ । ‘हिलटप नाम दिइएको उक्त होटलमा करिब ९० वटा कोठा रहेको र तीमध्ये ७८ वटा कोठा बस्नका लागि प्रयोगमा ल्याइनेछ । एक हजारभन्दा बढी क्षमताको ठूलो सभा हललगायत निर्माण भइरहेको छ । होटलको सुरु तल्लाबाट १७ तल्लासम्म क्यापसुल लिफ्टबाट सिधै ‘क्विन टावर’ सम्म जान सकिने व्यवस्था रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमका डाइरेक्टर इन्जिनियर पौडेलले जानकारी दिए । बन्दीपुर केबुलकार र पाँचतारे होटल सञ्चालनमा आएपछि बन्दीपुरको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा यहाँका व्यवसायीहरुको रहेको छ । बन्दीपुर आउने पर्यटकले केबुलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै भरपुर मनोरञ्जन दिने कम्पनीको मुख्य लक्ष्य रहेको छ । ‘बन्दीपुरमा घुम्न आउने पर्यटकहरुलाई नयाँपन र भरपुर मनोरञ्जन प्रदान गर्नु कम्पनीको मुख्य लक्ष्य नै हो’, अध्यक्ष शर्माले भने । केबुलकार र पाँचतारे होटलको प्रचारपसारसँगै आन्तरिक एवं बाह्य पर्यटकको चलहपहलमा वृद्वि हुने बन्दीपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष बैंश गुरुङले बताए । आर्थिक मन्दीका कारण निराश बनेका यहाँका होटल व्यवसायीहरु केबुलकार र होटल सञ्चालनमा आउने भएपछि उत्साहित भएका छन् । ‘बन्दीपुरमा अहिले पनि दैनिक पाँच सयको हाराहारीमा पर्यटकको आवागमन भइरहेको छ’, उनले भने, ‘पर्यटनको सङ्ख्या जृद्वि हुँदा यहाँका व्यापार व्यवसाय पनि फस्टाउन सहज हुनेछ ।’ बन्दीपुरमा गत भदौको दोस्रो सातादेखि पर्यटकको चहलपहलमा वृद्वि हुँदै गएपछि यहाँका होटल व्यवसायीहरुले राहतको महसुस गर्न थालेका छन् । तल्लो स्टेसनको भवन अन्य केबुलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ । सोही भवनमा अति विशिष्ट कक्ष, खुल्ला रेष्टुरेन्ट (टुरिष्ट कोच), अतिथि स्वागत गर्नेलगायत कार्य एउटै भवनबाट हुनेछ । समग्र बन्दीपुरको विकासमा टेवा बन्दीपुर केबुलकार र होटल सञ्चालनमा आएपछि समग्र बन्दीपुरको पर्यटन प्रवद्र्धनमा आमूल परिवर्तन हुने अपेक्षा गरिएको छ । समग्र बन्दीपुरको विकाससँगै यहाँ सञ्चालित होटल र होमस्टे प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । ‘बन्दीपुरको विकासमा दूरगामी प्रभाव पार्नेछ’, उनले भने, ‘बन्दीपुरको पर्यटनमाथि उकासिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेमिनार हल पनि बन्दीपुरमा निर्माण भएकाले पर्यटनको सङ्ख्यामा वृद्वि हुन्छ ।’ केबुलकारसँगै सिसाको भ्यू टावर, सिसाको पुललगायत मनोरञ्जनात्मक र साहसिक खेलका लागि निर्माणका कार्य तीव्र गतिमा भइरहेको छ । बन्दीपुरका खड्गमाई, बिन्दावासिनी, चामुण्डा र थानीमाईलाई जोडेर चारधामका रुपमा पर्यटन प्रवद्र्धन गर्न लागिएको छ । अध्यक्ष थापाले भने, ‘यहाँका ऐतिहासिक, धार्मिक र सांस्कृतिक क्षेत्रको विकासमा परिवर्तन आउनेछ, काँचुली फेरिनेछ ।’ शेयर निष्कासनको तयारी त्यसैगरी १२ प्रतिशत शेयर निकाल्ने तयारी गरिरहेको कम्पनीले जनाएको छ । यसमध्ये १० प्रतिशत कर्मचारी र सर्वसाधारणका लागि हुनेछ भने दुई प्रतिशत स्थानीयवासीका लागि छुट्याइनेछ । केबुलकार र ‘क्विन टावर’ र होटल सञ्चालनमा ल्याउनु अगावै शेयर निष्कासन गर्ने लक्ष्य राखिएको कम्पनीका अध्यक्ष शर्माले जानकारी दिए । ‘रु दुई करोड ५५ लाखको १२ प्रतिशत शेयर निकालिनेछ’, उनले भने, ‘केबुलकार तयारी अवस्थामा छ तर केबुलकार घुम्ने स्थानमा केही काम गर्नुपर्ने भएकाले असर पुग्ने देखिएका कारण रोकिएको हो ।’ रासस
प्रधानमन्त्रीलाई इप्पानको ६ बुँदे सुझाव – बैंकको लगानी २ प्रतिशत वृद्धि गरी एकल अंकको ब्याजदर
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०का अध्यक्ष गणेश कार्कीले सबै जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौता (पीपीए) गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बोलाएको निजी क्षेत्रसँगको छलफलमा इप्पान अध्यक्ष कार्कीले १० वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य हाँसिल गर्न सम्भाव्य सबै विद्युत आयोजनाको पीपीए गरेर ऊर्जा दशक अवधिभर केही नीतिहरु निलम्बन गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री दाहालको गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा भारत सरकारले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत खरीद गर्ने सम्बन्धी ऐतिहाँसिक सम्झौता भएको स्मरण गर्दै अध्यक्ष कार्कीले सरकारले उक्त लक्ष्य हाँसिल गर्ने हो भने विशेषगरी वन र भूमिसँग सम्बन्धीत केही नीति नियमहरु निलम्बन गरेर जानुपर्ने बताएका हुन् । नेपाल सरकारले १५ हजार मेगावाट विद्युत निर्यात गर्ने गरी ऊर्जा विकास दशक घोषणा गरेर समग्रमा १० वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वकाँक्षी लक्ष्य निर्धारण गर्दा ४६ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने भएकोले यसका लागि एकल अंकको ब्याजदर कायम गरी ऊर्जा क्षेत्रमा गरिने लगानीको सीमा वार्षिक २ प्रतिशतका दरले बढाउँदै लग्नुपर्ने पनि कार्कीले बताए । ४६ खर्ब रुपैयाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट मात्र जुटाउन सम्भव नभएकोले प्रतक्ष विदेशी लगानी (एफडीआई)लाई पनि स्वागत गर्ने नीति सरकारले लिनुपर्ने उनले बताए । देशमा व्याप्त १८ घण्टासम्मको लोडसेडिङ हटाउन निजी क्षेत्रले पुर्याएको उल्लेखनीय योगदानलाईसमेत कदर गर्दै निजी क्षेत्रको हित अनुकुल नरहेको विद्युत विधेयक,२०८० लाई निजी क्षेत्र मैत्री बनाएर मात्रै संसदबाट पारित गराउन प्रधानमन्त्रीले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने पनि कार्कीले धारणा राखे । यस्ता छन् इप्पानले प्रधानमन्त्रीलाई दिएका सुझाव १. हालसम्म विद्युत खरिद बिक्री सम्झौताका लागि आवेदन दिएका १२ हजार मेगावाट भन्दा बढी क्षमताका सम्पूर्ण आयोजनाको पीपीए गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिने, २. सरकारले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन पुर्याउने लक्ष्य लिएकोमा उक्त लक्ष्य हाँसिल गर्न ४६ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने भएकोले ऊर्जा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानीको सीमा प्रति वर्ष २ प्रतिशतका दरले वृद्धि गरी एकल अंकको ब्याजदर तोकी आवश्यक लगानीको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिने, ३. ऊर्जा विकास दशक घोषणा गरी विद्युत प्रसारण लाइन एव विद्युत आयोजना निर्माणको लागि आवश्यक सरकारी जग्गा प्राप्ती र रुख कटान सम्बन्धी झन्जटिलो प्रक्रिया हटाउन वन तथा वातावरणसँग सम्बन्धीत केही ऐन र नियमहरु निलम्बन गर्ने, ४. संसदमा दर्ता भएको विद्युत विधेयक, २०८० निजी क्षेत्र मैत्री नभएकोले निजी क्षेत्रको रायसुझाव समेटेर निजी क्षेत्र मैत्री ऐन संसदबाट पारित गर्ने वातावरण बनाउन भूमिका खेल्ने, ५. ऊर्जा विकास दशक अवधिभर जलविद्युत आयोजनामा लगानीको स्रोत जुटाउन तथा प्रतक्ष विदेशी लगानी भित्र्याउन सहजिकरण गर्ने, ६. ऊर्जाबाट देशलाई समृद्धितर्फ लैजाने सरकारको महान लक्ष्य हाँसिल गर्न सबै राजनीतिक दलहरुबीच ूऊर्जा विकासूलाई साझा एजेन्डा बनाइ राष्ट्रिय सहमति जुटाएर ऊर्जा विकास दशक घोषणा गर्ने ।
१६ वर्षसम्म पनि बेनी–लभ्लिहिल–भकुण्डे सडकको अवस्था उस्तै
म्याग्दी । म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी–लभ्लिहिल–भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ । सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ । सडकको अवस्थामा सुधार नहुँदा स्थानीयवासी बेनी–रत्नेचौर–भकुण्डे हुँदै घुमाउरो र कठिन यात्रा गर्न बाध्य छन् । विसं २०६५ मा ‘ट्र्याक’ खुलेको बेनी–लभ्लीहिल–भकुण्डे सडक स्तरोन्नति नहुँदा अहिलेसम्म मोटरसाइकल र ट्र्याक्टरबाहेक अरू सवारी साधन सञ्चालन हुन नसकेका स्थानीय कृष्णबहादुर घिमिरेले बताए । सवारीसाधन सञ्चालन हुने गरी सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती भोग्नुपरेको उनको भनाइ छ । विसं २०६५ मा ट्र्याक खोल्ने काम भए तापनि बाटोमा सङ्घ, प्रदेश र स्थानीय सरकारको ध्यान नजाँदा जोखिम मोलेर यात्रा गर्नु परेको खबराका चन्द्रबहादुर कार्कीले बताए । ‘अहिलेसम्म बेनीबाट जिप वा बसमा चढेर गाउँमा आउन पाइएको छैन,’ कार्कीले भने, ‘खेतबारीमा फलाएका तरकारी र फलफूल पनि डोकोमा बोकेर बिक्री गर्न बजार लैजानुपर्छ, सडक हुनु र नहुनुको अर्थ नै भएन ।’ समय सयममा सामान्य रुपमा सडक मर्मतको काम हुने भए पनि अझैसम्म यातायातका साधन सञ्चालन हुन सक्नेगरी मर्मत हुन नसकेको स्थानीयवासीको गुनासो रहेको छ । वर्षातको समयमा बाढीपहिरो तथा हिलाम्य र हिउँदको समयमा धुलाम्य भएर पैदल र मोटरसाइकलमा कठिन यात्रा गर्नु परेको बेनी नगरपालिका–२ सानालेखका नारायण शर्माले बताए । साढे सात किलोमिटर कच्ची उक्त सडकमा जिप, बसलगायतका साधन चल्न सक्ने अवस्था नहुँदा बेनीबाट रत्नेचौर हुँदै साढे १४ किलोमिटरको घुमाउरो सडक पार गरेर जिप भकुण्डेसम्म पुग्छ । बाटोको समस्याकै कारण म्याग्दीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल ज्यामरुककोटको खड्गभवानी कोतमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या भएको छ । बाटोको मर्मत सुधार गरी यातायातका साधन सञ्चालन हुनसक्ने बनाउन सके ज्यामरुककोटमा पर्यटक पुग्नाका साथै स्थानीयलाई दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज हुने स्थानीय भीमबहादुर पौडेलले बताए । उक्त सडक मर्मतका लागि हालसम्म करिब एक करोड रुपैयाँ खर्च भइसकेको छ । वडा नं २ का वडाध्यक्ष यामबहादुर कार्कीले कमजोर भूबनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी–भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताए । सडकको स्तरोन्नतिका लागि ठूलै बजेट आवश्यक पर्ने उनको भनाइ छ । रासस