बाह्रबिसे सबस्टेसन तत्काल निर्माण सक्न नेपाल विद्युत प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०÷१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् विद्युत् खेर जान नदिन आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको हो । कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक तारा प्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको थियो । सबस्टेसनको निर्माण आगामी माघको पहिलो हप्ताभित्र सम्पन्न गर्ने तालिका तय गरिएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माण व्यवसायीले पछिल्लो समयमा आफ्नो कार्यसम्पादनमा सुधार गरी सबस्टेसन निर्माणमा राम्रो प्रगति हासिल गरेको बताए । घिसिङले सबस्टेसनमा राखिने उपकरणहरु सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि भइसकेको अवस्थामा जनशक्ति थप गरी जडान कार्यलाई तिब्रता दिन निर्देशन दिए । ‘मध्यभोटेशी विद्युत् उत्पादन सुरु गर्ने अवस्थामा पुगेको छ, आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनुभन्दा पहिले नै सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्छ’, उनले भने । ‘काठमाडौं उपत्यका नजिक रहेको मध्यभोटेकोशीले यस वर्षको शुख्खायामको विद्युत्को माग धान्नका लागि ठूलो सहयोग गर्छ,त्यसैले सबै गम्भीर भएर सबस्टेसन निर्माणमा लागेर आयोजनाको विद्युत् जतिसक्दो छिट्टो जोड्ने अवस्थामा पुगौं, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्न तयार छौं ।’ बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटक पटक दिएको निर्देशक निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभई मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिंदै आएको छ । सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु राखिएका छन् । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान भइरहेका छन् । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन् भने भने जडान बाँकी छ । सिभिलतर्फको फिनिसिङ काम बाँकी छ । २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९० प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । कार्यकारी निर्देशक घिसिङको टोलीले मध्यभोटेशी जलविद्युत आयोजनाको पनि अनुगमन गरेको थियो । आयोजना पुसभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतृगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरु निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ । बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न नसकिएको मध्यभोटेकोशी जलविद्युत कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल सिवाकोटीले बताए । समस्या समाधानका लागि स्थानीयसँग निरन्तर छलफल भइरहेकाले छिट्टै सहमतिमा पुग्ने विश्वास उनले व्यक्त गरे । प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि २२०/१३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनु पर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ । कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नु पर्ने छ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनु पर्ने छ । यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरणहरु आपूर्ति भइसकेका छन् । कार्यकारी निर्देशक घिसिङले उक्त प्रसारण लाइनमा पर्ने टावर निर्माणको काम तत्काल सुरु गर्न कम्पनीका प्रतिनिधिलाई आग्रह गरे । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ । तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरहरुमध्ये १३ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये १२ वटा सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नु पर्ने छ । १ वटा टावर नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । प्रसारण लाइनको २७ किलोमिटर तार तानिएको छ । त्यस्तै बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छन् । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ४ वटा टावर निर्माण हुन सकिरहेको छैन । १९ किलोमिटर तार तानिएको छ । ४००/२२० र १३२/११ केभी लप्सीफेदी सबस्टेसन स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण नै सुरु हुन सकिरहेको छैन ।

आठ वर्षपछि ५७ करोडमा बन्दै अदालतको भवन

बागलुङ । भूकम्पले भत्काएको आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदैछ । पोखरा उच्च अदालतको बागलुङस्थित इजलासको उक्त भवन दुई चरणमा  काम भइरहेकाले  निर्माणले तीव्रता पाएको हो । छ तलाभन्दा बढीको पूर्ण आपाङ्गमैत्री भवनमा अहिले  चौथो तलाको काम भइरहेको  छ  । अदालतको भवन २०७२ सालको भूकम्पले छियाछिया बनाएकाले पहिलो पटक दुईवटा विद्युतीय भर्‍याङसहित नमूना भवन निर्माण भइरहेको हो । हालसम्म भवनको ४० प्रतिशत काम सम्पन्न भइसकेको र  सोही भवनसँगै जोडिएको मुख्य आवासगृहको पहिलो तला  पनि ढलान भएको निर्माण कम्पनीको जिकिर छ । मुख्य भवनको मात्रै निर्माणको काम ६० प्रतिशत भए पनि भवन तथा तीन वटा आवास गृह निर्माणका हिसाबले पूरै योजनाको ४० प्रतिशत सम्पन्न भएको हो । सम्झौता भएको ११ महिनामा चौथो तलाको ढलान भइरहेकाले सम्झौता अघि नै भवन सकेर बुझाइने निर्माण कम्पनीले जनाएको छ । उक्त भवन ३० महिनामै सक्नेगरी २०७९ मङ्सिर १६ गते श्यामसुन्दर पशुपति शिवजी निर्माण कम्पनीले रु ५७ करोडमा ठेक्का पाएको थियो । भवन निर्माणका लागि अत्याधुनिक उपकरण प्रयोग गर्नाका साथै दिन र रातमा समेत दुई चरणमा निर्माणको काम भइरहेको ठेकेदार कम्पनीका  व्यवस्थापक ओम गुरुङले जानकारी दिए । ‘पुरानो भवन भत्काउनेदेखि नयाँ भवनको भूइँतलाको लागि माटो व्यवस्थापनमा समय लाग्यो, अहिले दिनरात गरी दुई चरणमा काम भइरहेको छ, यति ठूलो भवन ३० महिनामै सक्नु चुनौतीपूर्ण हो तर हामीसँग प्रविधि र जनशक्ति दुवै छ’, उनले भने, ‘रु ५७ करोड लागतको भवन दिनमा मात्रै काम गरे पाँच वर्ष लाग्छ, दिनरात काम गरेर ३० महिना अगावै सक्नु आवश्यक छ ।’ भवन निर्माणका लागि आवश्यक कच्चा सामग्री रेडिमिक्सको सहायताबाट तयार पारी प्राविधिक जाँच गरेपछि मात्रै प्रयोगमा ल्याइने गरिएको छ । श्रमिकलाई समेत आवसीय सुविधासहित भवन निर्माणस्थलमै राखिएको छ । बागलुङ इजालसका सूचना अधिकारी शिवप्रसाद गौतमका अनुसार भवन निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको अन्य निर्माणमा जस्तो निर्माण व्यवसायीले यो भवन निर्माणमा ढिलासुस्ती नगरेकाले समय अगावै सकिने छ । ‘अहिले उक्त इजलासको काम यहाँस्थित जिल्ला अदालतको भवनबाटै भइरहेकाले हामीलाई छिटोभन्दा छिटो भवन निर्माणको काम सकेर सेवा दिन आवश्यक छ’, उनले भने । अन्डरग्राउण्डसहित साढे छ तलाको उक्त भवनसँगै अथिति गृह र कर्मचारी आवाससमेत तीन ब्लकमा हुनेछ । सात रोपनी जग्गामा निर्माण भइरहेको उक्त  भवन प्रविधिमैत्री, अपाङ्गमैत्री, भूकम्प प्रतिरोधीका साथै  साविक धौलागिरि अञ्चलका चार जिल्लामध्ये सबैभन्दा ठूलो र आधुनिक हुने सघन सहरी तथा भवन निर्माण कार्यालयले जनाएको छ ।सो भवनमा छवटा अत्याधुनिक इजलास कक्ष रहने छन् । रासस

सडक स्तरोन्नतिले घोडेपानीसम्मको यात्रा सहज

म्याग्दी । म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक स्तरोन्नति गरिएपछि यात्रा अवधि छोटिनाका साथै सहज र सुरक्षित पनि भएको छ ।  बाटो खुलेको करिब १५ वर्षपछि सडक ग्राभेल, ढलान र कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । सडक विस्तार, घुम्ती तथा मोड निर्माण र ग्रेड सुधार भएपछि यात्राअवधि छोटिएको स्थानीय चालक विश्वास खत्रीले बताए। ‘पहिला पोखरेबगरदेखि घोडेपानी पुग्न तीन घण्टा लाग्दथ्यो,’ उनले भने ‘अहिले एकै घण्टामा पुगिन्छ । गाडी विग्रने समस्या कम भएको छ । दुर्घटनाको जोखिम पनि कम भएको छ ।’ अठार दशमलव ५४ किलोमिटर दूरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार-खिवाङ-शिख-फलातेहुँदै पर्यटकीय बस्ती घोडेपानी नजिकैको चित्रे जोड्ने सडक निर्माण गर्न तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा ठेक्का सम्झौता गरेको थियो । सो प्राधिकरण खारेज भएपछि सहरी विकास मन्त्रालयअन्तर्गतको कास्कीस्थित स्थानीय पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण गरिएको सो आयोजनाका लागि मोतीदान-जयमाता जेभीले २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको थियो ।  निर्माण कम्पनीका प्रतिनिधि रामप्रसाद बञ्जाडेले सडक आयोजनाका अधिकांश काम सकिएको बताए । ‘डिबिएसडी प्रविधिको कालोपत्र गर्नेुपर्ने बिरौटा बाहेकको ठाउँमा दोस्रो कोड पनि भइसक्यो,’ उनले भने ‘ढलान, ग्राभेल र सोलिङको काम यसअघिनै सकिएको छ ।’  विसं २०७७ जेठ २२ गते सक्ने सम्झौता भएको सो आयोजनाका लागि निर्माण व्यवसायीले पर्याप्त मजदुर र उपकरण परिचालन गर्न नसक्नु, कमजोर भूबनोट हुनु, प्राकृतिक विपत्ति आइपर्नु, कोरोना महामारीलगायत कारणले लक्ष्यभन्दा तीन वर्षपछि पूरा हुन लागेको हो ।  सडक निर्माणले पूर्णता पाएपछि स्थानीयवासी तथा पर्यटकलाई आवतजावत गर्न सहज भएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए। शिख, घारका दुई हजार पाँच सय घरधुरी र दैनिक सयौँको सङ्ख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई यो सडकले सुविधा पुगेको उनले जानकारी गराए ।   म्याग्दीको गौरवको आयोजना मानिएको सो आयोजनाबाट सडक यातायात मात्र नभएर पर्यटन प्रवर्द्धन र कषिको  विकासका लागिसमेत उत्तिकै महत्व छ । सडक स्तरोन्नति भएपछि पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक पर्यटकको आगमन बढ्ने, शिख र घारवासीलाई आवतजावतका साथै ढुवानी स्थानीय उत्पादन निकासीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस