काठमाडौं । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१मा बहुवर्षीय ठेक्का लगाउन ६८ योजना छनोट गरेको छ ।
म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको जगन्नाथ मन्दिरको आइतबार भएको उद्घाटन कार्यक्रममा मन्त्री जुग्जालीले सडकका ३५ र सडक पुलका ३३ वटा योजनालाई बहुवर्षीय ठेक्का लगाउन सिफारिस गरिएको जानकारी दिए ।
“२०७४/७५ मा ठेक्का लागेका अधिकांश योजना यही वर्ष सकिँदैछन् । सम्पन्न हुन नसक्ने योजनाको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका छौँ”, उनले भने, “यस वर्ष सडक र सडक पुलका ६८ वटा नयाँ योजनाको बहुवर्षीय ठेक्का लगाउन मन्त्रालयले निर्णय गरिसकेको छ ।”
मन्त्री जुग्जालीले चालु आवमा प्रत्येक निर्वाचन क्षेत्रमा ५/५ करोड रुपैयाँ बराबरको सडक आयोजनाको पनि बहुवर्षीय ठेक्का लगाउने तयारी गरेको जानकारी दिए । चालु आवमा विनियोजन भएको बजेटलाई कुल अनुमानित लागतको २० प्रतिशत मानेर स्रोत सुनिश्चिततन र बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयनको तयारी गरेको मन्त्री जुग्जालीले जानकारी दिए ।
म्याग्दीमा ५ करोड रुपैयाँ बजेट विनियोजन भएको दरवाङ–मुना–ढोरपाटन सडकलाई २५ करोड रुपैयाँ, ४/४ करोड रुपैयाँ बजेट रहेको दरवाङ–बिम–दिच्याम र बेनी–तोरीपानी हुँदै पाखापानी सडकलाई २०/२० करोडको स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का आह्वानको तयारी भएकोे छ ।
२/२ करोड रुपैयाँ बजेट रहेको दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान–बुर्तिवाङ, हाँडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोलेमुसुङ–बाग्लुङ र पखेर–बरंजा सडकका लागि पनि १०/१० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चितता भएको मन्त्री जुग्जालीले बताए ।
म्याग्दीका ६ वटा स्थानीय तहको ४५ मध्ये धवलागिरि गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जा मात्र सडक सञ्जालमा जोडिएको छैन । गुर्जालाई सडक सञ्जालमा जोड्न प्रदेश, सङ्घीय सरकार र गाउँपालिकाले २/२ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
म्याग्दीको धवलागिरि गाउँपालिका–२ स्थित दरखोला र मालिका गाउँपालिका–७ को शिवरात्री खोलामा मोटरेबल पुलको योजना बुहवर्षीय ठेक्का लगाउन छनौट भएको मन्त्री जुग्जालीले बताए । मालिका गाउँपालिका–३ र ४ को सिमाना अदिभारा र बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिकाको वडा नम्बर ३ अर्चेखोलामा मोटरेबल पुल निर्माणको ठेक्का सम्झौता भइसकेको छ ।