मिलनचोक–रातोढुुङ्गा प्रसारण लाइनको परीक्षण सुरु
म्याग्दी । म्याग्दीमा ३३–११ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन आयोजनाको आजदेखि परीक्षण सुरु भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइनबाट रातोढुुङ्गामा निर्माण भएको ३३–११ केभी क्षमताको सवस्टेशन विद्युत् आपूर्ति गराउन परीक्षण थालिएको हो । नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाले करेन्ट प्रवाह गरिने भएकाले मिलनचोक–रातोढुङ्गा प्रसारण लाइनका खम्बा, तार, स्टेलगायत संरचना नछुन र नचलाउन सूचनामार्फत अनुरोध गरेको छ । आयोजनाका प्राविधिक रोहन शर्माले प्रसारण लाइनको परीक्षण र सवस्टेशन चार्ज गर्न लागिएको बताए । प्रसारण लाइनको खम्बा गाड्ने, तार तान्ने, सवस्टेशनमा संरचना निर्माण तथा उपकरण जडानको काम सकिएको छ । रातोढुङ्गामा सवस्टेशनको आवास भवन निर्माण अन्तिम चरणमा छ । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले एक हप्ताअघिदेखि पहिलो चरणको परीक्षणको काम थालेको थियो । परीक्षणपछि कुुनै समस्या आएन भने डिसेम्बर महिनाको अन्तिमसम्म प्रसारण लाइन र सवस्टेशन सञ्चालन गर्ने तयारी रहेको निर्माण कम्पनी ए टु जेड इञ्जिनियरीङका प्रतिनिधि पद्यसागर लुइँटेलले बताए । नेपाल विद्युत् प्राधिकरणमार्फत सो कम्पनीले सन् २०१६ मा ठेक्का लिएको सवस्टेशन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । खम्बा गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको आयोजनाको काम गत जेठ महिनामा चार वर्षपछि सञ्चालन भएको थियो । चार वर्षअघि नै सम्पन्न हुनुपर्ने सवस्टेशन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ । रातोढुुङ्गा सवस्टेशन र प्रसारण लाइन सञ्चालन भएपछि पश्चिमी क्षेत्रको धौलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताए । ‘हाल मिलनचोक सबस्टेशनबाट चार फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ’, उनले भने, ‘२० किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किमीसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन भएको समस्या अब हट्ने छ ।’ रासस
चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !
म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी–गलेश्वर रहेको योजनाका इन्जिनियर अच्युतविलास पन्तले बताए । ‘करिडोर दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको सातवटा प्याकेजको निर्माण सकिएको छ’, उनले भने, ‘यसअघि छोसेर–कोरला खण्डको १८ किलोमिटर ग्राभेल गर्ने काम पनि लक्ष्यअघि नै सकिएको थियो ।’ गत मङ्सिर ९ गतेदेखि सात दशमलव पाँच मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गर्न थालिएको थियो । प्राविधिक टोलीले सडकको नापजाँच गरिरहेको छ । दुई किलोमिटर एक सय दुई मिटर सडक कालोपत्र गर्न मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले भ्याट/पीएससहित रु १२ करोड ७५ लाख ९४ हजार चार सय ३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । पर्याप्त उपकरण, निर्माण सामग्री र मजदुर परिचालन गरेर लक्ष्यअघि नै सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले बताए। ‘आयोजना कार्यालय, स्थानीय प्रशासन, जनप्रतिनिधि र समुदायले योजना निर्माणमा पर्याप्त सहयोग तथा सहजीकरण हुँदा सहज भयो’, उनले भने, ‘गत असारमै ८० प्रतिशत निर्माण सकिएको थियो ।’ सो कम्पनीले तनहुँमा पनि हालै दुई वर्ष आयोजना लक्ष्यअघि नै निर्माण सकेको छ । सडक फराकिलो बनाउने, पर्खाल, नाली, चारवटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्र गरिएको हो । यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज भएको छ । मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीयरूपमा नियमित अनुगमन, निरीक्षण र समन्वय गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । ‘बेनी–गलेश्वर सडक आयोजना ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ’, उनले भने, ‘निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहजीकरण गर्ने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको छ ।’ रासस
ऋण प्रस्ताव पारित गर्न मध्य भोटेकोशीले बोलायो १२औं साधारणसभा
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २६ गते बसेको बैठकले पुस २७ गते काठमाडौंमा बिहान ११ बजे १२ औं साधारणसभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सभाले सञ्चालक समितिका सदस्यहरुको सुविधा र चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुने गरी ऋण लिइएको प्रस्ताव पारित गर्नेछ । कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा पुस ११ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी हुन पाउने छन् ।