झापा इनर्जीद्वारा १० मेगावाट विद्युत् उत्पादन

झापा । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जी प्रालिबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ । निजी क्षेत्रको सबैभन्दा धेरै क्षमताको यो सौर्य ऊर्जा परियोजना जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित छ । प्राधिकरणको दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले प्राधिकरणको शिवसताक्षीस्थित बुलुचोक सबस्टेशनमा उक्त सौर्य ऊर्जा जोडिएको जानकारी दिए  । ‘झापा इनर्जीको यो परीक्षण उत्पादन हो’ उनले भने, ‘केही दिनसम्म लगातार परीक्षण जारी रहनेछ ।’ उक्त विद्युत् उत्पादन सबस्टेशनमा जोडिँदा विर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतरा, प्राधिकरणका कोशी प्रदेश कार्यालयका इन्जिनियर साजन महर्जन, झापा इनर्जीका प्रबन्ध निर्देशक सुवास भट्टराईलगायतको उपस्थिति थियो । झापा इनर्जीका प्रबन्ध निर्देशक भट्टराईले आगामी १५ दिनसम्म परियोजनाबाट विद्युत् उत्पादन गरेर प्राधिकरणको सबस्टेशनमा जोडिरहने जानकारी दिए । परीक्षणकाल भएकाले सो अवधिमा निजी कम्पनीले उत्पादन गरेको विद्युत्को कुनै शुल्क प्राधिकरणले तिर्नुपर्दैन । पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा परियोजना सञ्चालन भइरहेको छ । सोही स्थानमा सौर्य प्यानल राखिएको छ । सांसद एलपी साँवाको नेतृत्वमा रु ८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत स्थानीय सेयर छ । परियोजनास्थलबाट प्राधिकरणको बुलुचोक सबस्टेशन एक किलोमिटरको दूरीमा छ । सबस्टेशनसम्म विद्युत पुर्याउन कम्पनी आफैँले नौ सय ६० मिटर प्रसारण लाइन निर्माण गरेको थियो । झापा इनर्जी प्रालि र प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको थियो । सम्झौताअनुसार परियोजनाबाट उत्पादित बिजुली प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसामा खरिद गर्ने भएको छ । रासस

सुपरमाई हाइड्रोको उत्पादन बन्द, दैनिक ५ लाख घाटा

काठमाडौं । इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड्रोपावर सञ्चालित छ । स्थानीयले खोलाको पानी हाइड्रोमा जान नदिई बगरमा पानी कटाइदिएको स्थानीय हरि भण्डारीले जानकारी दिए । सो हाइड्रोपावरले माईजोगमाई–५ सोताङमा ३० घण्टा सडक मर्मतका लागि स्काभेटर उपलब्ध गराउने भन्दै स्थानीयलाई पटकपटक झुक्याएका कारण हाइड्रोको उत्पादन बन्द गर्नुपरेको उनले बताए । ‘खोलामा छोड्नुपर्ने २० प्रतिशत पानीसमेत उहाँहरूले छोड्नु भएको छैन,’ उनले भने । सुरुमा स्थानीयवासीले माग गरेको ३० घण्टा सडक मर्मतका लागि स्काभेटर दिने भनिएको र वडाबाट सिफारिस लिएर आउन आग्रह भएको थियो । माईजोगमाई गाउँपालिका–५ वडा कार्यालयको सिफारिससहित जाँदासमेत स्काभेटर उपलब्ध नगराएपछि उत्पादन बन्द गराउनु परेको बताइएको छ । स्थानीयवासीले सोमबार रातिदेखि नै जाग्राममा बसेर उत्पादन बन्द गराएका हुन् । सबै पानी खोलातर्फ लगाइदिएपछि उत्पादन पूर्ण रूपमा बन्द भएको छ । माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयको भनाइ छ । हाइड्रो सञ्चालकले स्थानीयका माग पूरा नगर्ने, पूरा गर्ने भनेर झुक्याउने गरेपछि उत्पादन बन्द गरिदिएको स्थानीयको भनाइ छ । सोमबार राति ११ बजेदेखि नै हाइड्रोतर्फ गएको पानी खोलातर्फ कटाइदिएको जनाइएको छ । हाइड्रोका प्रमुख कार्यकारी अधिकृत दिनेश बर्तौलाले स्थानीयका माग पूरा गर्ने भन्दाभन्दै उत्पादन बन्द गरिदिएको बताए । उनले हाइड्रोको गेटसमेत बन्द गरेको जानकारी दिए । स्थानीयवासीले पटकपटक माग बढाउने गरेको उहाँको भनाइ छ । पछिल्लो समय शेयर लगानीमार्फत ५० हजार बढी सञ्चालक रहेको हाइड्रोको एकल निर्णय गर्न नपाइने भएकाले माग पूरा गर्न समय लागेको हाइड्रोले जनाएको छ । उत्पादन बन्द भएपछि सो हाइड्रोले दैनिक पाँच लाख बढी घाटा बेहोर्नुपर्छ । हाइड्रोपावर सात दशमलव आठ मेघावाट क्षमताको छ । रासस

डाँडापारिका गाउँमा पूर्वाधार विस्तारले पलायो आशा

धुलिखेल ।  काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकामा सडक निर्माण र विद्युत विस्तारले केही भए पनि आशा पलाएको छ । स्थानीय  सरकारको अघिल्लो कार्यकालमा खोलिएको सडक ट्र्याक र विद्युत् प्रसारण लाइनका खम्बामा पछिल्लो सयम तार टाँगेर विद्युत् विस्तार हुँदा गाउँमा साँच्चै विकासको लहर छाएको आभास भएको वडा नं ८ का वडाध्यक्ष टङ्कबहादुर आलेमगरले बताए । अहिले महाभारत र खानीखोला गाउँपालिकाको अधिकांश क्षेत्रमा सडक ‘ट्र्याक’ र केन्द्रीय विद्युतीकरणको काम भइरहेको छ । बाह्रै महिना सवारीसधान सञ्चालन हुने पक्की सडक, खोलामा पुल र सञ्चार सेवाको विस्तार हुनु अझै सपनाको कुरा भएको उनको भनाइ थियो । घर्तीछापमा एउटा मोबाइल टावर र सिन्धुली तथा काभ्रेपलाञ्चोकको सिमाना कोखाजोर खोलामा एउटा पक्की पुल निर्माणका लागि गरिएको मागसमेत सम्बोधन नभएको वडाध्यक्ष आलेमगरको गुनासो थियो । ‘नागरिकको समस्या समाधानका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रदेश सभासदस्य, प्रदेशमन्त्री, सङ्घीय सांसद, मन्त्री र पार्टीको नेतासम्म पनि हारगुहार गर्दा पनि चासो नदिँदा आश मरेर आएको छ,’ उनले भने, ‘घर्तीछापमा रहेको मोबाइल नेटवर्कको समस्या, नजिकै सिमानामा जोडिएको सिन्धुलीको हरिहरपुर र महाभारत गाउँपालिका जोड्ने पुल निर्माणका लागि गरिएको माग बर्सौ बितिसक्दा पनि सम्बोधन गरिएन । अरू वडा र पालिकाबाट गर्नुपर्ने विकासका काममा आफूहरुको प्रयास रहे पनि प्रदेश र सङ्घीय सरकारबाट गर्नुपर्ने काममा सधैँ आलटाल नगर्न आग्रह गर्दछु ।’ नेकपा (माओवादी केन्द्र)का स्थानीय  सचिव अमर मगरले प्रदेश सरकारले अगाडि बढाएको गौरवको आयोजना बिपी राजमार्गको पिन्थली हुँदै चारकिल्लो–देवीटार–घर्तीछाप–गोकुले–छोटेसाहन–सिक्रेदोभान–भोर्लेनी–झुरझुरेसम्मको जनमुक्ति मार्ग स्तरोन्नति हुँदै आएको देख्दा विकासको गतिले फड्को मार्ने आशा पलाएको बताए । ‘विद्युतीकरणको काम क्रमशः अगाडि बढिरहेको छ, अब छिट्टै यो गाउँपालिका झिलीमिली हुने अवस्थामा छ,’ उनले भने, ‘जनमुक्ति मार्गलाई खण्ड–खण्ड गरी बजेट व्यवस्थापन गर्दै कालोपत्रका लागि गरिएको शिलान्यास र बीचबीचमा आवश्यक पक्की पुल निर्माणका लागि गरिएको  शिलान्यासले डाँडापारिको समृद्धिको यात्रा अगाडि बढेको पाएको छु । समग्रमा अझै यहाँको विकासलाई द्रुतगति दिनका लागि स्थानीय सरकारदेखि सबै पार्टीपङ्क्ति र नागरिकको उत्तिकै साथ आवश्यक रहेको छ ।’ सोही पालिकाका उपाध्यक्ष सागर मोक्तानले विकटका बासिन्दाका लागि पहिलो विकास सडक भएको र यसले उत्पादनलाई आर्थिक उन्नतिमा जोड्नाका साथै  पर्यटकसँग सम्बन्ध विस्तार गर्ने माध्यम हुने भएकाले खोलिसकेको सडक ट्र्याकलाई पक्की बनाउने र पक्की पुल निर्माणको काम अगाडि बढिसकेकाले अब डाँडापारिका बासिन्दा विकासको उपभोग गर्न आतुर रहेको बताए । पालिका अध्यक्ष कान्छालाल जिम्बाले यहाँको विकासमा निर्माण व्यवसायीले बाधा पुर्‍याएको बताए । स्थानीय सरकारको पहलमा योजनाहरु पारेर प्रक्रिया अगाडि बढाए पनि निर्माण व्यवसायीकै कारण समयमा नै काम सम्पन्न नगर्ने र आलटालमै समय बिताउने गरेका कारण नागरिकको विकास उपभोग गर्न पाउने आशालाई निरुत्सहित गर्ने काम भइरहेको गुनासो गरे । बजेट पारेपछि काम गर्न आलटाल गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न प्रदेश र सङ्घीय सरकारले पहल गरेमा यहाँका नागरिकको चाहना पूरा गर्न सकिने उनको भनाइ थियो  । स्थानीय तहको सरकारले करिब छ वर्षमा तीन सय ६५ किलोमिटर सडकको ट्र्याक खोलिएको र विद्युत् विस्तारको काम अन्तिम चरणमा पुर्‍याएको उनले बताए । विसं २०७७ असोज २० गते बागमती प्रदेशका तत्कालीन मन्त्री रामेश्वर फुँयालले स्तरोन्नति गरिएको पिन्थली–चारकिल्ला–तीनखुट्टे–बनखु सडक आयोजनाअन्तर्गत उक्त गाउँपालिकाको तीनखुट्टे–देवीटार सडकखण्ड कालोपत्र  शुभारम्भ गर्नुभए पनि अहिलेसम्म अधुरो छ । खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले अझैसम्म पनि पक्की पुल र सडक कालोपत्र नहुँदा डाँडापारि क्षेत्रमा बर्खामा छ महिनासम्म यातायातको साधन सञ्चालन हुन नसकेको गुनासो गरे । पछिल्लो समयमा पनौती हुँदै बेथानचोकको ढुङखर्क–च्याम्राङबेँसी–ठूलादुर्लुङ–तालढुङ्गा सडकअन्तर्गत खानीखोला गाउँपालिका–५ र ६ जोड्ने पक्की पुल शिलान्यासले थप आशा पलाएको र अब छिट्टै दुर्लुङ खोलामा पनि पक्की पुल निर्माण हुन लागेकाले डाँडापारिका बासिन्दालाई सहज हुने अपेक्षा गरिएको बताए । बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्नुभएका स्थानीयवासी रत्नप्रसाद ढकालले डाँडापारि क्षेत्रको भौतिक पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, पर्यटन र कृषि क्षेत्रमा बिस्तारै काम गर्दै अगाडि बढिरहेकाले यहाँ विकासको लहर बढ्दै गएको छ भने । वर्षौंसम्म जनुमक्ति मार्गले नछोएको ग्रामीण भेगका बस्तीमा बिस्तारै आवश्यकताका आधारमा योजनाहरुलाई अगाडि बढाउने अभियानमा बागमती प्रदेश सरकार रहेको उनको भनाइ थियो । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले आवश्यकताका आधारमा बजेट विनियोजन गरी थालनी गरेको विकासका आयोजनाले दूरदराजका गाउँमा पनि विकासको लहर फैलिँदै गएको बताए । ‘प्रदेश सरकारले ग्रामीण क्षेत्रलाई केन्द्रित गरेर पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ ।’ उनले भने, ‘बिपी राजमार्गको पिन्थलीदेखि डाँडापारिका दुई पालिका हुँदै मकवानपुर जिल्लाको झुरझुरेसम्म जनमुक्ति मार्ग निर्माणको काम अघि बढिसकेको छ । यसमा  साथ र सहयोग दिन ढिलासुस्ती तथा अनियमितता गर्न खोजेमा खबरदारी गर्न स्थानीयवासीलाई  आग्रह गर्छु ।’ पछिल्लो चरणमा उक्त सडकखण्डको बनखु खोलामा पुल निर्माणका लागि रु सात करोड सात लाख ९९ हजार नौ सय ४६ मा ठेक्का आह्वान गरेर  काम अगाडि बढाइसकिएको छभने सडक स्तरोन्नतिका लागि रु ३९ करोड ७४ लाख ५५ हजारमा निर्माण व्यावसायीलाई ठेक्का दिएर निर्माण कार्य अगाडि बढाइएको छ । यता जिल्लाको पनौती हुँदै बेथानचोकको ढुङखर्क–च्याम्राङबँसी–ठूलादुर्लुङ–तालढुङ्गा सडकअन्तर्गत खानीखोला गाउँपालिका–५ र ६ जोड्ने पक्की पुलका लागि रु पाँच करोड ८२ लाख ९७ हजार पाँच सय ६५ विनियोजन गरी  निर्माण कार्य अगाडि बढाइको छ । रासस