तीब्र गतिमा निर्माण हुँदै जनमुक्ति मार्ग, समृद्धितर्फ उन्मुख डाँडापारि​​​​​​​

काठमाडौं । काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको छ । जिल्लाको विकट डाँडापारि क्षेत्रमा रहेको महाभारत र खानीखोला गाउँपालिकाका नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले यो मार्ग निर्माण भइरहेको छ ।  बिपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको पिन्थलीबाट रजबास हुँदै डाँडापारिस्थित महाभारत गाउँपालिकाको चारकिल्ला-तीनखुट्टे-देवीटार-घर्तिछाप-गोकुले-छोटेसाहन र खानीखोलाको तालढुङ्गा भएर मकवानपुर जिल्लाको भोर्लेनी-झुरझुरे हुँदै मदन भण्डारी लोकमार्ग जोड्ने सडक खण्ड पर्छ । अहिले सो सडक खण्डअन्तर्गत रजबास-तीनखुट्टे खण्डअन्तर्गत महाभारत गाउँपालिकाको कोलटार आसपासमा पर्खाल, नाली निर्माण र सडक ढलानका लागि फलामे छड बिछ्याएर ढलान गर्ने क्रममा रहेको छभने तीनखुट्टे-देवीटार खण्डको खोलाघारी र घ्याब्रिङ, देवीटार–घर्तिछाप लभडाँडा खण्डअन्तर्गत घर्तिछाप गाउँमा कालोपत्र गर्ने र त्यसका लागि बेस हाल्ने काम भइरहेको छ ।  त्यस्तै लभडाँडा–छोटेसाहन खण्डअन्तर्गत गोकुले, धाप र अन्य खण्डमा सडक नाली र पर्खाल निर्माण एवं कालोपत्रका लागि बेस हाल्ने काम भइरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए । सुरुमा जिल्ला सदरमुकामलाई पालिका केन्द्रसँग जोड्ने सडकमार्गका रूपमा अगाडि बढाएको यो योजनालाई डाँडापारि क्षेत्रका महाभारत र खानीखोलाका नागरिकलाई जिल्ला सदरमुकाम आवतजावत गर्ने उद्देश्यले अगाडि बढाइएको थियो ।  पछि बागमती प्रदेश राजधानी हेटौँडा आवतजावत गर्नका लागि कठिन हुने गरेको अवस्थालाई मध्येनजर गरेर त्यहाँका नागरिकको जीवनयापन र जिल्ला तथा प्रदेश राजधानीसँग सडक सञ्जालले जोड्नका लागि सो सडकलाई थप अगाडि बढाइएको छ । अहिले सो सडकलाई प्रदेश सरकारले प्रादेशिक मार्गका रूपमा लिएर कामलाई तीव्रता दिएको छ । पहिलोपटक ठेक्का आह्वान गरी काम थालिएको तीनखुट्टे–खोलाघारी–देवीटार ८ दशमलव ७ किलोमिटर सडक निर्माणका लागि जिम्मा पाएको श्रेष्ठ÷सक्षम जेभी सामाखुसीले २०७७ असारमा ठेक्का सम्झौता गरी २०७९ असारमा सम्पन्न गर्नेगरी काम थालिएको भए पनि निर्माण व्यवसायीले कामलाई निरन्तरता नदिँदा अलपत्र जस्तै अवस्थामा रहेको थियो । तर, अहिले पालिका र प्रदेश सरकारले निरन्तर दबाब दिएपछि पटकपटकको म्याद थप पश्चात् पछिल्लो समयमा कामलाई निरन्तर अगाडि बढाइरहेको छ । श्रेष्ठ÷साक्षम जेभीका परियोजना प्रबन्धक रोहन खत्रीले अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष काम तीव्र गतिमा अगाडि बढिरहेको र आगामी वैशाखसम्ममा काम सम्पन्न गर्ने बताए । अहिले कालोपत्र गर्ने कामदार ३० र ड्रेन वाल लगाउने जनशक्ति ३५ जना निरन्तर खटाएर काम भइरहेको र समयमा नै सबै काम सम्पन्न गर्नेगरी खटिरहेको  उनको भनाइ छ ।  पूर्वाधार विकास कार्यालय धुलिखेलका सुपरभाइजर निर्मल दर्जीले अघिल्लो वर्षहरूको तुलनामा अहिले काम तीव्र गतिमा अगाडि बढिरहेको बताए । समयमा नै काम सम्पन्न गर्नेगरी काम भइरहेको र गुणस्तरलाई ध्यान दिँदै काममा जोड दिएको उनको भनाइ छ । त्यस्तै रजबास–चारकिल्ल–तीनखुट्टे खण्डअन्तर्गत कोलटार आसपासमा भइरहेको कामले गति लिइरहेको छ । निर्माण कम्पनीका सम्र्पक प्रबन्धक सुजन गिरीले करिब ९५ प्रतिशत स्ट्रक्चरको काम सम्पन्न भइसकेको बताए । १५.५ किलोमिटर सडकखण्डको काममा ११ किलोमिटर कालोपत्र र साढे ४ किलोमिटर ढलानको काम भइरहेको छ । आगामी असारसम्ममा सम्पन्न गर्नुपर्ने कामका लागि करिब एक सय जना जनशक्ति खटाएर काम भइरहेको उनको भनाइ छ । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले काभ्रेपलाञ्चोकको पिन्थलीबाट रजबास हुँदै चारकिल्ला, तीनखुट्टे, खोलाघारी देवीटार, घर्तिछाप, गोकुले भएर खानीखोलाको तालढुङ्गा र मकवानपुर जिल्लाको भोर्लेनी झुरझुरे भएर मदन भण्डारी लोकमार्ग जोड्ने करिब ८० किलोमिटर सडकको काम तीव्र गतिमा भइरहेको बताए । विभिन्न चरणमा ठेक्का भई नौ खण्डमा निर्माण कम्पनीहरूले ठेक्का सम्झौता गरेर निर्माण कार्य भइरहेको कामको करिब १८ किलोमिटरबाहेक अहिले अन्य खण्डमा भने काम निरन्तर भइरहेको उनले बताए । बाँँकी खण्डहरू निरन्तर काम भइरहेको भए पनि काममा ढिलाइ भइरहेको तीनखुट्टे देवीटार खण्डको कामलाई निरन्तरका लागि दबाबबीच अहिले पछिल्लो समयमा छिटो गतिमा काम भइरहेको जनाएको छ । उनका अनुसार आगामी असारभित्रमा महाभारत गाउँपालिकाभित्रका ४४ किलोमिटर सडक निर्माण भइसक्ने विश्वास लिएको छ । त्यसका लागि पालिका र जिल्ला प्रशासन कार्यालयबाट समेत कामको अनुगमन भइरहेको तथा स्थानीय बासिन्दालाई पनि कामको गुणस्तर र निरन्तरता दिन सम्बन्धित पक्षलाई सहयोग गर्ने र घच्घच्याउने काममा लाग्न आग्रह गरेको उनले बताए ।  सो क्षेत्रका नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने आयोजनामध्ये सडक सञ्जाल र केन्द्रीय विद्युतीकरणलाई प्रमुख मानिएको छ । जुन कार्य सम्पन्न भएपछि यहाँका नागरिकको जीवनस्तरमा परिवर्तन आउने अपेक्षा गरिएको छ । जसमध्ये केन्द्रीय विद्युतीकरण भने सम्पन्न भइसकेको छ ।

९५ लाख ८५ हजारमा सडक ढलान, सौन्दर्यकरणका लागि १ करोड रुपैयाँ बजेट

दिक्तेल बजारको सडक ढलान सकियो, अब सौन्दर्यकरणको काम काठमाडौं । खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सम्पन्न भएको छ । विक्रम संवत् २०७६ मा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याको अन्त्य भएको छ ।  कुनै समय धुलो र हिलोका कारण हिँड्न समेत नसकिने अवस्थामा रहेको दिक्तेल बजारको सडकले सबैलाई सास्ती दिएको थियो । लामो समयको प्रतीक्षा पश्चात् पूरै सडक ढलान भएपछि दिक्तेल बजारको मुहार नै फेरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताए । साँघुरो, हिलाम्मे र धुलाम्मे अवस्थाको दिक्तेल बजारको सडक सङ्घ र प्रदेश सरकारले उपलब्ध गराएको छ चरणको बजेटले पूरै ढलान भएको हो । दिक्तेलस्थित शङ्धरसाख्वा चोकदेखि भानु चोकसम्मको सडक ढलान यही पुस २७ गते (आइतबार) सम्पन्न भएसँगै पूर्णता पाएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत भौतिक पूर्वाधार कार्यालय खोटाङको मूल्य अभिवृद्धि कर तथा पिएससहित ९५ लाख ८५ हजार ७८ रुपैयाँ लागतमा फास्ट एन्ड फास्ट कन्स्ट्रक्सन प्रालिले सडक ढलानको काम गरेको हो । निर्माण कम्पनीले २०८२ साल चैत २२ गतेभित्र सम्पन्न गर्ने गरी २०८२ साल मङ्सिर २२ गते सडक ढलानको सम्झौता गरेको थियो । सम्झौता भएको भोलिपल्टबाट नै ढलानको काम सुरु गरेको निर्माण कम्पनीले सम्झौता मितिभन्दा करिब तीन महिना अगाडि नै सम्पन्न गरेको भौतिक पूर्वाधार कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिए । दिक्तेल बजारको बाँकी सडक खण्ड यसअघि नै ढलान गरेर सञ्चालनमा ल्याइसकिएको थियो । जिल्लाका सबै प्रशासनिक कार्यालय रहेको दिक्तेल बजारको सडक ढलान सुरु भएको लामो समयसम्म पनि बजेट अभावमा पूरा नहुँदा राजनीतिक दलका नेताहरूको चर्को आलोचना हुँदै आएको थियो । धेरै वर्षअगाडि ढलान भएर सञ्चालन हुनुपर्ने दिक्तेल बजारको सडक ढिलै भए पनि सम्पन्न भएपछि जिल्लावासी हर्षित भएका छन् । तत्कालीन अवस्थामा स्थानीयवासीको असहयोगका कारण सडक ढलानका लागि आएको बजेट फिर्ता पठाउनु परेको थियो । दिक्तेल बजारवासी समेत रहेका निर्माण कम्पनीका प्रबन्ध/निर्देशक ध्रुव श्रेष्ठले सम्झौता समयअगाडि नै काम सम्पन्न गरेका छन् । जिल्लाको सदरमुकामसमेत रहेको सडकमा अब कसैले सास्ती भोग्नु नपर्ने भएको छ । कोशी प्रदेश सरकारले यस आर्थिक वर्षका लागि दिक्तेल बजारको सडक ढलानसँगै सौन्दर्यकरणका लागि १ करोड रुपैयाँ बजेट उपलब्ध गराएको छ । प्रदेश सरकारबाट प्राप्त बजेटले ठेक्का प्रक्रियामार्फत राष्ट्रिय विभूति भानुभक्त आचार्यको सालिक पुनः निर्माणसँगै बजार क्षेत्रका विभिन्न ठाउँमा पूर्वाधार विकासका काम सुरु गरिएको छ ।  दिक्तेलमा स्थापित भानुभक्तको सालिक जीर्ण अवस्थामा पुगेकाले संरक्षण आवश्यक देखिएपछि हाल रहेको स्थानभन्दा केही पर सारेर आधुनिक ढङ्गले पुनः निर्माणको काम सुरु गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।  भानुभक्तको सालिक पुनः निर्माणका क्रममा सालिक वरपरका खाली ठाउँमा टाइल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण, चोकको साङ्केतिक चिह्न राख्ने तथा आदिकवि भानुभक्तका कविताका केही हरफ समावेश गरी सौन्दर्यकरण गरिने जनाइएको छ । जीर्ण बनेको भानुभक्तको सालिक पुनः स्थापनाका लागि स्थानीय टोल विकास संस्था तथा स्थानीयवासीसँग प्रत्यक्ष छलफल गरी सहमतिका आधारमा पुनः निर्माणकार्यको काम अघि बढाइएको बताइएको छ । भानुचोकमा भानुभक्तको सालिक पुनः निर्माणका लागि कार्यालयले गत कात्तिक २ गते बोलपत्र आह्वान गरेको थियो । भानुभक्तको सालिकसहित बजार सौन्दर्यकरणका लागि कार्यालयले १ करोड रुपैयाँको ठेक्का आह्वान गरे पनि सुदेवी कन्स्ट्रक्सन प्रालि हलेसी खोटाङले ८१ लाख ९ हजार २२९ रुपैयाँमा सम्झौता गरेर निर्माणको काम सुरु गरेको छ । भानुभक्तको सालिक पुनः निर्माण अन्तर्गतकै योजनाबाट जिल्ला प्रहरी कार्यालय खोटाङको प्रवेशद्वार अगाडिदेखि भानुचोक हुँदै लोकसेवा आयोगको कार्यालय तथा लोकसेवा आयोगको कार्यालयदेखि नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म सडक सुधार तथा निर्माणको काम गरिने जनाइएको छ । पूर्वाधारको काम सम्पन्न भएपछि दिक्तेल बजारको संरचनागत व्यवस्थापन, सौन्दर्यकरण तथा ऐतिहासिक, साहित्यिक र पर्यटकीय महत्व थप उजागर हुने अपेक्षा गरिएको छ । दिक्तेल बजारको सौन्दर्यकरणका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा आएका ललितकला क्याम्पस भोटाहिटी काठमाडौंबाट आएका विद्यार्थीले समेत विभिन्न प्रकारका चित्र निर्माण गरिरहेका छन् ।

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज पुस २८ गते अन्तिम दिन रहेको छ । पुस १३ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २६ लाख ७ हजार कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये ११ करोड ८५ लाख रुपैयाँको ११ लाख ८५ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र गोरखाका अजिरकोट गाउँपालिकाका सबै र लमजुङको दुधपोखरी गाउँपालिका-१, २, ३ र दोर्दी गाउँपालिका-४, ५ र ६ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । स्थानीयले रिज लाइन इनर्जी आयोजना कार्यालय गोरखा, प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।