अरनिको राजमार्ग : मंगलबारदेखि दुईतर्फी आवागमन
काठमाडौं । स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल-खावा सडक खण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कालोपत्रे गर्न २३ दिनदेखि पटक पटक विभिन्न मितिमा आवागमन बन्द तथा एकतर्फी सञ्चालन गर्दै आइएको थियो । उक्त सडक खण्डमा गत चैत २२ गतेदेखि मात्रै कालोपत्रे (पीच)को काम सुरु गरिएको थियो । त्यस दिनदेखि रातको समयमा पूर्णरूपमा बन्द गराई दिउँसो एकतर्फी सञ्चालन गरी हाल धुलिखेल चोकबाट २.५ किलोमिटर सडक एकतर्फी पक्की बनाइएको हो । आजदेखि सम्पूर्ण प्रकारका यातायातका साधनलाई दुईतर्फी खुला गरिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । उनका अनुसार स्तरोन्नति भइरहेको चार किमीमध्ये बाँकी दुरी (दुवैतर्फीसम्मको)पक्की गर्ने कार्य यो साताको अन्तिमबाट सुरु गरिनेछ । 'त्यसबेला आवागमन कुन प्रकारले रोक्नेबारे छलफल भइरहेको छ, त्यसबारे केही दिनपछि सूचित गर्नेछौँ', योगेशले भने । उनका अनुसार पहिलो पटक गत चैत ७ गतेदेखि २० गतेसम्म र दोस्रो पटक २१ गतेदेखि ३० गतेसम्म रातको समयमा आवागमन रोकेर काम गरिएको थियो । सो अवधिमा टिपरलगायत मालवाहक सवारीलाई भने पूर्णतः निषेध गरिएको थियो । उक्त सडक खण्डको बाँकी १.५ कमी दोस्रो चरणमा पक्की बनाइन लागिएको हो । ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र अस्फाल कालोपत्रे गर्ने काम भएको जनाइएको छ । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तारकार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुन:स्तरोन्नतिलाई तीव्रता दिइएको हो । कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्ने गरी सी-एन ए-वान काली जेभीसँग भ्याटबाहेक रु. ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । उक्त सडक खण्डमा कालोपत्रेको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने योगेशको भनाइ छ । सात मिटर चौडाईको बन्ने उक्त सडक खण्डमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोगसमेत गरिने जनाइएको छ । उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको उक्त निर्माण सेवासँगको ठेक्का रद्द गरेको हो । उक्त निर्माण कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्ने गरी ठेक्का लिएको थियो । उक्त सडक खण्ड अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमा रहेको छ ।
९ महिनामा ५४ प्रतिशत बजेट खर्च, विकास खर्च २३.५८ प्रतिशत मात्रै
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिनमा सरकारले करिब ५४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्बको बजेट ल्याएको थियो । जसमध्ये चैतसम्ममा सरकारले १० खर्ब ५९ अर्ब बजेट खर्च गरेको अर्थमन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । कार्यालयकाअनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी चालुतर्फको शिर्षकमा बजेट खर्च भएको छ । चालु खर्च भनेको सरकारको दैनिक सञ्चालन र नियमित कार्यहरू का लागि गरिने खर्च हो । यो खर्चले नयाँ सम्पती सिर्जना गर्दैन वा दीर्घकालीन प्रतिफल दिँदैन । सामान्यतया यो कुल बजेटको ५८–६२% सम्म पुग्ने गर्छ । चालु शिर्षकमा सरकारले यस वर्षका लागि ११ खर्ब ८० अर्ब बजेट छुट्टाएकोमा समीक्षा अवधी सम्ममा सरकारले ७ खर्ब ४७ अर्ब बजेट खर्च गरिसकेको छ । पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन । पुँजीगत खर्च सडक, पुल, विद्यालय भवन, अस्पताल, सिंचाई, जलविद्युत् जस्ता दीर्घकालीन पूर्वाधार निर्माणमा खर्च हुन्छ । यस्तो शीर्षकमा बजेट खर्च हुन सकेको छैन । खासगरी मध्यपूर्वमा देखिएको तनावले निर्माण व्यवसायीले बिटुमीन इन्धनको अभाव झेलिररहेका छन् । जसको असर पुँजीगत खर्चमा देखिएको छ । पुँजीगततर्फ चालु आ.व.मा खर्च गर्न सरकारले ४ खर्ब ७ अर्ब छुट्टाएकोमा ९६ अर्ब १९ करोड खर्च भएको छ । यो खर्च विनियोजित बजेटको २३.५८ प्रतिशत हो । महालेखा नियन्त्रक कार्यालयकाअनुसार सार्वजनिक ऋण व्यवस्थापनका लागि सरकारले यस वर्षका लागि छुट्टाएको बजेट पनि ठूलो मात्रमा भएको छ । यो शिर्षकमा छुट्टाइएको बजेट सरकारले पहिले लिएका ऋणको साँवा र ब्याज तिर्ने गरेको छ । यो शिर्षकमा खासगरी सरकारले ३ खर्ब ७५ अर्ब छुट्टाएको थियो । जसमध्ये २ खर्ब १६ अर्ब बजेट खर्च भइसकेको छ । सरकारले चालु आवको चैतमशान्तसम्म ९ खर्ब ७ अर्ब आम्दानी गरेको छ । राजस्वबाट मात्रै सरकारले ८ अर्ब ८६ करोड संकलन गरेको छ ।
गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका छन् । अनुगमनका क्रममा सोमबार गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए । उनले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारेका छन् । त्यसैगरी काममा ढिलाइ भएको विषयमा उनले चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षणसमेत गराएका छन् । अनुगमनका क्रममा उनले काम समयमा सम्पन्न नगर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेकाले यस अवस्थाको चाँडो अन्त्य गर्न निर्देशन दिएका हुन् । निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले निर्माणलाई तीव्रता दिइ निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने जनाएका छन् ।