माउन्ट एभरेष्टले वैशाख १७ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेको हो ।

कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ८ करोड ८६ लाख रुपैयाँको ८ लाख ८६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ ।

स्थानीयलाई छुट्याएको सेयरमध्ये ३ लाख ४४ हजार कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का स्थानीय र ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिकाका १ र २ बाहेक अन्य वडाका स्थानीयलाई बिक्री खुला गरिनेछ । 

साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ १८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी शाखाबाट आवेदन दिन सक्नेछन् ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । 

Share News