२२ करोड लागतमा पाल्पामा सुविधा सम्पन्न सरकारी अस्पताल बन्दै

बेझाङ। पाल्पाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको रामपुर नगरपालिकामा जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पतालको भवन बनाउन थालिएको छ । यहाँ सञ्चालन हँुदै आएको रामपुर अस्पताललाई अत्याधुनिक सुविधासम्पन्न पचास शय्याको सरकारी अस्पताल बनाउन लागिएको हो । हाल १५ शय्याको क्षमतामा सञ्चालित उक्त अस्पतालले अब घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित क्षमता बढाएर ५० शय्याको सुविधासम्पन्न भवन निर्माणका लागि रु २२ करोड २२ लाख पाँच हजार ३८३ को बजेट टुछ्याइएकामा रविना कन्स्ट्रक्सन प्रालि काठमाडौँले करीब रु १८ करोड ५० लाखमा सम्झौता गरी सो भवन निर्माण थालेको हो । आर्थिक वर्ष २०७२÷७३ को पुसदेखि निर्माण शुरु भएको उक्त भवनको हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको कम्पनीका इञ्जिनीयर जितेन्द्र चौधरीले बताए। विसं २०७५ कात्तिक १६ गते निर्माण सम्पन्न गर्ने अन्तिम मिति रहे पनि समयमै काम सम्पन्न हुन नसकेपछि पुनः डेढ वर्षका लागि म्याद थप गरिएको इञ्जिनीयर चौधरीले बताए। विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा गरिएकामा २०६७ मा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको थियो । निर्माणकार्य सम्पन्न भएपछि हाडजोर्नी, फिजिसियन सर्भिस, रेडियोलोजिष्टलगायत अत्याधुनिक सेवा सुविधा उपलब्ध गराइने अस्पतालका मेसु डा बिनेश झाले बताए ।उक्त अस्पतालबाट पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीका गण्डकीबेँसी क्षेत्रका पाँच लाखभन्दा बढी जनता लाभान्वित हुनेछन्। रासस

नेपाल मेडीसिटीमा थाइरोइड समस्या व्यवस्थापन वर्कसपको उद्घाटन

काठमाडौं। शुक्रबार भैसेपाटी स्थित नेपाल मेडीसिटी अस्पतालमा थाइरोइड समस्या व्यवस्थापन विषयक २ दिने वर्कसपको उद्घाटन भएको छ ।प्रमुख अतिथिका रुपमा कार्यक्रममा उपस्थित भएका सांसद तथा नेपाली कंग्रेसका नेता प्रदीप गिरीले समयमै समस्या पत्ता लगाई सहि उपचार पाउनसके थाइरोइड व्यवस्थापन सहज बन्न सक्ने धारणा राखेका छन्। पहिलोपटक प्रमुख अतिथि बन्न स्विकार गरेको बताउदै गिरीले थाइरोइड विशेषज्ञहरुबाट प्रभावित भएको बताए। सिग्मन फ्रडको साइकोलोजी फर एभरी डे अफ लाइफबाट साभार गर्दै वहाँले हरेक चिकित्सकले सहि परामर्श दिदै बिरामीलाई भयबाट टाढा राख्नुपर्ने बताए। देशभर तथा भारतबाट समेत गरि ४० सहभागी रहेको कार्यक्रम नेपाल मेडीसिटीको आयोजनामा भएको हो भने, पब्लीक हेल्थ फाउण्डेसन अफ इण्डिया, चेल्लाराम डायबेटिस इन्स्टिट्युट तथा डायबेटिस एण्ड इन्डोक्राइनोलोजी एशोसिएसन अफ नेपाल “डिन” को समेत सहयोग रहेको छ । नेपाल मेडीसिटी वेलनेस विभाग प्रमुख डा. मिमि गिरीले २ दिने कार्यक्रममा ४ शत्र रहेको र थाइरोइड व्यवस्थापनमा सक्रिय चिकित्सकहरुलाई यसले धेरै मद्धत गर्ने अपेक्षा रहेको बताए। ४ मोड्युलमा विभाजित कार्यक्रमको पहिलो दिन थाइरोइड समस्याको परिचय र हाइपोथाइरोइडिजम्का केन्द्रित रहेको छ । त्यस्तै शनिबार अर्थात दोश्रो दिन भने हाइपर थाइरोइडिजम् व्यवस्थापन तथा थाइरो टक्सीकोसीस् र थाइरोडियोलोजी विशेषमा छलफल हुनेछ । कार्यक्रमको समापन अघि वरिष्ठ थाइरोइड रोग विशेषज्ञ, नाक कान तथा घाँटी विशेषज्ञ सहित रेडियोलोजीप्स्ट र प्याथोलोजीस्ट सहितको प्यानल डिस्कसन गरिनेछ । देशभरका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु सहभागी यस कार्यक्रममा भारतबाट आउनुभएका डा.हरिश चाँदवानीले यस किसिमको कार्यक्रमले नयाँ नयाँ अध्ययन र उपयोगी प्रविधिका बारेमा जानकारी हासील गर्न सहयोग पुर्याउने प्रतिक्रिया दिएका छन्। उनले कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरेका छन्। शनिबार सम्पन्न हुने कार्यक्रमले विभिन्न स्थानमा छरीएर रहेका चिकित्सकहरु मार्फत थाइरोइडको उपचार अझ उन्नत हुने अपेक्षा आयोजकको रहेको छ ।

धुलिखेल अस्पतालमा सौर्य प्रणाली सञ्चालन

काठमाडौँ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु नौ करोड अनुदान सहयोगमा धुलिखेल अस्पतालले ३३५ किलोवाट क्षमताको सौर्य प्रणाली सञ्चालनमा ल्याएको छ । सो प्रणालीको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गरेका छन्। अस्पतालमा नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिने लक्ष्यका साथ अस्पतालले सौर्य प्रणाली जडान गरेको हो । अस्पतालले सो प्रणालीको क्षमता बढाएर एक मेगावाट पु¥याउने लक्ष्यसमेत राखेको छ । कूल लागतमध्ये केन्द्रले ८० प्रतिशत अनुदान उपलब्ध गराएको हो भने बाँकी २० प्रतिशत काठमाडौँ विश्वविद्यालय र अस्पतालले नै जुटाएको हो । सो परियोजनामा हालसम्म करीब रु १२ करोड खर्च भएको छ । अस्पतालले दुई चरणमा गरेर सौर्य प्रणाली जडान गरेको हो । पहिलो चरणमा १७५ किलोवाट र दोस्रो चरणमा १६० किलोवाट क्षमताको सौर्य ऊर्जा उत्पादन गरिएको छ । निकट भविश्यमा सौर्य प्रणालीलाई नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा जडान गर्ने तयारीसमेत गरिएको काठमाडौँ विश्वविद्यालयका स्कूल अफ मेडिकल साइन्सका डिन प्रा डा राजेन्द्र कोजूले जानकारी दिए। सो अवसरमा मन्त्री पुनले सरकारले जलविद्युत् आयोजनाको विकास र प्रवद्र्धनसँगै नवीकरणीय ऊर्जालाईसमेत अगाडि बढाइएको बताए। सरकारले हरेक घरलाई ऊर्जा घरको नारासमेत अगाडि सारेको सन्दर्भमा अस्पतालले उदाहरणीय काम गरेको उल्लेख गर्दै उहाँले अन्य क्षेत्रमा समेत सौर्य प्रणालीको जडानमा विशेष सक्रियता देखाउनुपनमा जोड दिए। मन्त्री पुनले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सो विषय समावेश गरिएको उल्लेख गर्दै नेपालले विकास र समृद्धिका लागि यस क्षेत्रमा नमूनायोग्य काम गरिरहेको बताए। ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सबै नेपालीलाई यसमा जोड्ने कार्ययोजनाका साथ सरकार लागिपरेको पनि उनले बताए। काठमाडौँ विश्वविद्यालयका उपकूलपति डा रामकण्ठ मकाजूले आफूहरुले वैकल्पिक ऊर्जालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको र सरकारबाट यसमा थप सहयोग रहने विश्वास व्यक्त गरेका छन्। सौर्य प्रणालीलाई थप विस्तार गरेर एक मेगावाट बनाइदिन आग्रह गर्दै उनले त्यसबाट अस्पतालको आवश्यकता परिपूर्ति हुने धारणा व्यक्त गरेका छन्। विश्वविद्यालयले प्राधिकरणको विद्युत्गृहका रुपमा परिचित पनौतीमा रहेको विद्युत् केन्द्रलाई संरक्षण गर्दै अध्ययन केन्द्र बनाउन यसअघि नै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकालले वैकल्पिक ऊर्जाका विषयमा अध्ययन गर्ने विद्यार्थीका लागिसमेत परियोजना महत्वपूर्ण अध्ययन सामग्री भएको बताए। उनले विश्वविद्यालय र अस्पतालले शिक्षा र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा प्राधिकरणको प्रसारण प्रणालीमा समेत जोड्ने भन्ने कार्ययोजनाले विद्यार्थीलाई थप अध्ययन सामग्री बन्ने स्पष्ट पारेका छन्। केन्द्रले यसअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत सौर्य प्रणालीको जडानमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ । त्यस्तै नवलपरासीमा एक मेगावाट क्षमताको सौर्य प्रणाली जडानका लागि पनि केन्द्रले सहयोग उपलब्ध गराएको छ । रासस